काठमाडौँ । नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ ले शिक्षकहरूको माग पूरा गर्नै नसक्ने खालको नभएको दाबी गरेका छन् ।
बर्दियाको राजापुरमा आयोजित खबरदारी सभालाई सम्बोधन गर्दै शिक्षकहरूले हिजो भएको सहमति अनुसारको ऐन मागेको बताए ।
उनले भने, ‘शिक्षकहरूको माग सम्बोधन गर्ने नसक्ने खालको छैन । उहाँहरूले हिजो भएको सहमति अनुसारकै ऐन माग्नुभएको हो । त्यो भन्दा अरू कुनै ठूलो माग छैन । हिजो सरकारले गरेको सहमति, म प्रधानमन्त्री भएको बेलामा शिक्षकहरू आन्दोलित भएको बेलामा मैले शिक्षकहरूको जायज माग सम्बोधन गर्नुपर्छ भनेर सम्झौता गरेको थिएँ । त्यही सम्झौताअनुसार अहिले शिक्षकहरूले आफ्नो माग राखेर आन्दोलन गरिरहेका छन् ।’
उनले आफू प्रधानमन्त्री भएकै बेलामा सदनमा विद्यालय शिक्षा विधेयक दर्ता गराएको बताए । उपसमितिमा भएको विधेयक छोटो बाटोमा टुङ्ग्याएर शिक्षकहरूलाई सजिलै विद्यालय फर्काउन सकिने बताए ।
उनले थपे, ‘तर यो सरकार शिक्षकहरूको जायज माग र हिजो भएको सहमति कार्यान्वयन गर्नुको सट्टा शिक्षकहरूलाई अपमानित र गाली हिजो, विगतमा पनि उत्तेजित पार्ने काम त गरेकै थियो। हिजो त शिक्षकहरूमाथि निकै ठूलो दमन गराइयो । प्रहरीलाई शिक्षकहरूमाथि आक्रमण गर्न लगाइयो ।’