काठमाडौँ । सरकार र आन्दोलनरत शिक्षकहरूबीच भोलि या पर्सीसम्म सहमति हुने सरकारका प्रवक्ता पृथ्वी सुब्बा गुरुङले बताएका छन्।
मन्त्रिपरिषद् बैठकपछि सञ्चारकर्मीसँग कुरा गर्दै प्रवक्ता गुरुङले शिक्षामन्त्री र शिक्षक महासंघबीच निरन्तर छलफल भइरहेको बताए। उनका अनुसार सोमबार शिक्षामन्त्री रघुजी पन्त र महासंघका अध्यक्ष, उपाध्यक्ष र महासचिवबीच भएको छलफलमा केही विषयमा सहमति जुटेको छ।
‘उहाँहरूबीच केही विषयमा सहमति जुटेको छ। भोलि या पर्सीसम्म सहमति भएर शिक्षकहरू स्कुल फर्किने वातावरण बन्छ, उनले भने।
त्यस्तै सरकारले ल्याउन नीति तथा कार्यक्रममा राष्ट्रपति रामचन्द्र पौडेलले वैशाख १९ गते दिउँसो ३ बजे संसदको दुवै सदनलाई सम्बोधन गर्ने भएका छन्। त्यसका लागि दुवै सदनका सांसदहरूलाई उपस्थितिका लागि आह्वान गरिने निर्णय भएको उनले बताए।