काठमाडौँ । सरकारले आगामी आर्थिक वर्षको नीति तथा कार्यक्रम राष्ट्रपति रामचन्द्र पौडेलसमक्ष पठाउने निर्णय गरेको छ ।
सोमबार साँझ बसेको मन्त्रिपरिषद् बैठकले आगामी १९ गते संघीय संसद्को दुवै सदनमा नीति तथा कार्यक्रम प्रस्तुत गर्ने निर्णय भएको सञ्चार, सूचना तथा प्रविधिमन्त्री पृथ्वी सुब्बा गुरुङले जानकारी दिए ।
उनका अनुसार नेपालको संविधानको धारा ९५ अनुसार संघीय संसद्का दुवै सदनमा सम्बोधनका लागि राष्ट्रपतिलाई आह्वान गर्ने निर्णय भएको छ ।
प्रतिनिधिसभा तथा राष्ट्रिय सभा नियमावली अनुसार सरकारको नीति तथा कार्यक्रम सदनमा राष्ट्रपतिले नै पढ्नुपर्ने प्रावधान छ । संविधानको धारा ९५ तथा प्रतिनिधिसभा र राष्ट्रिय सभा नियमावलीको नियम ३८ मा नीति तथा कार्यक्रम राष्ट्रपतिले प्रस्तुत गर्नुपर्ने व्यवस्था छ ।