काठमाडौँ । नेपाली काँग्रेसका सांसद देवप्रसाद तिमल्सिनाले संविधान संशोधन गरेर शिक्षकलाई संघीय सरकारअन्तर्गत राख्न सबै सांसद तयार हो ? भन्दै प्रश्न गरेका छन् ।
मंगलबार प्रतिनिधि सभाको बैठकमा बोल्दै सांसद तिमल्सिनाले शिक्षकका मागहरू सम्भव भएसम्म सबै पूरा गरेर विद्यालय फर्काउने वातावरण बनाउन माग गरे ।
सांसद तिमल्सिनाले शिक्षकका मागहरू पूरा गर्न २ सय ७५ जना सांसद नै तयार रहेको भन्दै तत्काल सबैले हस्ताक्षर गरेर संविधान संशोधन गरेर संघमा शिक्षकलाई ल्याउने व्यवस्था गर्न आग्रह गरे ।
‘शिक्षालाई स्थानीय तहमा नराख्न संविधान संशोधनको कुरा आउँछ । अब सबै दल एकजुट हुनुहुन्छ अहिले, २७५ जना नै तयार,’ उनले भने, ‘तत्काल २७५ जनाले नै हस्ताक्षर गरेर संविधान संशोधन गरेर संघमा शिक्षकलाई ल्याउने व्यवस्था गर्नुपर्यो । नत्र भने गोहीको आँसु चुहाउने काम कसैले नगरौँ ।’
उनले शिक्षकलाई स्थानीय तहमा राख्न नहुने माग संविधान संशोधन गरेर पूरा गर्न तयार हुनुपर्ने बताए ।
सरकारमा अहिलेको विपक्षी दलहरू पनि रहिसकेकाले गोहीका आँसु निकालेर केही फाइदा नहुने उनले बताए ।