काठमाडौँ । काठमाडौँ महानगरपालिकाका नगर प्रहरीहरूलाई ट्राफिक व्यवस्थापन सम्बन्धी तालिम दिएको छ ।
नगर प्रहरी बलले काठमाडौं उपत्यका ट्राफिक प्रहरी कार्यालयसँगको सहकार्यमा १८० जना नगर प्रहरीलाई ट्राफिक व्यवस्थापन सम्बन्धी सैद्धान्तिक र व्यवहारिक तालिम दिएको हो ।
१८ फागुन २०८१ देखि सुरु भएको तालिममा ३ समूहमा सञ्चालन भएको थियो । ५३ जना नगर प्रहरी हवल्दार र १२७ जना नगर प्रहरी जवान तालिममा सहभागी थिए ।
महानगरका अनुसार प्रत्येक समूहलाई १५ कार्य दिनको तालिम दिइएको थियो । हरेक समूहमा ६० जनालाई सहभागी गराइएको थियो ।
तालिम समापन गर्दै उपत्यका ट्राफिक प्रहरी कार्यालयका प्रमुख प्रहरी वरिष्ठ उपरीक्षक विनोद घिमिरेले सवारी आवागमनमा थप सहजता आउने अपेक्षा गरे । ‘हातको संकेतका भरमा थोरै जनशक्तिबाट काम गर्न कठिन भइरहेको थियो । नगर प्रहरी बलमा ट्राफिक व्यवस्थापनको तालिम प्राप्त जनशक्ति थपिएपछि सवारी चालक, सवारी यात्रु र पैदलयात्रुले सहजता महसुस गर्नुहुनेछ,’ घिमिरेले भने, ‘यसबाट तालिमको नतिजा पुष्टि हुन्छ ।’
महानगर प्रहरी बलका प्रमुख नगर प्रहरी वरिष्ठ उपरीक्षक राजुनाथ पाण्डेले नागरिकले अपेक्षा गरेको सहरी व्यवस्थापनका लागि नगर प्रहरीको दक्षता बढाउँदै लगिएको बताए ।
‘ट्राफिक व्यवस्थापन सम्बन्धी तालिम यसैको एउटा भाग हो । यसबाट सहरी व्यवस्थापन गर्न खटिने नगर प्रहरीहरूलाई कानुन, नीति र आदेशको पालनामा ज्ञान, सीप र विवेकको प्रयोग गर्न दक्षता बढेको छ,’ पाण्डेले भने ।