काठमाडौँ । सरकारले रासायनिक मल खरिद गर्दा लाग्ने समय घटाएको छ।
सार्वजनिक खरिद नियमावली २०६४ को १४औँ संशोधनमार्फत पहिलो पटक रासायनिक मल खरिद सम्बन्धी प्रावधान समेटिएको हो। संशोधित नियमावली वैशाख १५ गतेको राजपत्रमा प्रकाशित गरिएको छ।
संशोधित नियमावलीले रासायनिक मल खरिदका लागि आर्थिक प्रस्ताव खोल्ने स्थान, मिति र समय उल्लेख गरी सो मिति र समयमा उपस्थित हुन राष्ट्रिय स्तर वा अन्तर्राष्ट्रिय स्तरको बोलपत्रको हकमा कम्तीमा ७ दिनको अवधि दिई सूचना गर्नुपर्ने उल्लेख छ।
त्यस्तै नियमावलीमा बोलपत्रदाताले पेस गरेको प्राविधिक प्रस्ताव खोलेको मितिदेखि ३० दिनसम्म बोलपत्र मान्य हुने अवधि उल्लेख गर्नुपर्ने प्रतिबन्धात्मक नियम पनि थप गरिएको छ।
मल खरिद प्रक्रिया लामो भएकाले यसलाई सहज बनाउन खरिद नियमावलीको संशोधनमा यस्तो प्रावधान राखिएको कृषि तथा पशुपन्छी विकास मन्त्री रामनाथ अधिकारीले बताएका छन्।
रासायनिक मल खरिद प्रक्रिया लामो समय लाग्ने तर अन्तर्राष्ट्रिय बजारमा छिटो-छिटो मूल्य परिवर्तन हुने अहिलेको अवस्थालाई घटाउने गरी नियमावली संशोधन भएको मन्त्रालयले जनाएको छ।