काठमाडौँ । पूर्वप्रधानमन्त्री एवं नेपाल समाजवादी पार्टी (नयाँ शक्ति) का अध्यक्ष डा. बाबुराम भट्टराईले नेपालको व्यवस्था उल्ट्याउने पक्षमा भारत नरहेको बताएका छन् ।
भारत भ्रमण सकेर स्वदेश फर्किने क्रममा मंगलबार साँझ त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा सञ्चारकर्मीसँग कुराकानी गर्दै डा. भट्टराईले यस्तो बताएका हुन् ।
उनले भारतमा नागरिक स्तरमै पनि नेपालमा व्यवस्था उल्टिनेबारे चासो रहेको पाएको तर भारत सरकार र भारतका मुख्य शक्तिहरू त्यस पक्षमा नरहेको स्पष्ट पारे ।
उनले अनावश्यक ढंगले भ्रम पैदा गरेर प्रतिगामी शक्तिहरूले विरोध गरिरहेको आरोप लगाए । उनले नेपालमा व्यवस्था उल्ट्याउने पक्षमा भारत नरहेको पाउँदा आफूलाई सन्तुष्टि मिलेको बताए ।
‘भारतमा जस्तरमै चासो भएको विषय के रहेछ भने जुन विभिन्न प्रकृतिका आन्दोलन भइरहेका छन् । त्यो कतै व्यवस्थाकै विरुद्ध हो कि भन्ने रहेछ । केही व्यक्तिहरू त्यसमा लागेको हुन सक्छन् । तर, भारत सरकार आफैँ र त्यहाँका मुख्य शक्तिहरू फेरि यहाँको व्यवस्थालाई नै उल्ट्याउने ढंगले प्रतिगामी शक्तिहरूलाई उक्साउने गतिविधि त्यहाँ भएका छैनन्,’ उनले भने ।
नेपाल–भारत प्रबुद्ध व्यक्ति समूह (ईपीजी) ले काम गर्न नसकेको निष्कर्षमा भारत पुगेकोले नयाँ विधि अपनाउनुपर्ने देखिएको उनले बताए ।
उनले नयाँ विधिबाट नेपाल र भारतबीचका समस्याहरू समाधान गर्न भारत पनि सकारात्मक रहेको नेताहरूसँगको भेटमा आफूले जानकारी पाएको बताए ।
उनले नेपाल र भारतबीच बाँकी रहेका समस्यालाई संवादका माध्यमबाट नै समाधान गर्न उचित हुने बताए ।
ईपीजीको ठाउँमा नयाँ विधि अपनाएर दुई देशका समस्या समाधान गर्नका लागि प्रधानमन्त्री स्तरीय वार्ता हुनुपर्ने आवश्यकता महसुस भएको उनको भनाइ छ ।
‘नेपाल-भारत सम्बन्धको जुन ऐतिहासिकता छ, त्यसलाई हामीले कुनैपछि ढंगले अल्झिएर समय खेर फाल्नु हुँदैन । बाँकी रहेका समस्यालाई वार्ता, संवादबाटै हल गरेर जानुपर्छ । त्यसका निम्ति ईपीजी नै सम्बन्ध राम्रो उपाय थियो । तर ईपीजीले काम गर्न सकेन भन्नेकुरा त्यहाँको उच्च तहसम्म करिब(करिब निर्णय जस्तै भइसकेको रहेछ । ईपीजी स्वीकार्य नभएको अवस्थामा त्यसमा किचलो गर्नुको सट्टा अर्को विधि खोज्नुपर्छ भन्ने कुरा आयो,’ उनले भने ।
यसबारे प्रधानमन्त्री तहमै वार्ता र संवाद हुनुपर्छ भन्ने कुरा भेटघाटका क्रममा आफूले राखेको उनले बताए ।
‘दुवै तर्फबाट एउटा वातावरण बनाउन हामी लाग्नुपर्छ । यसलाई गिजोलेर हामीलाई फाइदा हुँदैन । यो हल नहुँदा हामीलाई नै घाटा बढिरहेको छ । त्यसैले हामीले नै धेरै अन्य कुरा पछि हल गर्ने ढंगले नेपालको अर्थतन्त्रमा परेका असरका विषय, खुला सिमानाले पारेका समस्याका कुराहरू छन् । त्यसमा समाधान दिनुपर्छ,’ भट्टराईले भने ।
अध्यक्ष भट्टराईले छिमेकीहरूसँग ठिक ढंगले सम्बन्ध राखेर अघि बढ्ने हो भने कागले कान लग्यो भन्दैमा कागको पछि दौडिन जरुरी नरहेको बताए ।