७ बैशाख २०८२, आईतवार

प्रशासन एक्सक्लुसिभ

crisis_alert चार निर्माण कम्पनी कालोसूचीमा (सूचीसहित)    crisis_alert यसरी घट्न थाल्यो बालविवाह : अभियान सँगसँगै स्थानीय सरकार पनि लागि परे     crisis_alert गाँजामाथिको प्रतिबन्ध हटाउने प्रतिवेदन तयार, कस्तो छ गाँजाबाटै समृद्धि भित्र्याउने सरकारी खाका ?   crisis_alert मन्दीले ताल्चा लाग्न थालेको बजार : खोल्ने कसले हो, कसरी हो ?   crisis_alert किन काम गरिरहेका छैनन् अर्थतन्त्र सुधारका प्रयासले ?   crisis_alert अर्थतन्त्रको सङ्कटबाट साना व्यवसाय नियाल्दा: त्यति विधि निराशा छैन, आशा बाँकी छ   crisis_alert गरिबलाई बाँच्नसमेत नदिइरहेको आर्थिक सङ्कट   crisis_alert सङ्कटको डिलमा पुग्दै आन्तरिक अर्थतन्त्र   crisis_alert गृह मन्त्रालयले थाहै नपाई कैदीहरूले गरिदिए जेलरको सरुवा   crisis_alert बाँसबारी जग्गा प्रकरणको केन्द्रमा छन् विनोद चौधरी    crisis_alert काँग्रेस सांसदको पाँचतारे होटेलका लागि एकै दिनमा फेरियो कानुन    crisis_alert ‘भिजिट भिसा’ले अन्तर्राष्ट्रिय विमानस्थलमा टकराब, किन भइरहेछ प्रहरी-अध्यागमन मनमुटाब ?    crisis_alert विधिको शासनकै मजाक बनाइएको ललिता निवास प्रकरण  

प्रशासन एक्सक्लुसिभ

crisis_alert चार निर्माण कम्पनी कालोसूचीमा (सूचीसहित)    crisis_alert यसरी घट्न थाल्यो बालविवाह : अभियान सँगसँगै स्थानीय सरकार पनि लागि परे     crisis_alert गाँजामाथिको प्रतिबन्ध हटाउने प्रतिवेदन तयार, कस्तो छ गाँजाबाटै समृद्धि भित्र्याउने सरकारी खाका ?   crisis_alert मन्दीले ताल्चा लाग्न थालेको बजार : खोल्ने कसले हो, कसरी हो ?   crisis_alert किन काम गरिरहेका छैनन् अर्थतन्त्र सुधारका प्रयासले ?   crisis_alert अर्थतन्त्रको सङ्कटबाट साना व्यवसाय नियाल्दा: त्यति विधि निराशा छैन, आशा बाँकी छ   crisis_alert गरिबलाई बाँच्नसमेत नदिइरहेको आर्थिक सङ्कट   crisis_alert सङ्कटको डिलमा पुग्दै आन्तरिक अर्थतन्त्र   crisis_alert गृह मन्त्रालयले थाहै नपाई कैदीहरूले गरिदिए जेलरको सरुवा   crisis_alert बाँसबारी जग्गा प्रकरणको केन्द्रमा छन् विनोद चौधरी    crisis_alert काँग्रेस सांसदको पाँचतारे होटेलका लागि एकै दिनमा फेरियो कानुन    crisis_alert ‘भिजिट भिसा’ले अन्तर्राष्ट्रिय विमानस्थलमा टकराब, किन भइरहेछ प्रहरी-अध्यागमन मनमुटाब ?    crisis_alert विधिको शासनकै मजाक बनाइएको ललिता निवास प्रकरण  

जहाजलाई बोकाको बलि

अ+ अ-

१७ मई २०१० को साँझ । सचिव कृष्णहरि बास्कोटाको पछि लागेर त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलको विशिष्ट कक्षमा रातको सवा १० बजे प्रवेश गर्दा त्यहाँ सचिवको सेवामा हाजिर थिए- त्रिभुवन विमानस्थल भन्सार प्रमुख महेश्वर न्यौपाने, शाखा अधिकृत मोहन चन्द र पुरुषोत्तम बस्ताकोटी । लामखुट्टे प्रसन्न मुद्रामा हाम्रा पाउ वरिपरि घुम्दै सेलो गाइरहेथे । धावनमार्ग बेहुली अन्माएपछिको दुलही घर जस्तो थियो । विमानस्थलको प्रस्थान र आगमनको सूचना अद्यावधिक गर्नेहरू पहिल्यै कुलेलम ठोकिसकेका थिए ।

चीनको बेइजिङ र शेन्जेनमा हुन गइरहेको ‘वित्तीय सड्ढट र विकासशील देशमा आर्थिक पुनरुत्थान’ सम्बन्धी मन्त्रीस्तरीय कार्यशाला गोष्ठीमा राजस्व सचिवको सहयोगीको रूपमा मलाई प्रथम पटक चीन भ्रमणको लागि चिठ्ठी काटिएको थियो । तदनुरूप बिहानै घरबाट बिदाबारी भएर हिँडेको थिएँ म । ‘राति दही नखानू’ भन्छन् तर साइतको बेला के बाँकी छोड्नु भनेर साँझ बिजुली बजारमा दही भात सोहोरेर हिँडेकोले खानको पिर भने थिएन ।

मध्यरात भूतले खाजा खाने बेला (११ः४५ बजे) पूर्वी चीनको सहर कुन्मिङ्ग जाने विमान आयो केही यात्रु लिएर । अध्यागमनका कर्मचारीहरू धेरै जसो पहिल्यै नै घरको ड्युटीमा पुगिसकेका रहेछन् । राहदानीमा छाप हान्ने मानिसको पनि अभाव भएको कुरा थाहा भयो । उताबाट आएकै विमान फर्कँदै थियो हामीलाई समेत बोकेर । आधारातमा पहिलो नीदमा डुब्ने बेलामा हामीलाई बिदा गर्न बसेका साथीहरू पनि हाइ काढ्ने बेला भैसकेको थियो तर पनि सचिवका रमाइला कुराले उँघ्नबाट भने रोकेको थियो । हाकिम विदेश जाने भनेर रातिसम्म यसरी चाकरीमा बस्ने तरिका भने मलाई फिटिक्कै मन परेको थिएन । हाम्रो कर्मचारीतन्त्र अझै दास मनोवृत्तिबाट माथि निस्कन सकेको पनि त छैन ।

अन्ततः एक जना चिटिक्क परेकी नेपाल वायुसेवाकी कर्मचारी विशिष्ट कक्षमा प्रवेश गरिन् जहाज बोर्डिङ हुन लागेको सूचना लिएर । चाइना इष्टर्नको हवाई अड्डा ह्यान्डलिङ्ग नेपाल वायुसेवाले नै गर्दो रहेछ । नेपाल वायुसेवा आर्यघाटमा महाप्रस्थानको घडी कुरिरहेको मदौरू जस्तो भैसकेको थियो र यसका बाँकी दुई आन्तरिक उडानका विमानहरू पनि भर्खरै ग्राउण्डेड भएका थिए । सात समुद्रपारिका पुष्पक विमानहरूले नेपाली यात्रुहरूको पैसा कुवेरकै अलकापुरीतिर फर्काइरहेका थिए भने बबुरो नेपाल वायुसेवा आक्कलझुक्कल उड्नलाई पनि बोकाको बलि पर्खेर बसिरहेको हुन्थ्यो । त्यसमाथि राजनीतिको यति पिल्साई थियो कि बामे सर्न खोजे सयौँ घोडा चढ्न आउँथे, लत्रिँदा गाली मात्र गर्थे । हिँड्ने लौरो खोजे त्यसमा कमिसनको शङ्काले लङ्का जलाउँथ्यो र अन्ततः नेपाल वायुसेवा यात्रुको होइन, विमान अड्डामा लत्रेर वायु देवताको मात्र सेवा गर्न अभिशप्त भैरहेथ्यो । कमसेकम त्यस्तो वायुसेवाका कर्मचारी भने अझै चिटिक्क पोसाकमै थिए ।

विमान उड्ने बेलामा सबैका आँखा पाकेका गोलभेँडा झैँ भैसकेका थिए । निद्रादेवी आफ्नो शासनमा दखल पुर्‍याएकोमा शायद क्रोधित थिइन् । आग्नेय कोण समातेर हिँडेको विमान नेपालको पूर्वी सिमाना कट्ने बेलादेखि नै बादलमा बिजुलीको ताण्डव नृत्यको आनन्द लिँदै बेलाबेलामा प्रकम्पित हुन्थ्यो । विमानमा केही बेकरीका परिकार उदरस्थ गरेपछि एकछिन् झकाउने प्रयास गरियो तर सिट यस्तो अप्ठ्यारो थियो कि एकछिनमै घाँटी अररो हुन्थ्यो । तर पनि अपेक्षा गरेभन्दा केही मिनेट अगाडि नै कुन्मिङ्ग विमानस्थलमा विमानले खुट्टा टेक्यो ।

स्थानीय समय अनुसार बिहानको सवा चार बजे हामीले चीनको भूमि टेकेका थियौँ । विमानमा अधिकांश नेपाली यात्रु रहेछन् । त्यसमध्ये किशोरहरूको एउटा ठुलै लस्कर चीनका विश्वविद्यालयमा उच्च शिक्षा हासिल गर्न पहिलो चोटि आमाको काख छोडेर भुरूरू उड्दै थियो । सफलताको कामना सहित निधारमा लगाएका अक्षताहरू तिनले विमानमा उँघ्दा नै अगाडिका सिटमा दलिसकेका थिए । अब तिनका निधारमा राता छाप मात्र बाँकी देखिन्थे । ती युवकहरू सुखद् सुदूर भविष्यको घुर्मैलो डोरीले तानिएका थिए । पहिलो पटक विदेशी भूमि टेक्दा ती अलमलिएका, केही डराएका र हडबडाएका देखिन्थे, अध्यागमनको लाइनमा । तिनका बाबुआमाले अनिश्चित भविष्यको आफ्नो मुलुकबाट सन्तानको आशालाग्दो भविष्यका लागि गुँडबाट बिदा गरेका थिए । छिन्छिन्मा नेपालीहरूको ठुलो जमातले उच्च स्वरको हाँसो गुज्जाउँदै नेपाली पारालाई जीवन्त पार्थ्यो ।

भैँसीले दाम्लो चुँडालेर भकारबाट एक्कासि मकैवारिमा पस्दाको आवाजले किसान हडबडाएर निद्राबाट उठेझैँ त्यहाँको अध्यागमनका कर्मचारीहरू पनि एकाएक तिनका कुर्सीमा दाखिला भए आँखा मिच्दै र धङ्धङाउँदै । राम्ररी नींद नखुलेका तिनीहरू अध्यागमनको लागि सूचना प्रविष्ट गर्दा पनि अलमलिएका र आँखा च्यात्दै गरेका देखिन्थे । केही बेर त्यहाँको प्रक्रियाबाट पार पाइसकेपछि विमानस्थलको दोस्रो तलामा उक्लियौँ जहाँबाट बाहिर प्रस्थान गर्ने विमानहरूको ताँती देखिन्थ्यो ।

पुगनपुग तीन घण्टा बिताउनु थियो त्यहाँ । अर्को विमान समात्नु थियो बेइजिङ सहरका लागि जुन स्थानीय समय अनुसार बिहानको आठ बजे उड्थ्यो । त्यो विमान समात्न पर्खिरहेको बेला एक चिनियाँ युवक आयो र हाम्रो टिकट माग्दै कहाँ जाने, कहाँबाट आएको भनेर सोधखोज गर्न लाग्यो । यसो हेर्दा बगलीमारा जस्तो देखिने त्यस युवकप्रति पहिले त सशंकित भइयो तर परिचयपत्र झुन्ड्याएको देखेपछि गतिलै मान्छे रहेछ भनेर त्यसको पछिपछि लाग्यौँ। अर्को सज्जन देखिने युवकले हाम्रा राहदानी र टिकटहरू लियो र सम्बन्धित काउन्टरमा गएर फटाफट काम सिध्याइदियो। जब बोर्डिङ्ग पास हाम्रो हातमा थमाइयो तब त्यो पहिलेको केटोले चिनियाँ मिश्रित अङ्ग्रेजीमा केही भनिरहेको सुनियो। अलिबेरको प्रयासपछि बल्ल बुझियो, उसले भर्खरै गरेको कामको ज्याला मागिरहेको थियो टिप्सको रूपमा।

शड्ढा त पहिले देखि नै लागेको थियो यसले निस्स्वार्थ केही गरिरहेको होइन होला भन्ने। तर पनि चीनले विकासको गति लिएसँगै यस्ता स्वयंसेवकहरू नै परिचालन गरेर सरकारी सेवा-सुविधालाई प्रभावकारी बनाएको पनि त हुनसक्छ भन्ने लाग्यो। हामीलाई सम्बन्धित काउन्टरमा पुर्‍याएर उनीहरूले सहयोग त पक्कै गरे तर अन्तमा पैसा माग्नु र हामीले तिनीहरूलाई दिनका लागि दुईचार डलर खुद्रा पनि नभएपछि अलि नमज्जै भयो। सिङ्गै सय डलर थमाउने आँट हुने कुरै भएन।

निश्चित समयभन्दा करिब आधा घण्टा पछि बल्ल कुन्मिङ्ग विमानस्थलबाट चाइना इस्टर्नको जहाज आकाशतिर बतासियो। रातभरको अनिदोमा बिहानको घामको राप शरीरमा पर्ने बित्तिकै तोङ्वा तानेको बाहुनजस्तै भयो ज्यान।

काठमाडौँबाट कुन्मिङ्गसम्म बोकेर ल्याउने विमानमा भन्दा यसमा अलि हाँस्न पनि जानेका विमान-परिचारिकाहरू थिए र सेवा पनि गतिलो थियो। निरन्तर पूर्वोत्तर लागेको विमानबाट तल अनन्त क्षितिजसम्म बादलको बाक्लो सिरकले ग्वाम्लाङ्ग छोपेको थियो र धर्तीका कुनै भाग नदेख्दा कतै अन्तरिक्षमा उडिरहेको अनुभूति हुथ्यो। बिच्चबिच्चमा खानपिनका लागि पुर्लुक्क आँखा उघार्दै अरू समयमा तन्द्रामा रहँदै बेइजिङ विमानस्थलमा ओर्लँदा केही समय अघि हल्का पानी परेर चिसिएको विमानस्थल शीतल र विस्तीर्ण देखिन्थ्यो।

विमानबाट बाहिर निस्कनै लाग्दा त्यसको मुखैमा अप्रत्याशित रूपमा एकेडेमी फर इन्टरनेशनल बिजनेस अफिसियल्सकी सह निर्देशक चेन र उनको समूह स्वागतमा उभिएका भेटिए। सचिवको नाम लेखेको कागज देख्ने बित्तिकै मैले सङ्केत गरेँ सचिवतिर। टाउकोलाई भन्दा पुच्छरलाई सिँगार्नुपर्ने भने झैँ म टाईमा ठाँटिएको तर सचिवचाहिँ हरियो टिसर्ट र जिन्स पाइन्टमा। बाहिर निस्कँदै गरेकी विमान परिचारिका झुक्किहालिन्। चेनले ‘शुभ प्रभात महामहिम !’ भनेको सुन्ने बित्तिकै उनले मेरो हातमा रहेको काखे कम्प्युटर बोकेर हिँडिहालिन्। तुरुन्त सचिवको झोला पनि चेनको टोलीले बोकिहाल्यो। शब्दैपिच्छे ’हो महामहिम‘ भन्दै यति भद्र र आतिथ्यपूर्ण तरिकाले चेन प्रस्तुत भइरहेकी थिइन् कि मानौँ कुनै देशको बादसाह नै आएको हो। हाम्रा झोलाहरू पनि अति विशिष्ट कक्षमा ल्याइए। चियाबाट आतिथ्य भयो र क्षमकुशल सोधासोधको औपचारिकता सकियो।

‘यस वर्ष त हामीले धेरै, यतिऽऽ धेरै … नेपाली अधिकारीहरूलाई चीनमा बोलायौँ कि…’ चेन यसरी भन्दै थिइन् मानौँ त्यहाँ जन्तीका जन्ती नेपालीहरूलाई बोलाइएको होस्। हुन पनि त्यस वर्ष उधुमै हुने गरी थरिथरिका कार्यक्रममा नेपालीहरूलाई उत्तरको छिमेकीको घर पाहुना लाग्ने मौका मिलेको थियो। ती मध्ये दर्जनौँ कार्यक्रम त श्रीमती चेनलाई पत्तै नभएको हुनु पर्थ्यो । नेपाली अधिकारीहरू आफ्नो ड्युटीको रतिभर पनि चिन्ता नगरी तीन हप्ते चीन भ्रमणमा निस्केका थिए– चाहे भ्रमण कार्यक्रमले तिनको जागिरसँग १८० डिग्रीको सम्बन्ध राखोस्। के सिक्ने, त्यो आफूलाई काम लाग्ने हो होइन, त्यसको मतलब कसैलाई थिएन र आथित्यले  पनि केही सिकाउन भन्दा हाम्रो देश निःशुल्क घुमेर खाउन् र तिनलाई नुन लागोस् भनेर बोलाएजस्तो विभ्रम हुन्थ्यो केही कार्यक्रमहरूमा।

म पनि तिनै भातेहरूमध्येकै एक थिएँ जो आफ्नो खेत बाँझै राखेर छिमेकीकोमा भतेर खान हिँड्छ। फरक त्यति मात्रै थियो कि मलाई सचिवको सहयोगीको आवश्यकता महसुस गरी पठाइएको हो भनेर चित्त बुझाउने झुट्टा बहाना मिलेको थियो। अन्ततः एकेडेमी फर इन्टरनेशनल बिजनेस अफिसियल्स (आइबो-एआइबीओ) को आतिथ्यमा उच्च सरकारी अधिकारीको अतिथि सत्कार ग्रहण गर्दै हामी बेइजिङको छैटौँ चक्रपथभित्र पर्ने आइबोको डिलक्स अतिथि कक्षमा भित्रियौँ बिहानको ११ः३० तिर।

(नेपाल सरकारका सहसचिव डाक्टर भूसालको केहि दिन अघि सार्वजनिक भएको यात्रा संस्मरण ‘कोको पहाडमा भोको यात्री’ को पुस्तक अंश)   

प्रतिक्रिया दिनुहोस