बागलुङ । गलकोट नगरपालिकाका ३४१ घर खरको छानाबाट मुक्त भएका छन् । आर्थिक वर्ष २०७६/७७ मा १९० र गत आवमा १५१ घरमा रहेका खरका छाना हटाएर जस्तापाताले छाइएको हो । नगरपालिकाका अनुसार अब ६७ घरका छाना फेर्न बाँकी छ ।
जस्तापाता खरिदका लागि नगरपालिकाले अनुदान दिँदै आएको र चालु आवभित्र नगरका सबै खरका छाना विस्थापित गर्ने योजना रहेको प्रशासकीय अधिकृत तुलबहादुर विकले जानकारी दिए ।
सङ्घ सरकारको ‘सुरक्षित नागरिक आवास’ कार्यक्रमको बजेट पनि खरका छानामुक्त अभियानमा खर्च भइरहेको छ । उक्त कार्यक्रमका लागि छनोटमा परेका परिवारले रु ५० हजार अनुदान पाउने गरेका छन् । यस वर्ष पनि सोही शीर्षकका लागि बजेट माग गरेर पठाइएको नगरप्रमुख भरत शर्मा गरैले बताए ।
‘विपन्न परिवारलाई सुरक्षित छानामुनि ल्याउन नगरपालिका आफैँले लगानी गरेको र घरको लागत अनुमान हेरेर जस्तापाताका लागि अनुदान जान्छ’, नगरप्रमुख गैरेले भने, ‘आउँदो एक वर्षभित्रमा नगर खरका छानामुक्त बन्छ ।’ नगरपालिकाले दुई वर्षअघि खरका छाना विस्थापन गर्ने अभियान थालेको थियो ।
खरको छानोमुनि कष्टकर जीवन गुजारिरहेका परिवारलाई सुरक्षित आवास दिलाउन नगर सहारा बनेको हो । ढुङ्गा या जस्तापाता हालेका र खरले छाएका तर दुई घर भएका परिवारले भने अनुदान नपाउने नगरपालिकाले जनाएको छ । आर्थिक रूपमा सक्षम परिवारले भने आफैँ पनि खर हटाएर जस्तापाताले घर छाउन थालेका छन् ।
जस्तापाता खरिद र ढुवानीमा नगरपालिकाले सघाए पनि छानो छाउने काम भने अनुदान पाउने परिवार आफैँले गर्दै आएका छन् । आर्थिक विपन्नताका कारण खरको छानोमुनि आश्रय लिइरहेका परिवारहरु वर्षौँदेखि विभिन्न समस्या झेल्न बाध्य थिए । वर्षा याममा पानी चुहिने, पटक–पटक खरले छाइरहनुपर्ने झन्झटबाट अब उनीहरुलाई मुक्ति मिलेको छ ।
नगरपालिकाको सहयोगमा छानो फेर्न पाउँदा स्थानीयवासी पनि खुसी छन् । गलकोटसँगै यहाँका १० वटै स्थानीय तहमा खरका छाना विस्थापन गर्ने अभियानले यो वर्ष पनि निरन्तरता पाएको छ । रङ्गीचङ्गी जस्तापाता पाएपछि गाउँ बस्तीमा रहेका विपन्न परिवारका घरले बिस्तारै मुहार फेर्दै छन् ।