चितवन । स्वास्थ्य तथा जनसङ्ख्या राज्यमन्त्री उमेश श्रेष्ठले क्यान्सर उपचारका लागि ठुलो रकम विदेशिएको बताएका छन् ।
बिपी कोइराला मेमोरियल क्यान्सर अस्पतालको २२औँ वार्षिकोत्सव तथा १७औँ राष्ट्रिय क्यान्सर सतर्कता दिवसका अवसरमा उनले क्यान्सर उपचार स्वदेशमै हुने गरी अस्पताललाई सुधार गर्नुपर्ने बताए ।
क्यान्सर रोगको उपचार अति महँगो भएको बताउँदै राज्यमन्त्री श्रेष्ठले भने, ‘क्यान्सर उपचारका लागि विपन्न उपचारमार्फत दिइँदै आएको रु एक लाखलाई बढाएर रु पाँच लाख पुर्याउने निर्णय सरकारले गरिसक्यो ।’ क्यान्सर अस्पताललाई आवश्यक पर्ने पेटस्क्यान, पेटस्क्यानलाई आवश्यक पर्ने साइकोटन, लिन्याक्स एक्सिलेटरलगायतका ठुलो उपकरण खरिद गर्ने योजना बनाइरहेको उनको भनाइ छ ।
स्वास्थ्य क्षेत्रलाई सुधार गर्न आवश्यक रहेको भन्दै उनले भने, ‘जबसम्म सार्वजनिक स्वास्थ्यलाई सुधार गर्न सक्दैनौँ तबसम्म निजी अस्पतालले ‘डोमिनेट’ नै गर्छन् ।’ अब निजी अस्पतालको अनुगमनलाई कडाइ गरिने भन्दै राज्यमन्त्री श्रेष्ठले कुन क्षमताको अस्पताल कस्तो हुनुपर्छ भन्ने कुरा कडाइका साथ अनुगमन हुने बताए ।
फरक प्रसङ्गमा उनले आगामी वैशाखसम्म सबै नेपालीलाई खोप लगाइसक्ने बताए । उनले दसैँसम्म एक करोड ६० लाख खोप लगाइसक्ने जानकारी दिए । कात्तिकसम्ममा ३३ प्रतिशत नेपालीलाई खोप लगाइसक्ने उनको भनाइ थियो । ‘पर्यटकीय र आर्थिक गतिविधि बढी हुने ठाउँमा प्राथमिकता दिएर खोप लगाइने छ’, उनले भने । नेपाललाई अब तीन करोड २३ लाख खोप आवश्यक रहेको भन्दै राज्यमन्त्री श्रेष्ठले भने,’त्यसको सुनिश्चितता हामीले गरिसकेका छौँ ।’ बालबालिकालाई आवश्यक पर्ने खोपको पनि व्यवस्था भइसकेको उनले बताए । उनका अनुसार बालबालिकाका लागि एक करोड खोप ल्याउने सुनिश्चितता भइसकेको छ । त्यसका लागि केही खोपका लागि रकमसमेत बुझाइसकेको उनले जानकारी दिए । उनले दसैँ लगत्तै बालबालिकालाई लगाइने खोप आउने बताए ।
कार्यक्रममा राष्ट्रियसभा राष्ट्रिय सरोकार समितिका सभापति एवं नेकपा (एमाले) चितवनका अध्यक्ष पार्वती रावल, प्रदेशसभा सदस्य मिलनबाबु श्रेष्ठ, नेपाली काँग्रेस चितवनका सचिव उत्तम जोशी, नेपाल मेडिकल काउन्सिलका रजिस्ट्रार डा. कृष्ण अधिकारी, नेपाल स्वास्थ्य अनुसन्धान परिषद्का कार्यकारी प्रमुख डा. प्रदीप ज्ञवालीले बोलेका थिए।
यस्तै माओवादी केन्द्रका प्रतिनिधि बद्री तिमिल्सिना, भरतपुर महानगरपालिकाका उपप्रमुख पार्वती शाह, अस्पताल सञ्चालक समितिका सदस्य रामप्रसाद न्यौपाने, अस्पतालका पूर्व अध्यक्ष डा. भक्तमान श्रेष्ठ, चिनियाँ चिकित्सक टोलीका प्रमुख डा. झाङ वी लगायतले शुभकामना मन्तव्य व्यक्त गरेका थिए ।
अस्पताल सञ्चालक समितिका अध्यक्ष डा. निर्मल लामिछानेको अध्यक्षतामा भएको कार्यक्रममा अस्पतालको प्रतिवेदन कार्यकारी निर्देशक डा. देजकुमार गौतमले प्रस्तुत गरेका थिए । यसअघि स्वास्थ्य तथा जनसङ्ख्या राज्यमन्त्री श्रेष्ठले अस्पतालको अक्सिजन प्लान्ट र फोहर व्यवस्थापन युनिटको उद्घाटन गरेका थिए ।