१५ बैशाख २०८२, सोमबार

प्रशासन एक्सक्लुसिभ

crisis_alert चार निर्माण कम्पनी कालोसूचीमा (सूचीसहित)    crisis_alert यसरी घट्न थाल्यो बालविवाह : अभियान सँगसँगै स्थानीय सरकार पनि लागि परे     crisis_alert गाँजामाथिको प्रतिबन्ध हटाउने प्रतिवेदन तयार, कस्तो छ गाँजाबाटै समृद्धि भित्र्याउने सरकारी खाका ?   crisis_alert मन्दीले ताल्चा लाग्न थालेको बजार : खोल्ने कसले हो, कसरी हो ?   crisis_alert किन काम गरिरहेका छैनन् अर्थतन्त्र सुधारका प्रयासले ?   crisis_alert अर्थतन्त्रको सङ्कटबाट साना व्यवसाय नियाल्दा: त्यति विधि निराशा छैन, आशा बाँकी छ   crisis_alert गरिबलाई बाँच्नसमेत नदिइरहेको आर्थिक सङ्कट   crisis_alert सङ्कटको डिलमा पुग्दै आन्तरिक अर्थतन्त्र   crisis_alert गृह मन्त्रालयले थाहै नपाई कैदीहरूले गरिदिए जेलरको सरुवा   crisis_alert बाँसबारी जग्गा प्रकरणको केन्द्रमा छन् विनोद चौधरी    crisis_alert काँग्रेस सांसदको पाँचतारे होटेलका लागि एकै दिनमा फेरियो कानुन    crisis_alert ‘भिजिट भिसा’ले अन्तर्राष्ट्रिय विमानस्थलमा टकराब, किन भइरहेछ प्रहरी-अध्यागमन मनमुटाब ?    crisis_alert विधिको शासनकै मजाक बनाइएको ललिता निवास प्रकरण  

प्रशासन एक्सक्लुसिभ

crisis_alert चार निर्माण कम्पनी कालोसूचीमा (सूचीसहित)    crisis_alert यसरी घट्न थाल्यो बालविवाह : अभियान सँगसँगै स्थानीय सरकार पनि लागि परे     crisis_alert गाँजामाथिको प्रतिबन्ध हटाउने प्रतिवेदन तयार, कस्तो छ गाँजाबाटै समृद्धि भित्र्याउने सरकारी खाका ?   crisis_alert मन्दीले ताल्चा लाग्न थालेको बजार : खोल्ने कसले हो, कसरी हो ?   crisis_alert किन काम गरिरहेका छैनन् अर्थतन्त्र सुधारका प्रयासले ?   crisis_alert अर्थतन्त्रको सङ्कटबाट साना व्यवसाय नियाल्दा: त्यति विधि निराशा छैन, आशा बाँकी छ   crisis_alert गरिबलाई बाँच्नसमेत नदिइरहेको आर्थिक सङ्कट   crisis_alert सङ्कटको डिलमा पुग्दै आन्तरिक अर्थतन्त्र   crisis_alert गृह मन्त्रालयले थाहै नपाई कैदीहरूले गरिदिए जेलरको सरुवा   crisis_alert बाँसबारी जग्गा प्रकरणको केन्द्रमा छन् विनोद चौधरी    crisis_alert काँग्रेस सांसदको पाँचतारे होटेलका लागि एकै दिनमा फेरियो कानुन    crisis_alert ‘भिजिट भिसा’ले अन्तर्राष्ट्रिय विमानस्थलमा टकराब, किन भइरहेछ प्रहरी-अध्यागमन मनमुटाब ?    crisis_alert विधिको शासनकै मजाक बनाइएको ललिता निवास प्रकरण  

फेरि उज्यालो भयो

अ+ अ-

एकान्तरमणको छेउमै दुई जना वृद्धहरु बसिरहेका छन् । ती दुई जना सज्जनहरु उनका अन्तिम मित्रहरू हुन् । अरु सबै मरिसके । एकान्तरमणको नाति सुकलको विवाहको पार्टी चलिरहेको छ । अलि पर चार जना इण्डियन केटाहरू ब्ल्याक चिम्नी पिइरहेका छन् । ती नाति सुकलका अत्यन्तै प्यारा मित्र रे । फेसबुके मित्रता वैवाहिक समारोहको पाहुना बन्ने चरणमा पुगेछ । बूढाले केटाहरूतिर हेर्दै मनमनै सोचे , ‘के के तमासा देख्नुपर्छ यो जमानामा ।’ एउटा केटाले उनीतर्फ हेर्दै भन्यो , ‘सुकलका दादा नेपालका बहुत बडा आदमी है । देखो तो इस उम्रमे भी कितना चमक रहा है । दो बूढे जो वाइन पीके मस्त झूल रहे हैं , दादाके अन्तिम जीवित मित्र हैं ।’

एकान्तरमण एक अलिखित इतिहास हुन् नेपालका । कुनै समयमा उनी निजामती सेवाका कुशल र प्रबुद्ध कर्मचारी थिए । एक गुमनाम पेशा जहाँ समस्त प्रतिभा सदैव अर्कैको नाममा प्रकाशित भयो । उनले सृजना गरेका आकर्षक वाक्यहरु अरु कसैले बोल्यो । उनको इमानदारीको यश कहिल्यै फैलिएन । उनको सारा प्रज्ञा र प्रतिभा सरकारी फाइलमा पोखिनुमै सीमित भयो । उनले सरकारसमक्ष प्रस्तुत गरेका तर्क र युक्तियुक्त सुझावहरुलाई स्वार्थी राजनीतिको चर्मचक्षुले पहिल्याउनै सकेन । एकान्तरमणकी सरस्वतीलाई सिंहदरबारको अँध्यारो कोठाको धमिराले खाएर स्वाहा पार्यो । जुन फाइलभित्र उनको प्रज्ञा गुमनाम भयो , नाम पनि तिनै फाइल र हाजिरी किताबमा सीमित भएर गुमनाम भयो ।

उनको नोकरीको अन्तिम समयतिरका रसिला प्रधानमन्त्री भन्ने गर्दथे , ‘तपाईं जस्ता सचिव सात जना मात्र हुने हो भने पनि धेरै गर्न सकिन्छ । मलाई कामनारहित , प्रशान्त स्वभाववाला , कर्मशील र इमान्दार मानिस मन पर्छ । यहाँ मेरा राजनीतिक मित्रहरू आफूप्रति बफादार कर्मचारी खोज्दछन् । व्यक्तिगत बफादारी खतर्नाक हुन्छ एकान्तरमणजी । यहाँ राष्ट्रप्रति बफादार र राज्य र समाजप्रति इमान्दार मानिसको खाँचो छ ।’ उनी भन्थे , ‘हेर्दै जानुहोला , निजामती सेवा दिन प्रतिदिन लथालिङ्ग हुँदै जानेछ । कर्मचारी देशको सर्वाधिक बाठो वर्ग हो , तर यसले राजनीतिलाई प्रशासन सिकाउन थाल्यो भने राजनीतिले नीति बिर्सेर प्रशासन चलाउन थाल्नेछ । कर्मचारीहरु देशका सेवक नभई राजनीतिको भरियामा परिणत हुनेछन् ।’

एकान्तरमणका कान अझै टाठै छन् तापनि आँखाले धोका दिए । पुराना कुराहरु केही पनि बिर्सेका छैनन् उनी । परन्तु भरखरैको कुरा ठाउँको ठाउँ बिर्सन्छन् । अठार वर्षको उमेरमा विवाह भयो । पढाइ सकेर नोकरी खोज्न काठमाडौं आएको बखतमा एउटा छोरो छाडेर श्रीमती लाहुरेसँग पोइल गइन् । निजामती सेवाको अधिकृत भएपछि उनले अर्को विवाह गरे । तर भाग्यमा पत्नीसुख लेखेको रहेनछ । विवाह गरेको दुई वर्षपछिको कुरा हो । धर्मभीरु पत्नीले माघे सङ्क्रान्ती नुहाउन जाऔं भनेर कर गर्न थालिन् । देउघाटमा काली र त्रिशुलीको सङ्गममा नुहाउन पसेकी उनी कहिल्यै बाहिर निस्किनन् । झण्डै पचास वर्षदेखि उनी एकान्त विधुर जीवन बिताइरहेका छन् ।

पार्टी चलिरहेको छ । आज नातिको विवाहको उपलक्ष्यमा उनी आधा खुसी र आधा दु:खी छन् । ‘अब के होला ? के नवागन्तुक नातिनी बुहारीको स्नेह प्राप्त होला ? के नाति र बुहारी चिरञ्जीवी होलान् ?’ आज एउटा कर्मवीर मान्छे भाग्यवादी बन्न वाध्य भएको छ । जब बिना कुनै दोष बारम्बार दुर्भाग्यले द्वारमा दस्तक दिन थाल्दछ , मनुष्यको कर्मबाट विश्वास हराएर जान्छ । पहिली पत्नी चन्द्रप्रभाले छाडेर पोइल गएको छोरो चन्द्रसुन्दरलाई उनले कत्रो दु:ख गरेर हुर्काए । उसलाई पढाए , बढाए र विवाह गरिदिए । विवाह गरेको चार वर्षपछि इन्जिनियर छोरो चन्द्रसुन्दर र बुहारी हवाइजहाज दुर्घटनामा परेर मरे । नियतिले उनलाई पहिले आमा जीउँदै हुँदा टुहुरो भएको छोरो र पछि आमाबाबु गुमाएको टुहुरो नाति हुर्काउने अभिभारा भिरायो ।

तत्कालीन प्रधानमन्त्रीले ‘मलाई कामनारहित , प्रशान्त स्वभाववाला , कर्मशील र इमान्दार मानिस मन पर्छ’ भनेपछि उनले एउटा अन्जान मानिसले जस्तो आफ्नो निजी सहायकको रुपमा काम गर्ने सम वयका सुब्बा विदुरनाथलाई सोधेका थिए , ‘सुब्बासाब कामनारहित मनुष्य कस्तो हुन्छ ?’ सुब्बा विदुरनाथले भनेका थिए ,’ कामनाहीन मानिस दुर्लभ छ हजुर ! तथापि कामना राखेर कर्म गरे तापनि त्यसको फल प्राप्त नहुँदा शोकाकुल र निराश नहुने मानिस महान मानिन्छ । भाग्यले ठग्यो भनेर कर्म गर्न छाड्ने मानिस पलायनवादी हो । जीवनबाट पलायन गरेर कहाँ जाने ? जोगी भएरै हिँडे पनि सौभाग्य र दुर्भाग्य साथै जान्छ ।’

पार्टीमा निकै नाचगान चलिरहेको छ । कतिपय मानिस नजिकै आएर उनलाई नमस्ते गर्छन , तर कोही बोल्दैन । उनका अन्तिम मित्रहरू पर सोफामा आडेस लागेर उँघ्न थाले । मदिरापानको तरङ्गमा रङमङिएका बोलीहरु छरपस्ट हुन थाले । सामान्य बेलामा भन्न सङ्कोच लाग्ने शब्दहरू सहज हुँदै गए । कसैले भनेको सुनियो , ‘यो बूढो महाको मक्खीचुस हो , कताबाट नातिले रकम फुत्काएछ ।’ कसैले भने , ‘यो भोजलाई खासै झकास मान्न सकिन्न ।’ कसैले भने ‘यो बूढोलाई हेर म कस्तो धनी छु ! भनेर देखाउनु थियो , देखायो ।’ एकान्तरमणका बा भन्ने गर्थे , ‘विवाहमा गरेको खर्चले न धर्म हुन्छ , न इज्जत बढ्छ न त कोही खुसी नै हुन्छ । तर गर्नु नै पर्छ , अर्को उपाय छैन ।’

मद्यपान नगर्ने पाहुनाहरु गइसके । थोरै मद्यपान गरेर मन्दमन्द मजा लिनेहरु पनि प्रायः हिँडिसके । तर मस्तसँग खानेहरु अझै रम्दै छन् । दुई तीन जना केटाहरू आएर आज त हजुरबा पनि नाच्नुपर्छ भनेर तान्न थाले । फेरि महिलाहरू आएर उनलाई तानेर लगे । ‘तु चीज बडी है मस्त मस्त तु चिज बडी है मस्त् !’ एक जना महिला बूढालाई च्याप्पै समातेर नाच्न थालिन् । ‘आसिक है तेरा नाम नाम दिल लेना देना काम काम मेरी बाहे मत थाम थाम बदनाम है तु …।’ प्रमदा महिलाले ‘कस्तो च्वाँक’ भन्दै एकान्तरमणको गालामा च्वाप्प चुम्बन गरिन् । केही बेरका लागि उनी तरङ्गित र पराजित भए जस्तो भए । शरीरभरि रोमाञ्च पैदा भयो । जीवनमा पच्चीस देश घुमे पनि उनी आफ्नो भाग्यमा स्त्रीसुख लेखेको छैन भन्ने बुझेर नारी जातिबाट सर्वदा टाढै बसेका थिए उनी। आज के भयो यो उमेरमा ?

बाह्र बजे उनीहरू घर पुगे । एकान्तरमण आफ्नो कोठाभित्र पसे । किन किन आज उनलाई ऐना हेर्न मन लाग्यो । टीभी खोले । रजनिसको प्रवचन आइरहेको थियो । ‘कसैको आस नगर , कसैको बोझ नबन । आफूभित्रको उपद्रवलाई बन्द गर I जब तिमीलाई अर्कोलाई सताउने अधिकार छैन भने आफूलाई सताउने अधिकार कसले दियो ? आफूलाई आफैले सताउनु स्वयंविरुद्धको अपराध हो I बेहोसीबाट जागेर चैतन्य होऊ I जुन दिन थाहा पाउने छौ कि म नै परम चैतन्य हुँ , तिमी स्वयं परमात्मा हुनेछौ I चित्तलाई शान्त र स्थिर राख । विचलित नबन । वर्तमानमा बाँच्न सिक I’

एकान्तरमणलाई सबैले ज्ञानी भन्थे । सबैको नजरमा सज्जन , प्रज्ञावान र स्थिरमति भएका हाकिममा गनिन्थे उनी । छिमेकीहरु भन्ने गर्थे , ‘यी सज्जनकहाँ बढेका छोरी बुहारीलाई रातभरि सुत्न पठाए पनि केही खतरा छैन ।’ उनले आज वाइन खाएको सुरमा सोचे , कस्तो खाले सज्जन हुँ म ? कस्तो ज्ञान र प्रज्ञा हो मेरो त्यो ? फेरि उनले सुब्बा विदुरनाथलाई सम्झे । एक दिन उनले सोधेका थिए , ‘सुब्बासाब ज्ञानी भनेको के हो ? सज्जन भनेको के हो ?’ विदुरले भने , ‘यो एउटा भन्ने चलन हो हजुर । सोझो बालकलाई झन् सोझो बनाउन फुस्लाउने विद्या हो यो । के गरे ज्ञानी होइन्छ ? के जानेर ज्ञानी बनिन्छ र के नजानेर अज्ञानी ? सबै कुरा गुमाउने नै सज्जन हो भने कोही किन सज्जन हुने ? कि तथ्यलाई तर्कको आवरणले छोप्नु नै ज्ञान हो ? रणमैदानबाट भाग्ने कायर रे जीवनको मैदान छाडेर पलायन गर्ने ज्ञानी साधु । त्यही पलायन गर्नेको भाषण सुन्न जम्मा हुन्छन् गृहस्थहरु । त्यही जीवनको गहिराइ नबुझेको मानिस यो जीवनलाई मिथ्या भन्दछ , गृहस्थहरु ताली बजाउँछन् । मनुष्य यथार्थभन्दा पाखण्डमा र प्रमाणभन्दा प्रवञ्चनामा रम्दोरहेछ ।’

रातको एक बजिसक्यो । बाहिर बैठक कोठामा अझै पनि नाचगान चलिरहेको छ । ‘जुम्मेकी रात है चुम्मेकी बात है …!’ बूढा रमिता हेर्नुपर्यो भनेर बाहिर निस्के । बैठकमा सात आठ जना नाचिरहेका थिए । उनी ठिङ्ग उभिए । नाति सुकलले भन्यो , ‘हजुरबुवा किन आको फेरि ?’

हजुरबुवा – रमाइलो लाग्यो नाति

नाति – सुत्नु पर्दैन ?

हजुरबुवा – निद्रा लागेन

नाति – निद्रा नलागे रामको नाम जप्नुस् । राम बनेकै तपाईं जस्ता वृद्धवृद्धाका लागि हो । रामको नाम लिन मन छैन भने देवीको नाम लिनुस् । या देवी सर्वभूतेसु निद्रारुपेण संस्थिता…।

नातिको वचन रुखो र अनपेक्षित थियो । किन्तु त्यो वचनले उनलाई उन्मादी ज्वारभाटाबाट वास्तविकतामा ल्याइदियो । एकान्तरमणले विवाह कार्यक्रममा कति खर्च भयो भन्ने बिर्सिसकेका थिए । चेकबुक निकालेर हेरे । उनले जम्मा चार पटक चेक काटेका रहेछन् , तर प्रत्येक पल्ट पहिलो चेक काटेको सोचेर । नातिसँग रिस पनि उठ्यो । फेरि सम्भावित दारुण भविष्य सम्झेर शरीर नै जिरिङ्ग भयो । उनी सकारात्मक सोचका मानिस थिए । दु:ख सहने अपार शक्ति थियो । अत्यन्तै कर्मठ र कर्तव्यशील थिए । उनले फेरि सहसा सुब्बा विदुरनाथलाई सम्झे । एक दिन उनले सोधेका थिए , ‘सुब्बासा’ब कर्म भनेको के हो ?’

विदुरले भनेका थिए , ‘सर हजुर मलाई सुकरात जस्तो लाग्छ । आफूले एक प्रकारले जानेको कुरा अर्कोले कस्तो प्रकारले जान्दोरहेछ भनेर थाहा पाउन खोज्ने यो प्रवृत्ति अद्भुत हो । यहाँ धेरै जसो हाकिमहरु आफूलाई सर्वज्ञानसम्पन्न मान्दछन् । हजुर अन्जान जस्तो बनेर अरुको धारणा बुझ्न थाल्नुहुन्छ । हुन त हजुर आफै जानकार हुनुहुन्छ तापनि मैले जानेको म भन्दछु । कर्म भनेको नियमानुसार आफूलाई तोकिएको कर्म गर्नु हो । आसक्तिरहित बनी कर्ताभाव नराखिकन गरिने कार्य अकर्म हो भने राग , द्वेष , आडम्बर , आत्मरति र अहङ्कारले पूर्ण कार्य विकर्म हो । जो कर्म गर्दै जान्छ र सिद्धि र असिद्धिमा समभाव राख्दछ त्यस्तो द्वन्द्वरहित मनुष्य नै कर्मयोगी हो । भगवान कृष्ण भन्दछन् , सुख दुख समे कृत्वा लाभालाभौ जयाजयौ । मेरो विचारमा त सर नै सच्चा कर्मयोगी हो । सर नै सच्चा स्थितप्रज्ञ हो । सर नै दु:खलाई परिश्रममा र शोकलाई शक्तिमा बदल्न सक्ने मानिस हो । यहाँ असल मानिसहरु चिनिन चाहन्नन् , चिन्नुपर्नेले अर्कैलाई चिन्दछ ।’

एकान्तरमण पलङमा पल्टे । आज उनलाई निद्रा लागेन भनेर नभई निद्रा लाग्छ कि भन्ने चिन्ता छ । आज जीवनका सबै उतारचढाव र सुखदुःखको सम्झना गर्न चाहन्छन् उनी । आज उनी आफ्नो जीवनलाई नग्न पारेर अङ्ग प्रत्यङ्ग नियाल्न चाहन्छन् । आज उनी जीवनलाई छ्याल्लब्याल्ल भुइँभरि पोखेर त्यसका टुक्राटुक्रालाई साक्षी भावले हेर्न चाहन्छन् । आज उनले नातिको वैवाहिक कार्यक्रम सके । उनी चाहन्छन् , यो कार्य उनको जीवनको अन्तिम कर्तव्य बनोस् । फेरि यो वृद्धावस्थामा कसैलाई गुमाउनु नपरोस् । अब बाँच्नुपर्ने निहु पनि सकियो । उनी सोचिरहेछन् , अब उनमा सहन सक्ने ग्रन्थी बाँकी छैन । अब भाग्यको कुनै प्रहार झेलेर स्थितप्रज्ञ बनिरहने साहस बाँकी छैन उनमा । उनी अपार सहनशील मानिस हुन् । परन्तु दैवी प्रहारको पनि सीमा हुन्छ ।

नोकरीको समयमा उनी अनेक तरहका मानिसहरू देख्दथे । आफ्नो स्वार्थ पूरा गर्नका लागि नानाभाँती बहानाबाजी गर्ने र भावनात्मक कुरा गर्ने मानिस देखेर उनी चकित हुन्थे । एक दिन एउटा कर्मचारी आएर उनको अगाडि उभियो । उनले बस्नुहोस् भनेर इशारा गरे । कर्मचारीले भन्यो , आज म बस्न आएको होइन । एउटा बाहुनको छोराको नाताले केही भन्न आएको हुँ ।

उसले एउटा हातले जनै र अर्को हातले टुप्पी समातेर भन्यो , यति काम गरिदिए तपाईंलाई धर्म होला । मेरा छोराछोरीको पनि केही परित्राण होला । एकान्तरमण मिटिङमा हुँदा बोलक्कड सहकर्मीप्रति मनमनै कृतज्ञ हुन्थे , किनकि उनीहरू नै बोलिरहने हुँदा आफूलाई बोल्ने झन्झट गर्नु पर्दैनथ्यो । उनी नितान्त असल श्रोता थिए । आज पनि उनले केही उत्तर दिएनन् ।

कर्मचारी जनै समातेर उभिइरहेकै थियो , अनेकौं पुकारा गरिरहेकै थियो । सचिवले सुब्बा विदुरनाथलाई बोलाएर सोधे , ‘सुब्बासाब ब्राह्मण भनेको के हो ?’ विदुरनाथले भने , ‘ब्राह्मण धर्मको निर्माता र रक्षक हो । ब्राह्मण लोभ गर्दैन , संग्रह गर्दैन , अर्काको अगाडि दु:ख पाएँ हजुर ! भनेर नेहोरा गर्दैन । सच्चा ब्राह्मण पद , प्रतिष्ठा र पैसाको भोको हुँदैन । कोही पनि जन्मले ब्राह्मण हुँदैन , कर्मले हुन्छ । कुनै पनि ब्राह्मणले जनै बाहिर निकालेर स्वार्थका लागि निहुरिने काम गर्दैन ।’ जनै समातिरहेका कर्मचारी कुन बेला फुत्त बाहिर निस्के , एकान्तरमणले थाहै पाएनन् ।

करिब दुई वर्ष अघिको कुरा हो । एकान्तरमण घुम्दै फिर्दै काशी पुगेका थिए । भगवान विश्वनाथको दर्शन गरेर यसो छेउ लाग्दै थिए कि कसैले दौराको फेरो तान्यो । एक जना वृद्ध महिलाले सोधिन् , तपाईं एकान्तरमण होइन ?

उनी – हो म एकान्तरमण हुँ ।

वृद्धा – मलाई चिन्नुभयो ?

उनी – चिन्न सकिन ।
वृद्धाले अत्यन्त जीर्ण सुर्के थैली निकालिन् । त्यसको मुख खोलेर एउटा औंठी निकालेर भनिन् , यसलाई चिन्नुहुन्छ ?

उनी – तपाईं को हो ? यो औंठी कहाँबाट पाउनुभयो ?

वृद्धा – म चन्द्रप्रभा । यो औंठी तपाईंले पहिराउनु भएको हो।
बूढा केही नबोली सरासर अघि बढ्न थालेको देखेर वृद्धाले फेरि दौराको फेरो समातिन् । मैले तपाईंसँग केही कुरा गर्नुछ ।

उनी- म सुन्न चाहन्न ।

वृद्धा – अहिले पनि मेरो मनको राजा तपाईं नै हो ।

उनी – यस्ता कुराको कुनै प्रयोजन छैन ।

वृद्धा – आज हाम्रो छोरा चन्द्रसुन्दरको जन्मदिन हो थाहा छ ?

उनी – थाहा छ ।

वृद्धा – म छोराको दिर्घायुका लागि भगवान भोलेनाथको कृपा माग्न प्रत्येक वर्ष देहरादुनबाट यहाँ आउने गरेकी छु । ऊ त्यो मेरी छोरी कृतिका हो । म बिग्रंदाको चिनो । यो दृष्टिविहीन छोरी निकै मेधावी छ । कृतिका दर्शनशास्त्रकी प्रोफेसर हो । यसलाई म यहाँ प्रत्येक वर्ष किन आउँछु भन्ने थाहा छ ।

उनी – चन्द्रसुन्दर मरेको पच्चीस वर्ष भयो ।

चन्द्रप्रभा डङ्ग्रङ्ग जमिनमा ढलिन् । एकान्तरमण त्यहाँबाट निष्ठुरतासाथ पछाडि नफर्केर भागे ।

अचेल एकान्तरमण विधातासँग प्रश्न गर्दछन् , त्यो भेट किन गराइस् ? आज उनी सोचिरहेछन् , मैले चन्द्रप्रभाको कुरा नसुनेर भाग्नु ठीक थियो कि सुन्नुपर्थ्यो ? उसले भन्न चाहेको कुरा के थियो होला ?

दुनियाँको नजरमा उनी एक स्थितप्रज्ञ महामना थिए । आज त्यो छवि पनि सकियो । समकालीन सहकर्मी जम्मा दुई जना बहिरा र जीर्ण वृद्धहरु बाँकी छन् । चिनेका कनिष्ठहरु समयक्रममा विस्मृत हुँदै गए । पहाडको जो भएको सबै सम्पत्ति बेचेर सकियो । त्यहाँ जाने बाटो आफै मेटियो र सबैले बिर्सी पनि सके । सहरको एउटा कुनाको यो घरका करिब सबै समकालीनहरु बितिसके ।

कसलाई देखाउने दु:खहरु ? कसलाई सुनाउने दिलका दर्द र बेथाहरु ? यहाँ रुने ठाउँ पनि त छैन । आवाज त रोकेर रोकिएला , तर आँसु कहाँ रोकिन्छ ? त्यही एउटा नाति छ जिलो , त्यसलाई आँसु देखाउनुको कुनै प्रयोजन छैन । उसले यो दर्द बुझ्न पनि सक्दैन , बुझे पनि महसुस गर्न सक्दैन । यही कोठा हो जो मौन साक्षी बनी एकान्तरमणले झारेका आँसुका थोपाहरु पिएर बसिरहेको छ ।

एकान्तरमण बिहान सबेरै नुहाइ धुवाइ गरी फ्रेस भएर बैठक कोठामा गएर बसे । नयाँ नातिनी बुहारीको अगाडि सभ्य बन्नु उनको कर्तव्य पनि त् थियो । रातभरि नाचेका सबै प्राणीहरु हिँडिसकेछन् । बुहारी सम्मतिले बैठक सफा गरेकी रहिछन् । आज दर्जनौं वर्षपछि आफ्नै घरकी नारीको हातबाट सरसफाइ गरिएको ठाउँमा बस्न पाउँदा उनी गदगद भए । जीवनभरिका सारा दर्दहरु मेटिए जस्तो महसुस भयो । विधाता दयालु छ , उसले कुनै न कुनै रुपमा सबैको परीक्षा लिन्छ । आज एकान्तरमणले समस्त थकानपूर्ण एकान्तको अन्त्य भएको महसुस गरे । उनको मुहारमा अपूर्व तेजको उदय भयो । उनी सदा सर्वदा आनन्द र खुसीमा जीवन बिताएको मानिस जस्तै उज्ज्वल र कान्तिवान देखिए ।

बुहारी आएर बुवालाई प्रणाम गरेर मेचमा बसिन् । उनले भनिन् , ‘मलाई हजुरको जीवनको सारा कुरा थाहा छ ।’

उनी – सुकलले भन्यो होला तिमीलाई । मेरो जीवनका साराका सारा कुरा त्यसलाई पनि थाहा छैन ।

सम्मति – सुब्बा विदुरनाथलाई सम्झनुहुन्छ ?

उनी – उहाँ मेरो अनन्य मित्र हुनुहुन्थ्यो । पेशाले मेरो सहायक भए तापनि उहाँ मेरो गुरु समान हुनुहुन्थ्यो । उहाँलाई मेरोजीवनका सारा कुरा थाहा थियो । दुर्दैवले मेरो मित्रलाई खोसेर लगेको दस वर्ष भयो सम्मति ।

एकान्तरमण र सम्मति दुबैका आँखा सजल भए । सम्मति भन्दै रहिन् , ‘म सुब्बा विदुरनाथकी नातिनी हुँ । हजुरबुवा भन्नुहुन्थ्यो , म बाँचिहें र मैले भनेको मान्यौ भने तिम्रो विवाह एकान्तरमण सचिवज्यूको नातिसँग गरिदिनेछु । संयोगले आज उहाँको सपना साकार भएको छ I हजुरको सान्निध्यमा म पनि धेरै खुसी छु । म हजुरको सकभर सेवा गर्नेछु । म हजुरलाई धेरै माया गर्नेछु ।’
एकान्तरमणका आँखाबाट झरेका मनतातो आँसुका गोल गोल थोपाजरुले नाकको टुप्पो हुँदै छाती भिजाइरहेका थिए । उनले सम्मतितर्फ हर्दै आँखा पुछे । वृद्धको मुखबाट अनायास आवाज फुट्यो , ‘फेरि उज्यालो भयो ।’

उनी एक कप कफी खाएर आफ्नो कोठामा पसे । एकान्तरमण सहज आसनमा बसेर गीता पाठ गर्न थाले ‘वासांसि जीर्णानि यथा विहाय नवानि गृह्णाति नरोऽपराणि । तथा शरीराणि विहाय जीर्णा- न्यन्यानि संयाति नवानि देही ।’ खाना खाने बेला भयो । नाति सुकल हजुरबुवालाई बोलाउन गयो । त्यहाँ एकान्तरमणको पार्थिव शरीर मात्र थियो । उनी अनन्तमा विलीन भइसकेका थिए ।

प्रतिक्रिया दिनुहोस