विक्रम संवत् २०७८ साल माघ ८ गते बिहानको उदाउँदो सूर्यको बिहानीसँगै ६ बजे देखि नै म निकै व्यस्त थिए र आफ्नो सदा झैँ डिउटी । मलाई त्यो दिन मोबाइल निकाल्ने फुर्सद समेत थिएन । तर, एक्कासि मेरो मोबाइलमा ११ बजे मेसेजको घण्टी बज्छ । मेसेजमा मेरी आमाको सन्देश प्राप्त भएको रहेछ, प्यारो छोरा राजेश, मैले टी.भि. हेर्दा सबै तिमि जस्तै सिपाही छोराहरू माइतीघर मण्डला र बानेश्वरमा खचाखच भरिएको र तिमिहरू माथि ढुङ्गा मुढा बर्साएको देख्छु तिमी सन्चै छौ ? तिमीलाई कस्तो छ ? बाबु भनेर मैले सोध्दा सदा झैँ तिमीले भन्ने जवाफ त्यही त होला नि म आराम छु आमा, अनि हजुरलाई कस्तो छ ? त्यो मेसेज पढे मात्रै जवाफ लेख्ने समय थिएन ।
विक्रम सम्मत २०७२/७३ साल तिर हो,“गुडबाट भर्खर उडान भरेको पन्छी झैँ; देशभक्ति सिपाही बन्न गाउँका ठुल्दाई/सान्दाजुहरुसँग सहर पसेर सिपाहीको जागिर सुरु गरेको आज ३ वर्ष मात्रै पुगेछ । २० वर्षको रमाउने उमेरमा बर्दी सहितको नागरिक बन्न, जिम्मेवारीको भारी बोक्न, लाखौँसँग प्रतिस्पर्धा गर्दै हजारौँको भिडबाट सयौँको सङ्ख्यामा छनौट भएर देशभक्ति माटोको सिँदुर अर्पण गर्न सोचे झैँ सजिलो थिएन ।
जसोतसो अप्ठ्यारा र सङ्घर्षका बिच बर्दी सहितको नागरिक म पनि बनेँ । झन् त्यो भन्दा ठुलो कुरा यो क्रममा म रूपान्तरित मान्छे पनि भएँ । जीवनलाई हेर्ने दृष्टिकोण बदलिएको छ । आफ्नो अपूर्णता र असहज परिस्थितिमा रमाउन थालेको छु । भन्छन् नि –स्वेच्छाले ग्रहण गरेको दुःख पनि सुख मान्नुपर्छ ।
‘असारे हिलो सङ्घर्ष पछिको मङ्सिरमा झुल्ने’ धानका बालाले मेरो बा र आमाको अनुहारमा देखिएको खुसीको चमक झैँ उत्साह, कठोर, सङ्घर्ष र मिहेनत पश्चात् प्राप्ति मेरो देशभक्ति सिपाहीको सानदार विजयी उत्सवको यात्रा तिम्रै सुरक्षाका लागी थियो । स्मरण रहोस् –तपाईँको जस्तै मन, तपाईँका जस्तै नाबालक सन्तान, अनि परिवार प्रहरीका पनि हुन्छन् । रहर र बाध्यताका बिच आफ्नो जीवन गुजारा गर्न देशभक्ति मन लिएर सरकारी सेवामा प्रवेश गरेका हुन्छन् । प्रहरी तपाईँहरूसँग लड्न होइन त्यो भिडभाडमा तपाईँलाई नै केही होला कि भनेर तपाई कै सुरक्षा गर्न अहोरात्र खटिएका हुन्छन् ।
सरकारको फ्रन्टलाइनमा रहे पश्चात् सरकारको आदेश मान्नुपर्ने अनि शान्ति सुरक्षा सुव्यवस्था अमनचयन कायम गर्नु हाम्रो दायित्व हैन र ? प्रहरी आफ्नो सुरक्षाका लागि भिडलाई तितरबितर बनाउन खोज्दा देशभक्ति सिपाहीलाई राष्ट्रबादको नारा सिकाउँदै मसँगै सहर प्रवेश गरेका ती ठुल्दाईहरु हामी माथि एकोहोरो सडकका बज्रपात ढुङ्गा र इट्टाहरू हिर्काई रहेका हुन्छौ ।
देशभक्ति छोरो सिपाही माथि ढुङ्गा प्रहार गर्दा नदुख्ने ती मन र तिनका सन्तानहरूको कठोर मनलाई एक सिपाहीको तर्फबाट उच्च सम्मान र सलाम छ । इतिहासको कालखण्डमा पुर्खाले लडेर ल्याएको र हजारौँ सुरक्षाकर्मीले आफ्नो जीवन राष्ट्रका नाममा समर्पण गर्दै बनाएको मेरो स्वाधीन/स्वाभिमान मुलुक माथि कसैको निशानामा पर्दा हाम्रो मनले नि कसरी मान्ला र ?
हामी नि चाहन्छौ जनता सार्वभौम भएको अनि व्यवस्था बदलिएको । हाम्रो मुलुकका जनता समृद्ध बनुन् अनि मसँगै सहर प्रवेश गरेका सबै ठुल्दाईहरुको अवस्था बदलियोस् ।
देशभक्ति छोरो कहिल्यै मर्दैन आमा जतिसुकै टाउका माथि ढुङ्गा प्रहार गरे पनि । आशाको किरण बाल्न र निराशाको दियो निभाउन पीडाबाट शक्ति र मातृभूमि अनि मेरी आमाबाट प्रेरित रहँदै सदा राष्ट्रप्रति समर्पित म एक सिपाही ।
वियोगान्त मनका जलेको मन अनि रोएको प्रतिध्वनिसँगै कोठामा आउँदा रातको १२ बजी सकेको थियो एक्कासि निदाएछु ।
(आमालाई अर्को दिन फोनमा सबै कुरा गरे हौसला र ऊर्जा अथाह पाएँ)