काठमाडौँ । प्रमुख प्रतिपक्ष दल नेकपा (एमाले) का अध्यक्ष एवं पूर्वप्रधानमन्त्री केपी शर्मा ओलीले संक्रमणकालीन न्यायसम्बन्धी विधेयक (टीआरसी) पीडितमैत्री हुनुपर्छ भन्ने अडान नछोडेका कारण राष्ट्रिय सभा निर्वाचनमा एक्लिनुपरेको बताएका छन् ।
मंगलबारदेखि पार्टी मुख्यालय च्यासलमा सुरु भएको पार्टी केन्द्रीय कमिटी बैठकमा बोल्दै अध्यक्ष ओलीले राष्ट्रिय सभा निर्वाचनअघि नै टीआरसी विधेयक पारित गरौँ भन्ने प्रधानमन्त्री पुष्पकमल दाहाल र काँग्रेस सभापति शेरबहादुर देउवाको पटक(पटकको प्रस्तावमा सो विधेयक पीडितमैत्री हुनुपर्ने आफूहरूको अडानका कारण अघि बढ्न नसकेको दाबी समेत गरे ।
अध्यक्ष ओलीले पीडितलाई मञ्जुर हुनेबित्तिकै सो विधेयक पारित गराउन आफ्नो पार्टी तयार रहेको पनि बताए । उनले सो विधेयक दाहाल र देउवाकै कारण १८ वर्षसम्म टुङ्गोमा पुग्न नसकेको जिकिर समेत गरे । अध्यक्ष ओलीले सधैँका लागि अन्त्य हुने गरी आफ्नो पार्टीले टीआरसी विधेयक टुंगो लगाउनुपर्छ भन्ने मान्यता लिएको बताए । ‘म प्रधानमन्त्री हुँदा हामी शान्ति प्रक्रियाका बाँकी काम टुङ्ग्याउनुपर्छ भन्ने पक्षमा थियौँ । म प्रधानमन्त्री हुँदा पनि हामीले टुङ्ग्याउन साह्रै कोसिस गरेका हौँ । त्यतिबेला प्रचण्डजी र शेरबहादुर देउवाजीले टुङ्ग्याउन मान्नुभएन, अध्यक्ष ओलीले भने ।