१४ बैशाख २०८२, आईतवार

प्रशासन एक्सक्लुसिभ

crisis_alert चार निर्माण कम्पनी कालोसूचीमा (सूचीसहित)    crisis_alert यसरी घट्न थाल्यो बालविवाह : अभियान सँगसँगै स्थानीय सरकार पनि लागि परे     crisis_alert गाँजामाथिको प्रतिबन्ध हटाउने प्रतिवेदन तयार, कस्तो छ गाँजाबाटै समृद्धि भित्र्याउने सरकारी खाका ?   crisis_alert मन्दीले ताल्चा लाग्न थालेको बजार : खोल्ने कसले हो, कसरी हो ?   crisis_alert किन काम गरिरहेका छैनन् अर्थतन्त्र सुधारका प्रयासले ?   crisis_alert अर्थतन्त्रको सङ्कटबाट साना व्यवसाय नियाल्दा: त्यति विधि निराशा छैन, आशा बाँकी छ   crisis_alert गरिबलाई बाँच्नसमेत नदिइरहेको आर्थिक सङ्कट   crisis_alert सङ्कटको डिलमा पुग्दै आन्तरिक अर्थतन्त्र   crisis_alert गृह मन्त्रालयले थाहै नपाई कैदीहरूले गरिदिए जेलरको सरुवा   crisis_alert बाँसबारी जग्गा प्रकरणको केन्द्रमा छन् विनोद चौधरी    crisis_alert काँग्रेस सांसदको पाँचतारे होटेलका लागि एकै दिनमा फेरियो कानुन    crisis_alert ‘भिजिट भिसा’ले अन्तर्राष्ट्रिय विमानस्थलमा टकराब, किन भइरहेछ प्रहरी-अध्यागमन मनमुटाब ?    crisis_alert विधिको शासनकै मजाक बनाइएको ललिता निवास प्रकरण  

प्रशासन एक्सक्लुसिभ

crisis_alert चार निर्माण कम्पनी कालोसूचीमा (सूचीसहित)    crisis_alert यसरी घट्न थाल्यो बालविवाह : अभियान सँगसँगै स्थानीय सरकार पनि लागि परे     crisis_alert गाँजामाथिको प्रतिबन्ध हटाउने प्रतिवेदन तयार, कस्तो छ गाँजाबाटै समृद्धि भित्र्याउने सरकारी खाका ?   crisis_alert मन्दीले ताल्चा लाग्न थालेको बजार : खोल्ने कसले हो, कसरी हो ?   crisis_alert किन काम गरिरहेका छैनन् अर्थतन्त्र सुधारका प्रयासले ?   crisis_alert अर्थतन्त्रको सङ्कटबाट साना व्यवसाय नियाल्दा: त्यति विधि निराशा छैन, आशा बाँकी छ   crisis_alert गरिबलाई बाँच्नसमेत नदिइरहेको आर्थिक सङ्कट   crisis_alert सङ्कटको डिलमा पुग्दै आन्तरिक अर्थतन्त्र   crisis_alert गृह मन्त्रालयले थाहै नपाई कैदीहरूले गरिदिए जेलरको सरुवा   crisis_alert बाँसबारी जग्गा प्रकरणको केन्द्रमा छन् विनोद चौधरी    crisis_alert काँग्रेस सांसदको पाँचतारे होटेलका लागि एकै दिनमा फेरियो कानुन    crisis_alert ‘भिजिट भिसा’ले अन्तर्राष्ट्रिय विमानस्थलमा टकराब, किन भइरहेछ प्रहरी-अध्यागमन मनमुटाब ?    crisis_alert विधिको शासनकै मजाक बनाइएको ललिता निवास प्रकरण  

हरेक उँचाइको तल एउटा खाडल हुन्छ 

अ+ अ-

भूगोल पार्क । एउटा बेन्चमा बसिरहेको थिएँ । उतापट्टि अर्को बेन्चमा तीन जना पाका मानिसहरू कुरा गर्दै थिए । उनीहरू पढेलेखेका र अनुभवी प्रतीत हुन्थे । उनीहरू देशका, परदेशका, इतिहासका र वर्तमानका कुरा गरिरहेका थिए ।  गरिबी, अमिरी, मानवीय करुणा एवं परोपकारका बातचितहरू आकर्षक थिए । मनुष्यमा निहित आसुरी प्रवृत्ति, जीवनका क्षणभङ्गुरता र अनित्यताका कुरा चाखलाग्दा थिए । जीवनका सुख, दुःख, प्रेरणा, प्रोत्साहन र दुरुत्साहनजा कुरा शिक्षाप्रद  लाग्थे । सद्भावना, सहयोग, भाइचारा र मानवता एवं अमानवताका कुरा रुचिपूर्ण थिए ।

लामै संवाद गरेपछि उनीहरूको छुट्टिने बेला भयो । उठ्दैतस एक जनाले गम्भीर हुँदै भने,  ‘त्यति मात्र होइन महोदय ! होस राख्नुहोला, सबै सहकर्मी, कुटुम्ब, छिमेकी र परिचितहरू तपाईँका सुहृदय र हितैषी होइनन् । तपाईँकै वरिपरि कोही यस्तो व्यक्ति पनि होला, जो तपाईँको दुर्दिन पर्खेर बसिरहेको छ ।’

मलाई बडो उदेक लाग्यो । त्यसरी मर्मस्पर्शी ज्ञानगुनका कुरा गर्दागर्दै किन अकस्मात्  नकारात्मक विषय घुसाएर वातावरण नै नरमाइलो बनाएको होला । किन्तु अर्को मनले भन्यो, यो नरमाइलो कुरा होइन । यो त स्वाभाविक मानवीय मनोवृत्तिको कुरा हो ।  सधैँ र सबै मानिसहरू उदारमना महानुभाव र हितैषी मात्र भएर बस्दैनन् ।  परिस्थितिअनुसार उही व्यक्ति कहिले सुभेच्छु हुन्छ भने कहिले ईर्ष्यालु ।  घृणा,  द्वेष, उद्वेग र अपहेलना पनि मानवीय प्रवृत्ति नै त हुन् ।

उनको त्यस अप्रिय उद्बोधनमा सावधानीको सन्देश थियो । वास्तवमा एउटा मानिस मात्र अर्को मानिसको दुर्दिन कुरेर बसेको हुँदैन । कदाचित मनुष्यको नियति पनि दुर्दिन कुरेर बसिदिन्छ । कानुन,  प्रहरी, नियमनकारी निकाय र अन्ततोगत्वा राज्य नै पनि व्यक्तिले कहिले गल्ती गर्ला र च्याप्प पारौँला भनेर बकुल्लोले झैँ ढुकेर बसिरहेको हुन्छ । सार्वजनिक जीवनका अधिकांश मानिसलाई यस कुराको हेक्का त हुन्छ, परन्तु समग्रमा त्रुटिहीन जीवन बिताउन कठिन छ  ।

जो परिचित छ,  उही स्मरणमा हुन्छ । जो नजिक छ,  उसैसँग मित्रता हुन्छ । जो मित्र हुन्छ, उसैले मित्रको भेद पाउँछ । सहरमा हजारौँ गाडी गुडिरहेका हुन्छन्, किन्तु आफूले चिनेको मानिसले किनेको महँगो गाडीमा आँखा जान्छ । सहरभरि लाखौँ लाख बढे बढे घर छन्, तर तिनीहरूप्रति कुनै सरोकार या वास्ता हुँदैन । परन्तु आफूले चिनेको मानिसको घर देख्दा ईर्ष्या लाग्ने सम्भावना प्रबल हुन्छ ।

समान स्वार्थ हुनेहरूबिच प्रतिस्पर्धा हुन्छ । प्रतिस्पर्धामा सुरुमा ईर्ष्या र क्रमशः द्वेष उत्पन्न हुँदै जान्छ । एउटाको टिकट नखोसी अर्कोले टिकट पाउँदैन । एउटाको पदोन्नतिमा व्यवधान नपरी अर्कोको पदोन्नति हुँदैन । एउटाले पद नगुमाई अर्कोले पद पाउँदैन । एउटा नहारी अर्कोले जित्दैन ।

सार्वजनिक जीवनमा सफलताको सिँढी चढिरहेको मानिसलाई तल छुट्ने प्रतिस्पर्धीले नियालेर हेरिरहेको हुन्छ । हिजो एउटै पङ्क्तिमा हुँदा पो काँधमा काँध मिलेको थियो । अब त एउटा उछिनेर अगाडि गइसक्यो । यस अवस्थामा कतिपय व्यक्तिमा आफैले क्षति पुर्‍याउन नसके तापनि मनमनै अगाडि जानेको बरबादीको चाहना हुन्छ । एकातर्फ  पछाडि छुट्नेले अगाडि जानेप्रति खुला या गुप्त रूपमा इवी लिइरहेको हुन सक्छ भने अर्कोतर्फ माथिल्लो सोपानमा चढेको मानिसमा पदीय मद र अभिमान उत्पन्न हुन थाल्छ ।

प्रसिद्ध दार्शनिक फ्रेडरिक नित्से भन्छन्, ‘जब जब म सफलताको सिँढी चढ्न थाल्दछु, अहङ्कार नामको कुकुर मेरो पछाडि लागिहाल्छ ।’ सिद्धि विनाको प्रसिद्धि घातक हुन्छ । त्यस्तो प्रसिद्धिले अहङ्कारी बनाउँछ, चाहे त्यो अनुभव विनाको उत्ताउलो राजनीतिज्ञ होस् या किताबी ज्ञानमा सीमित कथित विद्वान । उच्चताको सेखीले नकारात्मक ऊर्जा बोकेको तलको खाल्डो बिर्साउँछ ।

उच्चतातिरको यात्राका सिलसिलामा सहानुभूति दिने इष्ट नजर मात्र होइन, अपितु अहित चाहने दुष्ट नजरले पनि हेरिरहेको हुन्छ । राजनीतिको मैदानमा हाम फालेका आला काँचा खेलाडीहरू अवसरवाद,  आवारापन र प्रतिभाका मिश्रण जस्ता लाग्दछन् । राजनीतिभित्रको राजनीतिको गुह्य कुरा नबुझ्ने अन्धवेगले ग्रस्त व्यक्तिको प्रज्ञा पनि निकम्मा हुन पुग्दो रहेछ । परिणामस्वरूप अरूले निर्माण गरिरहेको खाडललाई गहिरो बनाउने कार्यमा आफूले समेत योगदान दिइरहेको कुराको पत्तो नै  हुँदो रहेनछ ।

सत्ता, शक्ति र सम्पदामा आधिपत्य जमाएको व्यक्तिलाई अचेतनमा लुकेर बसेको अहङ्काररूपी कुकुर कुन बेला भुक्न थाल्छ शुद्धि नै हुँदैन । राजा द्रुपदले विद्यार्थी जीवनका अनन्य मित्र द्रोणलाई नियोजित रूपमा अपमान गरेका थिएनन् । त्यो त उनको अचेतनमा कुण्डली मारेर बसेको सर्पले ऐन मौकामा फणा उठाएको मात्र हो । द्रोणले गरेको ‘हे मित्र’  सम्बोधनले गद्दीनसीन राजाको अभिमानमा चोट लाग्यो । उनले अकस्मात् भनिदिए, ‘मित्र’को सम्बोधन त बराबरीमा मात्र सुहाउँछ ।’  राजा द्रुपदको त्यो अनर्गल वाणीले कति गहिरो खाडल खन्यो, महाभारत साक्षी छ ।

 परीक्षित बडो प्रतापी राजा थिए । उनको अनुशासन,  विनम्रता र कर्मशीलता अनुकरणीय थियो । परीक्षित विद्या, बुद्धि, चातुर्य र विवेकका पर्याय मानिन्थे । परन्तु साधारण परिस्थितिमा मनुष्यको परिचय पाउन कठिन हुँदो रहेछ । उसको वास्तविक पहिचान त तब हुँदो रहेछ, जब ऊ असाधारण परिस्थितिमा हुन्छ । त्यस्ता विनयी, सम्बुद्ध र नुहेका परीक्षित राजा पनि ऐन मौकामा चुके ।

सिकार खेल्न गएका बखतमा आफ्ना सहयोगीहरू कतै छुट्न जाँदा राजा भोक, तिर्खा र थकाइले व्याकुल हुन पुगे । भौंतारिंदै शमीक ऋषिको आश्रममा पुगेका उनले ऋषिलाई बोलाए । ध्यानमग्न ऋषिले राजा आएको चाल पाउन सकेनन् । राजाले सोचे, यो जोगीले जानीजानी  मेरो अपमान गरिरहेको छ । संस्कारको रूपमा जमेर बसेको राजकीय अभिमान जागिहाल्यो । राजा धनुषको नोकले मरेको सर्प उठाएर ऋषिको गलामा पहिराएर आफ्नो बाटो लागे । सारा शिष्टाचार र विनम्रता त राजकीय सम्मान र अभिनन्दनका बखतमा अभ्युदय हुने भद्रतामा पो सीमित रहेछ ।

पाँच जना वीर पतिकी संयुक्त महारानी सुन्दरी द्रौपदी इन्द्र प्रस्थमा मय दानवले निर्माण गरिदिएको विलास भावनमा बसिरहेकी थिइन् । उनी जस्ती विदुषी नारीलाई पनि एक से एक बहादुर पतिहरू, सम्पत्ति, रूप र यौवनको मदले अभिमानी बनाइछाड्यो । माथि अट्टालिकामा सखीहरूका साथ रमाइरहेकी उनी अकस्मात् दुर्योधनको उपहास गर्न पुगिन् । आफूबाट प्रयोग हुन् गएको दुर्वाच्यका लागि उनलाई अत्यन्त पश्चात्ताप पनि भयो । परन्तु फुत्केको बोलीको गोलीले दुर्योधनको छातीमा कहिल्यै नपुरिने घाउ बनाइसकेको थियो । आफ्नो छातीमा परेको अमिट खाल्टो पुर्न दुर्योधनले पनि द्रौपदीलाई खसाल्ने भड्खारो खन्न थाले ।

शक्तिमा हुनेले आफ्नो प्रतिस्पर्धी या आलोचकलाई ठेगान लगाउन चाह्यो भने केही न केही छिद्र त फेला पारिहाल्छ । आज त झन्  सामाजिक सञ्जालको जमाना छ । कसैको विषयमा अफवाह फैलाइएको प्रथम सूचना यति बलवान हुन्छ कि हजारौँ खण्डन गर्दै सत्य उजागर गर्दा पनि मान्न तयार नहुने एउटा जमात सक्रिय नै रहिरहन्छ ।  कुनै पत्रकारले ‘फलानीको हिराको हार हराउँदाको समयमा फलानी पनि सँगै थिइन्’ भनेर लेख्यो भने एकान दोकान हुँदै सँगै हुने चाहिँ चोर कहलिन थाल्छिन् । 

नामुद सञ्चार गृहको सम्पादक – प्रकाशक, राजनीतिक नेता या धनवान् व्यापारी नै किन नहोस्, विपद् पर्दा साह्रै निरीह र बबुरो हुनु पर्दो रहेछ । माथिल्लो सिँढीमा पुगेर अभिमान गर्दा कदाचित शत्रु पनि  कमाइन्छ कि भन्ने हेक्का हुँदैन । माथिबाट हेर्दा तलका सबै ससाना देखिन्छन् । मलाई बाह्र हातको टाँगोले पनि छुन सक्दैन जस्तो महसुस हुन्छ । अभिमानका आँखाले हेर्दा खाल्डो पनि सानो कदको नै देखिन्छ । किन्तु खाल्डो कहिल्यै पनि निष्क्रिय भएर बस्दैन । खाल्डाले माथि बसेर अभिमान गर्नेलाई सदैव सचेत नजरले हेरिरहेको हुन्छ । अभिमानको वशमा परेर कमाएका दुस्मनहरूले आफू खाल्डामा भासिएको देख्दा कति मजा लिने रहेछन् भन्ने कुरा थाहा पाउँदासम्म धेरै विलम्ब भइसकेको हुँदो रहेछ । क्षणभरमा कति ठुलो मानिस कति सानो देखिन थाल्दो रहेछ I मनुष्यको भविष्य एउटा अँध्यारो सुरुङ त रहेछ । नमालुम कुन बेला कस्तो दिन दशा लाग्ने हो, के थाहा ।

विशेष गरेर ‘सेलिब्रिटी’हरू र अकस्मात् उदाएर निर्णायक एवं आकर्षक पद पाउने राजनीति कर्मीको तलतिर बहुतै खतरनाक र ईर्ष्यालु खाडल हुन्छ । पद र पैसालाई देखेर गरेको प्रशंसालाई वास्तविक ठान्ने नव धनाढ्यहरूलाई निल्न तम्तयार खाल्डो मुख बाएर आँ गरिरहेको हुन्छ । सहसा माथि पुगेको मानिसलाई उक्साउने धेरै हुन्छन् । उनीहरूको चाहना नै उसलाई उचालेर उत्तेजित पार्ने हुन्छ । अनि ऊ पनि के कम, आफ्नो मूल स्वभावमा आइहाल्छ । आफ्नो आसन र उत्तरदायित्व बिर्सिहाल्छ । राष्ट्रिय संसदमा देखिने अनर्गल र अमर्यादित वाणीहरू यही प्रवृत्तिका ज्वलन्त उदाहरण हुन् । पत्रकारले उत्तेजक प्रश्न गर्दा झनै रौसिएर जग हँसाइ गर्ने स्वनामधन्य महानुभावहरूको संख्या पनि ठुलो छ यहाँ I

कतिपय मानिसलाई भिडले बिगारिरहेको हुन्छ । अनर्गल बथानले पुलपुल्याएका राजनीति कर्मीहरू बेहोसीमा विचरण गरिरहेका हुन्छन् । कोही पनि खुसीले कसैको झोले बन्दैन ।  बानी बिग्रेका बेरोजगारहरू र परिबन्दले पछाडि परेर झोला बोक्न बाध्य भएकाहरू मालिकका बफादार हुँदैनन् । लाचार भएर मात्र कोही कसैको झोला बोक्न राजी हुन्छ । सकेसम्म त जसको पनि अरूलाई नै झोला बोकाउने इरादा  हुन्छ । बाठा राजनीतिक नेता र व्यापारीले झोलेहरूलाई ठिक्क साइजमा राख्छन् । उनीहरूलाई थाहा हुन्छ, झोला बोकेर पछिपछि हिँड्ने मान्छे कदाचित समानान्तरमा आइपुग्यो भने पहिलो छिर्के झोला बोकाउनेलाई नै हान्नेछ ।

भारतमा सन २०१२ सम्म नरेन्द्र मोदीलाई लालकृष्ण आडवाणीको लेफ्टिनेन्ट भन्ने गरिन्थ्यो । असहनशीलतातर्फ उन्मुख  राजनीतिको बीजारोपण गरेको आरोप खेपेका आडवाणीलाई अवसर मिल्नासाथ आफ्नै झोले नरेन्द्र मोदीले कहिल्यै राजनीतिक परिदृश्यमा देखा पर्न नसक्ने गरी बेदखल गरिदिए ।  थुप्रै प्रतिस्पर्धीलाई उछिनेर अगाडि पुगेको मानिसको पछाडि नेगेटिभ इनर्जीको ठूलो गुरुत्व हुन्छ । त्यो गुरुत्व कहिले यसको मति बिग्रेर गलत हर्कत गर्ला र गर्ल्याम्म पछारिएला भनेर कुरेर बसिरहेको हुन्छ ।

मान, पद र प्रतिष्ठाको अभिमान खतरापूर्ण हुन्छ । नेपालको राजनीतिक इतिहासमा बहादुर शाहको पतन, भीमसेन थापाको दर्दनाक अवसान, जङ्गबहादुर राणाको आकस्मिक अभ्युदय र उनका सन्तानको दारुण दुर्गति अभिमान,  ईर्ष्या र द्वेषका ज्वलन्त उदाहरण हुन् । त्यसै गरी मातृका र बिपीको भ्रातृद्वेष एवं राजा महेन्द्र र बिपीको व्यक्तित्वबिच टकराब पनि उँचाइको तल अवस्थित खाडलकै प्रतीक हुन् । गिरिजाप्रसाद कोइरालाको कृष्णप्रसाद भट्टराई  र गणेशमानप्रतिको व्यवहार देखे बुझेका मानिसहरू अहिले पनि प्रशस्तै जीवित छन् । माधव नेपाल र केपी ओलीबिचको परस्परको जुधाइ, भनावैरी र ठक्कर एवं प्रचण्ड र मोहन वैद्य किंवा बाबुराम भट्टराईहरूका टकराहट  र जुधाइ पनि उल्लेखनीय छन् ।

राजकुमार सिद्धार्थ घरबार र दरबार छाडेर बनिबास गए । केही कालपश्चात् उनले बुद्धत्व प्राप्त गरे । क्रमश:असंख्य मानिस उनका अनुयायी भएर पछि लाग्न थाले । भिक्षुहरूको जमात ठुलो हुँदै गयो । भिक्षु बनेर मात्र के गर्नु , उनीहरूभित्रको अभिमान द्वेष र ईर्ष्या त जिउँदै थियो । भिक्षुहरूबिच सानो कुरालाई लिएर ठुलो कलह भयो । आफ्ना अनुचरहरूबिच फैलिएको  झगडा मिलाउन नसकेर दिक्क भएका बुद्धदेव  वनिवासको जीवनमा पनि केही समयका लागि एकान्तवासमा निस्कनु परेको थियो ।

राजनीतिक वृत्तका तामसिक अहङ्कारीहरूले मपाईँत्वको आवेगमा स्वयंलाई हानी पुर्‍याइरहेका हुन्छन् । अर्काथरी राजसिक ढाँचाका अहङ्कारीहरूले आफूलाई मात्र होइन, आफ्ना हितुहरूलाई समेत कष्ट दिन्छन् । यदाकदा राजनीतिक क्षेत्रका प्रतिद्वन्द्वीहरूले एक आपसमा पर्याप्त हिलो फाल्दछन् । यसरी एकले अर्काका विरुद्ध खाल्डो खनेर भेदाभेद र पोलापोल गर्दै कर्तुतहरू जनसामान्यमा ल्याउँदा समाजले उनीहरूको वास्तविक अनुहार देख्ने मौका पाउँछ ।

परन्तु जहाँसम्म राष्ट्रिय जीवनको सामाजिक, आर्थिक र नैतिक पहलुलाई सुधारोन्मुख मार्गमा लैजाने कुरा छ, हिलोले हिलो सफा गर्न सक्दैन  । देख्दा र सुन्दा उत्तेजक र रमाइलो लागे तापनि उद्दण्डताले उद्दण्डतालाई बेमाख पार्न सक्दैन । निकै होहल्ला र लफ्फाजी गरे तापनि विसङ्गतिले विसङ्गतिलाई हटाउन सक्दैन । अवाञ्छनीय र दुष्कृत सिलसिलाले वाञ्छनीय परिस्थिति पैदा गर्न सक्दैन । एउटा अशुद्ध पात्रले अर्को अशुद्ध पात्रलाई विस्थापन गर्दैमा दूषित राष्ट्रिय जीवन निर्मल र स्वच्छ हुन सक्दैन ।

अप्रिल १९४५ को कुरा हो । द्वितीय विश्वयुद्धमा पराजय भोगेको हुँदा शरणका लागि स्विट्जर्ल्यान्डतिर भाग्दै गरेका इटालियन तानाशाह बेनिटो मुसोलिनीलाई मानिसहरूले बाटैमा गोली हानेर मारे । हिजोसम्म ‘प्यारो डुचे’  भनेर अपार सम्मान गर्ने जनमानस आज क्रोधले तमतमाइरहेको थियो । हिजो देवत्वकरण गर्दै भाग्य विधाता भगवान् मानिएको राजनेता आज अकस्मात् खलनायकमा परिणत भयो । एक जना महिलाले स्कर्ट उठाएर ‘ल बोल्, ल भाषण गर्’ भन्दै मृतकको मुखमा पिसाब गरिन् I  बिबिसी हिन्दी सेवामा ‘विवेचना’ कार्यक्रमका प्रस्तोता रेहान फजलको शब्दमा ‘मौतके बाद  मुसोलिनी बहुत छोटे दिखाई दे रहे थे I’ 

प्रतिक्रिया दिनुहोस