काठमाडौँ । मन्त्रिपरिषद्को निर्णयअनुसार ऊर्जा मन्त्रालयले नेपाल विद्युत् प्राधिकरणका कार्यकारी निर्देशक कुलमान घिसिङलाई ताजा स्पष्टीकरण सोधेको छ ।
बुधबार बसेको मन्त्रीपरिषद् बैठकले ३ दिने स्पष्टीकरण सोध्न ऊर्जा मन्त्रीलाई अख्तियारी दिएको थियो ।
४ बुँदे स्पष्टीकरणको पत्र आज बेलुकी घिसिङले आफ्नै कार्यालयमा बुझेका छन् । उनले आइतबार जवाफ पठाउने तयारी गरेका छन् ।
सरकारले घिसिङलाई कार्यकारी निर्देशकबाट बर्खास्त गर्ने योजनासहित स्पष्टीकरण सोधेको छ ।
स्पष्टीकरण पत्र :
कार्यकारी निर्देशक, नेपाल विद्युत् प्राधिकरण,
प्रधान कार्यालय, दरवारमार्ग ।
विषय: सफाई पेस गर्नेबारे ।
ऊर्जा, जलस्रोत तथा सिँचाइ मन्त्रालय र तपाईंबीच भएको कार्यसम्पादन सम्झौताको दफा १०.३ तथा नेपाल विद्युत् प्राधिकरण, कार्यकारी निर्देशक वा महाप्रबन्धकको सेवाको शर्त तथा सुविधा सम्बन्धी विनियमावली, २०६१ (संशोधनसहित) को विनियम २३ को उपविनियम (१) बमोजिम देहायमा उल्लिखित विषयमा तीन दिनभित्र नेपाल सरकार, मन्त्रिपरिषद् समक्ष सफाइ पेस गर्न मौका दिने भनी नेपाल सरकार, मन्त्रिपरिषद्को म.प.वै.सं.५८/०८१, मिति २०८१ / ११ / २१ को निर्णयानुसार आफ्नो सफाइ पेस गर्नु हुन जानकारी गराइन्छ ।
क. मन्त्रालय र तपाईँ बीच मिति २०७८। १०।५ ( सन २०२२ जनवरी १९ ) मा भएको कार्यसम्पादन सम्झौताको दफा ९. ५ को समयसीमा भित्र आर्थिक वर्ष २०८० । ०८१ को कार्यसम्पादन प्रतिवेदन पेस नगरी सम्झौताको शर्त उल्लङ्घन गर्नुभएको कारण सोही सम्झौताको दफा १०.३ को अवस्था उत्पन्न भएकोले सोही दफा १०.३ बमोजिम तपाईँसँगको सम्झौता अन्त्य गरी तपाईँको नियुक्ति रद्द किन नगर्ने ?
ख. नेपाल सन्धि ऐन, २०४७ को दफा २ को खण्ड (ख) एवं नेपाल सरकारबाट जारी भएको सन्धि सम्पन्न गर्ने निर्देशिका, २०७७ को दफा २ को खण्ड (छ) बमोजिमको अधिकार पत्र (पूर्णाधिकार) विना तपाईँले सन् २०२४ मार्च ११ र २०२५ फेब्रुअरी १२ मा भएको नेपाल इन्डो वावर एक्सचेञ्ज कमिटीको क्रमशः १५ औँ र १६ औँ बैठकमा सेन्ट्रल इलेक्ट्रिसिटी अथ्योरिटी सँग भारतीय आर्थिक वर्ष २०२४/२५ र २०२५/२६ का लागि द्विपक्षीय विद्युत् विनिमय समितिको बैठकबाट तय भएको सहमति पत्रमा हस्ताक्षर गरी आफूलाई अधिकार नै नभएको कार्य गरेर आफ्नो पदको काम वा जिम्मेवारी पूरा गर्न नसकेको हुँदा नेपाल विद्युत् प्राधिकरण, कार्यकारी निर्देशक वा महाप्रबन्धकको सेवाको तथा सुविधा सम्बन्धी विनियमावली, २०६१ (संशोधनसहित) को विनियम २२ को खण्ड (क) अवस्था भएकोले तपाईँलाई पदबाट किन नहटाउने ?
ग. नेपाल सरकार, मन्त्रिपरिषद्को मिति २०८१।७।२५ को निर्णयबाट डेडिकेटेड फिडर तथा ट्रक लाइनबाट विद्युत् उपयोग गर्ने ग्राहकहरूले खपत गरेको विद्युतको बक्यौता रकम (Time of Day मिटर समेतको आधारमा) महसुल निर्धारण तथा असुली सम्बन्धी विषयमा मन्त्रालय मार्फत दिएको निर्देशनको कार्यान्वयन नगरी अवज्ञा गरेकोले तपाईँलाई पदबाट किन नहटाउने ?
घ. नेपाल विद्युत् प्राधिकरण ऐन, २०४१ बमोजिम कार्यकारी निर्देशकले पालना गर्नु पर्ने आफ्नो काम र कर्तव्य पालना नगरेकोले तपाईँलाई पदबाट किन नहटाउने ?
बोधार्थ: श्री प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालय,
सिंहदरवार, काठमाडौं ।
सुरेश आचार्य सचिव