१० बैशाख २०८२, बुधबार

प्रशासन एक्सक्लुसिभ

crisis_alert चार निर्माण कम्पनी कालोसूचीमा (सूचीसहित)    crisis_alert यसरी घट्न थाल्यो बालविवाह : अभियान सँगसँगै स्थानीय सरकार पनि लागि परे     crisis_alert गाँजामाथिको प्रतिबन्ध हटाउने प्रतिवेदन तयार, कस्तो छ गाँजाबाटै समृद्धि भित्र्याउने सरकारी खाका ?   crisis_alert मन्दीले ताल्चा लाग्न थालेको बजार : खोल्ने कसले हो, कसरी हो ?   crisis_alert किन काम गरिरहेका छैनन् अर्थतन्त्र सुधारका प्रयासले ?   crisis_alert अर्थतन्त्रको सङ्कटबाट साना व्यवसाय नियाल्दा: त्यति विधि निराशा छैन, आशा बाँकी छ   crisis_alert गरिबलाई बाँच्नसमेत नदिइरहेको आर्थिक सङ्कट   crisis_alert सङ्कटको डिलमा पुग्दै आन्तरिक अर्थतन्त्र   crisis_alert गृह मन्त्रालयले थाहै नपाई कैदीहरूले गरिदिए जेलरको सरुवा   crisis_alert बाँसबारी जग्गा प्रकरणको केन्द्रमा छन् विनोद चौधरी    crisis_alert काँग्रेस सांसदको पाँचतारे होटेलका लागि एकै दिनमा फेरियो कानुन    crisis_alert ‘भिजिट भिसा’ले अन्तर्राष्ट्रिय विमानस्थलमा टकराब, किन भइरहेछ प्रहरी-अध्यागमन मनमुटाब ?    crisis_alert विधिको शासनकै मजाक बनाइएको ललिता निवास प्रकरण  

प्रशासन एक्सक्लुसिभ

crisis_alert चार निर्माण कम्पनी कालोसूचीमा (सूचीसहित)    crisis_alert यसरी घट्न थाल्यो बालविवाह : अभियान सँगसँगै स्थानीय सरकार पनि लागि परे     crisis_alert गाँजामाथिको प्रतिबन्ध हटाउने प्रतिवेदन तयार, कस्तो छ गाँजाबाटै समृद्धि भित्र्याउने सरकारी खाका ?   crisis_alert मन्दीले ताल्चा लाग्न थालेको बजार : खोल्ने कसले हो, कसरी हो ?   crisis_alert किन काम गरिरहेका छैनन् अर्थतन्त्र सुधारका प्रयासले ?   crisis_alert अर्थतन्त्रको सङ्कटबाट साना व्यवसाय नियाल्दा: त्यति विधि निराशा छैन, आशा बाँकी छ   crisis_alert गरिबलाई बाँच्नसमेत नदिइरहेको आर्थिक सङ्कट   crisis_alert सङ्कटको डिलमा पुग्दै आन्तरिक अर्थतन्त्र   crisis_alert गृह मन्त्रालयले थाहै नपाई कैदीहरूले गरिदिए जेलरको सरुवा   crisis_alert बाँसबारी जग्गा प्रकरणको केन्द्रमा छन् विनोद चौधरी    crisis_alert काँग्रेस सांसदको पाँचतारे होटेलका लागि एकै दिनमा फेरियो कानुन    crisis_alert ‘भिजिट भिसा’ले अन्तर्राष्ट्रिय विमानस्थलमा टकराब, किन भइरहेछ प्रहरी-अध्यागमन मनमुटाब ?    crisis_alert विधिको शासनकै मजाक बनाइएको ललिता निवास प्रकरण  

रमणीय रुकुममा रसिला चार दिन

अ+ अ-

निमन्त्रणा: 
मलाई अत्यन्त माया गर्ने भाइतुल्य मित्र पूर्ण ओली अचेल कोष तथा लेखा नियन्त्रक कार्यालय, रुकुम पश्चिमको कार्यालय प्रमुख पदमा कार्यरत हुनुहुन्छ । काठमाडौंमा भेट हुँदा उहाँले भन्नुभएको थियो, ‘चैत्रको २२ र २३ गते नेपाली कला साहित्य डट कम प्रतिष्ठान र राप्ती साहित्य परिषद्को संयुक्त आयोजनमा पश्चिम रुकुममा सृजना उत्सव कार्यक्रम छ, अवश्य पाल्नुहोला ।’ पछि यस्तै हार्दिक निमन्त्रणा मोमिला जोशीबाट पनि प्राप्त भयो । 

पूर्ण ओलीले  क्रमशः सम्भाव्य सहभागी सबैको संक्षिप्त चिनारी प्रकाशन गर्दै जानुभयो, म पढ्दै गएँ । त्यहाँ सम्मुख भएर परिचय नभएको भए तापनि मैले एकोहोरो चिनेका महानुभावहरूको विवरण थियो । मलाई कार्यक्रममा सहभागी हुने इच्छा लाग्यो । म नेपाली साहित्य संसारको सीमान्तको मान्छे । उहाँहरू सामु कसरी प्रस्तुत हुने होला भनेर सङ्कोच पनि लागिरह्यो । 

सद्भावपूर्ण साइत: 
‘नेपाली कला साहित्य डट कम प्रतिष्ठान’का अध्यक्ष मोमिला जोशीबाट सबैजना २०८१ साल चैत्र २० गते बिहान पौने ६ बजे बबरमहलमा जम्मा भएर प्रस्थान गर्ने जानकारी प्राप्त भए बमोजिम साढे ५ बजे नै बबरमहल पुगेँ । हामीलाई बोकेर रुकुमसम्म पुर्‍याउने जिम्मा पाएको बस तम्तयार थियो त्यहाँ । चालक राम र सहयोगी श्यामले मलाई हार्दिक अभिवादन गर्नुभयो । अलिबेरपछि एक जना युवक आइपुग्नुभयो । भन्नुभयो, ‘नमस्कार सर ! म मणि लोहनी ।’  विनम्रतापूर्ण भद्र अभिवादनले मलाई हलुका महसुस भयो । मनमनै सोचेँ, अवश्यमेव अन्य महानुभावहरू पनि यस्तै विनीत हृदयका हुनुहुन्छ होला ।’  

पौने ६ सम्ममा सबै सहयात्री आइपुग्नुभयो । उत्सुक मनहरू प्रसन्न देखिन्थे । सबैबाट हार्दिकता पाएर मनै उत्फुल्ल भयो । नजिकै एउटा रेस्टुरेन्टमा स्वल्पाहार गरेर साढे छ बजे हामी प्रस्थान गर्‍यौँ । 

संयोगले डा. विमल कोइराला र म सँगै बस्न पुग्यौँ । विमल सर निजामती क्षेत्रको आदर्श व्यक्तित्व हुनुहुन्छ । विभिन्न भेला र भेटघाटमा उहाँको सान्निध्य प्राप्त भई नै रहन्थ्यो तापनि अन्तरङ्ग बातचित भएको थिएन । मनमा उहाँप्रति श्रद्धा थियो, किन्तु शब्दमा प्रकट गर्न सङ्कोच लाग्थ्यो । एउटा निष्कलङ्क र निर्दोष मानिससँग टाँसिएर बस्न पाएर धन्य थिएँ म । उहाँले कुरा गर्न थाल्नुभयो । म पनि खुल्दै गएँ । उहाँ जस्तो नाम त्यस्तै स्वभावको मान्छे । साँचो अर्थमा ‘विमल’ । 

नौलो अनुभव: 
जीवनमा धेरै यात्रा गरेँ । देश देशावरमा घुमेर ससानो अनुभव पनि प्राप्त गरेको छु । जीवनयात्रामा धेरै मानिससँग मिलन भयो र बिछोड पनि । अनेकौँ बिसौनीमा अनेकौँ पात्रहरू भेटिए । तीमध्ये कोही सम्झनामा छन् भने कोही क्रमशः विस्मृतिमा गए । केही साहित्यिक छन्दका यात्रा पनि गरेँ । केही कार्यक्रममा भाग लिएर मन्तव्य पनि दिएको छु । परन्तु नेपाली साहित्यको फाँटमा स्वनामधन्य स्थान बनाएर प्रसिद्धि कमाएका यतिका धेरै महानुभावहरूसँग सहस्थ हुँदै लामो सफर गर्ने अवसर मेरा लागि नितान्त नौलो थियो । 

यो भ्रमणले मलाई सुख्यात मानिस पनि सरल हुन्छन् भन्ने सन्देश दिएको छ । डा. विमल कोइरालाको नुहेको व्यक्तित्व देखेर म विस्मित भएँ । लामो सफर थियो । किन्तु उहाँको शालीनतापूर्ण परिहासले समय छोटो पारेको अनुभव भयो । हास्यपूर्ण तरिकाले पनि ज्ञानगुनका कुरा व्यक्त गर्न सकिन्छ भन्ने उदाहरण हुनुहुँदो रहेछ विमल सर । मोमिला जोशीको सरल, सहयोगी र फरासिलो व्यवहार यात्रा अवधिभर कायमै रह्यो । आफू कठोरतापूर्वक समयपालन गर्ने र अरूबाट पनि त्यस्तै अपेक्षा गर्ने उहाँको बानी अनुकरणीय छ । कार्यक्रमलाई सुचारु र सुन्दर बनाउनमा उहाँको शिल्प र परिश्रमको विशाल योगदान रह्यो । 

प्रख्यात कवि उषा शेरचन दिज्यूको ‘सेन्स अफ ह्युमर’ देख्दा अचम्म लाग्यो । सरस हास्यले सबैको दिल जित्न सफल उहाँको व्यक्तित्वले मलाई चकित बनायो ।  फरासिलो मिजास र सकारात्मक सोचले परिपूर्ण उहाँमा मैले हास्यबोधमय आत्मबोध रहेको पाएँ । लाग्यो, जो धन र मानको अभिमान गर्दैन, त्यही नै महान् हुन्छ । 

विख्यात कवि दिनेश अधिकारीको विनम्र स्वभाव देख्दा श्रद्धा लाग्यो । सुनाम साहित्यकार श्रीओम श्रेष्ठ रोदनको सौम्य र शान्त विनीत भावले मेरो हृदयको भित्रसम्म स्पर्श गरेको छ । चढ्दो उमेरमै प्रसिद्ध कवि, निबन्धकार तथा अनुवादकको रूपमा आफूलाई चिनाउन सफल महेश पौड्यालको सघन प्रतिभाले उहाँको उन्नत प्राज्ञिक भविष्यतर्फ सङ्केत गरिरहेको महसुस गरेको छु । 

नामले चिनेका र अनुहार देख्न नपाएका व्यङ्ग्यकार लक्ष्मण गाम्नागे संयोगले मेरा ‘रुम पार्टनर’  बन्न पुग्नुभयो । सिस्नो पानीका ख्यातनामा व्यक्तित्व मेरो रुम पार्टनर ? मनको अन्तस्तलसम्म खुसी भएँ । उहाँले कुनै भाउ खोज्नुभएन । म अल्छीलाई बिहानै कफी बनाएर पिलाउनुभयो । हामीले केही गम्भीर र केही हास्यपूर्ण गफ गर्‍यौँ । 

सहभागी युवा कवि रोशन परियार,  डा.अमर शाह, सरस्वती प्रतीक्षा, तारा सुनुवार, कविता राई, आस्था केसी, केशव सिग्देल, जयदेव भट्टराई, डा. राजेश्वर कार्की, कपिल अञ्जान र सुन्दर बस्नेत सबैप्रति आभारी छु । 

सृजना यात्रामा महाजात्रा: 
यात्राको समयमा सकभर थोरै र पथ्य आहार सेवन गर्नुपर्छ भन्ने कुरामा सचेत थिएँ । हामीले मुग्लिनपारि पुगेर खाना खायौँ । पूर्व सावधानी स्वरूप मैले निरामिषी  भोजन लिएँ । दमौलीतिर पुग्दा मेरो तल्लो पेट कटक्क काटेझैँ महसुस भयो । त्यतै कतैतिर शौचालय फेला पर्‍यो । अरू जस्तै म पनि शौचालय गएँ । हलुका महसुस भयो । मन रमाइलो भयो ।

परन्तु त्यो रमाइलो आधा घण्टा पनि टिकेन । दिसाले अत्त्याउन थाल्यो । मलाई बडो ग्लानि महसुस भयो । सबैजना हँस्सी मजाक गर्दै रमाइरहेका थिए । उता मेरो भने पेट र मन दुवै अत्यासमा थिए । नबोलम् त विस्फोट हुन थालिसक्यो, बोलम् त लाज लाग्छ । मैले विमल सरको कानैमा भनेँ,  ‘सर मेरो त पेट खराब भयो, फेरि दिसा लाग्यो ।’  सरले चालक रामलाई त्यसको सूचना दिनुभयो । पोखरा पुग्ने बेलामा एउटा औषधी दुकान देखियो । बस रोक्न लगाएर म बाहिर निस्केँ I  अब छ्याल्लाब्याल्ल हुन्छ, तब छ्याल्लब्याल्ल हुन्छ को अवस्थामा केही दबाई लिएँ । साहुजीलाई साह्रै आर्द्र स्वरमा सविनय सोधेँ,  ‘ट्वाइलेट होला हजुर ? साह्रै नै गाह्रो भयो ।’ साहुजीले सोधे, ‘लङ कि सर्ट ?’  मैले याचनाको निन्याउरो आवजमा भनेँ,  ‘लङ हो हजुर !’ साहुजीको दिल कठोर रहेछ ।  भने, ‘लङ त हुँदैन । यहाँ पानीको हाहाकार छ ।’  एउटा मान्छे जीवन मरणको दारुण विपत्तिमा छ । विडम्बना ! अर्को मान्छेले मर्का बुझ्दैन । म फरक्क फर्केर गाडीमा बसेँ ।

अलिकता पर पुग्दा एउटा पेट्रोल पम्प फेला पर्‍यो । म अभरको दिलासा लिएर ओर्लेँ । तीन जना युवती लस्करै बसेर मस्करी गर्दै थिए । ‘बैनी ट्वाइलेट कता होला ?’  मैले विनम्र झुक्दै सोधेँ । एउटी बैनीले मलाई यसो हेरिन् । मैले भनेँ,  ‘साह्रै गाह्रो भयो बैनी, ट्वाइलेट कता होला ?’  उनीहरू सबै हाँसे । अर्कीले भनिन्, ‘छन त थियो, तर भत्काएर नयाँ बनाउँदै छौँ ।’  सायद उनी साँचो बोल्दै थिइन् ।  किन्तु त्यो साँचो वाणी मेरो हृदयमा वाण बनेर छिर्‍यो । 

म फेरि बसमा गएर बसेँ । पोखरा सकिएपछि एक ठाउँमा सडकभन्दा थोरै तलतिर ऐना झुन्ड्याए जस्तो दृश्य देखियो । बस रोकियो । म झरेँ । मलाई छिटो छिटो ऐनातिर जानु थियो I  के त्यो ट्वाइलेटकै ऐना हो त ? यदि यहाँ पनि सफल हुन सकिएन भने ? एकातिर फटाफट जानु छ, अर्कोतिर आसन्न महाविस्फोट पनि थाम्नु छ । मैले डराउँदै ढोका भित्रतिर धकेलेँ । अहो ! त्यो एउटा सफा शौचालय थियो । त्यहाँ मलाई साक्षात् परमात्मालाई भेटेझैँ लाग्यो । दिवङ्गत माताजीका वरद हस्तले शिर सुमसुम्याए जस्तो महसुस भयो । मेरो जीवनको सबैभन्दा सुखद क्षण थियो त्यो । म खुसी हुँदै गाडीमा गएर बसेँ । सबैले ‘यस्तो त जसलाई पनि पर्न सक्छ’ भन्दै सद्भाव प्रकट गरे । विमल सरले परिहास गर्दै भन्नुभयो, ‘सृजना यात्रामा महाजात्रा भयो है भागवतजी ?’  बाटोमा सबैले मोमिला म्याडमले काठमाडौँबाट लगेको जुजु धौ र बजीको स्वादिष्ट अरनी खाए । म किनारा लागेर क्षितिजतिर नियालिरहेँ ।

बागलुङ कालिका दर्शन र भावुक अभिज्ञान: 
साँझपख हामी बागलुङ पुग्यौँ । हामीमध्ये केही कालिकाको दर्शन गर्न गयौँ । त्यहाँ पुगेपछि म भावुक भएँ । आजभन्दा पाँच सय वर्षअघि मेरा पूर्वज हाल अर्घाखाँचीमा पर्ने खनबाट पाल्पा आएर तत्कालीन पाल्पा राज्यको राजधानी ‘पाल्पा’मा बसेका थिए । ठ्याक्कै त्यही समयमै पाल्पाली राजा मुकुन्द सेन प्रथमले आफ्नी पुत्री विश्रवा देवी (कालिका मन्दिरमा प्राप्त पुस्तिकामा यशोधरा उल्लेख भएको छ) को विवाह पर्वते राजा प्रतापी नारायण मल्लसँग गरिदिएका थिए । कालिका भगवतीलाई उनै राजकुमारीले पाल्पाबाट बागलुङ लगेर स्थापना गरेकी थिइन् । पाल्पाबाट भगवतीलाई बोकेर लैजाने खड्का कुलका सन्तति नै अद्यापि कालिका देवीका पुजारी छन् । 

कतै उल्लास कतै उदासी:
बागलुङबाट पश्चिम लाग्दै जाँदा विकट भूगोलको सामना हुँदै गयो । अग्ला अग्ला पहाडहरू परबाट हेर्दा सुन्दर लाग्छन्, तर दुर्गम छन् । भयङ्कर भिरका माझम कताकति बनेका घरमा पानी, बिजुली र बाटो पुर्‍याउन सरकारको ठुलो रकम खर्च भएको छ । न्यूनतम सेवा र सुविधामा पहुँच पुगेपछि ग्रामीण समुदाय गाउँमै अडिएर बस्छ भन्ने सिद्धान्त नेपालमा असफल भएको छ । पहाडी इलाका बसाइ सराइको निर्मम चपेटामा  छ । सक्ने जति बागलुङ बजार, पोखरा, चितवन र काठमाडौँतिर सरे, सर्दै छन् । नसक्नेहरू बनेका पूर्वाधार परित्याग गरेर तलतिर खोलाको किनारमा मध्य पहाडी लोक मार्गको छेउछाउ बस्न थालेका छन् । 

इनार पानीभन्दा वर एक जना वृद्ध घाँसको भारी बोकेर जाँदै थिए । घाँस विकासे धूलोले  छपक्क थियो । बुढा बाजेको अनुहारमा उदासी थियो । सायद छोराहरू कामको खोजीमा खाडीतिर गए होलान् । सायद बुहारीहरू सदरमुकाममा डेरा गरेर बस्न थाले होलान् । दिनेश सरले सोध्नुभयो, ‘बुर्तीबाङ जाने बाटो यही हो ?’  वृद्धले यसो हेर्दै जवाफ दिए,’ हो हजुर हो ।’  बिहुँपोखरामा फेला परेका हेमलाल कँडेल भने किञ्चित हँसिला देखिन्थे । मैले उनको हालचाल सोधेँ । चम्किला आँखाले हेर्दै उनले भने, ‘ऊ त्यो मेरी बुहारी हो । ती नातिनातिना हुन् ।’ सहारा हुनेको प्रफुल्लता र बेसहाराको उदासी प्रस्ट देखिन्थ्यो त्यहाँ । 

भिर पाखामा बाँझा भएका सोताहरू प्रशस्त देखिन्थे । बेसीका खेतबारी भने हराभरा थिए ।  जरेबासबाट देखिने बुट्टे वनको सौन्दर्यले हामी सबै रोमाञ्चित भयौँ । प्रकृतिको स्वशृङ्गार अप्रतिम प्रतीत हुन्थ्यो । कसैले हेरोस् त ठिकै छ, कसैले नहेरे पनि आफैमा मग्न थियो प्रकृति । वनको फूल कसैले हेरिदेला कि भन्ने आशामा कहाँ फुल्छ र ? वनचरी कसैले सुनिदेला कि भन्ने आशामा कहाँ गाउँछ र ? आफैमा मस्त लालीगुराँस निरपेक्ष फुलिदिन्छ । कसैले सौन्दर्यको पान गर्छ भने दर्शकको सौभाग्य हो । गुराँसको काम त वसन्तमा उल्लास छर्ने हो, छरिदिन्छ । 

हामी भुइँखानी, नरेठाँटी, हटिया, बडिगाड, खार बजार, निसीखोला, झिवाखोला, चैते, रूपगा, लुकुम, खाबाङबजार, जितखोला, रतुवामारे, रुकुमकोट, सागिने, सालबोट, वैरीदह, कानेबाङ, शीतल पोखरी आदि हुँदै बेलुका मुसिकोट पुग्यौँ । ( ठाउँको नाम लेख्दा क्रमभङ्ग भएको हुन सक्छ ) साँझ बत्ती बालेपछि एसियन होटेलमा पूर्ण ओलीले आगन्तुक सबैलाई न्यानो स्वागत गर्नुभयो । मोमिलाले सबैको परिचय दिनुभयो । त्यहीँ जिल्ला समन्वय समितिका उपसचिव सहृदयी पुण्य भट्टराईसँग भेट भयो । 

सिम्रुतुमा सिर्जना उत्सव: 
हामी २२ गते साँझसम्म त्रिवेणी गाउँपालिकाको सिम्रुतु बजारमा व्यस्त भयौँ । सांस्कृतिक वैभवको धनी रहेछ त्रिवेणी । ढाका टोपी, कमिज, इस्टकोट र सुकिलो कछाड पहिरेका पुरुष र परम्परागत पहिरनमा सजिएका अनेकन महिला कलाकारले आ-आफ्नो कला र गलाको कमाल देखाए ।

नवप्रतिभाहरूले देशका विभिन्न ठाउँबाट आएका साहित्यकारसामु आआफ्नो ल्याकत देखाउने अवसरको सदुपयोग गरे । रुकुमका वन रङ्गिला, फूल रङ्गिला र मानिस पनि रङ्गिला । लामो द्वन्द्वको पीडा बोकेको रुकुम अहिले रसिलो र आशावादी देखिन्छ । रुकुमले साहित्य र कला विनाको समाज शुष्क र उराठिलो हुन्छ भन्ने कुरा बुझेको महसुस भयो । 

सिपालु उद्घोषक मणि लोहनीले सञ्चालन गरेको कार्यक्रम दुरुस्त र आकर्षक थियो । मलाई सृजना उत्सवमा के भूमिका पाइने होला भन्ने चिन्ता थियो । अनेकौँ सभामा बोल्ने गरेको भए तापनि त्यो स्तरको विद्वत्सभामा बोल्ने अभ्यास थिएन । उद्घोषकले मलाई ‘आफ्ना केही कुरा राख्न’ आह्वान गर्नुभयो । त्यहाँ एउटा सानो कविता भने पुग्ने रहेछ । पहिल्यै सुनाइसकेको कविता फेरि सुनाउने छुट पनि रहेछ । म भने एउटा लेखोट झिकेर पढ्न थालेँ । समयको पाबन्दीले गर्दा त्यही पनि पूरा भन्न सकिन । त्यो सृजना उत्सवमा म मेरै मूल्याङ्कनमा अनुत्तीर्ण भएँ । सायद त्यो अनुत्तीर्णता आवश्यक पनि थियो । सहृदयी विमल सरले मलाई उत्साही बनाउने उद्देश्यले भन्नुभयो, ‘भागवतजी तपाईँको त्यो रचना कतै कार्यपत्रको रूपमा प्रस्तुत गर्न काम  लाग्नेछ ।’ त्यो रचनालाई म कुनै बखतमा प्रकाशन गर्नेछु । 

भूकम्पले पनि स्वागत गर्‍यो: 
सिम्रुतुको कार्यक्रम सकेर हामी होटेलमा आयौँ । कोही होटेलको कोठामा र कोही तल आँगनमा थियौँ । त्यही समयमा अचानक भूकम्पले हल्लायो । एकपछि अर्को परकम्पको बानी परेका हामीले त्यस नरम भूकम्पलाई हाम्रो सम्मनमा पाएको न्यानो स्वागत सम्झ्यौँ । 

स्यार्पुदह पुग्ने अभिलाषा धोकोमै सीमित: 
२३ गते बिहान सबेरै हामी स्यार्पु जाने इरादा लिएर प्रस्थान गर्‍यौँ । बाँफीकोटभन्दा अलि वर सानी भेरीको पुलमा पुग्दा अगाडि बाटो बन्द रहेको खबर आयो । त्यहाँबाट फर्केर कार्यक्रमका स्थानीय संयोजक पूर्ण ओलीको गाउँ सोलाबाङमा केहीबेर सुस्तायौँ । त्यहाँ मुग्लु खोलाको किनारमा महादेवको मन्दिर रहेछ । केहीले दर्शन र अवलोकन गर्‍यौँ । त्यसपछि हामी सल्ले विमानस्थल र भाइरल पुल हेर्न गयौँ । 

सोही दिन अपराह्न मुसीकोटमा भव्य कार्यक्रम सम्पन्न भयो । त्यहाँ स्थानीय सांस्कृतिक झाँकी समेत कविता प्रतियोगिता र कवि डा. अमर शाहको कविता सङ्ग्रहको लोकार्पण भयो । सोही दिन डा. अमर शाह योगेश्वर वाङ्मय पुरस्कारबाट सम्मानित हुनुभयो । 

२४ गते बिहान साढे चार बजे उठी नित्य कर्म सकेर साढे पाँच बजे मुसीकोटबाट प्रस्थान गर्‍यौँ । रुकुमकोट पुगेर कमलदहको अवलोकन र दृश्याङ्कन गरेपछि स्वल्पाहार गर्‍यौँ । रुकुम विकट भए तापनि आतिथ्यमा अब्बल रहेछ । बागमतीको भन्दा गण्डकीको, गण्डकीको भन्दा धौलागिरिको र धौलागिरिको भन्दा राप्तीको खाना स्वादिलो पाइयो । मुसीकोटले त झन् ढल्दो चैत्रको निखुर्कोमा पनि प्रशस्त गोरस र हरियो सागपात खुवाएर धन्य धन्य बनायो । 

रुकुमकोटबाट अगाडि लाग्ने बित्तिकै हाम्रो गाडीको इन्जिन तात्न थाल्यो । राम र श्यामले एउटा नेपाली जुगाड निकाले । पानीको जारमा पाइप घुसारेर सोही पानीले इन्जिन ठण्डा पार्दै केही अघिसम्म लगे । त्यो जुगाडले धेरै बेर काम गर्न सकेन । लुकुम पुगेपछि त गाडी ठम्रक्कै भएर अडियो । 

पाँच दिनदेखिको अविरल रमझममा अकस्मात् विराम लाग्यो । त्यहाँ एउटा साह्रै निम्छरो शौचालय रहेछ, आवश्यक परेकाले त्यही धरापलाई पनि वरदान सम्झेर उपयोग गर्‍यौँ । अलि परतिर सानो बिटमा दुई जना प्रहरी बसेका थिए । सामाजिक सम्बन्ध बनाउन सिपालु तारा सुनुवारले प्रहरीलाई सम्पर्क गरेर पश्चिमबाट आउने बसहरूबारे पत्तो लगाउनुभयो । केही समयपछि रोल्पाको थवाङबाट काठमाडौं जान छुटेको बस आइपुग्यो । ‘मरता क्या न करता ।’ हामी सबै घन्चमन्च त्यही बसमा छिर्‍यौँ । त्यही बस पनि अलिक पर पुगेपछि फर्केर पश्चिमतिरै जान थाल्यो । हामी अलमलमा पर्‍यौँ । कोही मानिस पो छुटेको हो कि भनेको त के मानिस हुन्थ्यो, एक हातो केरा पो छुटेको रहेछ । एक हातो केरा छुट्दा त्यत्रो प्रतिगमन ? हाँसो पनि लाग्यो । 

मैले अध्यक्ष मोमिलालाई अघिल्लै दिन बाग्लुङ पुगेपछि समूहबाट अलग भई पाल्पातिर झर्ने कुरा बताएको थिएँ । उहाँले मबाहेक अरू सबैका लागि पोखरामा होटेल बुक गराउनुभयो । परिस्थिति विपरीत चल्न जाँदा दिउँसो चार बजे नै बागलुङ पुग्ने योजनाले हावा खायो । साँझ पौने ९ बजे म बागलुङको उपल्ला चउरमा झरेँ । थकालीका होटेल भरिभराउ थिए । धन्न एक जना मगर्नी बैनीले आफ्नो सानो पूर्णिमा होटेलमा बास दिइन् । 

२५ गते बिहान उठेर नित्यकर्म गरेपछि बैनीले ‘चिया खानुहुन्छ दाइ’ भनेर आतिथ्य प्रकट गरिन् । मैले कफी पाए मात्र खाने कुरा बताएपछि कता कताबाट एक मात्रा कफी खोजेर ल्याएर पिलाइन् । त्यही मेसोमा चिया खाइरहेका एक जना सज्जनले सोधे, ‘अस्ति भूकम्प गएको थाहा पाउनुभयो सर ?’ मैले सकारात्मक उत्तर दिएपछि हिन्दुस्तानी फौजका पूर्व सुबेदार घनश्याम लामिछाने थापा खुल्दै गए । ‘परकम्प गएको गैच्च त । हिजो पनि सानो गैत्तो । उता थकालनीकोमा कोठा पाएको भए महँगोमा पर्नुहुन्थ्यो,  यता हाम्री बैनीकोमा सस्तो पाउनुभयो ।’ 

म बागलुङबाट माल्ढुङ्गा, बलेवा, जैमिनी, पुर्तिघाट, अर्बेनी, हर्मीचौर, रुद्रवेणी, रिडी र रानी महल हुँदै साँझपख तानसेन पुगेँ । अन्य सबै मित्रहरू पनि साँझसम्म काठमाडौं पुगेको खबर आयो । 

प्रतिक्रिया दिनुहोस