काठमाडौँ । वन तथा वातावरण मन्त्री ऐनबहादुर शाही ठकुरीले जलवायु परिवर्तनबाट बालबालिका र युवाहरू प्रभावित भएको बताएका छन् ।
नेपाल सरकार तथा संयुक्त राष्ट्र संघ नेपालको संयुक्त आयोजनामा भएको ‘वायु संवाद: नेपालको जलवायु मुद्दाको केन्द्रमा बालबालिका तथा युवा’ कार्यक्रममा उनले भने, “जलवायु परिवर्तनका कारण बालबालिका तथा युवाहरूको स्वच्छ जीवन, स्वच्छ हावा, स्वच्छ पानी र हरियाली वातावरणमा बाँच्न पाउने अधिकार हनन भएको छ ।” उनले जलवायु परिवर्तनले पारेको असरबारे सरकारले पैरवी र बहस तथा न्यूनीकरणमा निरन्तर प्रयासरत रहेको बताए ।
वन तथा वातावरण मन्त्रालयका सचिव डा. राजेन्द्रप्रसाद मिश्रले बालबालिका र युवामा लगानी गर्नुपर्ने बताए । उनले भने, “बालबालिका र युवा नै हाम्रा सम्पत्ति हुन् । ती सम्पत्तिलाई उग्रने र उम्रिने मौका सिर्जना गर्नुपर्ने आवश्यकता छ । बालबालिका तथा युवामा लगानी गरौँ । जलवायु परिवर्तन बारे बुझौँ आत्मसाथ गरौँ । संकट न्यूनीकरणमा सबैले काम गरौँ ।”
नेपालका लागि संयुक्त राष्ट्र संघका कार्यवाहक आवासीय संयोजक एलिस् अकुंगाले सबै बालबालिकाले सुरक्षित र स्वस्थ वातावरणमा हुर्कन पाउने अधिकार राख्नुपर्ने धारणा राखे । उनले भने, “जलवायु परिवर्तनले यस अधिकारलाई दैनिक रूपमा जोखिममा पारिरहेको छ ।”
युनिसेफका दक्षिण एसिया क्षेत्रीय जलवायु सल्लाहकार रक्षा राजेश्वरी थापाले नेपाल जलवायु परिवर्तनको असरबाट बालबालिका तथा युवाहरू बढी प्रभावित भएको बताए । अत्यधिक गर्मी, भीषण वर्षा, जलवायुजन्य विपद् र प्रदूषित हावापानीले स्वास्थ्यमा जोखिम पारिरहेको उल्लेख गरे ।
शिखर सम्मेलन सगरमाथा संवादको एक भागका रूपमा बालबालिका र युवाहरूमा समर्पित रहेको जनाइएको छ । यो नेपाल सरकार, संयुक्त राष्ट्र संघ नेपाल र देशका युवा सञ्जालहरूले संयुक्त रूपमा आयोजना गर्ने युवा–नेतृत्वको कार्यक्रम हो ।
कार्यक्रममा देशभरिका १०० भन्दा बढी बालबालिका तथा युवाहरू सहभागी छन् । यो राष्ट्रिय संवाद नेपाल सरकारको आयोजनामा हुन गइरहेको अन्तर्राष्ट्रिय सगरमाथा संवादको अगाडि बालबालिका तथा युवाको नेतृत्वमा जलवायु परिवर्तन प्रतिकार्यका विषयमा केन्द्रित कार्यक्रम थियो ।