काठमाडौैं । बेलायतको एक युनिभर्सिटीबाट एमबिए गरेकी लाजिम्पाटकी टिना राजभण्डारीलाई पर्यटन व्यवसाय गर्ने इच्छा जाग्यो । सूचना प्रविधि सम्बन्धी व्यवसाय थालेकी उनले एक्कासि पर्यटन व्यवसायमा लाग्ने निर्णय गरे । उनको सोचलाई साथ दिए ललितपुरका सगुन धाक्ख्वाले । स्वीडेनबाट इञ्जिनियरिङ विषयको अध्ययन गरे धाक्वा र राजभण्डारीले संयुक्त रुपमा ‘पाटन हेरिटेज वल्क’ कम्पनी शुरु गर्ने निर्णय गरेका हुन्।
पुरातात्विक सम्पदा हेर्न आउने पर्यटकको बसाइ अवधि लम्ब्याउन र स्थानीय परिकारको स्वाद चखाउका लागि पाटन, भक्तपुर, वसन्तपुर दरबार स्क्वायरलगायत सम्पदामा पुग्ने पर्यटकलाई कम्तीमा थप एक दिन घुमफिर गर्ने वातावरण सिर्जना गरिने कम्पनीका प्रमुख राजभण्डारीले बताए ।
कान्तिपुर इञ्जिनियरिङ कलेजमा सफ्टवेयर इञ्जिनियरिङ विषयमा स्नातक अध्ययनरत काठमाडौँका निपुल शाक्यले पनि आफ्नो आइटी व्यवसाय परिवर्तन गरी पर्यटन उद्यमी बन्ने योजना बनाए । एक महीनाको प्रयासपछि ‘डूल्वा डटकम’( पर्यटन ‘प्रडक्ट’ )नामक कम्पनी स्थापना गर्ने सोचमा उनी पुगे । नेपालका पर्यटकीय गन्तव्य र सम्भावनाबारे सम्पूर्ण जानकारी दिने यो वेवसाइटमा ट्राभल एजेन्सी, फोटोग्राफी, ‘स्टोरी टेलर’ जस्ता सेवा उपलब्ध हुन्छ । यस गन्तव्य यात्रामा निस्कन चाहने पदयात्रीलाई सहज रुपमा पूरा जानकारी उपलब्ध गराइ यात्रालाई सुमधुर तुल्याउने विश्वास लिइएको छ ।
यस्तै सूचना प्रविधि विषयमै स्नातक गरिरहनुभएकी काठमाडौँकी आश्ना पौडेलले फरक किसिमको पर्यटन व्यवसाय अगाल्ने सोच बनाएका छन् । ‘होमस्टा नेपाल’ नामक कम्पनी दर्ता गरेर राजधानीमै घरबास कार्यक्रम ‘होमस्टे’ मार्फत पर्यटकलाई सुलभ र गुणस्तरीय सेवा दिने उनले बताए ।
माथिका प्रतिनिधिजस्तै नवीन भट्टले पनि भिडियो सामग्री ‘फिरिरी नेपाल’, नवीन अधिकारीले ‘सजिलो ट्रिप’लगायत १५ युवा व्यवसायी समूहले पर्यटन क्षेत्रसँग सम्बन्धित व्यवसायमा नयाँ सोच र प्रविधिका साथ व्यवसाय प्रवर्द्धन गर्ने तयारीमा छन् ।
यसरी युवा पुस्तालाई एकै थलोमा जम्मा पारेर व्यवसायमा हौसाउने माध्यम हो ‘टुरिजम उद्यमी सिड क्याम्प’ । पर्यटन उद्योगमा युवा पुस्तालाई आकर्षण गर्ने उद्देश्यका साथ नेपाल पर्यटन बोर्डले ‘उद्यमी इनोभेसन्स’ सँगको सहकार्यमा यस्तो कार्यक्रम ल्याएको हो । छनोटमा परेका १५ वटा समूहका युवा उद्यमीले आज अन्तिम प्रतिस्पर्धामा आ–आफ्ना व्यावसायिक योजना र लगानीको सम्भावनाबारे प्रस्तुति दिए । उनीहरुको व्यावसायिक योजनाका आधारमा व्यवसाय प्रवर्द्धनका लागि थप लगानी जुटाइदिन व्यवसायी तथा लगानीकर्ताको पनि जमघट गराइएको थियो ।
छनोट भएका कम्पनीलाई ‘उद्यमी सिड फण्ड’ ले पनि थप लगानीमा सहयोग गर्ने उद्यमी इनोभेसन्सका प्रमुख कार्यकारी अधिकृत कविराज जोशीले जानकारी दिए । छनोट भएका कम्पनीलाई थुप्रै ठाउँबाट लगानीको आश्वासन आएको छ ।
पर्यटन क्षेत्रमा उद्यमी बन्न चाहने युवालाई कुन क्षेत्रमा कसरी लगानी गर्ने, सम्भावित बजार र लगानीकर्तासँग पहुँच अभिवृद्धि गर्ने उद्देश्यले यस्तो कार्यक्रम सञ्चालन गरिएको उनले उल्लेख गरे । पर्यटन क्षेत्रमा योगदान पुर्याउने सम्भावना रहेका नवीन योजनालाई व्यवसायमा परिवर्तन गर्नसक्ने अवसर प्रदान गर्न ‘सिड क्याम्प’ आयोजना गरिएको बोर्डका प्रमुख कार्यकारी अधिकृत दीपकराज जोशीले बताए ।
बोर्डका अनुसार दक्षिण एशियामै पहिलोपटक आयोजना गरिएको यस्तो क्याम्पले युवा उद्यमीलाई आकर्षण गर्नाका साथै उद्यमशीलताको रुप लिएको छ । उक्त कार्यक्रममा लक्ष्मी बैंक तथा लक्ष्मी क्यापिटल, गेट कलेज, वल्र्ड इनोभेसन्सलगायत संस्थाको सहकार्य छ ।
इच्छुक उद्यमीहरुबाट निवेदन माग गरिएकामा ६१ समूहले निवेदन दिएको र तीमध्ये विधागत छनोटका आधारमा २० वटा समूह छनोट गरिएको थियो । उक्त समूहलाई गत कात्तिक १३ देखि २० सम्म पोखरामा छ दिने उद्यमी बुट क्याम्पमा सहभागी गराइएकामा १५ वटा समूह व्यवसाय स्थापना गर्ने तयारीमा पुगेका हुन् ।
पर्यटन सेवाको स्तरोन्नति, क्षमता अभिवृद्धि, ‘डिजिटल टुरिजम’ प्रवर्द्धन, सामुदायिक पर्यटन विकास आदि विषयको आधारमा सम्बन्धित विज्ञहरुले युवा उद्यमी छनोट गरेका जनाइएको छ । ‘पर्यटन उद्यमी सिड क्याम्प’ले आकांक्षी उद्यमीका योजनालाई जाँच्ने र परिस्कृत गर्ने सुवर्ण अवसर दिने उल्लेख गर्दै कार्यकारी अधिकृत जोशीले अन्ततः यसबाट नेपाल भ्रमण वर्षलाई समेत योगदान पुग्ने उल्लेख गरे ।
कार्यक्रममा लक्ष्मी बैंकका प्रमुख कार्यकारी अधिकृत अजय शाहले अर्थतन्त्रको महत्वपूर्ण आधार रहेको पर्यटन क्षेत्रमा युवापुस्ताको आकर्षणका लागि गरिएको प्रेरणादायी कार्यक्रममा आफूहरूले पनि सहकार्य गर्न पाउनु खुशीको विषय हो भने । गेट कलेजका प्रमुख खेम लक्काइँले पर्यटकीय सेवाको गुणस्तर अभिवृद्धिका लागि नयाँ सोच र प्रविधिका साथ युवापुस्तालाई प्रोत्साहन गर्न उक्त कार्यक्रम उपयोगी हुने उल्लेख गरे।
उद्यमी इनोभेसन्सले सन् २०१६ देखि युवा उद्यमशीलता विकासका लागि समन्वयकारी भूमिका निर्वाह गर्दै आएको छ । कम्पनीले शुरुमा महिला उद्यमशीलता, सन् २०१७ मा सूचना र प्रविधिको विकास सम्बन्धी र सन् २०१८ मा ‘टुरिजम उद्यमी सिड क्याम्प’ सञ्चालन गरेको हो । सन् २०१९ भित्र कृषि, स्वास्थ्य र शिक्षा क्षेत्रमापनि उक्त कार्यक्रम सञ्चालन गरिने योजना बनाइएको छ ।
उक्त क्यामको मुख्य उद्देश्य ‘ट्राभल्स’, ‘टुरिजम’ र ‘हस्पिटालिटी’ का क्षेत्रमा नयाँ व्यवसाय सञ्चालन गर्न खोज्ने र पर्यटनमा पहिलादेखिनै व्यवसाय गरिरहेकालाई नयाँ सोचका साथ कसरी प्रवर्द्धन गर्न सकिन्छ भन्ने उद्देश्यले उपयुक्त थलोको रुपमा सिड क्याम्पको अवधारणा ल्याइएको इन्नोभेसन्सका प्रमुख कार्यकारी अधिकृत जोशीको भनाइ थियो ।