९ बैशाख २०८२, मंगलवार

प्रशासन एक्सक्लुसिभ

crisis_alert चार निर्माण कम्पनी कालोसूचीमा (सूचीसहित)    crisis_alert यसरी घट्न थाल्यो बालविवाह : अभियान सँगसँगै स्थानीय सरकार पनि लागि परे     crisis_alert गाँजामाथिको प्रतिबन्ध हटाउने प्रतिवेदन तयार, कस्तो छ गाँजाबाटै समृद्धि भित्र्याउने सरकारी खाका ?   crisis_alert मन्दीले ताल्चा लाग्न थालेको बजार : खोल्ने कसले हो, कसरी हो ?   crisis_alert किन काम गरिरहेका छैनन् अर्थतन्त्र सुधारका प्रयासले ?   crisis_alert अर्थतन्त्रको सङ्कटबाट साना व्यवसाय नियाल्दा: त्यति विधि निराशा छैन, आशा बाँकी छ   crisis_alert गरिबलाई बाँच्नसमेत नदिइरहेको आर्थिक सङ्कट   crisis_alert सङ्कटको डिलमा पुग्दै आन्तरिक अर्थतन्त्र   crisis_alert गृह मन्त्रालयले थाहै नपाई कैदीहरूले गरिदिए जेलरको सरुवा   crisis_alert बाँसबारी जग्गा प्रकरणको केन्द्रमा छन् विनोद चौधरी    crisis_alert काँग्रेस सांसदको पाँचतारे होटेलका लागि एकै दिनमा फेरियो कानुन    crisis_alert ‘भिजिट भिसा’ले अन्तर्राष्ट्रिय विमानस्थलमा टकराब, किन भइरहेछ प्रहरी-अध्यागमन मनमुटाब ?    crisis_alert विधिको शासनकै मजाक बनाइएको ललिता निवास प्रकरण  

प्रशासन एक्सक्लुसिभ

crisis_alert चार निर्माण कम्पनी कालोसूचीमा (सूचीसहित)    crisis_alert यसरी घट्न थाल्यो बालविवाह : अभियान सँगसँगै स्थानीय सरकार पनि लागि परे     crisis_alert गाँजामाथिको प्रतिबन्ध हटाउने प्रतिवेदन तयार, कस्तो छ गाँजाबाटै समृद्धि भित्र्याउने सरकारी खाका ?   crisis_alert मन्दीले ताल्चा लाग्न थालेको बजार : खोल्ने कसले हो, कसरी हो ?   crisis_alert किन काम गरिरहेका छैनन् अर्थतन्त्र सुधारका प्रयासले ?   crisis_alert अर्थतन्त्रको सङ्कटबाट साना व्यवसाय नियाल्दा: त्यति विधि निराशा छैन, आशा बाँकी छ   crisis_alert गरिबलाई बाँच्नसमेत नदिइरहेको आर्थिक सङ्कट   crisis_alert सङ्कटको डिलमा पुग्दै आन्तरिक अर्थतन्त्र   crisis_alert गृह मन्त्रालयले थाहै नपाई कैदीहरूले गरिदिए जेलरको सरुवा   crisis_alert बाँसबारी जग्गा प्रकरणको केन्द्रमा छन् विनोद चौधरी    crisis_alert काँग्रेस सांसदको पाँचतारे होटेलका लागि एकै दिनमा फेरियो कानुन    crisis_alert ‘भिजिट भिसा’ले अन्तर्राष्ट्रिय विमानस्थलमा टकराब, किन भइरहेछ प्रहरी-अध्यागमन मनमुटाब ?    crisis_alert विधिको शासनकै मजाक बनाइएको ललिता निवास प्रकरण  

स्थानीय सरकार : सुशासन र सदाचार

अ+ अ-

विषय प्रवेश
नेपालको संविधानमा संघीय लोकतान्त्रिक गणतन्त्र नेपालको मूल संरचना संघ, प्रदेश र स्थानीय तह गरी तीन तहको हुने व्यवस्था भएबमोजिम तीनै तहमा सरकारहरू गठन भई क्रियाशील समेत भइसकेका छन् । नेपालको राज्यशक्तिको प्रयोग संघ, प्रदेश र स्थानीय तहले संविधान र कानुनबमोजिम गर्छन् । संघीय शासन प्रणालीमा संविधानमै प्रष्टरूपमा संघीय इकाइबीच अधिकारको बाँडफाँड गरिएको हुन्छ । नेपालको संविधानको अनुसूची ५ देखि ९ सम्म राज्यशक्तिको बाँडफाँडबारे उल्लेख गरिएको छ । अनुसूची ८ मा स्थानीय तहको अधिकार (एकल) र अनुसूची ९ मा संघ, प्रदेश र स्थानीय तहको अधिकारको साझा सूची दिइएको छ ।

अनुसूची ८ मा उल्लेख भएका विषयमा कानुन बनाउने अधिकार स्थानीय तहलाई मात्र प्राप्त छ भने अनुसूची ९ मा उल्लेख भएका विषयमा स्थानीय तहले कानुन बनाउँदा संघ र प्रदेशले बनाएको कानुनसँग नबाझिने गरी बनाउनुपर्छ । संघीय पद्धतिको मूल उद्देश्य स्थानीय तहबाट सम्पादन हुनसक्ने सबै अधिकार स्थानीय तह अर्थात् जनताको निकटमा पुर्याउने रहेको हुँदा अनुसूची ९ मा उल्लेख भएका कार्यहरू पनि संघले कानुन बनाई निक्षेपणको माध्यमबाट स्थानीय तहमा पुर्याउनु मनासिव हुन्छ ।

सुशासन
असल, शुभकारी, मंगलकारी, उत्तरदायी, इमान्दार, पारदर्शी र जिम्मेवार शासन नै सुशासन हो । स्थानीय सुशासन भन्नाले स्थानीय सरकारको नीति निर्माण, कानुन तर्जुमा, राजस्व संकलन, खर्चको विनियोजन, योजना तर्जुमा, कार्यान्वयन, अनुगमन, सेवा प्रवाह आदिजस्ता विषयमा स्थानीय नागरिक समाज, राजनीतिक दल, गैर सरकारी संस्था, सामाजिक संस्था, बुद्धिजीवी, अनुभवी वरिष्ठ नागरिक, महिला र अन्य पछाडि परेका वा पारिएका वर्गको संलग्नता रहेको शासकीय प्रणाली बुझिन्छ । समग्रमा समस्त जन समुदायको संलग्नता, सरोकार, सहमति र स्वामित्वमा संचालन गरिने स्थानीय शासकीय पद्धति नै स्थानीय सुशासन हो । सुशासनमा सामाजिक न्याय, सार्वजनिक स्रोतको दिगो उपयोग र व्यवस्थापन गरिन्छ । यसमा भावी सन्ततिको लागि प्राकृतिक सम्पदाको जगेर्ना र वातावरण संरक्षणलाई महत्व दिइन्छ, विकासमा क्षेत्रीय सन्तुलन कायम गरिन्छ । सुशासनमा प्रशासन भ्रष्टाचारमुक्त र सदाचारयुक्त हुन्छ भने उच्च नैतिक चरित्र र अनुशासन पालना गरिएको हुन्छ । सुशासित समाजमा स्थानीय समुदायको प्रत्येक नागरिकले आफू त्यस समुदायको सम्मानित र निर्णायक सदस्य रहेको महसुस गरेको हुन्छ । वास्तवमा सरकारको समग्र क्रियाकलापमा विश्वस्त एवं भरोसापूर्ण सहभागिता र स्वामित्व प्राप्त समाज नै सुशासनयुक्त समाज हो ।

सदाचार
सदाचारको मापन देश, काल, परिस्थिति, समाज, धर्म, र सांस्कृतिक मूल्य मान्यतामा निर्भर हुन्छ । समाज व्यक्तिमा हुँदैन, व्यक्ति समाजमा हुन्छ । त्यसैले व्यक्तिले समाजले निर्धारण गरेका मर्यादाको पालन गर्नुपर्छ । सामाजिक र सांस्कृतिक मान्यतालाई संहितावद्ध गरेर कानुन बनाइएको हुन्छ । यिनै सामाजिक मर्यादा र प्रचलित कानुनको अनुकूल चरित्र नै सदाचार हो । सार्वजनिक सेवालाई व्यक्तिगत लाभभन्दा माथि राख्नु सदाचार हो, जुन चिज आफ्नो स्वामित्व वा अधिकारभन्दा बाहिर छ, त्यसको लोभ नगर्नु र आफूलाई तोकिएको काम इमान्दारी र निष्ठासाथ गर्नु सदाचार हो । अहिंसा, अस्तेय, व्यभिचार नगर्नु, झुठो नबोल्नु र लागू पदार्थबाट टाढा रहनु जस्ता बुद्धका पंचशील पनि सदाचार हुन् । सत्य कर्म, सत्य वचन, सादगी, असल रहनसहन, स्वस्थ खानपान, सहनशीलता , शालीनता, धैर्य, क्षमा, लोभको अभाव र विनय नै सदाचारका गुण हुन् । सदाचारीहरू आत्मसम्मानी हुन्छन्, स्वाभिमानी हुन्छन् र अरुलाई सम्मान गर्छन् । उनीहरूको आत्मबल उँचो हुन्छ, निडर हुन्छन् र अभिव्यक्तिमा ओज र अधिकारपूर्णता हुन्छ । तर, अभिमानी र अहंकारी हुँदैनन् । उनीहरू मिथ्या भाषण, निन्दा, कपट, विश्वासघात र दुराशयबाट टाढै रहन्छन् । सदाचारीहरू आफ्नो सोचलाई आत्मनिष्ठ नभई वस्तुनिष्ठ बनाउँछन् । समाजका अगुवाहरूको चरित्रलाई सर्वसाधारण मानिसहरूले आदर्श मानी त्यसैको अनुकरण गर्ने हुन्दा त्यस्ता व्यक्तिहरू झन् चरित्रवान र सदाचारी हुनु आवश्यक छ । वास्तवमा समाजको प्रत्येक व्यक्तिको चरित्र मिलेरै राष्ट्रिय चरित्र बन्छ ।

व्यक्तिगत लाभलाई सार्वजनिक सेवासँग जोड्नु नै सदाचारको अन्त हो । सदाचारहीन व्यक्ति व्यक्तिगत लाभ उन्मुख, स्वार्थी, क्रोधी, अभिमानी, लोभी, अधैर्य, रुखो, पाखण्डी र आडम्बरी हुन्छ । सदाचारहीन शरीरभित्रको आत्मा सुखी हुन गाह्रो छ । सदाचारको उल्लंघन हुन आफै प्रत्यक्ष त्यसमा लाग्नु पर्दैन । खराव व्यक्तिको मतियार हुनु पनि त्यत्तिकै अनैतिक हो । अनैतिक कार्यको मतियार हुने व्यक्ति राजा धृतराष्ट्र जस्तै रोएर र अनिँदो बसेर जीवन बिताउँछ ।

असल चरित्र र सदाचारको बारेमा अमेरिकी लेखक ज्याक्सन ब्राउन जुनियर भन्छन्– कसैले पनि नदेखेको अर्थात् एक्लै भएको समयमा हामी जे गर्छौं त्यही नै हाम्रो चरित्र हो । यसैगरी अर्का अमेरिकी दार्शनिक थोमस पेन भन्छन्– हाम्रो प्रतिष्ठा त्यो हो जो मानिसहरू हाम्रो बारेमा सोच्छन्, हाम्रो चरित्र त्यो हो, जो ईश्वरले हाम्रो बारेमा जानकारी राख्छ । महात्मा गान्धी भन्छन्– सदाचार र निर्मल जीवन सच्चा शिक्षाको आधारशिला हो । ट्रान्सपरेन्सी इन्टरनेसनल भन्छ– आफ्नो व्यक्तिगत लाभको लागि आफूलाई प्राप्त अधिकारको दुरुपयोग गर्नु नै भ्रष्टाचार हो ।

स्थानीय सुशासन र सदाचार
जहाँ शक्ति र स्रोतसाधन हुन्छ, त्यहाँ निश्चितरूपमा अनियमितताको गुन्जायस रहन्छ । स्रोतसाधन र पैसा आफ्नो अधिकार क्षेत्रभित्र फेला पारेपछि त्यो साधन वा पैसालाई आफ्नो व्यक्तिगत स्वामित्वमा रूपान्तरण गर्ने प्रवृत्ति हावी हुन सक्छ । संघीय प्रणालीले राज्यशक्तिको अधिकार र स्रोतसाधन जनताको नजिक पुर्याएको छ । ती स्रोत साधनसँगै व्यक्तिगत लाभका आकांक्षा पनि पुग्नु स्वाभाविक छ । स्थानीय स्तरका नेता र कर्मचारी मिले भने अनियमितता हुने सम्भावना ज्यादा हुन्छ भने जनताको नजिकै हुनेहुँदा अनियमित तरिकाले कमाउनेभन्दा स्थानीय जनताको बृहत्तर हितमा काम गरेर आत्मसन्तुष्टि लिने प्रवृत्ति पनि बन्न सक्छ, दुवै सम्भावना बलिया छन् । यदि पारदर्शी र सहभागितामूलक क्रियाकलाप हुने हो भने स्रोतको दुरुपयोग र व्यक्तिगत लाभमा प्रयोग गर्ने सम्भावना कम हुन्छ । मुख्य कुरा स्थानीय सरकारका राजनीतिक खेलाडीहरूको नियत हो । भ्रष्टाचार सरकारी रकम खाएर मात्र हुने हैन । समयमै योजना सम्पन्न गराउन नसक्नु, राजनीतिक आस्थाको आधारमा सार्वजनिक स्रोतलाई सही ठाउँमा उपयोग नगर्नु, पक्षपात गर्नु, पछाडि परेका र पारिएका समुदायलाई सार्वजनिक गतिविधिमा संलग्न नगराउनु, नातावाद र खर्चमा अपारदर्शिता पनि कुशासनका लक्षण हुन् । व्यक्तिगत लाभभन्दा माथि उठेर लोभरहित र सदाचारी जीवन बिताउन सजिलो छैन । स्रोत साधनमा पहुँच र अधिकार भएका व्यक्ति अक्सर आफ्नै क्षणिक लोभ वा अरु कसैको उक्साहटमा सानो गल्ती गरेकै भरमा झमेलामा परेको पाइन्छ । संयम र धैर्य राखेर कामको सिलसिलामा आउन सक्ने लोभ लालचका क्षणलाई एक दुई पल्ट पार गर्न सक्ने हो भने आफ्नो आत्मबल बढ्छ । त्यसपछि कसैले ‘अफर’ गर्ने हिम्मत गर्दैन । यसरी सुरुमै हुनसक्ने सम्भावित दुर्घटना टरेपछि सदाचारयुक्त जीवनप्रति गौरव लाग्न थाल्छ, आत्मसम्मान र आत्मगौरवको विकास हुन्छ ।

स्थानीय जनप्रतिनिधि स्वच्छ चरित्रका भएमा कर्मचारीलाई अनियमितता गर्न सजिलो हुँदैन । खासगरेर पालिका अध्यक्ष, उपाध्यक्ष र वडा अध्यक्ष अनियमित कार्यबाट टाढा रहने हो भने स्थानीय स्तरमा भ्रष्टाचार हुन गाह्रो हुन्छ । स्थानीय जनप्रतिनिधिमा राजनीति कमाउने पेशा होइन, यो समाज सेवा हो, सेवाकै माध्यमबाट सन्तुष्ट हुने र प्रतिष्ठा आर्जन गर्ने हो भन्ने महसुस हुनु आवश्यक छ । सम्बन्धित राजनीतिक दलले पनि चुनावमा उम्मेदवार बनाउने समयमै विचार गर्ने र आफ्नो पार्टीबाट चुनिएका प्रतिनिधिको गतिविधिमा निगरानी राख्नु जरुरी छ । राजनीति बदनाम हुने अरु कसैको कारणले होइन, स्वयम् राजनीतिका खेलाडीको कारण हो । राजनीतिक नेता हुनु भनेको आफ्नो विचारलाई सार्वजनिक नीतिमा रूपान्तरण गर्न पाउने अवसर हो । यस्ता व्यक्ति नै व्यक्तिगत लाभमा तल्लीन हुने हो भने समाज कस्तो होला, नैतिक मूल्य र सदाचार कता पुग्ला ? सुशासनको अवस्था कस्तो होला ?

स्थानीय स्तरमा सम्भावित अनियमित र अनैतिक कार्य हुन नदिन स्थानीय पालिकाको नेतृत्वले कानुनको पालना, पारदर्शिता, स्थानीय आचारसंहिता निर्माण र कार्यान्वयन गर्नुपर्छ । पक्षपातरहित सेवा, खर्च विवरण प्रकाशन, नागरिक सुनुवाइ, गुनासो व्यवस्थापन, सम्पत्ति विवरणको प्रकाशन, सदाचार भेला र सार्वजनिक प्रतिज्ञा पनि सुशासन र सदाचार विकासमा सहायक हुनेछन् । सकारात्मक सोचबारे प्रशिक्षण, सम्पूर्ण सूचनासम्म नागरिकको पहुँच, सही र वास्तविक तथ्यांक संकलन र अभिलेख व्यवस्थापन, गुणस्तरीय सेवा प्रवाह, समय पालन, मितव्ययिता, सक्षम र इमान्दार अनुगमन र सुपरीवेक्षणको माध्यमबाट सदाचार सुनिश्चित गर्न सकिन्छ । स्वतन्त्र स्थानीय मिडिया, पछाडि परेका र पारिएका जनसमुदायको सार्वजनिक गतिविधिमा संलग्नता आदि जस्ता माध्यमबाट सदाचार र सुशासन सवल हुन्छ । यसबाहेक प्रभावकारी नियमन, सक्षम लेखापरीक्षण र आवश्यक परेमा भ्रष्टाचार नियन्त्रण गर्न स्थापित निकायबाट निश्पक्ष, तर निर्मम कारवाहीको पनि आवश्यकता पर्न सक्छ ।

प्रतिक्रिया दिनुहोस