खोटाङ । जिल्लाको प्रमुख व्यापारिक केन्द्र दिक्तेलबजारलगायत आसपासका क्षेत्रमा विस्तार गर्न लागिएको शहरी खानेपानी तथा सरसफाइ आयोजनाको कामलाई तीव्रता दिइएको छ । नेपाल सरकारको ७० प्रतिशत र उपभोक्ता समितिको ३० प्रतिशत लगानी रहने आयोजनाबाट दिक्तेल, सोल्मा र बाम्राङका एक हजार ४९ घर स्थानीयवासीलाई प्रशोधन गरिएको स्वच्छ तथा गुणस्तरीय खानेपानी उपलब्ध गराउने लक्ष्यका साथ आयोजनाको काम शुरु गरिएको हो ।
दिक्तेल रुपाकोट मझुवागढी नगरपालिका–२ सोल्माको माथिल्लो भेगमा मुहान रहेको रम्बाखोला–माझखोलाको पानी तानेर वितरण गरिने आयोजनामा अहिले ट्याङ्की निर्माण, पाइपलाइन विस्तार, पानी प्रशोधन गर्ने प्रशोधन केन्द्र निर्माणलगायतका काम धमाधम भइरहेको निर्माण उपभोक्ता समितिका अध्यक्ष धनकुमार जोशीले बताए । अध्यक्ष जोशीका अनुसार १८ महिनाभित्र पूरा गर्ने लक्ष्यका साथ गत चैत १४ गते प्रतिनिधिसभा सदस्य विशाल भट्टराईले औपचारिकरूपमा शिलान्यास गर्नुभएको उक्त आयोजनाका लागि सोल्मास्थित तीनबोटे र दिक्तेलस्थित अल्छेढुङ्गामा पानी प्रशोधन केन्द्र निर्माणको काम भइरहेको छ ।
दिक्तेल बहुमुखी क्याम्पसभन्दा केही माथि थामखोरेडाँडामा १७५ घनलिटर र हाटडाँडामा ५० हजार घनलिटर पानी सङ्कलन गर्ने ट्याङ्की निर्माणको काम भइरहेको जनाइएको छ । योसँगै १८ किलोमिटर टाढा रहेको रम्बाखोला–माझखोलाको मुहानबाट पानी ल्याइने मुख्य पाइपलाइनको काम पनि धमाधम भइरहेको छ ।
निर्धारित समयमै आयोजनाको काम पूरा गर्ने गरी पहिलो चरणमा दिक्तेल बजारको त्रिवेणीचोकदेखि भवन गैरासम्म पाइपलाइन विस्तार गर्ने कामलाई तीव्रता दिइएको आयोजनाका परामर्शदाता एवं पिइए–बीएन जेभीका इञ्जिनीयर भोलाप्रसाद चौधरीले जानकारी दिए । गत कात्तिक दोस्रो साताबाट शुरु गरिएको आयोजनाको काम आशिष निर्माण सेवाले गराइरहेको छ ।
लामो समयदेखि खानेपानीको समस्या झेलिरहेका बजारबासी रु २२ करोड ५५ लाख ५८ हजार लागतमा पूरा हुने खानेपानी आयोजनाको काम शुरु भएपछि हर्षित भएका छन् । नगरपालिकाको केन्द्रसमेत रहेको दिक्तेल बजारमा हिउँद, वर्षा बाह्रै महिना खानेपानीको समस्या देखिएपछि उक्त आयोजनाको काम शुरु गरिएको हो ।
दिक्तेल बजारमा विस्तार गरिएको पुरानो खानेपानी योजनाको धारामा कहिले पानी नै नआउने, आइहाले पनि फोहर तथा दुषित पानी आउनेलगायत विभिन्न प्रकारका समस्या वर्षौदेखि रहेको उपभोक्ताको गुनासो छ । उपभोक्ता समितिका केही पदाधिकारीले आफ्ना नजिकका व्यक्तिको घरमा तीन–चारवटासम्म धारा जडान गरेको र उनीहरुका धारामा चौबीसै घण्टा पानी आउने बनाएकाले आफूहरुलाई थप समस्या भएको उपभोक्ताले आरोप लगाउँदै आएका छन् ।
दिक्तेल बजारमा देखिएको खानेपानीको समस्या समाधान गर्न नगरपालिकाको तर्फबाट विशेष पहल भइरहेको नगरप्रमुख दीपनारायण रिजालले बताए। “खानेपानी विस्तारका लागि भर्खरै मात्र ठेकेदार कम्पनीसँग सम्झौता गरेर काम शुरु गरिएको छ”, उनले भने, “आगामी डेढ वर्षभित्र दिक्तेल बजारमा देखिएको खानेपानीसम्बन्धी सबै समस्या समाधान गरेर स्वच्छ पानी वितरण गरिनेछ ।”
दिक्तेल बजारमा सञ्चालित पुरानो योजनाबाट करीब ८०० धारा वितरण गरिएको छ । पुरानो योजनाको धारामा पानी नआएपछि बजारवासी आसपासको गाउँमा पुगेर धारा तथा कुवाको पानी ल्याएर उपभोग गर्न बाध्य छन् ।