नेपाल भ्रमण वर्ष २०२० नजिकिँदै छ । सरकारले यसलाई भव्य रूपमा सफल बनाउनुपर्छ भनिरहेको छ । तयारी पनि सबैले आ-आफ्नो ठाउँबाट गरिरहेकै होलान् । भ्रमण वर्ष सफल बनाउने भन्दै बजेटको ठुलो हिस्सा विनियोजन पनि भएकै होला ।
तयारीको कुरा गर्दा तारे होटेलमा सभा सेमिनार गरेर मात्रै पुग्दैन । होटेल र रेस्टुरेन्टको विकास मात्र पर्यटनको विकास होइन । पर्यटनका विविध आयामहरूलाई हामीले ध्यान दिनुपर्ने हुन्छ । राष्ट्रियस्तर देखि स्थानीयस्तरसम्म पर्यटनको विकासका लागि छुट्टाछुट्टै योजना र तयारी आवश्यक छ ।
‘पर्यटन वर्ष सफल बनाउन सबै क्षेत्रका कर्मचारीलाई यो वर्ष अतिरिक्त एक हप्ता देखी पन्ध्र दिनसम्म बिदा दिनु उपयुक्त हुन्छ, सकिन्छ भने सशर्त भत्ता पनि दिऊँ , ग्रामीण क्षेत्रको भ्रमण गर्न प्रोत्साहित गरौँ ताकी ग्रामीण क्षेत्रका जनताले केही कमाई गर्न सकुन् र उनीहरूले पनि अतिरिक्त खर्च गर्न सकुन् ।’
वास्तवमा पर्यटन वर्षलाई सफल बनाउन धेरै तयारी गर्नु आवश्यक छ । पर्यटकीय स्थलहरूको व्यापक प्रचारप्रसारले मात्रै यसको तयारी पूरा भएको मान्न सकिन्न । सबैले भ्रमण वर्षलाई उत्सवको रूपमा मनाउने वातावरण बनाउन जरुरी छ । विदेशी पर्यटकलाई नेपाल भ्रमण गर्न प्रेरित गर्ने कुरा त छँदै छ, नेपालभित्रका धेरै भन्दा धेरै नेपालीहरूलाई एक ठाउँबाट अर्को ठाउँमा भ्रमणमा जाने आउने वातावरण बनाइनुपर्छ ।
पूर्वको मान्छे पश्चिम जाओस् पश्चिमको मान्छे पूर्व जाओस्, तराईको मान्छे हिमाली क्षेत्रमा जाउन् हिमाली क्षेत्रको मानिस तराईमा जाउन्, काठमाडौँको मान्छे कर्णाली अनि कर्णालीको मान्छे काठमाडौँ जाउन् । मानौँ मुलुकभित्रै पनि व्यापक मुभ्मेन्ट (चहलपहल) होओस् । न्यून आयस्तर भएकाले पनि अतिरिक्त कमाई गर्न सकुन् र नयाँ-नयाँ ठाउँ घुम्न सकुन् । पर्यटन वर्षको मज्जा उच्च आय भएको वर्गले मात्रै होइन न्यून आय भएका वर्गले पनि लिन सकुन् ।
‘पर्यटन वर्षको मज्जा उच्च आय भएको वर्गले मात्रै होइन न्यून आय भएका वर्गले पनि लिन सकुन् ।’
पर्यटन वर्ष सफल बनाउन सबै क्षेत्रका कर्मचारीलाई यो वर्ष अतिरिक्त एक हप्ता देखी पन्ध्र दिनसम्म बिदा दिनु उपयुक्त हुन्छ, सकिन्छ भने सशर्त भत्ता पनि दिऊँ (जस्तो नेपालकै स्थानको भ्रमण गरेको हुनुपर्ने र तस्बिर समेत पेस गर्नुपर्ने आदि), ग्रामीण क्षेत्रको भ्रमण गर्न प्रोत्साहित गरौँ ताकी ग्रामीण क्षेत्रका जनताले केही कमाई गर्न सकुन् र उनीहरूले पनि अतिरिक्त खर्च गर्न सकुन् ।
त्यसै गरी गाउँ-गाउँमा रहेका होमस्टेलाई सबलीकरण गरिनुपर्छ । तालिम र पूर्वाधार विकासमार्फत सरकारले उनीहरूलाई सहयोग गर्नुपर्छ । पर्यटकीय आकर्षण र सेवा सुविधा बढाउन निकै मेहनत गर्नुपर्छ । स्थानीय एवं मौलिक कला, संस्कृति र जीवनशैलीको संरक्षण र प्रवर्द्धन गर्नुपर्छ । ग्रामीण पर्यटनको विकासको लागी स्थानीय उत्पादन, श्रोत र साधनलाई उच्च प्राथमिकता दिनुपर्छ । पर्यटकलाई कङ्क्रिट घरमा होइन बाँस निगालो र खरले बनेको कटेजमा राख्नुपर्छ, सकिन्छ भने ढुङ्गा माटोकै मौलिक घर (घुमाउने घर, तीन धुरे, पाँच धुरे आदि) बनाउन लगाउनुपर्छ । पर्यटकलाई गलैँचा होइन मकैको भुत्लाले बनेको चकटीमा बसाइनुपर्छ । पिजा र स्यान्डबिच होइन मकै, भटमास सेलरोटी आदि खाजा खुवाइनुपर्छ । खानामा दाल, भात तरकारीको साथमा गुन्द्रुक र ढिँडो दिइनुपर्छ ।
हाम्रो संस्कार अनुसार पर्यटकलाई भगवान् सरह मानिन्छ । भगवानलाई खुसी पार्न स्वागत सत्कार, सरसफाइ, मनोरञ्जन देखि सेवा सुविधामा कुनै कमी आउन दिनु हुँदैन । पाहुनालाई लामो समयसम्म बसुंबसुं लाग्ने बनाउनुपर्छ । छुट्नेबेलामा पनि हामीले पाहुनालाई सम्झना स्वरूप हाम्रो कला संस्कृति झल्किने हस्तकलाका सामाग्री दिन सकियो भने अझ सुनमा सुगन्ध थपिन्थ्यो ।
यसरी परिकल्पना गर्दा पनि आनन्द आउने गरी पर्यटकलाई हाम्रा गाउँ-गाउँमा भ्रमण गराउन सकियो भने बल्ल पर्यटन वर्ष सफल भएको मानिनेछ । ग्रामीण भेगका जनताले पनि यसबाट लाभ लिन सक्नेछन् ।
‘पर्यटकलाई पिजा र स्यान्डबिच होइन मकै, भटमास सेलरोटी आदि खाजा खुवाइनुपर्छ । खानामा दाल, भात तरकारीको साथमा गुन्द्रुक र ढिँडो दिइनुपर्छ ।’
तारे होटेलका सभा सेमिनार र मेला महोत्सवमा सीमित पर्यटन सम्बद्ध निकायहरूका कार्यक्रमहरू अब उप्रान्त ग्रामीण पर्यटनको विकासमा केन्द्रित हुनुपर्ने बेला आएको छ । बिसौँ लाख पर्यटक भित्र्याउने लक्ष्य राखिएको भ्रमण वर्षमा पर्यटकलाई नेपाल बोलाएर मात्रै हुँदैन खान, बस्न र रमाउन सक्ने उचित व्यवस्था मिलाउनुपर्छ । हाम्रोमा भएका होटेल रेस्टुरेन्टले मात्रै लाखौँ पर्यटकलाई सेवा सुविधा दिन नपुग्न सक्छ । तसर्थ पर्यटकलाई हामीले नयाँ-नयाँ पर्यटकीय गन्तव्य पहिचान गर्न मद्दत गर्नुपर्छ ।
हामीले पर्यटकलाई बोलाएर मात्रै हुँदैन, होटेल वा होमस्टेसम्म पुग्ने सडकको अवस्था कस्तो छ, नियमित शुद्ध खानेपानीको आपूर्ति अवस्था कस्तो छ, स्वास्थ्य सेवा लगायत सार्वजनिक शौचालय र वातावरणीय अवस्था कस्तो छ आदि हरेक क्षेत्रको ख्याल गर्नुपर्छ । पर्यटकले आउँदा-आउँदै दुस्ख पाउनुपर्यो, सास्ती झेल्नुपर्यो या हैरानी व्यहोर्नुपर्यो भने एकातर्फ हाम्रो बेइज्जत हुन्छ भने अर्कोतर्फ हामीले आशा गरे अनुरूप लगानीको प्रतिफल प्राप्त गर्न सक्दैनौँ ।
पर्यटन वर्षलाई उत्सवकै रूपमा मनाउन मानिसहरूलाई जागरूक बनाउनुपर्छ । मठ, मन्दिर, पाटी, पौवा, चौतारी आदिको सरसफाइ संरक्षण, संवर्द्धनमा स्थानीयहरू लगाइनुपर्छ । आफ्नो कला, संस्कृति र परम्परा जोगाउने र प्रचारप्रसार गर्ने वातावरण बनाइनुपर्छ । बाटोघाटो, पुलपुलेसा, खानेपानीको धारा, सार्वजनिक शौचालय आदि निर्माण गरी व्यवस्थित बनाइनुपर्छ ।
हामीले होटेल, रेस्टुरेन्ट, होमस्टे आदिको विकासका अतिरिक्त अन्तर्राष्ट्रिय स्तरका मेला, महोत्सव, खेलकुद प्रतियोगिता आदि आयोजना गर्नेतर्फ पनि ध्यान दिनुपर्छ । कतिपय ठाउँमा पर्यटकबाट चर्को शुल्क उठाइने गरेको तर सोअनुसारको सेवा सुविधा नदिइएको गुनासो पनि आउने गरेको छ । अनि एउटै सेवा सुविधा लिँदा पनि पर्यटकपिच्छे फरक फरक शुल्क लिइने गरिएको छ । यस्ता विषयमा अनुगमन गरी सचेत गराउने र कारबाही गर्नेसम्म गर्नुपर्छ ।
अहिले भ्रमण वर्षको व्यापक प्रचारप्रसार भइरहेको छ । प्रचारप्रसार त तयारीको एउटा पाटो मात्रै हो । हामीले गर्नुपर्ने धेरै छ । पर्यटन मन्त्रालय, पर्यटन विभाग, पर्यटन बोर्ड लगायत पर्यटन सम्बद्ध विभिन्न निकायहरूले प्रभावकारी रूपमा तयारी गर्नुपर्छ । जन स्तरमा पनि पर्यटन वर्षको तयारीको लागि व्यापक जनचेतना जगाउन आवश्यक छ ।