डोटी । देश ब्यापीरुपमा दुई चरणमा सञ्चालन भइरहेको दादुरा रुवेला खोप अभियान डोटी जिल्लामा चैत्र १ देखि सञ्चालन हुने स्वास्थ्य कार्यालय डोटीले जानकारी दिएको छ ।
९ महिना देखि ५ वर्ष मुनिका २४ हजार ५ सय ५० बाल बालबालिकाहरूका लागि डोटीमा सञ्चालन हुने अभियानका लागि ५ सय एघार खोप केन्द्रहरू कायम गरिनुका साथै १ सय २६ जना स्वास्थ्यकर्मि, १ हजार बाइस जना स्वयंसेवक परिचालन गरिने स्वास्थ्य कार्यालय डोटीले जानकारी दिएको छ ।
डोटी जिल्लामा चैत्र महिनामा दुई चरणमा सञ्चालन हुने अभियानका लागि सुक्ष्मयोजना तर्जुमा खोप केन्द्र निर्धारण, खोप सेवा सञ्चालन र जनशक्तिको व्यवस्थापन,स्वास्थ्य शिक्षा, सूचना तथा सञ्चार , समन्वय र सामाजिक परिचालन, खोप कोल्ड चेन आपूर्ति व्यवस्थापन लगायतका पूर्व तयारी गरिएको स्वास्थ्य कार्यालय डोटीका परिवार नियोजन निरीक्षक सूर्य बिस्टले जानकारी दिए ।
दादुरा र रुवेला दुवै रोगहरू भाइरस बाट हुने र यी रोगहरू धेरै छिटो सर्ने अति संक्रमक भई छिट्टै महामारीको रूप लिन सक्ने भएका कारण बालबालिकाहरूलाई रोग विरुद्धको खोप लगाउनु उत्तम विकल्प रहेको स्वास्थ्य कार्यालय डोटीका प्रमुख रमेश मलासिले बताए ।
९ वटा स्थानीय तह रहेको डोटीमा बोगटान फुड्सिल गाउँपालिका, जोरायल गाउँपालिका, बडीकेदार गाउँपालिका र के आई सिंह गाउँपालिकामा पहिलो चरणमा चैत्र १ गते देखि १५ गते सम्म र दिपायल सिलगढी नगरपालिका, शिखर नगरपालिका, पुर्विचौकी गाउँपालिका, आदर्श गाउँपालिका र सायल गाउँपालिकामा चैत्र १६ गते देखि ३० गते सम्म अभियान सञ्चालन हुने कार्यक्रम तय गरिएको समेत प्रमुख मलासिले जानकारी दिए ।
जिल्लामा नियमित रूपमा सञ्चालन हुने खोपहरू प्रभावित नहुन भन्ने हेतुले दुई चरणमा अभियान सञ्चालन गरिएको र अभियानलाई सफल पार्न सबैले आ आफ्नो क्षेत्रबाट सहयोग गर्नुपर्ने कुरामा प्रमुख मलासिले जोड दिए ।
दादुरा र रुवेला रोग लाग्दा उच्च ज्वरो, आउनु, नाकबाट पानी बग्ने, खोकी लाग्ने वा आँखा रातो हुने अनुहारमा र गर्दनको माथिल्लो भागमा राता बिमिराहरू देखा पर्ने लगायतका लक्षणहरू देखा पर्ने जिल्ला अस्पताल डोटीका मेडिकल सुपरिटेन्डेन्ट डा.ज्योति पाण्डेयले बताइन् । उनले रोग बाट सङ्क्रमण हुनुभन्दा रोग लाग्न नदिन दादुरा र रुवेला विरुद्धको खोप लगाउन पर्ने सुझाव दिइन् ।
राष्ट्रिय कार्यक्रम अनुसार देश व्यापी रूपमा सञ्चालनमा आएको राष्ट्रिय अभियान पहिलो चरण फाल्गुण १ देखि ३० सम्म प्रदेश नं. १, २ र ५ गरी ३४ जिल्लाहरूका ३ सय ८२ स्थानीय तहमा सञ्चालन भइरहेको छ भने दोस्रो चरणमा चैत्र १ देखि ३० सम्म प्रदेश नं. ३, गण्डकी, कर्णाली र सुदूरपश्चिम प्रदेश गरी ४३ जिल्लाका ३ सय ७१ स्थानियतहहरुमा सञ्चालन हुने कार्यक्रम रहेको स्वास्थ्य कार्यालय डोटीले जानकारी दिएको छ ।