१० बैशाख २०८२, बुधबार

प्रशासन एक्सक्लुसिभ

crisis_alert चार निर्माण कम्पनी कालोसूचीमा (सूचीसहित)    crisis_alert यसरी घट्न थाल्यो बालविवाह : अभियान सँगसँगै स्थानीय सरकार पनि लागि परे     crisis_alert गाँजामाथिको प्रतिबन्ध हटाउने प्रतिवेदन तयार, कस्तो छ गाँजाबाटै समृद्धि भित्र्याउने सरकारी खाका ?   crisis_alert मन्दीले ताल्चा लाग्न थालेको बजार : खोल्ने कसले हो, कसरी हो ?   crisis_alert किन काम गरिरहेका छैनन् अर्थतन्त्र सुधारका प्रयासले ?   crisis_alert अर्थतन्त्रको सङ्कटबाट साना व्यवसाय नियाल्दा: त्यति विधि निराशा छैन, आशा बाँकी छ   crisis_alert गरिबलाई बाँच्नसमेत नदिइरहेको आर्थिक सङ्कट   crisis_alert सङ्कटको डिलमा पुग्दै आन्तरिक अर्थतन्त्र   crisis_alert गृह मन्त्रालयले थाहै नपाई कैदीहरूले गरिदिए जेलरको सरुवा   crisis_alert बाँसबारी जग्गा प्रकरणको केन्द्रमा छन् विनोद चौधरी    crisis_alert काँग्रेस सांसदको पाँचतारे होटेलका लागि एकै दिनमा फेरियो कानुन    crisis_alert ‘भिजिट भिसा’ले अन्तर्राष्ट्रिय विमानस्थलमा टकराब, किन भइरहेछ प्रहरी-अध्यागमन मनमुटाब ?    crisis_alert विधिको शासनकै मजाक बनाइएको ललिता निवास प्रकरण  

प्रशासन एक्सक्लुसिभ

crisis_alert चार निर्माण कम्पनी कालोसूचीमा (सूचीसहित)    crisis_alert यसरी घट्न थाल्यो बालविवाह : अभियान सँगसँगै स्थानीय सरकार पनि लागि परे     crisis_alert गाँजामाथिको प्रतिबन्ध हटाउने प्रतिवेदन तयार, कस्तो छ गाँजाबाटै समृद्धि भित्र्याउने सरकारी खाका ?   crisis_alert मन्दीले ताल्चा लाग्न थालेको बजार : खोल्ने कसले हो, कसरी हो ?   crisis_alert किन काम गरिरहेका छैनन् अर्थतन्त्र सुधारका प्रयासले ?   crisis_alert अर्थतन्त्रको सङ्कटबाट साना व्यवसाय नियाल्दा: त्यति विधि निराशा छैन, आशा बाँकी छ   crisis_alert गरिबलाई बाँच्नसमेत नदिइरहेको आर्थिक सङ्कट   crisis_alert सङ्कटको डिलमा पुग्दै आन्तरिक अर्थतन्त्र   crisis_alert गृह मन्त्रालयले थाहै नपाई कैदीहरूले गरिदिए जेलरको सरुवा   crisis_alert बाँसबारी जग्गा प्रकरणको केन्द्रमा छन् विनोद चौधरी    crisis_alert काँग्रेस सांसदको पाँचतारे होटेलका लागि एकै दिनमा फेरियो कानुन    crisis_alert ‘भिजिट भिसा’ले अन्तर्राष्ट्रिय विमानस्थलमा टकराब, किन भइरहेछ प्रहरी-अध्यागमन मनमुटाब ?    crisis_alert विधिको शासनकै मजाक बनाइएको ललिता निवास प्रकरण  

विज्ञानको युगमा कोरोनाको त्रास, आस र पाठ

अ+ अ-

विश्वव्यापिकरणले विश्वलाई एउटा सानो गाउँ बनायो र विश्व भरी बस्ने मानिसलाई गाउँ बासी । प्रविधिले पृथ्वीमा मानिसको भौतिक दुरी त घटायो तर मानवीय दुरी विरोधाभासमा रुमलिरह्यो । पृथ्वी एउटै छ र हाम्रो भविष्य पनि साझा हो भनेर बेला-बेलामा उद्घोष पनि भए । साझा भविष्य जस्तै साझा चुनौती पनि छन् भनेर वाचन गरियो । अन्तर्राष्ट्रिय आतङ्कवाद, जलवायु परिवर्तन समेतभित्र महामारी रोग पनि दर्ज गरियो । पृथ्वी नामको एउटै भविष्य र चुनौतीको डुङ्गामा यात्रा गरे पनि भित्र भित्र चुच्चे ढुङ्गो उही टुङ्गो भने झैँ प्रतिस्पर्धाले वाजावाज र ठुङाठुङ् चलिरह्यो । ज्ञानको विस्फोट भएको विज्ञानको युगमा विभिन्न चुनौतीका बाबजुद भएका खोज, अनुसन्धान र विकासले एकातिर अचम्मित बनाएको र मानिसको छाती रबरको गुलेली झैँ तन्काएको त थियो । अर्कोतिर गरिबी, भोकमरी, अभाव आदिको ओरालो यात्रा देखेर दरिद्र, भावुक, भयभीत र तापले खुम्चिएको प्लास्टिक झैँ बनाएको पनि थियो । हामीले छाती खोलेर पहिलो र दोस्रो विश्वयुद्ध लड्यौ । बाहिर खिसिक्क गरे पनि नगरे पनि भित्रभित्र क्रुद्ध भएर शीतयुद्ध पनि लड्यौँ । तर कुनै युद्ध नै गर्न नपर्ने, सक्नेले वास्ता गरिदिए मात्र पुग्ने गरिबी, भोकमरी, अभाव आदिका कारण दिनहुँ मानिस मरिरहेका थिए, मरिरहेका छन् र मरिरहने छन् । मानिसले आफूलाई बढी भएको खाना नफालेर बचत गरी खान नपाउनेलाई दिने व्यवस्था मात्र गरिदिए, अलिकति वास्ता गरिदिए, खेर गइरहेको अनाजलाई खेर जानबाट मात्र रोकिदिए हजारौँ मानिसको भोकमरीको बलिदान रोकिने थियो । वास्तवमा यो एउटा सुषुप्त युद्ध जस्तै चलिरहेको छ । तर यसलाई कसैले युद्ध भनेन ।

विकसित देशको विकासले पनि अचम्मित बनाएको थियो । मानिस अब अन्तरी क्षमा बसाइ गर्ने तयारीका खबर चल्दै थिए । नहुने वर्गको मानिस अभावको भुमरीमा थिए । हुनेहरूले पछाडि फर्केर हेर्ने फुर्सद भएन । नसक्नेले गासको खोजीमा दौडिए सक्नेले एक क्लिकमा हजारौँको श्वास लिने पृथ्वी नै ध्वस्त बनाउने हातहतियार समेत बनाउन दौडिए । इन्टरनेटले एउटा क्लिकमा विश्वको कुनै पनि कुनामा पुग्न सक्ने बनायो । हतियारको होड र तँछाडमछाडले एउटा ट्रिगर दबाउँदा विश्वको कुनै पनि कुना मात्र होइन पृथ्वी नै ध्वस्त गराउन सक्ने भयो । यस्तोलाई पनि के जित ठान्ने मानिसले खै जसले त्यस्ता हात हतियार बनाए उनीहरूले ठान्न थालेकी विश्वको कुनै शक्तिले उनीहरूलाई छुन पनि सक्दैन । धेरै अग्लो बन्न खोजेपछि टाउकै ठोकिन्छ भने झैँ यति विघ्न प्रगति गरेका पृथ्वीवासीको अहङ्कारको टाउको अहिले कोरोनाले ठोक्काइदियो । एउटा क्लिकमा अथवा स्विच दबाएर विश्व जगलाई आफ्नै आँखामा नियाल्न सक्ने, ध्वस्त बनाउन सक्ने क्षमतालाई भाइरसको एउटा क्लिकले पृथ्वीलाई आफ्नो अक्षमा घुम्न त रोकेको छैन तर यही पृथ्वी नामको डुङ्गामा बसेर हुङ्कार, अहङ्कार र झङ्कार गर्नेदेखि शान्ति र भोकको प्रार्थना गर्ने सबैलाई हलचल गर्न रोकिदिएको छ । विश्वको कुनै शक्तिले रोक भनेर नरोकिने अहङ्कारी मानिस ठप्प भएको छ । मानौँ कि यो कोरोना होइन कुनै प्राचीन दैवी शक्ति हो वा काल्पनिक कथा ।

सबै विश्वयुद्धलाई पछाडि पार्ने गरी कोरोनाको महामारी एउटा ठुलो युद्ध जस्तै चलिरहेको छ । सन् 2019 को डिसेम्बरमा चीनको मुहानमा डाक्टर वेन लीयाङ्ले कोरोनाको झिल्का देखेका थिए । डाक्टर लीको खबरदारी, चीनको लक डाउन नीति, चमत्कारिक काम (१० दिनमा हजार सैयाको अस्पताल) र नागरिकको साथ सहयोग समेतका कारण चीनले झिल्कोबाट लागेको आगो निभाइरहँदा विश्व स्वास्थ्य सङ्गठनले खतराको घण्टी बजाइरहँदा पनि चीन बाहेकका देशहरूले नाफा नोक्सानको हिसाबबाट नजर अन्त लगाएनन् । न त देशले न नागरिकले कोरोनालाई पत्याए । अथवा भनौ यो विश्व बन्द गर्नका लागि बनाइएको होइन भन्ने ठान्ने भन्ने आम मानिसको ठम्याइ हो । विपत्ति बाजा बजाएर आउँदैन भन्ने उक्ति त थियो ।

चीनमा कोरोनाले पारेको प्रभावबाट पाठ सिकेर चीन बाहेकको बाँकी विश्वले समयमै कोरोना विरुद्धको जुक्ति निकालेर आफ्ना नागरिकहरूलाई कोरोनाबाट मुक्ति दिने काममा कहिँकतै कमी कमजोरी र विलम्ब भएको, नागरिकले लक डाउन नीतिमा हेलचेक्रायाइ गरेको जस्ता कारणले पनि बुढीले पहिले जानिन, पछि भनेको मानिन, बाघ लाग्यो चिच्याउन, बुढी लागी चिच्याउन भने जस्तो अहिले विश्व नै त्राहि त्राहि भएर चिच्याइरहेको जस्तो आभास हुन्छ । बाघले बाख्रा मारयो भन्दा पल्ला घरको बाख्रा मारेको त हानी भनेर होइन बाघ पल्क्यो भनेर सतर्क हुनुपर्दछ भनेझैँ सरुवा रोग त साझा रोग हो भनेर सबै देश सजक भएर अहिले जस्तो सतर्कता र पहलकदम पहिले नै चालेको भए एउटा झिल्कोले विश्वभर महामारीको डढेलो लगाउन सक्ने थिएन होला भन्ने अहिले आम मानिसको बुझाइ बाघ गयो बुद्धि आयो भने जस्तै पछुतो र पिरलो भइरहेको छ ।

सामान्य रुघा, सुख्खा खोकी, ज्वरोको रूपमा हेरिएको कोरोनाले इटालीमा पारेको आघात, नागरिकको आँखामा आएको आँसुले विश्व जगतलाई विक्षिप्त तुल्याइदियो । आफ्नो बिरामी आफन्तलाई सुमसुम्याउन नपाउनु, देख्न नपाउनु, सँगै बस्न नपाउनु, गुमाउँदा पनि देख्न समेत नपाउनु आदि जस्ता आर्तनादले पैसा पैसा भएनन् इटालीका सडकमा रुखका पात झरे झैँ सडक भरिए । त्यो आँसु इटालीको मात्र भएन । पिनालुको पातको पानीको फोका कोरोनाले फुटायो र विश्वभरका धेरै मानिसका आँखाबाट खसाइदियो । अनि विश्वभरका सबै मानिसको मन मुटु अमिलो र आँखा धमिलो बनाइदियो ।

तीव्र रूपमा फैलिएको कोरोनाको तागतलाई सबैले नजर अन्दाज गरे कि कुनै पनि देशको सम्पत्ति त्यो देशको अर्थतन्त्र मात्र होइन । वास्तविक सम्पत्ति त देशका नागरिक नै हुन । जीवको अस्तित्व सकिए पृथ्वी पृथ्वी हुने छैन सूर्यको वरिपरि परिक्रमा गर्ने फगत एक आकासिए पिण्ड मात्र । त्यसैले त सम्पूर्ण देशको शक्ति युद्धमा होमियो कोरोनाको विरुद्ध । युद्धमा होमिए पनि रात रहे अग्राख पलाउछ भने झैँ सारा विश्व लागेर कोरोना हटाउने भने पनि देशका प्रयासहरू ढिला भैसकेका थिए मान्छेको मन गिला भैसकेका थिए । जब परयो राती अनि बुढी ताती भने झैँ सबै देशको प्रयास आफ्नै नागरिकलाई बचाउन हम्मे हम्मे भयो । विश्वको सारा शक्ति एक ठाउँमा लाग्न सकेन । चोरले असावधानी व्यक्तिबाट फाइदा लिन्छ भने झैँ कोरोनाले विश्वका सुगमदेखि कुना कन्दराका मानिसको कमजोरी, असावधानीहरूबाट फाइदा लिँदै विश्वभर फैलियो ।

भनिन्छ गरिब मान्छेले चोरलाई भेटे पनि उसले गुमाउनु पर्ने केही हुँदैन । अहिलेको परिस्थिति त्यस्तो छैन । आज एउटा धनी मानिसले सम्पूर्ण धन गुमाएर पनि आफ्नो ज्यान जोगाउन हम्मे हम्मे परेको स्थितिमा गरिबले गुमाउने उसको ज्यान र आफन्त भन्दा अर्को चिज छैन । आज कोरोनाले विकसित देशलाई हम्मे हम्मे बनाएको देखेर नै गरिब देशहरूको मनोविज्ञान कमजोर भएको छ । विकसित देशको अत्याधुनिक शक्तिलाई आच्छु-आच्छु बनाएको कोरोनाले सामान्य झाडापखालाले महामारी निम्त्याउने देशमा के होला सोचनीय विषय भएको छ । जसको कोही हुँदैनन् उसको भगवान् हुन्छन् भनिन्छ ।

कमजोर देशको पनि आफ्नो अथक प्रयास त रहिरहेको छ । तर नियन्त्रण भन्दा बाहिरको कुरा भगवान् भरोसा र भाग्यवादले नै जान्दछ । आज लाखौँ मानिस बेरोजगार बेघरबार भएका छन् । हजारौँ मजदुर पुल मुनी रात गुजारिरहेको, भोकै रहेको, भोक भोकै हजारौँ माइल टाढाको गाउँतिर हिँडेको खबर पढ्दा देख्दा लाग्दछ आफ्नै देशभित्र पनि गरिब मानिस धेरै पटक अनागरिक जस्तै बन्दछ । ज्यानै नरहे के को कोरोना के को डर ? ती मानिसलाई कोरोनाले भन्दा भोकै मरिने डर बढी छ । भनिन्छ गरिबी हत्या भन्दा डरलाग्दो हुन्छ ।

अपरिमेय दुःख पीडा दिएर गरिबीले मानिसको ज्यान लिन्छ अर्थात् हत्या गर्दछ । डार्विनको नियम नै अहिले प्रभावकारी भए र बलिया अर्थात् धनी र सम्पन्नको मात्र पहुँच हुने स्थिति आयो भने पृथ्वीमा रहेका विपन्न, लोपोन्मुख र गरिब मानिस लोप भएर जाने खतरा नआउला भन्न सकिन्न । गरिबी नरसंहार भन्दा पनि भयङ्कर हुन्छ । गरिब देश र नागरिक प्राथमिकतामा परेनन् भने यसले नरसंहारको रूप नलेला भन्न सकिँदैन । संयुक्त राष्ट्र सङ्घले कोभिड-१९ को कारण विश्वमा भोकमरीको सङ्ख्या दोब्बर बढ्ने जनाएको छ । ती नागरिक खाद्यान्न नपाउँदा नै जोखिममा छन् र कोरोना त छदैछ ।

प्रेम र युद्धमा मानिसले जे पनि सही ठान्छ भन्छन् तर विपत्तिमा नास्तिक पनि आस्तिक बन्दछ । आज मानिसको डर भित्र भित्र भगवान् भरोसाले सान्त्वना दिइरहेको छ । रात छिप्पिँदै जानु भनेको उज्यालो नजिकिँदै जानु पनि हो । हरेक तह र तप्काबाट भएका प्रयासले पनि शुभ सन्देश दिइरहेको छ । उत्तर कोरियामा महामारी चलिरहेकै समयमा चुनाव सम्पन्न भयो । जर्मनीले क्रमशः लक डाउन खुकुलो पार्दै लगेको छ । अन्य देशमा मृत्यु दर घटिरहेको र बिस्तारै होसियारसहितको खुकुलोपन तिर देशहरू उद्दत छन् । यसर्थ आशा गरौँ कोरोनाको यो अन्धकार विश्वबाट छिट्टै हट्नेछ ।

मानिसको भौतिक दुरी घट्नेछ । कोरोनाको खोप नबन्दासम्म कोरोना नियन्त्रणमा आउन नसक्ने भनेर विश्व स्वास्थ्य सङ्गठन समेतले उदघोष गरे पनि औषधि पत्ता नलागे पनि हालसम्म करिब नौ लाख मानिसले यो रोगलाई जितेर निको भएर घर फर्किए । त्यसैले कोही पनि हताश र त्रासमा होइन कि आत्मबल बढाउन र सतर्क रहनु आवश्यक छ । कोरोनाको औषधीको खोजमा सारा वैज्ञानिकहरूको निद्रा हराएको छ । कुनै पनि क्षणमा नयाँ खबर सुन्न पाइन्छ कि भनेर न्युज सर्च गर्नेहरूको दर अत्यधिक बढ्दै गएको छ । त्यसतै कुनै चमत्कारिक खोजको सुखद खबर सुन्ने प्रतीक्षामा विश्वले कान ठाडो गरिरहेको छ । आशा गरौँ कुनै दिन हामी सुतेर उड्दा सुखद समाचार बनिसकेको हुनेछ । त्यो दिन धेरै टाढा नहोस् शुभेक्क्षा छ ।

एकातिर त्रास भइरहँदा यही पृथ्वीमा उज्यालो किरण पनि देखिएको छ । पृथ्वीमाथि मानिसको प्रहार रोकिदा पृथ्वीले आराम पाएको छ । हाम्रो वातावरण स्वच्छ हुँदै गएको छ । पातलिएर प्वाल नै परेको आकाश माथिको ओजन तहको प्वाल भरिँदै गएको छ । फोहोरले दुर्गन्धित बनेका नदीनाला कलकल बन्न थालेका छन् । मानिस घरभित्र बस्दा जनावरहरू स्वतःस्फूर्त खेलिरहेका छन् । सडकमा निस्कन थालेका छन् । पृथ्वीको पारिस्थितिक पद्धतिमा भएको खलबल केही मात्रामा भए पनि सन्तुलनमा आउन लागेको जस्तो वातावरण नै अर्कै अनुभूति हुन थालेको छ ।

सडक खन्दा नकाटेर जोगाएका रुखको पात हावाले हल्लाइरहेको, सिकारीले नमारेको जनावर र चराले चिरबिर गरिरहेको देखेमा पनि अहिले मानिसको मन बच्चा जस्तै जमिनमाथि उफ्रिन खोज्ने भएको छ । यही पृथ्वीमा एकातिर बसेर, शान्तिको वकालत गरेर अर्कोतिर बम परीक्षण गर्ने मानिसकै कारण जीव जनावरको अत्यधिक उपभोग, जीवजन्तुको वातावरण विनाश, स्रोतसाधनको अत्यधिक दोहन, पारिस्थितिक पद्धतिको ह्रास हुनु आदि कारणले प्राकृतिक सन्तुलनको विचलन स्वरूप विपत्ति आउने कुराको मनन गर्न थालिएको छ ।

प्रकृतिलाई प्रकृति जस्तै बन्न दिनु पर्दछ । यसो गरिएन भने भोलि पनि यस्तै विपत्ति नआउलान् भनेर ठोकुवा गर्ने आधार नै के छ र । कोरोनाले घाउ लगाइरहेको छ जुन निको भए पनि खाटा रहिरहनेछ । यसलाई हामीले एउटा अमूल्य पाठ मानेर यसबाट धेरै कुरा सिकेनौ भने आगामी दिनमा अर्को विपत्ति विपत्ति मात्र हुने छैन सबैभन्दा ठुलो त हाम्रो लापरबाही नै हुनेछ भन्ने भूइमान्छेको बुझाइ हो । निदाएको मानिसलाई ब्युँझाउन सकिन्छ तर निदाएको अभिनय गर्नेलाई सकिँदैन भन्ने आम मानिसको बुझाइ छ । बुझाइमा भिन्नता रहोस् नरहोस् मानिसको एकता र ऐक्यबद्धता रहोस् । हावाहुरी र वर्षापछि इन्द्रेणी लाग्दछ । कोरोनाको हावाहुरी र वर्षाको एक्यवद्ध भएर डटेर सामाना गरयौ भने अवश्य पनि पृथ्वीमा नयाँ इन्द्रेणी छिट्टै देख्न पाइनेछ । घरमै बस्नुहोस् सुरक्षित रहनुहोस् । सबैको शुभ होस् सुभेक्क्षा र शुभकामना ।

प्रतिक्रिया दिनुहोस