राष्ट्र
सामान्य बोलीचालीको भाषामा “राष्ट्र” ले देशको प्रतिनिधित्व गरिरहेको हुन्छ । यद्यपि अर्थ पहिल्याउने हो भने हामीले बोल्ने÷बुझ्ने राष्ट्र र वास्तविक राष्ट्र फरक कुरा हो । यथार्थमा विविधता बिचको एकता कायम हुने र भएको अवस्था राष्ट्र हो । नेपालको संविधानको भाग १ को धारा ३ ले राष्ट्रलाई परिभाषित गरेको छ । जस अनुसार “बहुजातिय, बहुभाषिक,बहुधार्मिक, बहु सांस्कृतिक विशेषतायुक्त, भौगोलिक विविधतामा रहेका समान आकाङ्क्षा र नेपालको राष्ट्रिय स्वतन्त्रता, भौगोलिक अखण्डता, राष्ट्रिय हित तथा समृद्धिप्रति आस्थावान् रही एकताको सूत्रमा आबद्ध सबै नेपाली जनता समष्टिमा राष्ट्र हो ।” यसर्थ राष्ट्र भनेको भूगोल नभएर एउटा भावनात्मक विषय हो, जसले एकताको सन्देश प्रवाह गर्दछ । यसलाई राज्य निर्माणको प्रमुख अवयवको रूपमा लिन सकिन्छ । राष्ट्र निर्माणमा केवल एउटा भौगोलिक घेराभित्र रहेका मानिसहरूको आयामिक एकताको मात्र प्रतिनिधित्व नभएर संसारमा रहेका आफ्नो देश प्रति माया गर्ने र विभिन्न कारणले एकताको सूत्रमा आबद्ध हुँदा व्यापक र सबल बन्ने गर्दछ ।
राष्ट्र निर्माण
मुलुकका सबै मानिसहरूलाई भावनात्मक र मनोवैज्ञानिक रूपले एकीकृत गरी विविधताको सम्मान, पहिचान र राष्ट्रिय एकताको भावना उजागर तथा प्रस्फुटन गर्ने कार्य नै राष्ट्र निर्माण हो । विविधतायुक्त समाजका बिचमा राष्ट्र निर्माण गर्नु एक चुनौतीपूर्ण कार्य हो । यद्यपि विविधता बिचको एकता कायम गर्दै भएको राष्ट्र सुन्दर र सबल पनि हुन्छ । देशको राष्ट्रिय झन्डाको मुनि रहेर उत्पन्न हुने राष्ट्र प्रेमलाई हाम्रा राष्ट्रिय चिन्हहरू, विगतको गौरवपूर्ण इतिहासका गाथाहरू, नेपालको प्रतिनिधित्व गर्दै अन्तर्राष्ट्रिय स्तरमा हुने विभिन्न प्रतिनिधित्व आदि सबैले सबल राष्ट्र निर्माणमा सहयोग पुग्ने गर्दछ । यस कार्य तथा प्रक्रियालाई विभिन्न आयाम तथा तत्त्वहरूले प्रभावित तुल्याउँछ ।
आर्थिक आयाम
सामान्यतया: “अर्थ” तथा “आर्थिक” यी दुई शब्दहरूलाई धन, दौलत र सम्पत्तिसँग जोडेर बुझ्ने गरिन्छ । हुन पनि हरेक विषयका आर्थिक पक्षहरू हुन्छन् । जसको प्रभाव पनि बहुआयामिक नै रहन्छ । यहाँ राष्ट्र निर्माणसँग जोडिएका आर्थिक पक्षहरूलाई उजागर गरिएको छ । यस अन्तरगत पैसा कमाउनु वा आर्जन गरेर भौतिक रूपमा देखिँदो सुखभोग गर्नु मात्र यसको परिधिभित्र पर्दैन । रोजगारी, पारिश्रमिक, आधारभूत आवश्यकताको परिपूर्ति, मर्यादित र उन्नत जीवन यापन, गुणस्तरीय शिक्षा तथा स्वास्थ्य सुविधा आदि सम्पूर्ण विषयको माध्यमबाट नैतिकता र सदाचारिता हुँदै भावनात्मक हिसाबले राष्ट्र निर्माणमा योगदान र कर मार्फत राज्यको विकास र समृद्धिमा योगदान गर्ने बृहत् अभिभारालाई राख्न सकिन्छ । नागरिकसँग राज्यले प्रत्यक्ष र अप्रत्यक्ष रूपमा कर लिने हुँदा कर प्रणालीलाई आधुनिक, वैज्ञानिक र प्रगतिशील बनाउँदै लैजानु पर्दछ । जसले समाजका सम्पूर्ण वर्ग, क्षेत्र र समुदायलाई राज्यका हरेक क्रियाकलापप्रति अपनत्व बोध गराउँदछ ।
आर्थिक समृद्धिले विभिन्न सम्भावनाका ढोकाहरू खोल्ने गर्दछ । नेपाल जस्तो मुलुकमा झन्डै करोडको हाराहारीमा औपचारिक र अनौपचारिक रूपमा स्वदेशमा रोजगार विमुख भएर युवा जनशक्ति विदेश पलायन भएको छ । यस्तो अवस्थामा परिवारसँगै आफ्नो मातृभूमिबाट बर्सौँ छुट्टिनु पर्ने पिडाका बिच राष्ट्रिय गान, राष्ट्रिय झन्डा र क्रिकेट, फुटबल जस्ता खेलकुद प्रतियोगितामा नेपालले जनाउने अन्तर्राष्ट्रिय उपस्थितिमा देखिने वास्तविक राष्ट्रिय भावनालाई स्वदेशमा भित्राउन सके साँच्चै सुदृढ राष्ट्र निर्माण हुनेछ । आफ्नो मातृभूमिमा बसेर माटोलाई गर्ने प्रेम र परदेशी भूमिबाट गर्ने प्रेम एउटै भएता पनि परिवेश फरक हुन्छ । यी सम्पूर्ण परिवेशहरूलाई एकत्रित गर्न सर्वप्रथम राज्यको आर्थिक समृद्धि पहिलो सर्तको रूपमा रहन्छ । क्रमशः आर्थिक न्याय तथा आर्थिक समानताले स्थान पाउँदै जान्छ ।
सामाजिक तथा सांस्कृतिक आयाम
समाज राज्यको ऐना हो । समाजका हरेक पक्षहरूले राज्यलाई विभिन्न बिम्ब मार्फत प्रस्तुत गरिरहेका हुन्छन् । समाजभित्र हुने भिन्न संस्कृति र परम्पराको अभ्यासले विविधता बिचको एकतालाई प्रवर्द्धन गर्न मदत पु¥याउँछ । एकता भावको सूत्रमा बाँधिन शिक्षित, स्वस्थ, सभ्य समाज र संस्कृतिको निर्माण, सामाजिक सुरक्षा तथा न्याय र समानता, विकासका क्रियाकलापहरूमा सक्रिय सामाजिक समानतालाई अवलम्बन आदि नीति प्रवर्द्धन गर्नु पर्दछ । जसले गर्दा राष्ट्रले एउटा भूगोल नभएर भूगोल भित्र बसोबास गर्ने मानिसहरूको आस्था, विश्वास, संस्कृति र गौरवको एकतालाई प्रतिनिधित्व गर्दछ ।
राजनीतिक आयाम
राजनीतिक रूपले एकता भावलाई सुदृढ गर्न सर्वप्रथम त राजनीतिक स्थिरता कायम भएको हुनुपर्दछ । लोकतन्त्रमा विचारको प्रतिस्पर्धा हुनुपर्दछ । सिद्धान्त र विचारहरूको बेमेलका बिच हुने गठजोडहरुबाट राज्य सञ्चालन हुँदाको परिणाम यथास्थितिमा जनजाहेरै छ । बहुदलीय व्यवस्थाको साँच्चै प्रवर्द्धन गर्ने हो भने दल र तिनका मौसमी गठजोड (वाम गठबन्धन, लोकतान्त्रिक गठबन्धन, वाम-लोकतान्त्रिक गठबन्धन) हरुले कम्तीमा राजनीतिक मूल्य चाहिँ बचाउनु पर्दछ ।
राजनीतिक व्यवहार भित्र अवसरको समान प्रयोग गर्ने कुरालाई ६–६ महिनामा बाँडिचुँडी मन्त्री खाने हैन कि, सबैको आवाजको प्रतिनिधित्व हुने गरी राजनीतिक सहभागिता सुनिश्चित हुनुपर्दछ । असल राजनीतिक संस्कारको माध्यमबाट लोकतान्त्रिक संस्थाहरूको सबलीकरण र सुदृढीकरणलाई प्रवर्द्धन गर्नुपर्दछ । बहुदलीय प्रतिस्पर्धालाई संवैधानिक स्वीकारोक्तिको विषय बनाइसकिएको अवस्थामा व्यवस्थाप्रति वितृष्णा उत्पन्न गराई बालेन–हर्कहरूको उदयले पात्रहरूमाथि प्रहार छँदै छ व्यवस्थामाथि पनि संशय उत्पन्न भएको छ । यसर्थ राजनीतिक चेतलाई बहुदलीय पद्धतितर्फ आकर्षण गर्न सक्नु पर्दछ ।
मानवीय आयाम
हामी मानव पुँजी निर्माण र उपयोगमा धेरै चुकेको अवस्था छ । मानव संसाधनको दिगो उपयोग मार्फत उत्पादन वृद्धि हुँदै निर्यात प्रवर्द्धनका माध्यमबाट राष्ट्रिय अर्थतन्त्रको विकास र बिस्तार हुनुपर्नेमा मानवीय साधनकै निर्यात भइरहेको छ । यो अवस्थाले राज्य र शासन व्यवस्था प्रति वितृष्णा बढ्दो छ । जुन राष्ट्र निर्माणको बढ्दो चुनौती हो ।
प्राविधिक आयाम
नवीनतम प्रविधिको खोज, अनुसन्धान र विकासमा राज्यको नजर अत्यन्तै कमजोर छ । यसले अन्तर्राष्ट्रिय स्तरमा प्रतिस्पर्धाको दायरा खुम्च्याएको छ । धेरै नेपालीहरू विदेशमा गएर वैज्ञानिक खोज र आविष्कारको क्षेत्रमा सफलता प्राप्त गरेको उदाहरण छ । तर स्वदेशमा त्यो उचित वातावरण छैन । यो अवस्थाको अन्त्य गरिनुपर्दछ । अन्यथा विज्ञान र आविष्कारको क्षेत्रमा सधैँ अँध्यारो कुनामा रुमलिनु पर्नेछ ।
प्रणालीगत आयाम
देशमा संविधान छ । कानुन, नियम, कार्यविधिहरू छन् तर तिनको निर्माण र कार्यान्वयन दुवै संस्कृति व्यवहारिक छैनन् । न त कमजोर वर्गले न्याय पाउन सकेका छन् न त सम्भ्रान्त वर्गलाई कानुनले केही कुरामा छेकेको छ ! यसले बहुसङ्ख्यक नागरिकहरूलाई राज्यप्रति वितृष्णा उत्पन्न गराई एकता भावलाई क्षय गर्ने गरेको छ ।
निष्कर्ष
राष्ट्र निर्माण एउटा भावनात्मक विषय हो । यद्यपि यसको निर्माणका लागि भौतिक विकास महत्त्वपूर्ण हुन्छ । अर्को तर्फ राष्ट्र निर्माण बिना भौतिक विकासको पनि खास अर्थ रहँदैन । यसर्थ राज्यको चौतर्फी विकास र राष्ट्र निर्माण एक आपसमा अन्तर सम्बन्धित विषयवस्तुहरू हुन् । सरोकारित सबै पक्षको समन्वयमा श्रोत र साधनको पर्याप्त उपयोग मार्फत समृद्धिको मार्ग अवलम्बन गर्न सके राष्ट्र निर्माण आफैँ दिगो हुन्छ ।