काठमाडौँ । उपप्रधान तथा अर्थमन्त्री विष्णुप्रसाद पौडेलले उद्योगी व्यवसायीलाई निराश हुन नदिने गरी काम गर्ने बताएका छन् ।
शुक्रबार मन्त्रालयमा नेपाल राष्ट्रिय व्यवसायी महासङ्घले बुझाएको ध्यानाकर्षण पत्र बुझ्दै अर्थमन्त्री पौडेलले सरकारले सबै उद्योगी व्यवसायीहरूलाई निराश हुनु नपर्ने गरी काम गर्ने बताए । उनले सरकारले व्यवसायीहरूको माग र सुझावहरूलाई तत्काल समाधान गर्न नसके पनि छलफल र संवादका माध्यमबाट बिस्तारै सम्बोधन गर्ने प्रतिबद्धता जनाए ।
उद्योगी व्यवसायीहरूले उठाएका उचित मागलाई सकारात्मक रूपमा लिएको उनले बताए । मन्त्री पौडेलले मन्त्रालयमा कामको चाङ लागेकाले सबै विषयमा व्यापक छलफल गर्न नसकिएको स्पष्ट पारे ।
“अहिले नै म यस्तो गर्छु भनेर बोल्दिनँ । तपाईँहरूले उठाएका विषयहरूलाई छलफल गर्छु । व्यवसायीहरूले दिएका उचित सुझाव र सल्लाहलाई ग्रहण गरिने छ,” उनले भने, “मन्त्रालयमा कामको चाङ लागेका छन् । त्यसले गर्दा महासङ्घले राखेका माग र सुझावहरूलाई ग्रहण गर्दै व्यवसायीहरूलाई निराश हुन नदिने गरी कोसिस गर्छु ।”
महासङ्घले बैङ्कले प्रदान गर्दै आएको बिनाधितो कर्जा २५ लाख बनाउन माग गर्दै अर्थमन्त्री पौडेललाई ध्यानाकर्षण पत्र बुझाएको हो । पत्रमा बिनाधितो कर्जा १५ लाखबाट वृद्धि गरेर २५ लाख बनाउन माग गरिएको छ ।
महासङ्घका अध्यक्ष कुमार कार्कीले बैङ्क तथा वित्तीय संस्थाको उच्च ब्याजदरका कारण व्यवसायीहरू पलायन हुने अवस्था आएको भन्दै बैङ्कको ब्याजदर एकल अङ्कमा कायम गर्नुपर्ने माग राखे । भन्सार दरको महँगीका कारण बजार मूल्य बढेकाले घटाउन सुझाव दिँदै उनले स्वदेशी उत्पादनलाई प्रोत्साहन गर्न कच्चा पदार्थ आयातमा सहुलियत दिन माग राखे ।
अध्यक्ष कार्कीले बैङ्कको कर्जा ड्रावल्टमा भइरहेको झन्झटिलो प्रक्रियाको अन्त्य गर्नुपर्ने बताए । उनले बैङ्कले घरजग्गा लिलाम गर्दा ३५ दिने सूचनालाई ६ महिना समय कायम गर्नुपर्ने माग राख्दै व्यापार व्यवसायको लागि वैज्ञानिक भाडादर कायम गर्न माग गरे ।