काठमाडौँ । नेपाल सरकारका पूर्व सचिव शारदा प्रसाद त्रितालले राष्ट्रपतिका लागि दुई जना मात्र सल्लाहकार भए पुग्ने बताएका छन् । उच्चपदस्थ पदाधिकारीहरूको नयाँ नियुक्तिसँगै सल्लाहकार, विज्ञ तथा स्वकीय सचिवलगायत पदमा नियुक्तिको बाढी नै आउने भन्दै पूर्व सचिव त्रितालले राष्ट्रपतिका लागि स्वकीय सचिव र कानुनी सल्लाहकार मात्र भए पुग्ने बताएका हुन् ।
नवनियुक्त राष्ट्रपति रामचन्द्र पौडेलको पद बहालीसँगै केही पदमा सुरु गरेको नियुक्तिप्रति कटाक्ष गर्दै उनले लेखेका छन् अव उहाँको प्राथमिकता पनि नियुक्तिहरूमा केन्द्रित हुने होला ‘नयाँ राष्ट्रपतिको शपथ भई कार्यारम्भ भइसकेको छ र स्वकीय सचिवको नियुक्ति समेत भइसकेको सुन्नमा आएको छ’ पूर्व सचिव त्रितालले भनेका छन् ‘मेरो आफ्नो अनुभवमा राष्ट्रपतिको लागि स्वकीय सचिव एक र कानुनी सल्लाहकार एक गरी दुई जनाको मात्र आवश्यकता पर्ने हो । अरू पदमा नियुक्ति गर्नु भनेको आसेपासेहरूलाई जागिर खुवाउनु र राष्ट्रको दोहन गर्नु मात्र हो ।’
व्यक्ति परिवर्तन र प्रवृत्ति सदाबहार रहेको प्रति तिखो टिप्पणी गर्दै उनले अहिले नयाँ राष्ट्रपति, उपराष्ट्रपति, प्रधानमन्त्री र नयाँ मन्त्रीहरूको मौसम सुरु भएको बताएका छन् ।
गणतन्त्रको राष्ट्राध्यक्ष कस्तो हुन्छ भन्ने उदाहरण बन्नेछु भनेर वाचा गरेका राष्ट्रपति पौडेलको आगामी कदम हेर्न बाँकी रहेको भन्दै उनले लेखेका छन् ‘हेरौँ गणतन्त्रको राष्ट्राध्यक्ष कस्तो हुन्छ भन्ने उदाहरण बन्नेछु भनेर वाचा गर्नुहुने सम्माननीय राष्ट्रपतिको आगामी कदम !’
पछिल्लो समय नेपालमा नियुक्तिको बाढी नै लाग्ने गरेको छ । आफ्ना र आफन्त व्यवस्थापन गर्ने नियुक्ति बाढी सङ्घबाट सर्दै सर्दै प्रदेश हुँदै स्थानीयसम्मै पुगेको छ । मुलुक आर्थिक जर्जरताबाट गुज्रिरहँदा पनि शासकहरूले भने आसेपासेहरू नियुक्त गर्न छोडेका छैनन् ।
राजनीतिक व्यवस्था परिवर्तनसँगै नागरिकको अवस्थामा सुधार नआएको प्रति आम नागरिक तहबाट चर्को विरोधका बाबजुद पनि अनावश्यक संस्थाहरू स्थापना गर्दै राज्य कोष लुटाउने मै व्यस्त शासकहरूको घैँटोमा समयमै घाम लाग्न जरुरी देखिन्छ ।