१५ बैशाख २०८२, सोमबार

प्रशासन एक्सक्लुसिभ

crisis_alert चार निर्माण कम्पनी कालोसूचीमा (सूचीसहित)    crisis_alert यसरी घट्न थाल्यो बालविवाह : अभियान सँगसँगै स्थानीय सरकार पनि लागि परे     crisis_alert गाँजामाथिको प्रतिबन्ध हटाउने प्रतिवेदन तयार, कस्तो छ गाँजाबाटै समृद्धि भित्र्याउने सरकारी खाका ?   crisis_alert मन्दीले ताल्चा लाग्न थालेको बजार : खोल्ने कसले हो, कसरी हो ?   crisis_alert किन काम गरिरहेका छैनन् अर्थतन्त्र सुधारका प्रयासले ?   crisis_alert अर्थतन्त्रको सङ्कटबाट साना व्यवसाय नियाल्दा: त्यति विधि निराशा छैन, आशा बाँकी छ   crisis_alert गरिबलाई बाँच्नसमेत नदिइरहेको आर्थिक सङ्कट   crisis_alert सङ्कटको डिलमा पुग्दै आन्तरिक अर्थतन्त्र   crisis_alert गृह मन्त्रालयले थाहै नपाई कैदीहरूले गरिदिए जेलरको सरुवा   crisis_alert बाँसबारी जग्गा प्रकरणको केन्द्रमा छन् विनोद चौधरी    crisis_alert काँग्रेस सांसदको पाँचतारे होटेलका लागि एकै दिनमा फेरियो कानुन    crisis_alert ‘भिजिट भिसा’ले अन्तर्राष्ट्रिय विमानस्थलमा टकराब, किन भइरहेछ प्रहरी-अध्यागमन मनमुटाब ?    crisis_alert विधिको शासनकै मजाक बनाइएको ललिता निवास प्रकरण  

प्रशासन एक्सक्लुसिभ

crisis_alert चार निर्माण कम्पनी कालोसूचीमा (सूचीसहित)    crisis_alert यसरी घट्न थाल्यो बालविवाह : अभियान सँगसँगै स्थानीय सरकार पनि लागि परे     crisis_alert गाँजामाथिको प्रतिबन्ध हटाउने प्रतिवेदन तयार, कस्तो छ गाँजाबाटै समृद्धि भित्र्याउने सरकारी खाका ?   crisis_alert मन्दीले ताल्चा लाग्न थालेको बजार : खोल्ने कसले हो, कसरी हो ?   crisis_alert किन काम गरिरहेका छैनन् अर्थतन्त्र सुधारका प्रयासले ?   crisis_alert अर्थतन्त्रको सङ्कटबाट साना व्यवसाय नियाल्दा: त्यति विधि निराशा छैन, आशा बाँकी छ   crisis_alert गरिबलाई बाँच्नसमेत नदिइरहेको आर्थिक सङ्कट   crisis_alert सङ्कटको डिलमा पुग्दै आन्तरिक अर्थतन्त्र   crisis_alert गृह मन्त्रालयले थाहै नपाई कैदीहरूले गरिदिए जेलरको सरुवा   crisis_alert बाँसबारी जग्गा प्रकरणको केन्द्रमा छन् विनोद चौधरी    crisis_alert काँग्रेस सांसदको पाँचतारे होटेलका लागि एकै दिनमा फेरियो कानुन    crisis_alert ‘भिजिट भिसा’ले अन्तर्राष्ट्रिय विमानस्थलमा टकराब, किन भइरहेछ प्रहरी-अध्यागमन मनमुटाब ?    crisis_alert विधिको शासनकै मजाक बनाइएको ललिता निवास प्रकरण  

भगवानको भक्ति कसरी गर्ने ?

अ+ अ-

सच्चिदानन्दरूपाय विश्वोत्पत्त्यादिहेतवे।
तापत्रयविनाशाय श्रीकृष्णाय वयं नुम: ।

श्रीमद्भागवत महापुराण र श्रीमद्भग्वद्गीता आफैमा भक्तिका महासागर हुन् । यो आलेख महासागरको वृहत् जलराशीमा समाहित सम्पदाबाट केही थोपाहरूलाई एउटा सानो विवेचनारूपी कचौरामा समेट्ने निम्छरो प्रयत्न हो । भक्तिका बारेमा अनेकौं मनीषीबाट हजारौं किताब लेखिएका छन् र त्यत्तिकै संख्यामा प्रवचनहरू सुन्न सकिन्छ । त्यस अर्थमा यो मेरो धृष्टता नै हो ।तथापि विभिन्न समयमा गरिएका टिपोटहरू , मैले सँगालेको अनुभव , सधै टेबलमा मेरो सामुन्नेमा विराजमान श्रीमद्भागवत र श्रीमद्भग्वद्गीताका पुस्तकहरू एवं विशेष गरेर श्री बालकृष्णमाचार्य , श्री श्रीकृष्णमाचार्य एवं जगद्गुरु श्री कृपालुजी महाराजका सुमधुर प्रवचनहरूले मलाई एउटा संक्षिप्त विवरण प्रस्तुत गर्न प्रेरणा दिइरहेको अनुभूति भइरहेको थियो ।

यो निबन्ध सुव्यवस्थित तरिकाले तयार हुन सकेको छैन । सुरम्य विषयमा लेखिएको भए तापनि विषय अनुकूल सुसज्जित शैली कायम गर्न सकियो जस्तो लाग्दैन । प्रसङ्गहरू क्रमबद्ध नभई तितरबितर छन् । इमान्दारीसाथ भन्दा यो लेख एक विशृङ्ख परिश्रम मात्र हो । यो निबन्ध विशेष गरेर देवकीनन्दन वासुदेव श्रीकृष्णलाई प्रेम गर्नेहरूमा समर्पित छ ।

भक्ति र उनका छोराहरूको वृत्तान्त :
कलियुगले प्रभाव जमाइसकेको समयको कुरा हो । एक दिन नारद ऋषि घुम्दै फिर्दै यमुनाको तटमा अवस्थित वृन्दावन पुगे , जहाँ अतीतमा भगवान श्यामसुन्दरले अनेकौं लीला देखाउनुभएको थियो । उनले त्यहाँ एउटा आश्चर्यजनक दृश्य देखे । त्यहाँ एउटी परम सुन्दरी युवती साह्रै खिन्न भएर बसिरहेकी थिइन् । युवतीका सामुन्नेमा दुई जना वृद्ध पुरुषहरू सुतिरहेका थिए । उनीहरूलाई दम बढेर सास फेर्न गाह्रो परिरहेको थियो । युवतीलाई चारैतिरबाट सयौं नारीहरूले पङ्खा चलाएर शीतलता छर्दै र सम्झाउँदै गरिरहेका थिए ।

नारदलाई साह्रै नै जिज्ञासा लाग्यो । उनी युवतीको नजिकमा पुगे । नारद सोध्छन् , ‘हे युवती ! तिमी को हौ ? यी तिम्रा सामुन्ने पल्टिरहेका वृद्धहरू को हुन् ? अनि यी तिम्रो सेवामा दत्तचित्त देवीहरू को हुन ?’ नारदलाई आफ्नो नजिकमा पाएर युवती जुरुक्क उठिन् । उनले भनिन् , ‘मेरो नाम भक्ति हो । यी जराजीर्ण अभागीहरू मेरा ज्ञान र वैराग्य नाम गरेका पुत्रहरू हुन् । यी मेरो सेवामा उपस्थित देवीहरू गङ्गा आदि नदीहरू हुन् । यस्ता देवीहरूको सेवा पाउँदा पनि मेरो हृदयमा आनन्द छैन । वृद्ध पुत्रहरूकी तरुणी माता कसरी सुख र शान्तिमा रहन सक्छे ?

भक्ति आफ्नो गाथा सुनाउँदै गइन् । मेरो जन्म द्रवीण देशमा भयो । म कर्नाटकमा हुर्कें र महाराष्ट्रमा सम्मानित भएँ । परन्तु गुजरातमा पुग्दा घनघोर कलिको प्रभावले म बुढी र कमजोर हुन पुगें। म मात्र वृद्ध भएको भए त सहनीय हुन्थ्यो , तर मेरा यी छोराहरूसमेत वृद्ध र कमजोर भए । लामो समय यही दु:खमा बित्यो । यस्तै दु:खका बिच हामी वृन्दावन आइपुग्यौं । वृन्दावनमा पदार्पण गर्नासाथ म त आश्चर्यजनक रूपमा पुनः सुन्दरी युवतीमा परिणत भएँ , परन्तु छोराहरू वृद्ध नै रहे । यस्तो किन भयो ऋषिवर ? एउटी तरुणी माताले वृद्ध छोरा पालेर बस्नुपर्ने कस्तो नियति हो यो ? राजा परीक्षितले पापी कलिलाई समूल नष्ट नगरेर किन जिउँदो रहन दिए ?’

युवतीका अश्रुधारा देखेर सहृदयी ऋषि नारद द्रवीभूत भए । उनले भने , ‘भगवान वासुदेव जुन दिन यो मर्त्यलोकलाई छाडेर जानुभयो , सोही दिनदेखि कलिले आफ्नो पञ्जा फैलाउन थालिहाल्यो । पछि परीक्षित राजाको प्रतापबाट भयभीत कलि उनको शरण पर्न आएको थियो । किन्तु राजाले कलिलाई मारेनन् । राजाले के सोचे भने अघिल्ला युगहरूमा जुन फल ठुल्ठुला यज्ञ , जप , तपस्या , योग र समाधिबाट पनि मिल्न कठिन थियो , त्यही फल कलिकालमा फगत हरिकीर्तनबाट प्राप्त हुन्छ । हे रमणी ! कलि अवश्यमेव निस्सार र दारुण छ , तथापि त्यही निस्सारताभित्र फगत हरिको स्मरणबाट मात्र जीवन सारभूत हुनपुग्दछ ।’ हे देवी ! तिम्रा छोरा ज्ञान र वैराग्य कलियुगी उपेक्षाका कारण वृद्ध , कमजोर र उत्साहहीन भएका हुन् । यो कलिमा मनुष्यको कल्याण भक्ति अर्थात तिमीबाट मात्र सम्भव छ । कलियुगको सार नै केवल र केवल भक्ति नै हो , यसमा सन्देह छैन ।’

नारदजीका सुन्दर र प्रोत्साहनयुक्त वाणी सुनेर भक्ति अति प्रसन्न भइन् । उनका सारा अङ्ग प्रत्यङ्ग झनै हृष्टपुष्ट र कान्तिमय भए । उनले भनिन् , ‘हे ऋषिवर ! म त तपाईंको कृपाले झनै पुष्ट र प्रसन्न भएँ , तर यी मेरा हतभागी पुत्रहरूको नियति सदा सर्वदा यस्तै रहने हो ?’

नारदले श्रीमद्भगवत्गीताका श्लोक एवं वेदान्तका अनेकौं महावाक्य सुनाउँदै ज्ञान र वैराग्यलाई जगाएर उठाउने प्रयत्न गरे , परन्तु उनीहरू राम्रोसँग उठ्नै सकेनन् , अर्धनिद्रामा हाई हाई मात्र गरिरहे । नारद उनीहरूलाई त्यहीँ छाडेर वदरीकाश्रम ( वदरीनाथ) पुगे । त्यहाँ उनको शौनकादि ऋषिहरूसँग साक्षात्कार भयो । ऋषिहरूको जीवनको आधार नै भागवत चर्चा थियो ।

‘हरिssशरणम्….’ नै विघ्नवाधाबाट जोगिने एक मात्र साधन थियो । ऋषिगणलाई निवेदन गर्दै नारदले सोधे , ‘मैले छाडेर आएका भक्ति , ज्ञान र वैराग्यको कल्याण कसोगरी होला ? र उनीहरूलाई सर्वसाधारणमा कुन उपायले स्थापना गर्न सकिएला ?’
ऋषिहरुले भने , ‘कलियुगमा मुक्तिको प्रमुख मार्ग श्रीमद्भागवतको पारायण नै हो , जसको गान पूर्वकालमा सुकदेव आदिले गरेका थिए । श्रीमद्भागवतका शब्द शब्दले नै भक्ति , ज्ञान र वैराग्यलाई ठुलो तागत प्राप्त हुन्छ । जसरी सिंहको गर्जना सुनेर सारा स्यालहरू भागेर जान्छन् , त्यसैगरी भागवतको झङ्कारले समस्त कलियुगी दोषहरू नाश हुन्छन् । हे नारदजी ! तपाईं अब हरिद्वार तीर्थको आनन्दघाटमा गएर बिना कुनै पूर्वतयारी र तामझाम ज्ञान यज्ञको आयोजना गर्नुहोस् । त्यहाँ भक्ति आफ्ना पुत्रहरूलाई लिएर आफै उपस्थित हुनेछिन् ।’

नारदले आयोजना गरेको यज्ञमा सारा ऋषिवृन्द , उनीहरूका साथमा समस्त वेदवेदान्त , गङ्गा आदि नदीहरू , समस्त तीर्थहरू , दिशाहरू , वनहरू , हिमालय आदि पर्वतहरू उपस्थित भए । आफ्नो अभिमानका कारण जो जो भागवत कथा सुन्न आउन चाहन्नथे , तिनीहरूलाई समेत भृगु ऋषिले सम्झाइबुझाई गरेर ल्याए ।

यसरी त्यहाँ श्रीमद्भागवत कथा सुरु भयो । जुन समयमा सनकादि ऋषिगण भागवतको महिमाबारे चर्चा गर्दै थिए , अकस्मात विस्मयकारी दृश्य देखियो । त्यहाँ भगवत्कृपाले तरुण हुन पुगेका दुबै छोरालाई साथमा लिएर भक्ति आइपुगिन् । उनी बारम्बार भगवान कृष्णको नाम लिइरहेकी थिइन् ।

‘भक्तिः सुतौ तौ तरुणौ गृहीत्वा
प्रेमैकरूपा सहसाऽऽविरासीत्।
श्रीकृष्ण गोविन्द हरे मुरारे
नाथेति नामनि मुहुर्वदन्ती।’

अत्यन्त खुसीले गद्गद भएकी भक्ति सनत्कुमारसँग भन्दछिन् , ‘अब मलाई मेरो वासस्थान बताइदिनुहोस् , म त्यहीँ गएर बस्छु ।’ भक्तिको कुरा सुनेर सनकादि ऋषिवृन्दले भने,

‘भक्तेषु गोविन्दस्वरूपकर्त्री
प्रेमैकधर्त्री भवरोगहन्त्री
सा त्वम् च तिष्ठस्व सुधैर्यसंश्रया
निरन्तरम् वैष्णवमानसानि I’

‘तिमी भक्तलाई भगवानको स्वरूप प्रदान गर्ने , अनन्य प्रेमको सम्पादन गर्ने र संसार – रोगलाई निर्मूल गर्ने शक्ति हौ । अत: अब तिमी धैर्यसाथ भगवानका भक्तहरूको हृदयमा गएर बस ।’ आज्ञा पाउनासाथ भक्ति भक्तहरूको हृदयमा गएर निवास गर्न थालिन् । त्यो सिलसिला आज पर्यन्त जारी छ र कलि रहुन्जेल जारी रहनेछ ।

कथा सकिनेबित्तिकै त्यहाँ घुम्दै फिर्दै योगेश्वर श्री सुकदेवजी आइपुग्नुभयो । उहाँले उपस्थित सबैलाई सम्बोधन गर्दै भन्नुभयो , ‘निगम कल्पतरोर्गालितं फलं शुक मुखादमृत द्रव्यसंयुतम् । पिवत भागवतं रसमालयं मुहुरहो रसिका भुवि भावुकाः । ‘हे रसिक भावुक जन ! श्रीमद्भागवत वेदरूप कल्पवृक्षको परिपक्व फल हो । श्री सुकदेवरूपी सुगाको मुखमा संयोग पर्नाले यो अमृत झैँ रसैरसले परिपूर्ण छ । यसमा न बाहिर बोक्रो छ न त भित्र कोयो नै । र सौभाग्यवश यो यही लोकमा उपलब्ध छ । जबसम्म चेतना रहन्छ , बारम्बार भागवत रसलाई पान गरिरहनुहोस् ।’

भगवानले आफ्नो कथा श्रवण र कीर्तन गर्ने भक्तको हृदयतलमा उपस्थित भएर सारा अशुभ वासनाहरूलाई नाश गरिदिनुहुन्छ । त्यस्ता भक्तहरूमा भगद्भक्ति संस्कारको रूपमा उन्नत हुँदै जान्छ र भगवानप्रतिको प्रेम चिरस्थायी हुन्छ । चित्त शान्त हुन्छ । सत्वगुणको विकास हुँदै जान्छ । काम , क्रोध , लोभ , मोह , मद र मात्सर्य जस्ता रिपुहरू आफै हराउँदै जान्छन् । भक्तिका सन्तान भएको हुँदा जति भक्तिमा मन लाग्दै जान्छ , ज्ञान र वैराग्य पनि त्यति नै समृद्ध हुँदै जान्छन् । भक्तमा करुणा , परोपकार, समता, क्रोधहीनता र सहनशीलताको भावना उन्नत हुँदै जान्छ । यदि यी भावको अभ्युदय भएन भने त्यो भक्ति भक्ति नै होइन, आडम्बर मात्र हो ।

व्यासजीको विकलता:
व्यासले वेदलाई चार विभागमा बाँडे । ब्रह्मसूत्र बनाए , १८ पुराण तयार गरे ( संक्षिप्त भागवतसमेत ) I उनले गीता र महाभारत पनि तयार गरे । परन्तु त्यत्रो परिश्रम खेर गए झैँ महसुस भयो । मन अशान्त र उद्विग्न भए झैँ भयो । एक प्रकारले आधुनिक शब्दमा भन्दा उनी डिप्रेसनमा गए । व्यास ब्रह्मतेजले सम्पन्न र समर्थ थिए , परन्तु हृदयमा केही महत्त्वपूर्ण कार्य छुटेको अनुभूति भयो । उनले आफूलाई अपूर्ण महसुस गरे । आफ्नो मनको अशान्तिबारे उनले नारदलाई सुनाए । नारदले भने, ‘यथा धर्मादयश्चार्था मुनिवर्यानुकीर्तिता: न तथा वासुदेवस्य महिमा ह्मनुवर्णित: I’ तिमीले ठुलो परिश्रम गर्यौ । लोकलाई यतिका शास्त्ररूपी अविस्मरणीय उपहारहरू पनि दियौ । किन्तु तिमीले त्यहाँ भगवानको सम्यक यशोगान गर्न छुटायौ । तिमीले कुनै ग्रन्थमा पनि भगवान श्रीकृष्णको महिमाको सम्यक वर्णन र विवेचना गरेनौ I

तत्पश्चात व्यासले वृहदाकार भक्तिग्रन्थ श्रीमद्भागवतको रचना गरे I अनि बल्ल उनको मन शान्त र सन्तुष्ट भयो I

सङ्गतको प्रभाव :
भक्तिं मुहुः प्रवहतां त्वयि मे प्रसङ्गो,
भूयादनन्त महताममलाशयानाम् ।
येनाञ्जसोल्बणमुरुव्यसनं भवाब्धिं,
नेष्ये भवद्गुणकथामृतपानमत्तः ( भागवत ४।९।११ )
हे अनन्त परमात्मा प्रभु ! मलाई त्यस्ता शुद्ध हृदय भएका भक्तहरूको सङ्गति दिने कृपा गर्नुहोस् , जो अविरलरूपमा हजुरको भक्तिमा तल्लीन रहेका होउन् । र म उनीहरूसँग हजुरको गुण तथा लीलाको कथा सुनेर भक्तिभावमा उन्मत्त हुन पाऊँ । अनि सहजै यो दु:खले भरिभराउ संसार सागरबाट पारी तर्न पाऊँ ।

महाराज परीक्षितको अनशन र श्रीमद्भागवत श्रवण :
एक दिनको कुरा हो I धनुष लिएर सिकार खेल्न निस्केका सम्राट परीक्षित हरिणको पछाडि दगुर्दा दगुर्दा थाकेर भोक र प्यासले व्याकुल हुँदै एउटा ऋषिको आश्रममा घुसे । त्यहाँ शमिक नामका ऋषि जाग्रत , स्वप्न र सुसुप्तिबाट रहित भएर निर्विकार तुरीय अवस्थामा तपस्यारत थिए I ऋषिले राजा आएको चालै पाएनन् । राजाले पानी मागे , तर ऋषि उठेनन् । राजाले सोचे , ‘यो ब्राह्मण तुरीय अवस्थामा रहेको बहाना गरिरहेको छ I’ आफ्नो मस्तकमा कलि सवार भएको थाहा नपाएका राजा जीवनमा पहिलोपल्ट क्रोधित भए I

जीवनभर शालीन भएर के गर्नु ? एक क्षणको क्रोध नै विनाशक बन्दोरहेछ । राजाले धनुषको टुप्पोले एउटा मरेको सर्प टिपे I अनि त्यही मृत सर्पलाई ऋषिको गलामा माला लगाइदिएर आफ्नो बाटो लागे । ऋषिपुत्र शृङ्गी पिताको त्यो हालत देखेर अत्यन्तै क्षुब्ध भए I उनले कौशिकी नदीको जल आचमन गर्दै घोषणा गरे , ‘इति लङ्घितमर्यादम् तक्षक: सप्तमेsहनि । दङ्क्ष्यति स्म कुलाङ्गारम् चोदितो मे ततद्रुहम I’ अर्थात , ‘आजको सात दिनमा यो मर्यादाहीन राजालाई तक्षक सर्पले डस्नेछ I’ यी सबै कुरा थाहा पाएपछि ऋषि छोराको कृत्यमा साह्रै दु:खी भए । तर जे हुनु भइसकेको थियो I

राजधानी पुगेपछि राजालाई साह्रै पश्चात्ताप भयो I उनी भगवानमा मन लगाएर गङ्गा तटमा आमरण अनशनमा बसे I अनि त समस्त देवताले राजा परीक्षितको अभिनन्दनमा पुष्प वृष्टि गर्नथाले । ऋषि महर्षिहरू त्यहीँ उपस्थित भएर परीक्षितको अठोटको प्रशंसा गरे । परीक्षित ऋषिहरू समक्ष प्रश्न गर्दछन् , ‘जीवनको सामान्य अवस्थामा रहेको मनुष्यले गर्नुपर्ने कर्महरू के हुन् ? र छोटो समयमै मर्ने निश्चित भएको मनुष्यले अन्त:करण र शरीरबाट गर्नयोग्य विशुद्ध कर्म के हुन् ?’ सोही समयमा त्यहाँ सुकदेव स्वामीको आगमन हुन्छ । राजाले अत्यन्त आर्द्र भावमा स्वामीको स्तुति गर्छन् । राजाप्रति करुण बनेका सुकदेव उनलाई भागवत कथा सुनाउन तयार हुन्छन् । र भन्छन् , ‘अब तिम्रो आयु सात दिन मात्र बाँकी छ । यो समयको सदुपयोग गरेर अर्को जुनीको जीवनको कल्याणका खातिर जे गर्न सकिन्छ सबै गर ।

तवाप्येतर्हि कौरव्य सप्ताहं जीवितावधि: ।
उपकल्पय तत्सर्वं तावद्यत्साम्परायिकम् I

राजाले फेरि मरणासन्न र अन्य साधारण मनुष्यको कर्तव्यबारे सोध्दछन् । यिनै प्रश्नको उत्तर दिने सिलसिलामा सम्पूर्ण भागवत कथा निर्माण भएको छ ।

भगवान को हुन् ?

जो ऐश्वर्य , सौभाग्य , यश , धर्म , ज्ञान र वैराग्यसमेत छ गुणले परिपूर्ण छन् , उनै भगवान हुन् I

भगवान प्रत्येक जीवको हृदयमा विराजमान छन् तापनि किन फाइदा उठाउन सकिएन ? किनकि हामी भगवानका प्रपन्न हुन सकेनौं । अर्जुन जस्ता भक्त पनि ऐन मौकामा प्रपन्न हुन सकेनन् I युद्धको तयारीको सिलसिलामा कृष्णले ‘नारायणी सेना रोज्छौ कि मलाई ?’ भनेर प्रश्न गर्दा निहत्था कृष्णलाई रोजेका अर्जुन युद्धको मैदानमा पुगेपछि भ्रमित र उद्वेलित हुन्छन् I अर्जुन अनेक शंका गर्छन् , प्रश्न र तर्क गर्न थाल्छन् I प्रपन्नको अर्थ हो भगवानमा पूर्णतः समर्पण र भरोसा । भगवानको भक्तिमा बाठो र तर्कशील हुनु निरर्थक छ ।

यहाँ प्रश्न उठ्न सक्छ , कि जब सबै सृजना भगवानको हो भने भक्त अभक्तको भेद किन ? जब सबैको हृदयमा भगवानको निवास छ भने किन सबै बराबर भएनन् ? भगवान कृष्ण भन्छन् , ( गीता ९। २९ ) –
‘समोऽहं सर्वभूतेषु न मे द्वेष्योऽस्ति न प्रियः । ये भजन्ति तु मां भक्त्या मयि ते तेषु चाप्यहम् I’ अर्थात , म समस्त जीवमा समभावले व्याप्त छु । न कोही मेरो प्रिय छ र न त अप्रिय नै । परन्तु जो भक्त मलाई प्रेमले भज्दछ , ऊ ममा छ र म उसमा छु ।

एउटा गीत छ नि , ‘मै , इसके आगे क्या कहूँ तू मुझमे है मै तुझमे हूँ I’

भगवान अगाडि भन्छन् –
‘सर्वधर्मान्परित्यज्य मामेकं शरणं व्रज । अहं त्वा सर्वपापेभ्यो मोक्षयिष्यामि मा शुचः।’ (गीता १८ I ६६ ) समस्त धर्म अर्थात कर्तव्य र कार्यलाई त्याग गरेर ( ममा समर्पण गरेर ) केवल मेरो शरणमा आऊ । म तिमीलाई सम्पूर्ण पापबाट मुक्त गरिदिनेछु I शोक नगर ।

सर्वधर्मान परित्यज्य भनेको सारा विहित कर्म भगवानको नाममा समर्पण गर्नु हो । यो एउटा बिम्ब हो । स्वरूपत: कर्मको त्याग गर्ने भनेको होइन । यहाँ ‘जब तिमीले मेरो शरणागति स्वीकार गरिसकेका छौ भने किन चिन्ता गर्छौ ?’ भनेर आश्वस्त पार्न खोजिएको छ । वास्तवमा गीताको मुख्य तात्पर्य नै सारा कर्मलाई भगवानमा समर्पण गर्नु र शोक एवं सुर्ताबाट रहित हुनु हो I

भगवानका प्रतिमा :
भगवानका आठ किसिमका मूर्ति हुन्छन् । पत्थर , काठ , धातु , माटो , चित्रमयी , बालुकामयी ( बालुवा) , मणिमयी र मनोमयी । मनोमयी मूर्ति अभौतिक हुन्छ । यसको उपासना गर्न कुनै औपचारिक स्थान , समय , परिस्थिति आदिको बन्देज हुँदैन । भगवानको स्मरण जस्तो अवस्थामा पनि कल्याणकारी छ । गङ्गामा कुल्ला गरे पनि त्यो गङ्गा नै हुन्छ । जेसुकै कुरा अग्निमा होमियो भने होमिएको वस्तु नै अग्निमा रूपान्तरण हुन्छ ।

भगवानमा मन लाग्न कठिन भयो ? बारम्बार मन लगाएर अभ्यास गर्नुपर्छ । अर्कोले बनाएको मूर्ति उसको रुचि अनुसारको हुन्छ । भक्तले कल्पना गर्ने सीमासम्म एउटा मूर्ति जानै सक्दैन । भक्तको मनले कहिले शिशुगोपाल , कहिले बालगोपाल , कहिले किशोर श्यामसुन्दर , कहिले वृन्दावनमा लीला गर्ने बाँकेविहारी , कहिले रणछोड र कहिले वयस्क वासुदेवको कल्पना गर्छ ।

सुत्दा, उठ्दा, रात्रिको अनिद्रामा, शोकमा, खुसीमा र यात्रामा श्यामसुन्दरलाई याद गर्न सकिन्छ I चौतारीको विश्राममा, गृह कलहको दिग्दारीमा , खेतमा काम गरेर सुस्ताउँदा , कार्यालयको काममा दिक्क लाग्दा र प्रेममा धोका पाउँदा दुवै आँखा चिम्म पारेर देवकीनन्दनको झलक महसुस गर्न सकिन्छ I प्रशंसामा, निन्दा या उपहासमा , सफलतामा र असफलतामा जहिल्यै पनि भगवानको सम्झना गर्न सकिन्छ । र, त्यसरी याद गर्दा स्वत: मनमा आफ्नो परिस्थिति अनुसारका कृष्णको मनोमयी र मनोमानी दर्शन गर्न पाइन्छ ।

भगवानको छविको मानस दर्शनले अन्त:करणमा शीतलताको अनुभव हुन्छ । जसले प्रभुको मानस पूजा गर्दछ , उसको अन्त:करणमा भगवानको वास हुन्छ । मनमनै प्रभुको ध्यान र गान गर्दागर्दै मन्दमन्द मुस्कुराइरहेका भगवानको दर्शन पाइन्छ । यसरी भगवानमा लीन भएको मनले संस्कारको रूप धारण गर्दछ र भक्त र भगवानको भेट अविरल हुन थाल्दछ । नारद ऋषिले बालक भक्त ध्रुवलाई ध्यानका सिलसिलामा जप्नुपर्ने अमोघ मन्त्र पनि बताएका छन् । द्वादशाक्षरी नामले प्रसिद्ध त्यो मन्त्र हो , ॐ नमो भगवते वासुदेवाय ।

या दोहने वहनने मथनोपलेप
प्रेंखेंखनार्भ रुदितो क्षणमार्जनादौ ।
गायन्ति चैनमनुरक्तधियोश्रुकंठ्यो
धन्या ब्रजस्त्रिय उरुक्रम चित्तायानाः । ( भागवत १०.४४.१५ )

गोपीहरू गाई दुहुँदा , मही पार्दा , घर सफा गर्दा , केटाकेटीलाई माया गर्दा र अन्य जुनसुकै कार्य गर्दा निरन्तर आँसु बगाउँदै भगवान श्रीकृष्णको नाम , गुण र लीलाको गान गरिरहन्थे I वासुदेवको भक्ति अमृत हो । ‘अमृतो भवती , सिद्धो भवती , तृप्तो भवती ।’ सिद्दिको मतलव हो , कोमल र मुलायम हुनु ।

भक्तिका भावहरू :
भगवानको भक्ति या प्रेमका चार भाव हुन्छन् । दास्य , साख्य , वात्सल्य र प्रियतम अर्थात माधुर्यभाव I

हामी उपर्युक्त चारमध्ये जुनसुकै भावबाट भगवानको भक्ति गर्न सक्छौं I दास्यभाव स्वामी र दासको सम्बन्ध जस्तै हो । हनुमान रामका दास्य भावमय प्रेमी हुन् । भरतले आफूलाई रामका भाइ नमानेर दास माने । ‘ख्वामित हजुरको म त दास पो हूँ I’ दास्यभावबाट भगवानको अत्यन्त नजिक हुन सकिन्छ , तर यो उच्चस्तरको प्रेम होइन ।

दोस्रो हो साख्यभाव । गोकुलका गोठाला केटाहरू कृष्णका सखा हुन् I भगवानका भक्त युवाले वृन्दावनविहारी श्यामसुन्दरलाई , पाकाले वसुदेवलाई र सङ्कटमा परेका नारीले केही सीप नलागेपछि द्रौपदीले झैं आर्तभावले पुकारा गर्न सकिन्छ I ग्वालबालहरू त मज्जाले बालगोपालको काँधमा चढ्थे ।

साख्यभावभन्दा उपल्लो स्तर हो वात्सल्यभाव । यसमा भगवानलाई माता या पिताले झैँ प्रेम गर्न सकिन्छ I यस्तो प्रेमका अनुपम प्रतीक यशोदा र नन्द हुन् I हामी भक्तहरूले पनि कन्हैयालाई यशोदा र नन्दले जस्तै प्रेम गर्न सक्छौं I तर त्यहाँ सम्पूर्णतः पुत्रको रूपमा आत्मसात गरिएको हुनुपर्छ । भगवानले जो कसैलाई आफ्नो बाआमा बन्ने अधिकार दिएका छन् ।

वात्सल्यभन्दा माथिल्लो हो पृयतम या माधुर्यभाव । यो भगवानसँग प्रेमको उच्चतम भाव हो I यहाँ भगवानलाई आफ्नो प्रेमी मान्न सकिन्छ I अथवा पति नै पनि मान्न सकिन्छ I पति पत्नीमा हुन्छ नि , ‘खुरुक्क एक डाडु दूध खाऊ कन्हैया ! आज थाकेका छौ सुत ! तिम्रो चकचके! बानी मलाई फिटिक्कै मन पर्दैन है ! होस राख ।’

माधुर्यभावमा अन्य सबै भाव पनि समाहित छन् । ‘या भएन त्या भएन’ को साख्यभाव , लाडप्यार र हप्कीदप्कीको वात्सल्यभाव एवं सेवासुश्रुसाको दास्यभाव । मधुरभाव त्यस्तो भाव हो , जहाँ भक्त र भगवान एक हुन्छन् । जहाँ द्वैतको अस्तित्व तिरोहित हुन्छ ।

भगवानको भक्ति कहिले र कहाँ गर्ने ?

ॐ अपवित्रः पवित्रो वा सर्वावस्थां गतोऽपि वा।
यः स्मरेत्पुंडरीकाक्षं स बाह्याभ्यंतरः शुचिः I ( पद्मपुराण )
चाहे अपवित्र होस् या पवित्र स्थान , चाहे उठ्दै होस् या बस्दै या हिँड्दै , जुनसुकै अवस्थामा पनि कमलनयन भगवानको स्मरण मात्रले वाह्य ( देह ) र अभ्यन्तर ( अन्त:करण ) शुद्ध हुन्छ ।

पत्रं पुष्पं फलं तोयं यो मे भक्त्या प्रयच्छति। तदहं भक्त्युपहृतमश्नामि प्रयतात्मनः I ( भागवत १० /८१ / ४ ) एक कुटुरो कनिका पाहुर लिएर कृष्णलाई भेट्न गएका सुदामाले भगवानका यी सुमधुर शब्द सुनेपछि मात्र पोको फुकाएका थिए I
यही श्लोक गीता ( 9/26 ) मा पनि छ । भगवान भोका हैनन् प्रेमी हुन् ।

केही बन्ने या पाउने कामना राख्ने (सकाम भक्त) ले कसको उपासना गर्ने ?
जीवनमा विभिन्न प्रकारका कामनायुक्त आकांक्षा र अभिलाषा राख्ने मनुष्यले कसको भक्ति कसरी गर्ने ? सुकदेव स्वामीले जीवनमा केही बन्ने र गर्ने कामना भएकाहरूका लागि पनि भक्तिका विभिन्न उपाय बताएका छन् ।

जो ब्रह्मतेजको आकांक्षी छ , उसले वृहस्पतिलाई सभक्ति याद गरोस् । इन्द्रियजनित शक्ति र सुख चाहनेले इन्द्रको उपासना गरोस् । सन्ततिको इच्छा हुनेले प्रजापतिको उपासना गरोस् । जसलाई लक्ष्मीको अभिलाषा छ , उसले मायादेवीको आराधना गर्नू । जो तेज चाहन्छ , उसले अग्निको प्रार्थना गर्नू । धनको लालसा हुनेले वसुलाई पुकारा गर्नू । जसलाई वीरता र प्रतापको रहर छ , उसले रुद्रको उपसना गरोस् । अन्न चाहनेले अदितिको , स्वर्ग चाहनेले देवताहरूको र जसलाई राज्यको कामना छ , उसले विश्वदेवको आराधना गरोस् । जसले प्रजा ( सन्तान ) लाई अनुकूल बनाउन चाहन्छ उसले साध्य देवताको पूजा गर्नू ।

लामो आयु चाहनेले अश्विनीकुमारको , पुष्टिको इच्छा गर्नेले पृथ्वीको , इज्जतदार हुन चाहना राख्नेले पृथ्वी र आकाशको आराधना गर्नुपर्छ ।

सुन्दरता चाहनेले गन्दर्भ , पत्नी चाहनेले उर्वशी र सबैको मालिक हुन मन हुनेले ब्रह्माको उपासना गर्नू। धर्म कमाउन विष्णु , यशस्वी हुन यज्ञपुरुष , खजानाको लिप्सा हुनेले वरुण , विद्याका लागि भगवान शंकर र दम्पतीमा प्रेम चाहनेले देवी पार्वतीको उपसना गर्नू । वंशपरम्परा रक्षाका लागि पित्तृ , विघ्न वाधाबाट जोगिन यक्ष र बलवान हुन वायुको आराधना गर्नू । अभिचार ( जादु , मन्त्र र टुनामुना जस्ता मारण , मोहन , स्तंभन , विद्वेषण , उच्चाट्टन र वशीकरण ) को इच्छा गर्नेले निऋति , भोगका लागि चन्द्रमा र निष्काम अवस्था प्राप्त गर्ने इच्छा हुनेले नारायणको कीर्तन गर्नू ।

चार किसिमका भक्त:

चतुर्विधा भजन्ते मां जना: सुकृतिनोऽर्जुन।
आर्तो जिज्ञासुरर्थार्थी ज्ञानी च भरतर्षभ । ( गीता ७।१६)
अर्थात :- हे अर्जुन ! आर्त, जिज्ञासु, अर्थार्थी र ज्ञानीसमेत चार प्रकारका भक्तहरू मेरो भजन गर्ने गर्दछन् I यिनीहरूमध्ये अर्थार्थी सबैभन्दा निम्न कोटीको भक्त हो I यस्तो भक्तले धन ,मान , सन्तान , प्रतिष्ठा र स्वर्ग जस्ता विनाशी कुराहरूको माग गर्दछ I यस्तो भक्त लोभी र स्वार्थी हुन्छ , तर भगवानसमक्ष बडो विश्वास र भक्तिभाव राख्दछ I

शत्रु लागेका , दिन दशा लागेर दु:खी भएका , मानसिक र शारीरिक पीडाले आतुर र प्राकृतिक या जैविक विपत्तिमा परेर हतास भएका भक्तहरूलाई आर्त भन्न सकिन्छ I वास्तविक आर्त भक्तमा भागवतमा वर्णित गजेन्द्र र सारी तानेर नाङ्गै पार्न खोजिएकी द्रौपदीको गणना हुन्छ I

गोविन्द द्वारकावासिन् कृष्ण गोपीजन प्रिय
कौरवैः परिभूतां मां किं न जानासि केशव । ( महाभारत सभापर्व )
जिज्ञासु भक्तको अर्थ हो , जान्न खोज्ने भक्त I धन , सम्पदा , परिवार , इज्जत , उमेर , स्वास्थ्य र सङ्कटसमेतको कुनै पर्वाह नगरी केवल परमात्मालाई तत्त्वले जान्ने इच्छा राख्ने भक्त नै जिज्ञासु भक्त हो I सबैभन्दा प्रख्यात जिज्ञासु भक्तमा उद्धव र परीक्षितलाई गणना गर्न सकिन्छ I

ज्ञानी भक्त सबैभन्दा उच्च कोटीको भक्त हो I जसले परमात्मालाई चिनिसके I जसको दृष्टि परमात्मामा मात्र टिकिरहन्छ र जसमा सांसारिक वस्तु तथा विषयसम्बन्धी कामनाको अवशेष पनि बाँकी छैन , तिनीहरू नै ज्ञानी भक्त हुन् I यस्ता भक्तमा भीष्म पितामह , सुकदेव र प्रह्लादलाई मान्न सकिन्छ I

मानिसहरू भगवानको पूजा गर्छन , कथा सुन्छन र तीर्थ जान्छन I कोही दान गर्छन , कोही वन कन्दरामा जान्छन् र कोही कोही रातभर कीर्तन गर्छन् I तर विचारणीय कुरा के हो भने , मनमा भगवान बसे कि पाखण्ड मात्र गरियो ? मन नै बन्धन मन नै मोक्ष । बाहिरी संसारमा हराएको देखावटी भक्ति बन्धन हो भने भगवानमा समागम भएको भक्ति चाहिं मुक्ति हो । म र मेरोको रुमलोलाई व्यवस्थापन नगरिकन गरिने भक्ति बालुवामा पानी पोखे जस्तै हो ।

‘त्वदीय वस्तु गोविन्द’ भन्दै जुनै तरिकाले थुपारेको सम्पत्तिको चुत्थो अंश समर्पण गर्नु भक्ति नभई ढोङ हो । दान र प्रायश्चित्त आदि गर्दैमा अतीतमा गरेका पापले निर्माण गरेको मानसिक मलिनता निर्मूल हुन सक्दैन । मन शुद्ध र निर्मल भयो भने अशुद्ध स्थान र समयमा गरेको भक्ति पनि फलदायी हुन्छ ।

नवधा भक्ति :
श्रवणं कीर्तनं विष्णोः स्मरणं पादसेवनम्।
अर्चनं वन्दनं दास्यं सख्यमात्मनिवेदनम् I
दैत्य राजा हिरण्यकशिपुले प्यारो पुत्र प्रह्लादलाई गुरुकुलमा पढ्न पठाएका थिए I पुत्र घर आएको मौकामा उनी प्रह्लादलाई काखमा राखेर सोध्दछान् , ‘बाबु ! तिमीले गुरुबाट सिकेकामध्ये सबैभन्दा राम्रो लागेको शिक्षा के हो ?’ प्रह्लादले प्रत्युत्तरमा माथि उल्लिखित श्लोक सुनाउँछन् I हे पिताजी ! मैले सिकेकामध्ये सबैभन्दा महत्त्वपूर्ण कुरा भगवानको भक्तिमा गरिने श्रवण , कीर्तन , स्मरण , पादसेवन , अर्चन , वंदन , दास्य , साख्य र आत्मनिवेदन समेतका नवधा भक्ति हुन् I

हिरण्यकशिपु रिसले आगो हुन्छन् I उनी उल्टा कुरा सिकाएको भन्दै ब्राह्मणलाई गाली गर्छन I किन्तु त्यो गुरुबाट प्राप्त भएको नभई स्वस्फूर्त ज्ञान थियो I प्रह्लादले झन् भक्ति , ज्ञान र वैराग्यका कुरा गर्न थालेपछि हिरण्यले पुत्रलाई काखबाट उचालेर भूमिमा पछारिदिन्छन् I

भगवानमा लगाव हुनेले प्रह्लादले सुझाएका यी नवधा भक्तिमध्ये जुनसुकैलाई आत्मसात गर्न सकिन्छ I
I

भगवानको भक्तिबारे थप केही कुरा :
नवधा भक्तिमध्ये सबैको उत्तिकै महत्व छ I तथापि स्वामी सुकदेवले परीक्षितको जिज्ञासा पूर्ति गर्दै भागवतको द्वितीय स्कन्धमा नौमध्ये , श्रवण , कीर्तन र स्मरणलाई प्राथमिकता दिएका छन् I कारणवश आसन्न मृत्युको ज्ञान हुन गयो भने भगवान हरिको स्मरण गरे पुग्छ । मरणासन्न व्यक्ति आफै असक्त र असहाय हुने हुँदा अरु केही गर्न सक्ने अवस्था हुँदैन । सुविधा मिले र कोही सुनाउने सुहृद पाइएछ भने हरिकथा सुन्ने हो । त्यस्तो अवसर प्राप्त नभएमा आफ्नो शक्तिले भ्याए कीर्तन गरे भयो । त्यो पनि गर्न सकिएन भने पनि मनमनै भगवानको महिमा याद गर्न कसैले रोक्न सक्दैन ।

मृत्यु नजिक आइसकेको आभास भएको अवस्थामा हडबडाउनु हुँदैन । मृत्युका बखतमा पनि सांसारिक विषयवस्तुले मूढ र विक्षिप्त बनाउन सक्छन् । भागवतले त्यस्तो अवस्थामा धैर्यधारण गर्न र भगवानको स्मरण गर्न निर्देश गरेको छ । जबसम्म अन्तरात्मालाई परमात्मामा लीन गराउन सकिन्न , जबसम्म अब यस मर्त्यलोकमा मैले गर्नुपर्ने कुनै कर्तव्य र पाउनुपर्ने कुरा बाँकी छैन भन्ने महसुस हुँदैन र मनले इन्द्रियको संयम र बुद्धिले मनको व्यवस्थापन गर्न सक्दैन , तबसम्म तृष्णा र आसक्तिको जालो च्यातिन सक्दैन ।

भागवतको चतुर्थ स्कन्धमा उल्लेख भएको छ –
‘मामङ्गम् तान परेषु मंस्था
भुङ्क्ते जनो यत्परदु:खदस्तत्’
अर्थात – अरु कसैप्रति कुनै प्रकारको अमङ्गल कामना गर्नु हुँदैन । जसले अर्कालाई दु:ख दिन्छ , त्यसको फल पनि उसैले भोग्नुपर्छ । यस लोकमा सुख चाहने , यस लोकबाट विरक्त भई परलोक सपार्न चाहने एवं योगसम्पन्न सिद्ध साधकलाई पनि भगवानको भक्तियुक्त कीर्तन फलदायी छ ।

भगवान ब्रह्माले सर्वश्रेष्ठ धर्म कुन रहेछ भनेर तिनपटक वेदको अनुशीलन गरेर निकालेको निचोड नै श्रीकृष्णप्रतिको अनन्य प्रेम र भक्ति हो । मृत्यु अवश्यम्भावी छ । त्यसैले सदासर्वदा यसलाई नजिकै कतै ढुकेर बसेको मानेर गृहस्थ धर्मको परिपालना गर्दै भक्तिमय सत्कर्मलाई अङ्गीकार गर्नु नै जीवनको श्रेयमार्ग हो ।

भगवान कृष्ण भन्छन् –
अपि चेत्सुदुराचारो भजते मामनन्यभाक्।
साधुरेव स मन्तव्यः सम्यग्व्यवसितो हि सः I ( गीता ९ । ३० )
अर्थात – यदि कोही दुराचारी व्यक्ति अनन्यभावले मेरो भजन गर्छ भने उसलाई पनि साधु नै मान्नुपर्छ I किनकि ऊ दृढ निश्चयमा छ कि भगवानको भजनभन्दा श्रेयकारक कुरा अर्को केही छैन I यहाँ दुराचारीको आशय आचरण , खानपान , आसक्ति र खराब आदतले मजबुर र विवश भएका व्यक्ति हो I यसमा बडो राम्रो बिम्ब प्रयोग भएको छ I कोही आफ्नो लागेको बानी छुटाउन नसकेर लाचार छ , तर भगवानको भक्ति र सन्मार्गको ख्याल छ भने उसमा सुध्रन सक्ने सम्भावना प्रचुर छ I यहाँ कसैलाई पनि घृणा गर्नु उचित होइन , कोही सप्रन चाहन्छ भने त्यस्तालाई प्रोत्साहन दिनुपर्छ भन्ने भाव छ I त्यस्तो मानिसलाई दुराचारी भनेर निन्दा र उपहास मात्र गर्ने हो भने ऊ झन् विद्रोही भएर जानेछ I

भगवान कृष्ण फेरी भन्छन् –
‘क्षिप्रं भवति धर्मात्मा शश्वच्छान्तिं निगच्छति।
कौन्तेय प्रतिजानीहि न मे भक्तः प्रणश्यति। ( गीता ९ I ३१ )
अर्थात – त्यस्तो व्यक्ति छिट्टै धर्मात्मामा परिणत हुन्छ र परम शान्तिमा प्राप्त हुन्छ I हे अर्जुन ! तिमी एउटा कुरा निश्चयपूर्वक जान कि मेरो भक्त कहिल्यै पनि नष्ट हुँदैन I

भगवान अझै अगाडि भन्छन् –
‘मन्मना भव मद्भक्तो मद्याजी मां नमस्कुरु । मामेवैष्यसि सत्यं ते प्रतिजाने प्रियोऽसि मे I’
अर्थात – हे अर्जुन ! तिमी ममा नै मन लागाउनेवाला बन , मेरो भक्त बन , मेरो पूजक बन र मलाई नै प्रणाम गर I यसो गार्नाले तिमी मलाई प्राप्त गर्न समर्थ हुनेछौ I यो मेरो प्रतिज्ञा हो , किनकि तिमी मेरा अत्यन्त प्रिय छौ I

सारा साधन र उपाय निस्फल हुँदा के गर्ने ?
जब बिरामीलाई बचाउने सारा उपाय समाप्त हुन्छन् , डाक्टरले पनि उनै ईश्वरको सहारा लिनुहोस् भनेर बिदा गर्छ । रजोवती एकवस्त्रा द्रौपदीलाई दु:शासनले लतार्दै राजसभाको बिचमा ल्याएर उभ्याइदिन्छ । द्रौपदीले भरी सभामा सारालाई गुहारिन् र ललकारिन् पनि । ल छो त मात्र भनेर चेतावनी पनि दिइन् । दु:शासनले सारी तान्न खोजेपछि सुरुमा दाँतले टोकेर जोगाउने यत्न गरिन् । परन्तु कोही आफ्नो नभएपछि र केही सिप नलागेपछि स्वयंलाई भगवानको जिम्मामा छाडिदिइन् ।

श्रीमद्भागवतको आठौं स्कन्धमा एउटा हात्तीको कथा छ । एक दिन एउटा हात्ती सरोवरमा खेल्दै थियो । साथमा उसका प्रेयसी हात्तिनीहरू पनि थिए । प्यारा र चुलबुले छावाहरू पनि सँगै जलक्रिडामा निमग्न थिए । अचानक एउटा ठुलो गोही आएर हात्तीको खुट्टा समातिहाल्यो । हात्तीले फुत्कन बहुतै कोसिस गर्यो । हात्तिनीहरूले यताबाट तान्ने र गोहीले उताबाट तान्ने खेल पनि धेरैबेरसम्म चल्यो । परन्तु केही सिप नलागेपछि हात्तीले स्वयंलाई भगवानमा समर्पण गरिदियो ।

नमो नमस्ते खिल कारणाय निष्कारणायद्भुत कारणाय ।
सर्वागमान्मायमहार्णवाय नमोपवर्गाय परायणाय ।
अर्थात – हजुर सबैका कारण हुनुहुन्छ , तर स्वयं चाहिँ कारणरहित । कदाचित कारण भए तापनि हजुरमा कुनै विकार हुँदैन , त्यसैले हजुर अनुपम कारण हुनुहुन्छ । यस्ता हजुरलाई बारम्बार नमस्कार छ । जसरी सारा नदी र झरना आदिको आश्रय समुद्र हो , त्यसैगरी हजुर समस्त वेद र शास्त्रहरूका आश्रय हुनुहुन्छ । हजुर स्वयं मोक्षरूप हुनुहुन्छ । सबै सन्तगण हजुरकै शरणागत हुन आतुर हुन्छन् । यस्ता हजुरलाई म नमन गर्दछु ।

एउटै मात्र उपाय
भगवानको नजिक पुग्ने प्रमुख मार्ग भक्ति नै हो I किन्तु पूर्वकालमा भगवानको निकट पुगिने अन्य अनेकौं जरिया पनि रहेछन् I भागवत सातौँ स्कन्धको प्रथम अध्यायमा युधिष्ठिरसँग वार्तालाप गर्दै नारद भन्छन, -‘चाहे दृढ वैरभावले या वैरहीन भक्तिभावले , चाहे भयले, चाहे स्नेहले या कामनाले नै किन नहोस्, यदि पूर्णरूपेण लगाव रहेछ भने त्यो भगवानको नजिक पुग्ने कारण बन्दछ I मेरो त यो प्रबल धारणा छ , कि मनुष्य वैरभावमा भगवानको जति समीपमा हुन्छ त्यति भक्तियोगबाट हुँदैन ।’

गोपीहरू मिलनको तीव्र कामभावले , कंस भयले , शिशुपाल र दन्तकक्त्र आदि द्वेषले , यदुवंशीहरू पारिवारिक सम्बन्धले , पाण्डव स्नेहले र नारद , प्रह्लाद एवं ध्रुव आदिले भक्तिले भगवानमा मन लगाएका थिए । कलिकालमा वैरभावले श्रीहरिको नजिक हुने हैसियत राख्ने कोही पनि होला जस्तो लाग्दैन I सायद कल्कि अवतारको बखतमा कोही होला कि ! हाललाई त ‘हरेर्नाम हरेर्नाम हरेर्नामैव केवलं I कलौ नास्त्यैव नास्त्यैव नास्त्यैव गतिरन्यथा ।

प्रतिक्रिया दिनुहोस