काठमाडौँ । अर्ग्यानिक बेसारको नाममा खुदीको पिठो र रङ मिसाएर विक्री वितरण गर्ने धरान-११ विष्णु चोकस्थित चण्डेश्वरी कुटानी पिसानी मिलका सञ्चालक बर्खमान श्रेष्ठ, प्रमीला श्रेष्ठ र अजम सिंह राईलाई कारबाही गरिएको छ । फोहोर भुईँमै बेसारमा खुदीको पिठो र अखाद्य रङ्ग मिसावट मिसावट गरिरहेको भेटिएसँगै खाद्य प्रविधि तथा गुण नियन्त्रण डिभिजन कार्यालय सुनसरीले जरिवानासहित कारबाही गरेको हो ।
उनीहरूलाई खाद्य ऐन विपरीत कसुर गरेकाले उपभोक्ता हित संरक्षण ऐन २०७५ को दफा ३९ को १ (ख) अनुसार दण्ड जरिवाना गरिएको हो ।
कार्यालयका अनुसार बेसारमा मिसावट भएको भन्ने गुनासोका आधारमा उपमहानगरसहितको टोलीले गरेको अनुगमनका क्रममा मिलमा सिन्थेटिक रङ मिसाएको ६ सय २३.५ किलो मिसावट भई ४५ बोरा पिसिसकेको र १३ बोरा पिस्न लागेको अवस्थामा बरामद भएको थियो ।
अर्ग्यानिक बेसारको नाममा खुदीका पिठो र सिन्थेटिक रङ मिसाएर बिक्री वितरण गर्ने मिल सञ्चालकलाई २ लाख रुपैयाँ जरिवाना र बजार लैजान तयार गरिएका ४५ बोरा बेसार नष्ट गर्ने सर्तमा चेतावनीसहित छोडिएको बताइएको छ । जसको बजार मूल्य करिब २० लाख रुपैयाँ बराबर रहेको बताइन्छ । मसला उद्योगले आधा बेसारमा आधा खुदी मिसाएर तयार गरेको ‘अर्ग्यानिक बेसार’ प्रतिकिलो करिब ५ सय रुपैयाँमा बिक्री गर्ने गरेको खुलासा भएको छ ।
चामलको कनिका (खुदी) बजारमा प्रतिकिलो ४० देखि ५० रुपैयाँमा पाइन्छ, जसलाई जाँड–रक्सी पार्न, सुँगुर–बङ्गुर र गाईबस्तु, कुखुराको खोले चारो बनाउने काममा अधिक प्रयोग हुन्छ ।
खाद्यवस्तुमा मिसावट गर्नु गम्भिर अपराध हो । यस्तो मिसावट गर्नेलाई खाद्य ऐन अनुसार ५ वर्ष जेल र ५० हजार जरिवानासम्म गर्न सकिन्छ ।