काठमाडौँ । राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा) का वरिष्ठ उपाध्यक्ष रवीन्द्र मिश्रले १२ बुँदे पक्षधरहरूको बैठकप्रति २५ बुँदे कटाक्ष गरेका छन् । प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ ले व्यवस्थाप्रति खतरा बढेको भन्दै मंगलबार १२ बुँदे, संविधान निर्माणमा सहभागी दलको बैठक राखेपछि त्यसप्रति उपाध्यक्ष मिश्रले कडा टिप्पणी गरेका हुन् ।
उनले फेसबुकमा लेखेका छन्, ‘विगतमा सबैले गरेका गल्तीबाट सबैले सिकेर राजा, राजनीतिक दल र जनताबीच शान्तिपूर्णसंक्रमणमार्फत नवीन समझदारीमा नजाने हो भने यो देश र यो देशका जनता कसैको भविष्य सुनिश्चित छैन । समयमै चेतना जागोस् ।’
यस्ता छन् मिश्रका २५ बुँदे टिप्पणी
१. व्यवस्था सङ्कटमा पर्ने जस्तो देखियो रे राजसंस्थावादीले गर्दा ।
२. देशभर ५०% सटर बन्द छ राजसंस्थावादीले गर्दा ।
३. ठुला व्यापारी ठूलो सङ्कटमा छन् राजसंस्थावादीले गर्दा ।
४. अर्थतन्त्रमा ऋणभार झण्डै ४५ प्रतिशत भयो राजसंस्थावादीले गर्दा।
५. गभर्नर भन्छन्, अर्थतन्त्रमा सङ्कट आउन सक्छ – राजसंस्थावादीले गर्दा ।
६. विकास खर्च १७% मा झर्यो – राजसंस्थावादीले गर्दा ।
७. प्राध्यापक, कर्मचारी, वकिलदेखि सबैको दलीय सङ्गठन बन्यो– राजसंस्थावादीले गर्दा।
८. सेना बाहेक राज्यका हरेक अंगको घातक राजनीतिकरण भयो– राजसंस्थावादीले गर्दा।
९. सार्वजनिक शिक्षा र स्वास्थ्यको स्थिति तन्नम भयो – राजसंस्थावादीले गर्दा।
१०. देश संसारकै भ्रष्टमध्येको भयो – राजसंस्थावादीले गर्दा।
११. नेपाल एसियाकै गरिब देश भयो – राजसंस्थावादीले गर्दा।
१२. ललितानिवास, शरणार्थी, सुनलगायत अन्य सयौँ काण्ड भयो – राजसंस्थावादीले गर्दा।
१३. जातीय र धार्मिक हिंसाको सम्भावना बढ्यो – राजसंस्थावादीले गर्दा।
१४. वर्षमा दक्ष लगायतका १० लाख युवा विदेशिन्छन् – राजसंस्थावादीले गर्दा।
१५. छिमेकीले तिव्र विकास गरे, हामीले सकेनौँ – राजसंस्थावादीले गर्दा।
१६. कृषि, पर्यटन, पूर्वाधार, सहरीकरण, भूउपयोग, सूचना–प्रविधि, केही पनि नीति जानेनौँ – राजसंस्थावादीले गर्दा।
१७. समग्र समाजको नराम्रो नैतिक पतन भयो – राजसंस्थावादीले गर्दा।
१८. मान्छे मरेका छन्, खान/सुत्न पाएका छैनन्, सिंहदरबारमा शीर्ष नेतालाई गणतन्त्र/धर्म निरपेक्षता जोगाउने चिन्ता छ – राजसंस्थावादीले गर्दा।
१९. मधेस प्रदेश केन्द्रविरुद्ध विद्रोह गर्ने भन्छ – राजसंस्थावादीले गर्दा।
२०. विपत् कोषमा रू ५ अर्ब छ तर भूकम्प पीडितले राहत पाएनन् – राजसंस्थावादीले गर्दा।
२१. राजसंस्थाको भूत’ले धेरै नै तर्सायो – राजसंस्थावादीले गर्दा।
२२. नयाँ÷पुराना सबै ‘प्रचण्ड’पथगामीहरूको राजनीतिमा प्रश्न उठ्यो – राजसंस्थावादीले गर्दा।
२३. राष्ट्र र राज्य’का रूपमा नेपालको तिब्र क्षयीकरण भयो – राजसंस्थावादीले गर्दा।
२४. एक पटक पुरै शक्ति व्यवस्था जोगाउन लगाउन पर्ने भयो– राजसंस्थावादीले गर्दा।
२५. मेरो टिप्पणी: विगतमा सबैले गरेका गल्तीबाट सबैले सिकेर राजा, राजनीतिक दल र जनताबीच शान्तिपूर्णसंक्रमण मार्फत नवीन समझदारीमा नजाने हो भने यो देश र यो देशका जनता कसैको भविष्य सुनिश्चित छैन। समयमैँ चेतना जागोस्।
Dipak Jaishi