काठमाडौँ । प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले नेपाल र भारतले संयुक्त रूपमा गठन गरेको प्रबुद्ध व्यक्ति समूह (ईपीजी) को प्रतिवेदन दुवै देशले संयुक्त रूपमा बुझ्नका लागि कूटनीतिक रूपमा गृहकार्य चलिरहेको बताएका छन् । उनले भारत सरकारले एकैपटक उक्त प्रतिवेदन बुझ्न नमानेको अवस्थामा नेपाल सरकारले निर्णय लिनुपर्ने अवस्था आउन सक्ने बताएका छन् ।
राष्ट्रिय सभाको राष्ट्रिय सरोकार तथा समन्वय समितिको बैठकमा प्रधानमन्त्री दाहालले सांसदहरूले उठाएका प्रश्नको जवाफ दिँदै भारतसँग ईपीजी प्रतिवेदन बुझ्नका लागि गृहकार्य चलिरहेको बताएका हुन् ।
सांसद रामचन्द्र राईले ईपीजी प्रतिवेदनको अवस्थाबारे र यससम्बन्धमा के भइरहेको छ भनेर प्रश्न गरेका थिए । जवाफमा प्रधानमन्त्रीले भने, ‘ईपीजीको प्रतिवेदन के हुँदैछ भन्नुभयो । सकेसम्म ईपीजी प्रतिवेदन दुवै देशले सहमतिबाट गठन भएको र प्रतिवेदन तयार भएको हुनाले एकैपटक बुझ्ने गर्दा राम्रो हुन्छ भनेर आन्तरिक गृहकार्य चलिरहेको छ । त्यो हुँदै भएन भने माननीय सदस्यहरूले भन्याजस्तो नेपालले निर्णय लिनुपर्ने अवस्था आउँछ ।’
नेपाल-भारतबीचका सीमाका साथै सन् १९५० को सन्धि परिमार्जनलगायतका महत्त्वपूर्ण बुँदामा सहमति जुटाएर प्रतिवेदन तयार भएको थियो । २०७५ सालमै प्रतिवेदन तयार भए पनि भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीले समय नदिँदा उक्त प्रतिवेदन दुवै मुलुकले बुझेका छैनन् । यस्तो अवस्थामा प्रधानमन्त्री दाहालले उक्त प्रतिवेदन भारतले बुझ्न नमानेमा नेपालले निर्णय लिनुपर्ने अवस्था आउने बताए ।