निजामती प्रशासन र प्रहरी मात्र होइन, राजनीतिक नेतृत्वलाई नै तर्साएको अध्यागमनभित्रको द्वन्द्व सधैँलाई सुल्झाउन गृह प्रशासनले परिणाममुखी पहल अघि बढाएको छ।
काठमाडौँ । अन्तर्राष्ट्रिय विमानस्थल र त्यहाँ रहने अध्यागमनलाई संसारभर नै त्यो देश नियाल्ने प्रथम ऐनाका रूपमा लिइन्छ । काठमाडौँस्थित त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा रहेको अध्यागमनको छवि ठ्याक्कै यस्तै हुनुपर्ने हो । तर पछिल्ला केही महिनायता यसको छवि त्यस्तो छैन ।
बरु यसबीचमा त अध्यागमनमा मुठभेडकै घटना देखा परे । गत माघ दोस्रो साता अन्तर्राष्ट्रिय विमानस्थलमै खटिएका अध्यागमन कर्मचारी र प्रहरीबीच कुटाकुट भएको भिडियो सञ्चारमाध्यम र सामाजिक सञ्जालमा छताछुल्ल भएपछि त्यसले देश चिहाउने ऐना मात्र कुरूप देखाएन, अध्यागमनमा निजामती-प्रहरी द्वन्द्व कुन हदसम्म मौलाइरहेको रहेछ भन्ने तस्बिर पनि उजागर गरिदियो । घटना छानबिनका लागि गृह मन्त्रालयले छानबिन समिति बनायो । त्यो प्रकरणमा संलग्न केहीलाई कारबाही गरियो ।
तत्कालका लागि घटना सामसुम त भयो, तर त्यसले उजागर गरेको अन्तर्राष्ट्रिय विमानस्थलस्थित अध्यागमन कर्मचारी र प्रहरीबिचको तुष मेटिएको छैन । भित्रभित्रै पम्पीईरहेको यो तुष फेरि जुनसुकै बेला विष्फोट हुनसक्ने जोखिम छ ।
सम्भवतः यही जोखिम आकलन गरेर हुनसक्छ, गृह मन्त्रालयको प्रशासनिक नेतृत्वले यो तुष मेटाउने र विमानस्थलमा अध्यागमन कर्मचारी तथा प्रहरीबिचको द्वन्द्व सधैँका लागि सुल्झाउने पहल थालनी गरेको छ । गृह सचिव एकनारायण अर्यालले गरेको विमानस्थल अवलोकन र अनुगमन त्यसकै पहिलो कडी हो ।

अध्यागमनका समस्याहरूको पत्र-पत्र केलाउँदै
गृह सचिव अर्याल गत बुधबार (वैशाख २६ गते) आकस्मिक रूपमा त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलस्थित अध्यागमन कार्यालयको निरीक्षणमा पुगे । अन्तर्राष्ट्रिय टर्मिनलमा यात्रु प्रस्थान कक्षबाट यात्रुकै रूपमा उनी बिहान ९ बजे विमानस्थल छिरे । त्यस क्रममा एयरलाइन्सका काउन्टर, लबी, अध्यागमन, प्रहरी सुरक्षा र सहजीकरणसँगै ब्यागेज कसरी लोड हुन्छ भन्नेसम्मको निरीक्षण उनले गरेका थिए ।
गृह सचिव पुग्दासम्म त्यहाँका कर्मचारीले उनी आउन लागेको सुइँको पाएका थिएनन् । त्यसपछि उनले अध्यागमन डेस्क, भिआइपी कक्ष, त्यहाँ जडान भएका सीसीटीभी क्यामरा, कर्मचारीहरूको कक्ष र सुरक्षा अवस्थाबारे बुझेका थिए । सँगै थिए प्रहरी महानिरीक्षक बसन्तबहादुर कुँवर र अध्यागमन विभागका महानिर्देशक कोषहरि निरौला ।
यसरी आकस्मिक निरीक्षणमा पुगेका गृह सचिव अर्यालले विमानस्थलस्थित ड्युटीमा खटिएका अध्यागमन अधिकृतहरूसँग सेवा सञ्चालनका क्रममा केही समस्या छन् कि भनेर समेत सोधपुछ र छलफल गरे । कुनै समस्या भए कार्यालय प्रमुखमार्फत मन्त्रालयमा पठाउन भने । जिम्मेवारी निर्वाह गर्ने क्रममा सेवाग्राहीलाई सेवा दिने कार्यमा कुनै कञ्ज्यूस्याइँ नगर्न पटक–पटक सम्झाए ।
त्यस क्रममा उनले ड्युटीमा तैनाथ नेपाल प्रहरी र सशस्त्र प्रहरी बलका ड्युटी अधिकृतहरूसँग पनि कुराकानी गरे । भौतिक पूर्वाधारदेखि जनशक्ति व्यवस्थापन र समन्वयबारे समेत चासो राखे । ड्युटीमा खटिएका जवानदेखि अधिकृतसम्मका अनुभव र गुनासा सुन्दै उनले तत्काल समन्वय गर्नुपर्ने विषयमा ‘अन द स्पट’ निर्णय लिन कार्यालय प्रमुखहरूलाई निर्देशन दिए । यात्रु आगमनदेखि कर्मचारी, सुरक्षाकर्मी तथा कार्यालय प्रमुखहरू बस्ने कार्यकक्षसम्मै अनुगमन गरेका गृह सचिवले त्यस क्रममा त्यहाँ देखिएका स–साना समस्या समाधान गर्न, सरसफाइमा समेत ध्यान दिन सम्बन्धित कार्यालय प्रमुखहरूलाई निर्देशन दिए ।

गृह मन्त्रालयको सुरक्षा तथा समन्वय महाशाखा प्रमुख नारायण प्रसाद भट्टराईलाई समेत साथमा लिएर अध्यागमन पुगेका गृह सचिव अर्यालले अध्यागमन विभागका महानिर्देशक निरौला, प्रमुख अध्यागमन अधिकृत नरबहादुर थापा, त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थल सुरक्षा प्रमुख एसएसपी कृष्णहरि शर्मा, त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थल नागरिक उड्डयन कार्यालयका हवाई सुरक्षा महाशाखा प्रमुख बच्चुराम श्रेष्ठ, त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थल नागरिक उड्डयन कार्यालयका विजय ढुङ्गाना लगायतलाई आ–आफ्नो क्षेत्रबाट सेवा प्रवाहलाई चुस्त राख्न निर्देशन दिएका थिए ।
“उपलब्ध स्रोत र साधनहरूको अधिकतम उपयोग गर्नुस् । जुन–जुन निकायको जिम्मेवारी भित्र जे जे पर्छ, तत्तत् निकायका कर्मचारीहरूले इमान्दार भएर त्यो पुरा गर्नुस्”, उनले भनेका थिए, “भएका उपकरणहरूलाई समयमै मर्मत गरी तत्काल सञ्चालनमा ल्याउनुस् । भौतिक पूर्वाधारका (निर्माण तथा मर्मतका) कार्यहरू छिटो सक्नुस् ।”
अन्तर्राष्ट्रिय विमानस्थलमा कुटाकुटसम्मको अवस्था निम्तिनुको एउटा प्रमुख कारण गृह मन्त्रालय अन्तर्गतकै अन्तर निकाय समन्वय प्रभावकारी हुन नसक्नु पनि हो । गृह सचिवले अनुगमनका क्रममा अध्यागमन विभागलाई विमानस्थलमा हुने कार्य प्रविधिमैत्री बनाउन, नेटवर्किङ र अन्तर निकाय समन्वय गरेर प्रभावकारी सेवा सञ्चालन गर्न निर्देशन दिए ।

उनले प्रमुख अध्यागमन अधिकृत नरबहादुर थापालाई अध्यागमन डेस्क थप्न भएको निर्णय तत्काल कार्यान्वयनमा ल्याउन, भिसा इन्ट्री डेस्क अपडेट राख्न, सबै डेस्कमा कर्मचारीको व्यवस्था मिलाउन तथा बिग्रेको सामान तत्काल मर्मत गर्ने व्यवस्था मिलाउन निर्देशन दिए । त्यस्तै, भन्सारमा एक्स–रे मेसिन बनाउने, लगेज आउने बेल्टमा बिग्रिएको मेसिन बनाउने विषयमा निर्देशन दिएसँगै थापाले डेस्क थप्ने विषयमा नागरिक उड्डयन प्राधिकरण (क्यान) बाट र तत्कालै थप्नुपर्ने मेसिन विभागबाट समयमै उपलब्ध गराएमा सहज हुने जानकारी गराएका थिए ।
विमानस्थल सुरक्षा प्रमुख, एसएसपी कृष्णहरि शर्माले न्यून स्रोत साधन र जनशक्तिका बीच बढ्दो सेवाग्राहीको चापलाई व्यवस्थापन गरिरहेको जानकारी गराएका थिए । अहिले २८ वटा मेसिन सञ्चालनमा रहेको, ती २४ घण्टा नै सञ्चालनमा रहने गरेको, त्यसका लागि तीन सिफ्टमा काम गर्दा ८४ जना जनशक्ति आवश्यक पर्ने तर ६० जना प्रहरीले मात्र काम गरिरहेको उल्लेख गर्दै उनले कम्तीमा १०० जना प्रहरी अधिकारी आवश्यक पर्ने बताएका थिए ।
अध्यागमनमा यात्रु चाप बढेकाले डेस्कको संख्या थप्ने निर्णय भए पनि कार्यान्वयनमा भने आएको छैन । विमानस्थलमा सुरक्षाका लागि एक्स–रे लगायतका आधुनिक उपकरण आवश्यक भए पुराना र ती पनि बिग्रेको अवस्थामा रहेकाले बेला–बेलामा समस्या आइरहने गर्छन् ।
अध्यागमनमा प्रस्थानतर्फका दुुईटा काउन्टर तत्काल सुचारु गर्न पनि गृह सचिवले त्यस क्रममा निर्देशन दिए । कर्मचारी हिँड्ने बाटोलाई डाइभर्ट गर्ने निर्णय भएको विषयलाई कार्यान्वयनमा लैजान पनि गृह सचिवले निर्देशन दिएको त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलस्थित नागरिक उड्डयन कार्यालयका हवाई सुरक्षा महाशाखा प्रमुख श्रेष्ठ बताउँछन् । गृह सचिवको निरीक्षणले ढिलासुस्ती भएका कामलाई छिटो सम्बोधन गराउन दबाब पर्ने उनले बताए ।
गृह सचिवको आकस्मिक अनुगमनबाट आफूहरू उत्साहित भएको अध्यागमन अधिकृतहरूले पनि बताएका छन् । “यसरी बेला–बेला आएर हाम्रा कुरा सुनिदिँदा र यहाँको वास्तविकता बुझिदिँदा हौसला प्रदान हुँदो रहेछ,” एक अध्यागमन अधिकृतले भने, “हामीले सेवाग्राहीलाई कसरी सेवा दिइरहेका छौँ भन्ने कुरा प्रत्यक्ष देखिन्छ पनि । कहाँ समस्या भइरहेका छन् र के कुराले तनाव र टकराब निम्त्याइरहेको छ भन्ने पनि थाहा हुन्छ । त्यसलाई समाधान गर्ने उपाय पनि भेटिन्छ ।”
त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थल नागरिक उड्डयन कार्यालयका विजय ढुङ्गानाले माथिल्लो निकायबाट समय–समयमा अनुगमन भएमा भएका कमजोरीहरू सच्याउन पनि सहज हुने बताए । “कतिपय कमजोरीहरू सधैँ काम गर्नेले देखेको हुँदैन । थाहा नपाउन सक्छ”, उनले भने, “यात्रुको गुनासो माथि पुगेको पनि हुन सक्छ । र गुनासो माथिबाट सम्बोधन गर्न सहज पनि हुन्छ ।”
फिल्ड तहमा काम गर्ने प्रहरी अधिकारीहरूले पनि आइजिपीसहित आएका गृह सचिवको अनुगमनले आफ्ना गुनासाहरू सम्बोधन हुने विश्वास लिएका छन् । त्यस क्रममा अध्यागमन विभागका महानिर्देशक निरौलाले कार्यालयमा आवश्यक स्रोतसाधन परिपूर्तिका लागि विभाग लागिपरेको र स–साना आवश्यकता तत्काल परिपूर्ति गराउने प्रतिबद्धता गृह सचिव अर्याल समक्ष गरे ।
प्रविधिमार्फत सेवा प्रवाहलाई सहज बनाउन जोड दिँदै आएका गृह सचिव अर्याल गृह मन्त्रालय तथा मातहतका निकायलाई प्रविधिमैत्री बनाउन पनि लागिपरेका छन् । अध्यागमनको समस्यालाई सकेसम्म न्यून गर्न उनले प्रविधिमै खास जोड दिएका छन् । त्यसले मुख्यतः त्यहाँको वातावरण सहज बनाउन भूमिका खेले पनि अन्ततः अन्तर्राष्ट्रिय विमानस्थलबाट देखिने देशको छविमै सकारात्मक परिवर्तन ल्याउनेमा गृह अधिकारीहरू आशावादी छन् ।
अनुगमनका क्रममा उनले जहाँ जहाँ समस्या देखे र जे जे निरीक्षण गरे, सो क्रममा प्रमुख तथा प्रतिनिधिसँग नछुटाईकन एउटा शब्द दोहोर्याई रहे, त्यो थियो –’सेवा प्रवाहमा असहजता नहोस्, आ–आफ्नो जिम्मेवारी इमान्दारीपूर्वक पुरा गरौँ र कुनै समस्या भए आफूलाई भन्नुहोस् म सहजीकरण गर्न तयार छु तर गृह प्रशासनको बेइज्जत हुने कार्य सह्य हुनेछैन ।’ यी वाक्यले पनि गृह सचिव अर्याल विगतका कुनै पनि खालका कलह देख्न र सुन्न चाहिरहेका छैनन् । ज जसको कमजोरीका कारण त्यस्तो परिस्थिति आएको भए पनि अब त्यो दोहोरिन हुँदैन भन्ने आशय नै गृह सचिव अर्यालमा प्रष्ट देखिन्थ्यो ।