काठमाडौँ । सरकारले निःशुल्क रूपमा वितरण गर्ने औषधिमध्ये केही औषधिको मौज्दात शून्य रहेको पाइएको छ ।
स्वास्थ्य सेवा विभागले प्रयोगमा ल्याएको सफ्टवेयरमार्फत परीक्षण गर्दा निःशुल्क वितरण हुने औषधिमध्ये केही औषधिको मौज्दात शून्य रहेको पाइएको हो ।
स्वास्थ्य संस्थामा रहेको मौज्दात निरीक्षण गर्दा २६४ संस्थामा सिटामोल, ३५३ संस्थामा अल्बेण्डाजोल, ७१६ संस्थामा भिटामिन ए क्यापसुल, ७२१ संस्थामा एमोक्सोसिलिन, ५३४ संस्थामा नाभि मलम र ३८० संस्थामा जीवनजलको मौज्दात शून्य रहेको पाइयो महालेखापरीक्षकको ६१औँ वार्षिक प्रतिवेदनमा उल्लेख छ ।
अत्यावश्यक औषधिसमेत स्वास्थ्य संस्थामा मौज्दात नहुँदा निःशुल्क औषधि वितरणसम्बन्धी नीतिको प्रभावकारी कार्यान्वयन भएको नदेखिएको प्रतिवेदनमा औँल्याइएको छ । स्वास्थ्य नीति, २०७६ मा सरकारले नागरिकको लागि अत्यावश्यक औषधि निःशुल्क उपलब्ध गराउने उल्लेख छ । नागरिकलाई निःशुल्क उपलब्ध गराउनुपर्ने औषधि तथा खोपको अभाव नदिन सरकारी स्वास्थ्य संस्थाको स्तर तथा औषधिको उपयोग अनुसार औषधिको औसत मौज्दात परिमाण र आकस्मिक माग विन्दुसमेत तोकेको छ । सरकारको नीति कार्यान्वयन गर्न अत्यावश्यक औषधि नियमित रूपमा आपूर्ति हुने व्यवस्था गरी सो को अनुगमन हुनुपर्ने महालेखापरीक्षकको प्रतिवेदनमा उल्लेख छ ।
सरकारले आधारभूत स्वास्थ्य सेवा अन्तर्गत ९८ प्रकारका औषधि निःशुल्क उपलब्ध गराउने उल्लेख छ । हाल सरकारी अस्पताल २०१, प्राथमिक स्वास्थ्य केन्द्र १८९ र हेल्थपोष्ट ३ हजार ७९४ समेत ४ हजार १८४ स्वास्थ्य संस्था रहेका र ती संस्थामार्फत नेपाल सरकारले स्वास्थ्यसम्बन्धी कार्यक्रमहरू सञ्चालन गर्दै आएको र निःशुल्क उपलब्ध गराउने औषधिसमेत यिनै स्वास्थ्य संस्थामार्फत वितरण हुने गरेको छ । निःशुल्क वितरण गरिने औषधिहरू प्रदेश, स्थानीय तह र संघीय तीनवटै सरकारमार्फत खरिद गरी वितरण हुने गरेको छ ।