मेरो ३ महिने क्यानडाको बसाइमा पाएको सानो अनुभवलाई जोडेर यसमा पस्कने कोसिस गरेको हुँ । बन जोगाउने रणनीतिमा कसैले के नीति अपनाउँछन् त कसैले के । यसमा क्यानडाले एउटा राम्रो जुक्ति निकालेछ । न्युब्रन्सविक राज्यको न्याकाविकमा ठुलो मात्रामा वातावरण संरक्षण गर्ने अभियन्ताहरू भेला भएर एउटा जुक्ति निकालेछन् । क्यानडा कोणधारी जङ्गलले ढाकेको देश पनि हो । जब क्यानडामा अत्यधिक मात्रामा बन फडानी हुन थाल्यो त्यस पश्चात् बनलाई कसरी जोगाउने भन्ने नै त्यहाँको मूल विषय बन्यो ।
उनीहरू विगत, वर्तमान र भविष्यको पुस्तालाई अनुकरण होस भन्ने एउटा सन्देश मूलक कार्य गर्न चाहन्थे । उनीहरू त्यस क्षेत्रका मानिसहरूलाई भेला गराए र एउटा ठुलो बन्चराको प्रतिमा बनाउने कुरामा निष्कर्षमा पुगे । विश्वमा सबै भन्दा ठुलो बन्चरो बनाई खडा गर्ने । सबैले त्यसलाई स्वीकार गरे । उनीहरूले गाउँ भरको बन्चराहरू जम्मा गर्न लगाए । तिनै बन्चराबाट उनीहरूले ५५ टन वजनको १५ मिटर लम्बाइ र ७ मिटर चौडाइको बन्चरो बनाइ छाडे र त्यसलाई त्यहाँ राखिदिए । अहिले उक्त बन्चरोले विश्वमा सन्देश मूलक सूचना प्रवाह गर्ने भएकोले धेरै मानिसहरू अवलोकनको लागी जाने गर्दछन् भने क्यानडाले त्यस पश्चात् जथाभाबी बन फडानी हुने कार्यमा स्वतःस्फूर्त रूपमा नियन्त्रण भएको कुरामा स्वीकार गर्दछन् । चेतना मूलक सन्देश र ज्ञानले सबैलाई प्रेरणा दिँदो रहेछ भन्ने एउटा उदाहरण हो ।


उनीहरू त्यस क्षेत्रमा पार्क निर्माण गरेका छन । जङ्गलमा लटरम्म स्याउका बोटहरू पनि छन । मेपल लगायत विभिन्न थरिका बोटबिरुवाहरू पनि छन । छेउमै सेन्टजोन नदी पनि छ उक्त नदीमा बोटिङको सुविधा पनि छ । नदीमा माछा मार्ने पनि गर्दछन् तर उनीहरू त्यसरी माछा मार्दा भाले हो की पोथी हो भनेर हेर्दछन् । यदि पोथी माछा भएमा नदिमै छाडिदिन्छन् । जङ्गलमा ट्रेकिङ रुटहरू पनि छ । जङ्गलको बिच बिचमा बस्ने बिसौनाहरू पनि छ । त्यहाँ पुग्ने पर्यटकहरूलाई केही समय भए पनि भुल्ने र घुम्ने स्थानहरू बनाई दिएका छन । उनीहरू प्रकृतिको दोहन होइन उपयोग गर्ने गर्दछन् ।

प्राकृतिक श्रोतको जथाभवी दोहन अवैज्ञानिक उपयोगले मानव जीवनमा विकराल समस्याहरू उत्पन्न गर्दछ । समस्या उत्पन्न गर्ने पनि मानिसले हो र समाधान गर्ने पनि मानिसहरूले नै हो । यसको ठिक विपरीत हाम्रो देशका दुन होस वा उपत्यकाहरूमा आकस्मिक रूपमा बढेको जनसङ्ख्या वृद्धि छ । यस्तो कार्यको समाधानार्थ कुनै प्रकारको अध्ययन गरिएको छैन । नेपालको पूर्व इलाम देखी पश्चिमको कञ्चनपुरसम्म रहेको ३८ जिल्लामा १२.७८ प्रतिशत भू-भाग चुरे क्षेत्र पर्ने र सोही क्षेत्रको उत्तर दक्षिण भागको १२ देखी १५ किलोमिटर सम्मको भाग चार कोषे झाडी भित्र रहेको छ । तर अहिले यही चार कोषे झाडीको दोहनले नेपालको बन जङ्गललाई बिरूप बनाउँदै लगेको छ ।
विकसित मुलुकको वास्तविकता के हो भने उनीहरू कागजमा जे लेख्छन् फिल्डमा पुग्दा पनि त्यही भेटिन्छ जसले गर्दा देश समुन्नत तर्फ अगाडि बढ्दछ । हाम्रो देशमा पनि बिस बर्से तराई चुरे संरक्षण गुरु योजना निर्माण गरी राष्ट्रपति चुरे तराइ मधेस संरक्षण विकास समिति गठन गरिएको छ तर यसरी गठन भएको विकास समितिले आम नागरिकमा सन्देश र चेतना मूलक कार्य गर्न सक्यो कि सकेन । त्यसको बारेमा चर्चा कुनै बेला अवश्य हुने नै छ । हाम्रो भूगोल वैभवशाली छ । कोणधारी देखी चार कोषे झाडीसम्म छ । यो हाम्रो देशको प्राकृतिक उपहार पनि हो । एउटै देशमा पनि विविध प्रकारको माटोहरू पनि छ । माटोको आकार प्रकृति बमोजिम नै बन जङ्गल बोट बिरुवा हुर्कने र बढने गरेको देख्न सकिन्छ । जस्तो तराइ वा बेसीमा पाँगो माटो छ भने भावर, चुरे पहाडमा र भित्री मधेस पुग्दा बलौटे पथरिलो माटो छ ।
यस्तो माटोमा रुखहरू ज्यादै सप्रिने हुँदा यस्तो स्थानमा बढी भाग जङ्गल हुने हो । हिमाल र पहाडबाट झर्दै गरेका नदिहरुले बगाएर थुपारिएको माटो नै यस्तो क्षेत्रमा पर्दो रहेछ जुन नेपालको चार कोषे झाडीमा रहने हो । यस किसिमको क्षेत्रमा उष्ण खालको हावापानी पनि हुने र गर्मी वर्षा यथेष्ट मात्रामा हुने हुँदा रुखहरू पनि अग्ला , बलिया र सधैँ हरियो भरियो हुने गर्दछ । सायद यसै कुरालाई मध्यनजर राखी राष्ट्रपति चुरे संरक्षण विकास समिति गठन गरिएको होला । जसको कारणबाट जङ्गल क्षेत्र नै बढेको छ भन्ने गरिन्छ तर त्यसको ठिक विपरीत जथाभाबी रूपमा प्राकृतिक श्रोतको दोहन र अवैज्ञानिक उपयोग गर्ने कार्य अहिले पनि रोकिएको छैन । ढुङ्गा , गिट्टी, बालुवाको उत्खनन यो वा त्यो कोणबाट भइरहेको छ ।
अहिले नेपालको संसदमा निर्माण मुखी सामाग्री (व्यवस्थापन तथा नियमन) सम्बन्धी बिधयक दर्ता भएको छ । उक्त बिधयकको दफा ४२ मा विदेशमा निर्माणजन्य सामाग्रीमा रोक लगाउन सक्ने प्रावधान छ तर केही साासदहरुले उक्त बिधयकमा बढी कर लिएर विदेशमा निर्माणजन्य सामाग्री निर्यात गर्नुपर्ने सम्मको व्यवस्था हुनु पर्ने भनी संशोधन प्रस्ताव गरेको पाइन्छ भने कसैले बिधयकको प्रस्तावनामा नै विदेश निर्यात गर्नुपर्ने भन्ने जस्ता कुराहरू राख्नु पर्ने तर्क गर्दछन् ।
अहिले पनि चुरे क्षेत्रको दोहनले तराईमा डुबान र बाढीले धेरै धनजनको नोक्सान पुराएको कुरा छिपेको छैन । कागजमा जे लेखे पनि चुरे क्षेत्रको नदी छेउमा राखिएका क्रसर उद्योग निर्बाध चलेका छन । हाम्रो श्रोत ढुङ्गा माटो हो यसैलाई बेचेर धनी हुनु पर्छ भनेर सरकारी निर्णय गर्दछौ भने हामी कतातिर गई राखेका छौँ गम्भीर विषय हो । अर्को तर्फ जङ्गल बढ्यो बन जोगियो भनेर कागजमा देखाउन पनि पछि पर्दैनौ ।


क्यानडामा कसैले घर बनायो भने उसको घर अगाडि एउटा रुख रोप्नै पर्दछ यो अनिवार्यता हो । उक्त कार्य क्यानेडियन हुन कि आप्रवासी हुन उनहिरुले त्यस कार्यलाई पालना गर्दो रहेछन् तर हामी काला पत्थर त कहिले के भनेर वातावरण संरक्षणका नारा दिने गर्दछौ । बन जोगाएको नाममा रकम पनि लिने गर्दछौँ । उनीहरू प्रकृतिको वैज्ञानिक उपयोग गर्दछन् तर हामी प्रकृतिको दोहन गर्दछौ । उनीहरू नदीमा माछाको प्रजननलाई पनि ध्यान दिन्छन हामी नदीमा भएका सबै माछालाई नष्ट गर्ने गरी करेन्ट, विष ,र बम पड्काउँछौ । उनीहरू वन्यजन्तुलाई माया गर्दछन् । उसको बास स्थान मात्र होइन उ हिंडने बाटोलाई पनि व्यवस्थित गर्दछन् । तर हामीहरू लोपोन्मुख जीव जन्तुको हाड छाला र सिंह , खुर , हड्डी , रौँ पनि बाँकी नराखेर धनी हुने लालसा राख्दछौ ।
क्यानेडियनहरू वन्यजन्तु मार्दैनन् किनकि पर्यावरणको लागी उनीहरूको आफनै भूमिका छ । बनमा भएको फलफूलहरू टिप्दैनन् । बनमै रहने जीव जन्तुको आहार हो भन्दा रहेछन् । उनीहरू बनको फलफूल अप्रशोधित हो भन्दछन् । उनीहरू कृषि फार्मबाट उत्पादित फलफूल मात्र खाने गर्दछन् । कृषि उद्योगलाई पनि टेवा पुर्याउँछन् । कुनै पनि बस्तु स्वास्थ्य वर्धक हो होइन भन्ने बारेमा एकिन गर्दछन् । उनीहरू कुकुर पाल्दछन् कुकुर छाडि दिदैनन ।
कुकुर हिँडाउँदै गर्दा कुकुरले दिसा गरयो भने तुरुन्तै आफैले उठाउँछन् र गारवेजमा लिएर फाल्ने गर्दछन् । कुनै पनि फोहर बस्तु सडक पेटी समुन्द्र ताल तलैया नदी यत्र तत्र फाल्दैनन् । आफ्नो फोहर उठाएर गारवेजमा फाल्ने गर्दछन् । उनीहरू कर तिर्दछन् अनि करको सदुपयोग पनि गर्दछन् । कर तिर्दा गर्भ गर्दछन् आफूले तिरेको कर जुनसुकै बेला आफ्नो मेलबाट हेर्न सक्दछन् । राज्यले नागरिकलाई संरक्षण गर्दछन् अनि नागरिकले पनि राज्यलाई सहयोग गर्दछन् । तर हामी त्यसको ठिक उल्टो गर्दछौँ । हामीले गर्न खोजेको त्यो नीति हो वा यो नीति हो कसरी र कहिले थाहा पाउने होला ?
क्रमशः