राजधानीबाट केही समयको सफर पछि पुग्न सकिने काभ्रेको दक्षिणी भेगमा अवस्थित बेथानचोक गाउँपालिका पर्यटनको प्रचुर सम्भावना बोक्नुका साथै पर्यटकका लागि आकर्षणको विन्दुका रूपमा रहेको छ । शिरमा बेथानचोक नारायण स्थानको निवासले यस ठाउँको गरिमा अझै उच्च गराएको छ । ऐतिहासिक र पुरातात्त्विक महत्त्वले सज्जित यहाँका हरेक चिज, वस्तु प्राकृतिक अनि अलौकिक छन् भन्दा अत्युक्ति नहोला।
चार पाखे कङ्क्रिट बिल्डिङले पुरिएको सहरलाई छिचोलेर बेथानचोक प्रवेश लगत्तै मज्जाको कालोपत्रे सडकको यात्राले सुनमा सुगन्ध थपिदिन्छ । बाटो छेउछाउमा होस् वा डाँडाको बिच बीचमा, मौलिक शैलीमा बनेका ढुङ्गा माटोका घरहरूको सम्मिश्रणले मन नै आनन्दित पार्दछ ।
चराचुरुङ्गीको चिरिबिरी र कोकिल ध्वनिले गुन्जित, खोलानालाको कलकल आवाज, स्वच्छ हावाको झोक्काको प्रहार गर्दा मन शीतल र तन प्रफुल्लित हुन्छ । आँखालाई शीतलता दिने हरियाली पहाड, डाँडाकाँडाले सुशोभित सेरोफेरो, उत्तरतिर चाँदी झैँ टल्किएका लस्करै हिमालको अवस्थितिको दृश्य, निलो सुकिलो आकाश, हल्ला÷कोलाहलदेखि केही पर, प्रकृतिसँगको सानिध्यतामा मग्न हुँदै सुकुनको सेरोफेरोमा आनन्दित महसुस हुने सुन्दरता, स्वच्छता र सौम्यताको पगरी कसेर महाभारतको काखमा अवस्थित प्रिय नगरी बेथानचोक अति नै मनमोहक र रमणीय छ ।
वडा नं १ मा च्याम्राङ्बेसी, वडा नं २-३ मा ढुंखर्क, वडा नं ४ चलाल गणेश स्थान, वडा नं ५ च्यासिङ्गखर्क र वडा नं ६ भुग्देउको मिश्रित सेरोफेरोले यहाँको फेरिफेरी साह्रै रोमाञ्चित छ । ढुंखर्कदेखी पूर्वमा मेदाम्सु, पश्चिममा देउराली,उत्तरमा तिप्चोक र दक्षिणमा सुकुमफेदीसम्मको भू-भाग बेथानचोक गाउँपालिकाले समेट्छ ।
तीन तलेको सुन्दरतामा मग्न हुँदै गर्दा यहाँ आउने पर्यटकहरू आफूलाई प्रकृतिमै समर्पित गरेर मनलाई शीतल पार्दै फर्कन्छन् । यसै पनि झरनै झरनाको गाउँ बेथानचोक १ मा तीनतले झरनाका अलावा मादले झरना, इन्द्रेणी झरना, छ्याङ छ्याङ खोला झरना, रतन खोला झरना पनि रहेको तर यिनीहरूलाई पनि पर्यटन प्रवर्द्धनको खाँचो उत्तिकै छ ।
त्यस्तै,वडा–२ मा अवस्थित शिव-पार्वती गुफाले पुरातात्त्विक महत्त्व साथ साथै प्राकृतिक रूपमा नै ढुङ्गाहरूमा कुदिएका विभिन्न देवी,देवताका आकृति र जुन शैलीमा यो रहेको छ,यो एकदमै रोचक छ । गेल्डुङ बजारको मुटुमा अवस्थित मुक्तेश्वर महादेवको निवास,गुवाभन्ज्याङ्ग,पर्यापर्यटनलाई जोड दिँदै प्रकृति बीच मौजुद पिकनिक स्पोट ‘नाङ्गे चौर’ ले बेग्लै भव्यता थपेको छ ।
वडा–३ झनै विशेष यसर्थमा छ, यहाँ काभ्रे जिल्ला भरिकै महाभारत शृङ्खलाको अग्लो पहाड बेथानचोक नारायण स्थान रहेको छ। समुद्री सतहदेखि ३०१८ मि. को उचाइमा अवस्थित यस स्थान काभ्रे जिल्ला भरिकै एक सुपरिचित पर्यटकीय गन्तव्य हो ।
पदयात्रा गर्न मिल्ने सुन्दर मार्गहरू, सदाबहार जङ्गलहरू, बहुमूल्य जडीबुटी, विभिन्न प्रजातिका फूलहरू मानिसहरूलाई स्वागत गर्न तयार मुस्कानहरू साँच्चै मनै लोभ्याउने दृश्यहरू हुन् । ऐतिहासिक महिमा बोकेको नारायणस्थान यो भूगोल कै ताज बनी हरदम रक्षार्थ छ ।
गुम्बु डाँडा को भ्यूटावरबाट चारैतिर देखिने आकर्षक हरियाली पर्यावरण बिचको च्याल्टी, कुने खर्क, महाँकालस्थान साथै खोपासीका हरिया फाँट, पनौती बजारको परिदृश्य साँच्चै मन हर्ने खाले छन् । त्यति मात्रै,निर्माणाधीन अस्पतालको कार्य तीव्र रूपमा भइरहेछ, निर्माणाधीन अस्पतालको निर्माण सम्पन्न भएपछि बेथानचोकवासीहरुले आफ्नै पालिकाभित्र गुणस्तरीय स्वास्थ्य सेवा प्राप्त गर्ने अपेक्षा राख्न सकिन्छ ।
जनयुद्ध कालको चर्चित ठाउँ ‘कामिडाँडा’ अवस्थित बेथानचोक-५,च्यासिङ्खर्क यसै पनि खोपासी –ताल्ढुङा अनि गेल्डुङ्ग गोल्माकोट सडकको मिलनबिन्दु रहेकोले पनि विशेष छ नै । साथ साथै ऐतिहासिक तथा धार्मिक महत्त्व बोकेको श्री कपेर महाकाल मन्दिर र अङ्ग्रेज र गोर्खाली युद्ध गरेको गढी भन्ने भनाइ जनजिब्रोमा रहे पनि वास्तविक तथ्य नहुँदा यो अलिक छाँयामा परेको झैँ भान हुन्छ । यसको वास्तविक इतिहास,तथ्य थाहा नभएको हुनाले यस क्षेत्र सोचे अनुरूप उजागर हुन सकेको छैन।ढिलो चाँडोले कपेरले पनि आफ्नो ओझेलिएको इतिहास प्राप्त गर्ने कुरामा विश्वस्त÷आशावादी छौँ ।
बेथानचोक-६, भुग्देउ महाकाल यहाँको मिलेको भूभाग,मौलिक शैलीमा बनेका बासस्थान सहितको चिटिक्क मिलेको गाउँ, प्रकृतिको काखमा भुग्देउ तावरीमा रहेको कण्डारक ऋषिले तपस्या गरेको स्थल ब्राह्मण डाँडा जस्तो इतिहास बोकेका पर्यटकीय गन्तव्यले सुशोभित छ ।
तामाङ जातिको बाहुल्यता रहेको बेथान चोकमा, ब्राह्मण, क्षेत्री, नेवार,दलित आदिको बसोबास छ । ब्राह्मण, क्षेत्री समुदायमा खैजेडी भजनमा ताली, चुट्का बजाउन नेवारी दाजुभाइको उपस्थिति रहन्छ । नेवारको धिमे बाजामा होस् वा तामाङको सेलो घन्किँदा सौहार्दताका साथ अरु समुदाय सहभागी हुन पुग्दछन्, यसैबाट यहाँको समाजको आपसी समझदारी, सहिष्णुताको यथार्थ चित्रण हुन्छ ।
कुशल नेतृत्वलाई नेतृत्व सुम्पिँदै गर्दा सोचिएका, आशा गरिएका यावत् कुराहरू बिस्तारै कार्यान्वयन भइराखेको नै छ । युवाको परिष्कृत भिजन, मिसन र एक्सन सहित काम भइराखेको पाउन सकिन्छ ।
समृद्धिको यात्रामा बेथानचोक लम्कँदै छ । बिस्तारै स्थायी रूपमा पक्की सडक निर्माण, स्वच्छ खानेपानीको सुनिश्चितता, अत्याधुनिक प्रविधि सहितको अस्पताल, प्राविधिक र व्यावसायिक अवधारणा सहितको स्कुल, पर्यटन प्रवर्द्धन सहितको पार्क, एक उत्पादन एक वैज्ञानिक धारणा आदि इत्यादि सहितको सुन्दर परिकल्पनाको मेरो बेथानचोक म मेरा आँखा अगाडि छर्लङ्ग देख्न सक्छु ।
पालिकामा के आवश्यक छ भन्ने कुरा भिजनरी नेतृत्वले अध्ययन गर्दै निरन्तर लागि पर्नुभएको छ । यहाँका धेरै जनता कृषि पेसामा छन् । कृषिमा आधुनिकीकरण गर्दै यसलाई आधुनिक कृषि प्रणालीतर्फ लैजान सके सोचे झैँ कृषि क्रान्ति हुने थियो ।
विकास निर्माण भनेको बाटो खन्नु मात्रै होइन, मुख्य कुरा चेतना हो । शिक्षामा बढी जोड दिँदै शिक्षालाई प्रविधिसँग जोड्दै लैजान सकेमा राम्रै उपलब्धि हुने देखिन्छ । प्रविधि विस्तार आवश्यक छ ।
अचेल मौलिकतालाई विस्थापित गर्दै आधुनिकता हाबी भइरहेको अवस्थामा आधुनिकताको आडमा मौलिकतामा आँच आउन भएन । गाउँको आत्मीयता अचेल सहरको औपचारिकता झैँ हुने हो भने गाउँ गाउँ रह्यो र ? त्यसैले आफ्नो मौलिकपनाको जरो बरकरार राख्दै आफ्नै बलबुताबाट पर्यटन व्यवसाय हाकीँ राखेकाप्रति पनि उत्तिकै सम्मान छ ।
बेथानचोक बन्दै छ, बनिरहेछ, अगि बढिरहेछ । हरित प्रकृतिको काखमा लडीबडी गर्दै, स्वच्छ,कन्चन, निश्चल हावा खाँदै म पनि प्रकृतिसँगै मुसुमुसु हाँसिरहेछु ।
अनुपम कलाकृतिले सुशोभित भएर, अटुट पहाडहरूको लहरबिच फिँजिएर बेथानचोक मुसुक्क हाँसिरहेछ, तत्पर छ पाहुनाको स्वागतमा।पहाडहरू पर्खिरहेछन्, कुरिरहेछन् । अतः पाखा पखेरा, खोलानाला, सम्पदा सुरम्य भाकामा भन्ने छन्–अतिथि देवो भव:
हजुरहरू पनि एक पटक अनुकूल समय मिलाएर अवश्य बेथानचोक भ्रमण गर्नुहोला ।
मुटु भन्दा प्यारो भूमि छोडी अन्त कता जाउँ
प्रिय नगरी बेथानचोक समर्पित छौँ तिम्रै नाउँ