कला र साहित्यका विविध विधामध्ये सिनेमा वा चलचित्र एक लोकप्रिय विधा हो । चलचित्र समाजको इतिहासको पटाङ्गिनीमा बसेर वर्तमानको प्रतिबिम्ब प्रस्तुत गर्ने दर्पण हो । यसका साथै विश्व मञ्चमा आफ्नो संस्कृति जीवनशैली र विचारलाई सशक्त रुपमा प्रस्तुत गर्न मद्दत गर्ने अस्त्र पनि हो । समकालीन समयमा चलचित्र एवं संगीतले वल्र्ड अर्डरमा महत्त्वपूर्ण सफ्टपावर उपकरणका रूपमा भूमिका निर्वाह गरेका हामी माझ थुप्रै दृष्टान्तहरू छन् । यी त भए एउटा सफल चलचित्रले देशको अन्तर्राष्ट्रिय छवि स्थापित गर्ने सन्दर्भमा प्रस्तुत गर्न मिल्ने केही तर्कहरू तर यो आलेख मुख्यतया: बलिउडमा यही अगस्टमा प्रदर्शनमा आएको चलचित्र स्त्री २ को सफलताको पछाडि अन्तर्निहित कारणहरू र नेपाली चलचित्र क्षेत्रले स्त्री २ को सफलताबाट सिक्नुपर्ने पाठहरूमा केन्द्रित रहेको छ ।
भनिन्छ, नपत्याउने खोलाले बगाउँछ । वास्तवमा, प्रदर्शनमा आउँदाको बखत पनि स्त्री २ नपत्याउने खोला नै त पक्कै थिएन । सन् २०१८ को सफल चलचित्र स्त्रीको सिक्वेल भएको हुँदा चलचित्र सफल हुने अड्कल प्रायः सबैले गरेका थिए । तर फिल्मले रिलिज भएकै दिनदेखि आफ्नो रौद्र रूप बक्स अफिसमा देखाई आफू खोला नभई सुनामी भएको प्रमाणित गर्न कुनै कसर बाँकी राखेन । फिल्मले बलिउड बक्स अफिसका सम्भव भयसम्मका सबै रेकर्ड तोड्यो । अझ हिन्दी भाषातर्फ त स्त्री २ बलिउड बक्स अफिसमा सर्व कालीन धेरै कमाउने फिल्म बन्न सफल बन्यो । भारतीय फिल्म समीक्षक तरन आदर्शका अनुसार स्त्री २ ले प्रदर्शनमा आएको ३४ औँ दिन अर्थात् पाँचौँ मङ्गलबारसम्म घरेलु बक्स अफिसमा ५८६ करोड भारुको कमाई गरिसकेको छ । राम्रै ब्यानरका फिल्महरूले आफ्नो पहिलो हप्तामा गर्ने व्यापारभन्दा गतिलो व्यापार यो फिल्मले पाँचौँ हप्तामा गरिराख्नेले फिल्म प्रति दर्शकको क्रेज प्रष्ट झल्किन्छ । यस्तो अविश्वसनीय क्रेज बलिउडमा बिरलै देख्न मिल्दछ ।
स्त्री २ ले बक्स अफिसमा जुन कलेक्सन गरिराखेको छ, त्यो आफैमा अविश्वसनीय र अद्भुत रहेको छ । अब चर्चा गरौँ स्त्री २ को सफलताका मुख्य कारण बारे ।
१. कन्टेन्ट
स्त्री २ को कन्टेन्ट निकै बलियो छ । यसको स्क्रिन प्ले दर्शकलाई सुरुदेखि अन्त्यसम्म बाँधिराख्न सफल देखिन्छ । फिल्मको कुनै पनि ठाउँमा दर्शकलाई रत्तीभर पनि बोर लाग्दैन । हरर कमेडी जनराको यो फिल्मको विषयवस्तु आफैमा सशक्त र इंगेजिङ छ ।
२. अभिनय
राजकुमार राव र पंकज त्रिपाठी अत्यन्तै उम्दा कलाकार हुन् । अपेक्षित रुपमा दुवैको अभिनयका साथै कमिक टाइमिङ लाजवाव छ । श्रद्धा कपुरको अभिनय निखारिएर नयाँ उचाइमा पुगेको प्रतीत हुन्छ । अभिषेक बेनर्जिको अभिनयले उनको पोटेन्सियल ट्यालेन्ट राम्रैसँग उजागर गर्दछ । अपार शक्ति खुरानाको ह्युमर रसपूर्ण लाग्दछ ।

३. संगीत
फिल्मका सबै गीत कर्णप्रिय छन् तर मधुबन्ति बाग्चिको स्वरमा रहेको ’आज कि रात’ हलको पर्दामा गुन्जिदा माहोल नेक्स्ट लेभलमा पुग्दछ । बिल बोर्ड हिन्दी चार्टमा पछिल्लो ५ साता यो गीत टपमा रहनुले पनि गीतको लोकप्रियता प्रष्ट पार्दछ । फिल्मको अन्त्यमा बज्ने पवन सिंहको स्वरमा सजिएको “आयी नही“ गीत नसक्किन्जेल दर्शक बाहिर ननिस्किनुले गीतको जादु प्रष्ट हुन्छ ।
४. सशक्त क्यामियो
फिल्ममा अक्षय कुमारको क्यामियो अत्यन्तै प्रभावशाली देखिन्छ । कथासँग जोडिएको गीतमा तमन्ना भाटियाको सानो समयको क्यामियो पनि दमदार रहेको छ । गीत गुन्जिराख्दा सँगसँगै फिल्मको कथा अघि बढिराख्नुले निर्देशकको चातुर्यता झल्काउँदछ ।
थिएटरमा हेरेका मध्ये थोरै भूमिले मात्र राम्रो थिएटर एक्सपेरियन्स र ’पैसा बसुल’ अनुभूति दिलाउँछन् । जसमा स्त्री २ पूर्णरूपमा खरो उत्रिएको मैले महसुस गरेको थिए ।
अब चर्चा गरौँ नेपाली चलचित्रहरूले स्त्री २ को रेकर्ड ब्रेकिङ सफलताबाट सिक्नुपर्ने केही महत्त्वपूर्ण पाठहरू को बारेमा ।
सिक्नुपर्ने पहिलो महत्त्वपूर्ण पाटो विषयवस्तु अर्थात् कन्टेन्टका हो । प्राय नेपाली चलचित्रहरू अत्यन्तै कमजोर विषयवस्तुमा आधारित हुन्छन् । फिल्मको जग नै कमजोर छ भने त्यसमा जति नै एस्थेटिक्स प्रयोग गरिए पनि फिल्म अन्ततः कमजोर नै बन्न जान्छ र त्यसपछि फिल्मको हविगत के हुन्छ मैले भनिराख्नु पर्दैन । स्त्री २ को कन्टेन्ट अत्यन्तै बलियो थियो । जसले दर्शकलाई साढे दुई घण्टा सहजै थिएटरमा बाँधेर राख्न सक्यो । फिल्मको हरेक मोमेन्ट दर्शकले इन्जोय गर्दछन् । नेपाली चलचित्रको सवालमा भने यो पाटो सधैँ कमजोर देखिने गर्दछ । कुनै फिल्म त यति बोरिङ हुन्छ कि प्रायः दर्शकको नजर पर्दामा भन्दा मोबाइलको स्क्रिनमा बढी हुने गर्दछ ।
सिक्नुपर्ने अर्को महत्त्वपूर्ण पाटो हो अभिनयको । कुनै नेपाली चलचित्र राम्रो विषयवस्तुमा आधारित हुन्छन् तर फिल्ममा कलाकारको अभिनय कमजोर भइदिँदा फिल्म नुन बिनाको तरकारी बन्न पुग्दछ । पछिल्लो समयमा धेरै नेपाली चलचित्रमा कलाकारहरूको ओभर एक्टिङलाई दर्शकहरूले पचाउन गाह्रो परिराखेको देखिन्छ । स्त्री २ मा सबै कलाकारहरूले अत्यन्तै उम्दा तर स्वभाविक अभिनय गरेका छन् । क्यामेराको अगाडि अभिनय गरिराखेका छन् भन्ने क्षणभर पनि दर्शकलाई महसुस हुँदैन । दर्शकहरू फिल्मका पात्रहरूसँग निकै नै इन्गेज हुन्छन् । यो नै स्त्री २ को सफलताको एउटा ठूलो आधार पनि हा े।
विषयवस्तुमा नवीनता नेपाली चलचित्रहरूले स्त्री २ बाट सिक्नुपर्ने अर्को ठूलो पाठ हो । नेपाली चलचित्र उद्योगमा एउटा नराम्रो प्रवृत्ति लामो समयदेखि विद्यमान देखिन्छ– कुनै विषयवस्तुमाथि बनाइएको फिल्म चल्यो भने त्यही ट्रेन्डलाई पछ्याउँदै त्यही ढर्रामा फिल्म बनाइराख्ने । नेपाली माटो र परिवेश सुहाउँदो ’अर्ग्यानिक फिल्म’ बनाउने ट्रेन्डले निःसन्देह म जस्ता थुप्रै दर्शकलाई फिल्म हलसम्म तानेको हो । तर अर्ग्यानिक फिल्म पस्किने भन्दै दयाहाङ राईलाई एउटै कन्टेन्टको विषयवस्तुमा आधारित फिल्ममा बारम्बार खेलाउँदा दर्शकले फिल्ममा नवीनता भेटाउँदैनन् र अन्ततः दर्शकहरू फिल्म हेर्न हलसम्म नै जाँदैनन् किनकि फिल्मको विषयवस्तु अत्यन्तै अभ्भियस र प्रिडिक्टिभ भइदिन्छ ।
मैले चर्चा गर्न खोजिराखेको अन्तिम पक्ष हो चलचित्रको प्राविधिक पक्ष । समकालीन दर्शक माझ फिल्म हेर्नका लागि थुप्रै विकल्पहरू उपलब्ध छन् । हलिउडका मार्बल मूवीदेखि दक्षिण भारतीय निर्देशक राजा मौलीका फिल्महरू । साई– फाई मूवीदेखि पिरियड ड्रामाहरू । अब फिल्म हेर्ने मामिलामा पनि दर्शकहरू ’भ्यालु फर मनी’ को विषयमा निकै सजक हुन थालेका छन् । हलिउड र बलिउडका फिल्महरू विशेषतः भी एफ एक्स, सिनेमेटोग्राफी, एनिमेसन जस्ता प्राविधिक पक्षहरूमा अत्यन्तै सजगता र चातुर्यताका साथ ध्यान पु¥याई निर्माण गरिएका हुन्छन् । र प्राविधिक कसीमा गुणस्तरीय मान्न सकिने चलचित्र हेर्न अभ्यस्त दर्शकलाई अपत्यारिलो तवरले प्राविधिक रूपमा सम्पादित चलचित्र हास्यास्पद लाग्नु अस्वभाविक किमार्थ होइन । तसर्थ, नेपाली चलचित्र उद्योगले यो पक्षमा पनि विशेष ध्यान दिनु जरुरी देखिन्छ ।
नेपाली भएको नाताले हामी सबै चाहन्छौँ नेपाली चलचित्र उद्योगको समुन्नति होस् । बक्स अफिसमा नेपाली चलचित्रहरूले सन्तोषजनक व्यापार गरुन् । सिनेमाको चर्चा विश्वभर चुलियोस् । नेपाली चलचित्रहरूले पनि एकेडेमी अवार्ड्समा आफ्नो सशक्त दावेदारी पेश गरुन् । तर नेपाली चलचित्र भन्दैमा कमसल चलचित्रलाई पनि इमोसनल भएर हेर्न हलसम्म जाने दर्शकको सङ्ख्या कतिसम्म होला ? के प्रायोजित दर्शक र समीक्षकले मात्र फिल्मलाई फ्लप हुनबाट बचाउन सक्लान् ? अवश्य पनि फिल्म सुपर हिट हुन फिल्म राम्रो हुनै पर्दछ । अनि मात्र सकारात्मक ’वर्ड अफ माउथ’ ले फिल्मलाई व्यावसायिक रूपमा सफल बनाउँछ ।
एउटा फिल्म सफल हुनुले अर्थतन्त्रमा यसले पुर्याउने ’मल्टिप्लायर इफेक्ट’ मा मतैक्यता अवश्य रहन्छ । फिल्म सफल हुँदा फिल्म निर्माण पक्षले मात्र कमाउन्न बरु यसका कलाकार, क्रु सदस्य, हल व्यवसायी, हलभित्रका भेन्डर सबैले कमाउने मौका पाउँदछन् । यो त भयो प्रत्यक्ष लाभको कुरा । अप्रत्यक्ष रुपमा विश्लेषण गर्दा एउटा उत्कृष्ट फिल्म अन्तर्राष्ट्रिय स्तरसम्म पुग्ने अवसर रहन्छ, जसले देशको कला संस्कृतिलाई अविश्वसनीय तवरले ठूलो ग्लोबल अडियन्स माझ पुर्याई देशको ब्रान्डिङमा योगदान गर्ने ल्याकत समेत राख्दछ । तसर्थ, नेपाली चलचित्र उद्योगको विकास भनेको अन्ततोगत्वा राष्ट्रकै विकास हुने हुँदा यसका लागि सरोकारवाला सबै पक्ष गम्भीर भएर लाग्न जरुरी देखिन्छ।