नेपालको कूटनीति र अन्तर्राष्ट्रिय सम्बन्धमा विभिन्न उल्झन आइरहँदा नेपाली सेनाले विभिन्न मुलुकसँगको संयुक्त सैन्य अभ्यासमार्फत यसमा पुर्याइरहेको योगदान उदाहरणीय छ ।
२०७२ सालमा संविधानसभाबाट जारी भएको संविधानमा असन्तुष्टि पोख्दै भारतले नेपालमाथि लगाएको करिब पाँच महिना लामो नाकाबन्दी हट्दा सैन्य कूटनीतिको खुबै चर्चा भएको थियो । किनभने नेपाल र भारतको राजनीतिक नेतृत्वबीचको सम्बन्धमा चिसोपन ह्वात्तै बढेको त्यो बेला तत्कालीन प्रधानसेनापति राजेन्द्र क्षेत्रीले अघि बढाएको सैन्य कूटनीतिक पहल अन्ततः नाकाबन्दी हटाउन उपयोगी बनेको भनेर प्रशंसित समेत बनेको थियो ।
नेपालको अन्तर्राष्ट्रिय सम्बन्धसँगै बृहत्तर राष्ट्रिय हितमा सैन्य कूटनीति कसरी महत्त्वपूर्ण बन्दै छ भनेर देखाउने यो एउटा दृष्टान्त हो ।
नेपाली सेनाले अन्तर्राष्ट्रिय स्तरमा विभिन्न मित्रराष्ट्रहरूसँग संयुक्त सैन्य अभ्यासहरू सञ्चालन गर्दै आएको छ । अब यी सैन्य अभ्यासहरू केवल सैन्य कूटनीतिक दृष्टिकोणले मात्र महत्त्वपूर्ण नभई नेपालको अन्तर्राष्ट्रिय प्रतिष्ठालाई थप उचाइमा पुर्याउने माध्यम बनेका छन् । विभिन्न राष्ट्रहरूसँग मिलेर सञ्चालन गरिएका यी सैन्य अभ्यासहरूले नेपाली सेनाको व्यावसायिक दक्षता र सामरिक क्षमता त वृद्धि गरेका छन् नै, सैन्य क्षेत्रको ठूलो एक्सपोजरसमेत मिलेको छ ।
द्विपक्षीय र बहुपक्षीय सैन्य अभ्यासहरूले नेपाली सेनालाई संकट व्यवस्थापन, मानवीय सहायता, प्रतिआतंकवाद र शान्ति मिसनका क्षेत्रमा विशेष अनुभव र दक्षता पनि प्रदान गर्दै आएका छन् । यस्ता अभ्यासहरूले नेपाली सेनाको साथसाथै नेपाल राष्ट्रकै गौरवलाई विश्वमाझ चिनाउन मद्दत गरेका छन् । यी सैन्य अभ्यासहरू मार्फत नेपाली सेनाले अन्तर्राष्ट्रिय स्तरमा प्रभावकारी भूमिकासमेत खेल्दै आएको छ ।
नेपाली सेनाले भारतसँग गर्दै आएको संयुक्त सैन्य अभ्यास ‘अभ्यास सूर्य किरण’ सन् २०११ देखि नै नियमित रूपमा सञ्चालन हुँदै आएको छ । यो अभ्यासले नेपाल-भारत सम्बन्धलाई थप मजबुत बनाउनुका साथै दुवै देशका सैनिकहरूको व्यावसायिक अनुभव आदानप्रदानको प्रमुख थलो बन्न पुगेको छ । सन् २०२३ मा पछिल्लो पटक सम्पन्न यो अभ्यासले विशेष गरी खोज तथा उद्धार, मानवीय सहायता र शान्ति स्थापना कार्यमा दक्षता अभिवृद्धि गर्न महत्त्वपूर्ण भूमिका खेलेको छ । उक्त तालिम भविष्यमा समेत निरन्तर सञ्चालन हुने सेनाको भनाइ छ ।
त्यस्तै, अमेरिकी र नेपाली सेनाबीच विभिन्न समयमा प्रतिआतंकवाद, प्रतिविद्रोह, मानवीय सहायता तथा विपद् व्यवस्थापनका क्षेत्रमा आधारित रहेर विभिन्न तालिम तथा अभ्यासहरू सञ्चालन हुँदै आएका छन् । सो क्रममा ‘अभ्यास ब्यालेन्स नेल’ सन् २००३ देखि प्रायः नियमित रूपमा भइरहेको छ भने अभ्यास ‘प्यासिफिक एन्जल’ पनि दुई देशका सेनाहरुबीच हुँदै आएको छ । यस अभ्यासको पछिल्लो चरण २०८१ भदौ ३० देखि असोज ४ गतेसम्म काठमाडौँ लगायत विभिन्न स्थानमा सञ्चालन भएको थियो ।
यस्ता अभ्यासले दुवै देशका सेनालाई एक अर्काको ज्ञान र अनुभव आदानप्रदानमा सहयोग पु¥याएका छन् । प्राकृतिक तथा अन्य विपद् लगायतका समयमा सहकार्य गर्नका लागि सहज समेत बनाएका छन् ।
संयुक्त अभ्यासको बृहत् दायरा
नेपाली सेनाले मित्रराष्ट्र चीनसँग पनि द्विपक्षीय सैन्य अभ्यास गर्दै आएको छ । सन् २०१७ देखि सञ्चालन हुँदै आएको अभ्यास सगरमाथा बीचमा कोभिड महामारीका कारण रोकिएको थियो भने पछिल्लो अभ्यास यही असोज ५ गतेबाट शुरु भएको छ । यसले नेपाली सेना र चिनियाँ सेनाबीचको आपसी सहकार्यलाई प्रगाढ बनाउने थलोका रूपमा भूमिका खेलेको देखिन्छ । साथै, यस अभ्यासले दुवै राष्ट्रलाई विपद् व्यवस्थापन र मानवीय सहायता कार्यमा सहकार्य गर्न सिकाएको छ । यस किसिमका सैन्य अभ्यासले दुई छिमेकी देशहरू नेपाल-चीनबीचको सम्बन्धलाई थप सुदृढ बनाउने अपेक्षा गर्न सकिन्छ ।
सैन्य कूटनीतिक क्षेत्रमा नेपाली सेनाले द्विपक्षीय अभ्यासहरूमा मात्र होइन, बहुपक्षीय प्रतिस्पर्धात्मक अभ्यासहरूमा पनि महत्त्वपूर्ण सहभागिता जनाउँदै आएको छ । बेलायतमा सञ्चालन हुँदै आएको ‘अभ्यास क्याम्ब्रियन पट्रोल’ प्रतिस्पर्धात्मक अभ्यासमा नेपाली सेनाले सन् २०१४ देखि निरन्तर सहभागिता जनाउँदै आएको छ । विश्व स्तरीय यस प्रतिस्पर्धामा नेपालले हालसम्म दुई पटक स्वर्ण, चार पटक रजत र तीन पटक कास्य पदक समेत जितिसकेको छ । शारीरिक र मानसिक सहिष्णुताको कठिनतम् परीक्षण गर्ने यो अभ्यासले नेपाली सेनाको अन्तर्राष्ट्रिय स्तरमा उच्च प्रतिष्ठा कायम राख्न सहयोग पुर्याएको छ ।
यस्तै, श्रीलंकामा सञ्चालन हुने अभ्यास ‘करमोरेन्ट स्ट्राइक’ पनि नेपाली सेना सहभागी हुने प्रतिस्पर्धात्मक क्षमतामा आधारित महत्त्वपूर्ण अभ्यासहरूमा पर्दछ । सन् २०१५ देखि नेपाली सेना यस अभ्यासमा सहभागी हुँदै आएको छ जसले विभिन्न राष्ट्रका सेनाहरूसँगको समन्वयलाई थप बिस्तार गर्नका साथै पेशागत क्षमतामा सुधार ल्याउन मद्दत गरेको छ ।
पाकिस्तानमा सञ्चालित यस किसिमको प्रतिस्पर्धात्मक अभ्यासमा नेपाली सेना सन् २०१६ देखि सहभागी हुँदै आएको छ । शारीरिक सहिष्णुता र व्यावसायिक दक्षतामा आधारित यो प्रतिस्पर्धामा नेपाली सेनाले आफ्नो उच्च क्षमता प्रदर्शन गर्दै पाकिस्तानसँगको सैन्य सम्बन्धलाई सुदृढ बनाएको छ । यस प्रतियोगितामा पनि नेपाली सेनाले उच्चस्तरको प्रदर्शन गर्दै पदक जितेको छ । पछिल्लो पटक सन् २०२२ मा सम्पन्न भएको यस अभ्यासले नेपाली सेनालाई अन्तर्राष्ट्रिय स्तरमा प्रतिस्पर्धात्मक रूपमा अझ सशक्त बनाएको छ ।
शान्ति सेनाका क्षेत्रमा नेपाली सेनाले खेलेको भूमिका सैन्य कूटनीतिको सबैभन्दा ज्वलन्त उदाहरण हो । हाल संयुक्त राष्ट्रसंघको शान्ति स्थापना कार्यमा फौज उपलब्ध गराउने देशहरूको पहिलो नम्बरमा रहेको नेपालले द्वन्द्वग्रस्त क्षेत्रहरूमा फौज खटाउनु पूर्व सञ्चालन गर्ने तालिम समेत अन्तराष्ट्रिय स्तरको छ । फौजलाई राष्ट्रसंघको उद्देश्य र प्राथमिकताहरूमा ज्ञान प्रदान गर्दै द्वन्द्वका फरक आयामहरूमा काम गर्नका लागि बहुराष्ट्रिय सैनिकहरू सहभागी गराइ अभ्यास शान्ति प्रयास समेत नेपाली सेनाले सञ्चालन गर्दै आएको छ । यसको पछिल्लो संस्करण केही महिना अघि भव्य रूपमा सञ्चालन गरिएको थियो । शान्ति सैनिकहरूलाई नै केन्द्रित गरी तथा भविष्यमा शान्ति मिसनमा सहभागी हुने व्यक्तिहरूलाई लक्षित गरी समेत विभिन्न समयमा सेमिनारहरू सञ्चालन हुँदै आएका छन् ।
यस किसिमका द्विपक्षीय र बहुपक्षीय सैन्य अभ्यासहरू र तालिमहरू बाहेक नेपाली सेनाका अधिकारीहरूले विश्वका प्रमुख राष्ट्रहरूमा आयोजित विभिन्न तालिम तथा सेमिनारहरूमा पनि सहभागिता जनाउँदै आएका छन् । भारत, चीन, अमेरिका, बेलायत, पाकिस्तानका सेनासँग नेपाली सेना द्विपक्षीय र बहुपक्षीय अभ्यासहरूमा सहभागी हुँदै आएको छ भने यी राष्ट्रका अलावा बंगलादेश, केन्या लगायत २० भन्दा बढी राष्ट्रहरूमा सञ्चालन हुने विभिन्न तालिम तथा सेमिनारहरूमा सहभागी हुँदै आएका छन् । त्यस्तै, ती राष्ट्रका सैन्य अधिकारीहरू नेपाली सेनाका विभिन्न शिक्षण संस्थामा तालिमरत छन् । यस प्रकारको परिपाटीले नेपाली सेनालाई अझ धेरै अन्तर्राष्ट्रिय अनुभव प्राप्त गर्ने अवसर प्रदान गरेको छ ।
यस किसिमका सहभागिताले व्यावसायिक क्षमता अभिवृद्धि गर्नुका साथसाथै अन्तर्राष्ट्रिय मञ्चमा नेपाली सेना र नेपालको पहिचानलाई पनि मजबुत बनाएको छ । नेपालले विभिन्न राष्ट्रहरूसँगको सहकार्य अभ्यासबाट सिकेको अनुभवले संकटका समयमा सहकार्य र सहायता लिन थप सहज बनाएको छ । सन् २०१५ मा गएको महाभूकम्पका समयमा मित्रराष्ट्रका सेनाहरूबाट प्राप्त सहयोग तथा कोभिड-१९ महामारी नियन्त्रणका दौरान प्राप्त औषधी, खोप लगायतका सामाग्रीहरू यसका बलिया दृष्टान्त हुन् ।
सैन्य कूटनीतिका माध्यमबाट नेपालको सुरक्षा रणनीति र आपसी सहकार्यलाई विश्व स्तरीय बनाउने कार्यमा नेपाली सेनाको यो सक्रियता अत्यन्त प्रशंसनीय मान्न सकिन्छ । नेपाली सेनाको यो सहकार्यले अन्तर्राष्ट्रिय जगतमा नेपालको उपस्थिति वृद्धि मात्र गरेको छैन, विपद् वा अन्य मानवीय संकटका समयमा बहुराष्ट्रिय सहयोग तथा सहकार्यका अवसरहरू समेत प्रदान गरेको छ । एक हिसाबले भन्दा नेपालको पछिल्लो कूटनीतिक अभ्यासमा सैन्य कूटनीति अभिन्न अंग बन्दै गएको छ ।