काठमाडौँ । असोज ११ र १२ गतेको अविरल वर्षापछि देशभरका ५७ वटा स्वास्थ्य संस्थाहरूमा क्षति पुगेको छ । यसमा पाँच वटामा पूरै क्षति भएकाले अस्थायी पाल वा टहराबाट आधारभूत सेवा प्रदान गरिरहेका छन् । स्वास्थ्य संस्थामा बाढी पसेपछि र डुबानमा परेपछि कीटाणुयुक्त भएकाले ज्ञात अज्ञात सङ्क्रमण फैलने जोखिम छ ।
पानी जम्मा रहँदा डेंगीलगायत किटजन्य सङ्क्रमण बढ्न सक्छ, लेप्टोस्पाइरोसिस हुनसक्छ । काठमाडौँका धेरै अस्पतालहरूमा बाढीको हिलाम्यै पानी पसेको सम्भवत पहिलो पटक हो । यसले उपचाररत बिरामीलाई भिन्नै अस्पतालमा सार्नु परेको थियो भने उपचारका लागि जानेमा समेत प्रभाव पारेको छ । ती अस्पताललाई सङ्क्रमणरहित बनाउनुपर्ने पहिलो आवश्यकता छ । घरबारविहीन बालबालिका, गर्भवती महिला र दीर्घ रोगी ज्येष्ठ नागरिकहरू सबैभन्दा बढी प्रभावित र जोखिममा छन् । सङ्क्रमणयुक्त स्वास्थ्य संस्थाहरूबाट सङ्क्रामक रोगहरूको उच्च जोखिम रहन्छ, जसलाई हस्पिटल एक्वाइरड अर्थात् नोसोकोमियल इन्फेक्सन भनिन्छ । यस्तो समय अस्पतालमा हुने सङ्क्रमण नियन्त्रण इकाई सक्रिय हुन जरुरी हुन्छ ।
जुनसुकै स्रोत र मुहानको पानी भए पनि उमालेको वा क्लोरिन/आयोडिनले उपचार गरिएको पानी मात्र प्रयोग गर्नु पर्छ । क्याण्डिल फिल्टरले रोग उत्पन्न गर्ने कीटाणु छान्न नसक्ने भएकाले पानी उमालेर प्रयोग गर्नुपर्छ । पाँच मिनेटसम्म उमालेर सफा भाँडोमा चिसो पारेर राखेको पानी मात्र सेवन गर्नु पर्छ । शुद्ध खाना, खानेपानी, पर्याप्त सरसफाइ, व्यक्तिगत स्वच्छता नै हैजालगायतका खाना र पानीजन्य सङ्क्रमणबाट बचाउ गर्ने उपाय हुन् । स्वास्थ्य, शिक्षा र खाद्य सुरक्षा पनि उत्तिकै महत्त्वपूर्ण कारक हुन् ।
तथ्यांक अनुसार सरसफाइमा सुधारले झाडापखालाले हुने मृत्यु ३२ प्रतिशतसम्म कम गर्न सकिन्छ । खानेपानीको गुणस्तरमा सुधारले २५ प्रतिशतसम्म मृत्युदर कम गर्न सकिन्छ । स्वच्छ पानी, सरसफाइ, व्यक्तिगत स्वच्छता तथा हात धुनेजस्ता स्वास्थ्य शिक्षामार्फत झाडापखाला ४५ प्रतिशतसम्म कम गर्न सकिन्छ । खानेपानीलाई क्लोरीनेसन गरेर शुद्ध बनाउँदा झाडापखाला ३९ प्रतिशतसम्म कम गर्न सकिने विश्व स्वास्थ्य संगठनले जनाएको छ ।
अन्तमा, झाडापखालाजन्य रोगहरू, हैजा, जण्डिस, आउँ, टाइफाइड, झाडापखाला, बान्ता, पेटका रोग, श्वासनलीका रोग, सार्स, घाँटीको सङ्क्रमण, हेपाटाइटिस ए र ई, जुका, ट्राइकुरियोसिस, आँखा पाक्ने, ट्रकोमा, निमोनिया, रुघाखोकी, फ्लु, स्वाइनफ्लु, बर्डफ्लु, क्षयरोग, छालाजन्य सङ्क्रमण र रोगलगायतका निकै सङ्क्रामक रोगहरू र ८० प्रतिशतभन्दा बढी रोगहरू पनि साबुन पानीले हात धुँदा रोक्न सकिन्छ । मिचिमिची साबुन पानीले हात धुँदा कीटाणु, चिल्लोपना र फोहर टुक्रिन्छ र हात मिच्न, घर्षण गराउन, सजिलो, सफा सुगन्धले प्रोत्साहन दिन्छ ।
पानीको सेवन उमालेर मात्र प्रयोग गर्ने तथा पूरा बाहुला भएका कपडा लगाउने, झुलमा सुत्नेजस्ता काम गर्दा पनि लामखुट्टेजन्य रोगहरूबाट बच्न सकिन्छ । हात धुन सम्भव नभएमा दुई हातलाई आपसमा मज्जाले रगडेमा पनि कीटाणु मर्छन् । नेपालीहरूमा युरोपेली र अमेरिकीभन्दा रोग प्रतिरोधात्मक शक्ति बढी छ भन्दैमा जे पायो त्यही र जहाँ पायो त्यही जसरी पनि खानेलाई रोगले छाड्दैन । रोगलाई प्राविधिक, आर्थिक, सामाजिक र राजनीतिक रूपमा बहुक्षेत्रीय सम्बोधन गर्नु पर्छ ।
लेखक स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयका प्रवक्ता एवं नेपाल चिकित्सक संघका केन्द्रीय उपाध्यक्ष डा. प्रकाश बुढाथोकी हुन् ।