काठमाडौँ । अध्यागमन कार्यालय, त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलका प्रमुख अध्यागमन अधिकृत सुरेश पन्थीको सरुवा गरिएको छ । सहसचिव पन्थीलाई कसुरजन्य सम्पत्ति व्यवस्थापन विभागमा सरुवा गर्दै त्यहाँका महानिर्देशक तीर्थराज भट्टराईलाई अध्यागमन कार्यालयको जिम्मेवारी दिइएको छ । गृह मन्त्री रमेश लेखकले असोज २१ गते पन्थीलाई कसुरजन्य विभागमा खटाएर भट्टराईलाई अध्यागमन कार्यालय पठाएका हुन् ।
अध्यागमन सुधारको संकल्पसहित जेठ २४ गते अध्यागमन कार्यालय, त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलको प्रमुख बनाई पठाइएका पन्थी नयाँ सरकार गठनसँगै चार महिना पुग्न चार दिन बाँकी हुँदै त्यहाँबाट हटाइएका छन् । कार्यालयको माइक्रोमेनेजमेन्टसम्म नै मन्त्रालयको हस्तक्षेप रहने अवस्था आएपछि पछि हटेका पन्थी आफै सरुवा हुन खोजिरहेका थिए ।
ओभरअल नतिजा भन्दा पनि कर्मचारी खटनपटनसम्मै पुग्दा नतिजा दिन कठिन हुने भएसँगै केही समययता नै थप सुधारका कार्यहरू अवरुद्ध जस्तै हुँदै आएका थिए । यसैबिच आज मात्रै नयाँ कार्यालय प्रमुख भट्टराईले कार्यालयमा पदवहाली गर्दैछन् भने पन्थीको बिदाइसँगै सिंहदरवारस्थित कसुरजन्यमा हाजिर हुँदैछन् ।
एउटै मन्त्रालय मातहतका दुई ठुला र महत्त्वपूर्ण संगठन नेपाल प्रहरी र अध्यागमन कार्यालयका कर्मचारीबीच कुटाकुटकै अवस्थाका बिच विमानस्थल खटाइएका पन्थीले आन्तरिक समन्वय तथा व्यवस्थापनदेखि सेवा सुधारसम्मै सकारात्मक नतिजा दिन सफल भए । कार्यालयको भौतिक सुधारदेखि राष्ट्रिय-अन्तराष्ट्रिय एजेन्सीहरूसँगको समन्वयमा ऐतिहासिक सफलता हासिल गरेका पन्थीले कर्मचारीको क्षमता अभिवृद्धिमासमेत ध्यान दिए भ्याए ।
तर एकाएक भएको उनको सरुवालाई लिएर गृह प्रशासनभित्रै आलोचना भई रहँदा प्रशासन सिंहदरवार विशेष ब्युरोले गृह सचिव गोकर्णमणि दुवाडीसँग यसबारे जिज्ञासा राखेको थियो । प्रतिउत्तरमा गृह सचिव दुवाडीले विमानस्थल कार्यालयमा कर्मचारी लामो समय बस्न नचाहने र पन्थीको सरुवा नियमित प्रक्रिया अन्तर्गत नै भएको बताए ।
आफ्नो मुलुक भएर अन्य मुलुक जाने र अन्य मुलुकबाट आफ्नो मुलुक भित्रिने व्यक्तिहरूको अभिलेख व्यवस्थापनको काम गर्ने अध्यागमन प्रशासनले आफ्ना नागरिकहरूको अभिलेख व्यवस्थापनसँगै अन्य मुलुकका नागरिकहरू आफ्नो देशमा भित्रिदा निजबाट आइपर्ने सुरक्षा खतरालाई मध्यनजर गर्दै तिनीहरूलाई आफ्नो देश भित्र आगमनको अनुमति दिने काम गर्दछ । यसका अलावा आगमन अनुमति दिएका व्यक्तिहरूको नेपाल भित्रको उपस्थितिको अनुगमन, व्यवस्थापन र नियन्त्रण गर्ने काम समेत गर्दै आएको अध्यागमन प्रशासनमा पन्थीले गरेका सुधार यस्ता छन् ।
१. सूचना प्रविधिगत सुधार
पन्थीको कार्यकालमा अध्यागमन प्रक्रियालाई आधुनिक बनाउन सूचना प्रविधिको प्रयोगलाई विशेष प्राथमिकता दिइयो । ‘नेपाली पोर्ट’ मार्फत यात्रुहरूको आगमन र प्रस्थानको अनुमतिलाई द्रुत बनाउन डिजिटल प्रणाली लागू गरियो । यस प्रणालीले कालोसूची, वाच लिस्ट, इन्टरपोल सूची र अन्य सुरक्षा उपायहरूको प्रभावकारी व्यवस्थापनमा सहयोग पु¥याउने बताइँदै आइएको छ ।
यात्रुहरूको आगमन र प्रस्थानसम्बन्धी विवरणहरूको विश्लेषण गर्न सकिने प्रणाली विकास भयो, जसमा उनीहरूको उडान, यात्रा उद्देश्य, वायुसेवा, मिति र देशगत विवरणहरूको अभिलेख राख्ने सुविधा समावेश थियो । यसका लागि ‘डार्क कोर फाइबर’ जडान गरियो, जसले गर्दा आगमन-प्रस्थान प्रक्रियालाई सामान्यतया ३२–३५ सेकेन्डमा सम्पन्न गर्न सम्भव बनायो । यसले सेवा प्रवाहको गति वृद्धि गर्दै सेवाग्राहीहरूको अनुभवलाई सहज बनाएको अधिकारीहरूको भनाई छ ।
त्यस्तै, अनलाइन भिसा आवेदनको सहजीकरण गर्न आगमन र प्रस्थान कक्षहरूमा ‘किओस्क मेशिन’ को व्यवस्था गरियो । यसले अनलाइन आवेदनका आधारमा स्वचालित रूपमा भिसा प्रक्रिया सम्पन्न गर्न सहयोग पुर्ययो । कूटनीतिक सेवा र विशेष उद्देश्यका यात्रुहरूका लागि छुट्टै किओस्क मेशिनको व्यवस्था गरियो, जसले ती यात्रुहरूको प्रक्रियालाई थप सरल र छिटो मात्र बनाएन, लामो समयदेखिको गुनासोसमेत सधैँका लागि अन्त्य भयो ।
२. मानव स्रोत व्यवस्थापनगत सुधार
पन्थीले अध्यागमन कार्यालयमा कर्मचारी व्यवस्थापनलाई प्रभावकारी बनाउन विशेष पहलहरू गरेका थिए । तीन सिफ्टमा विभाजित गरेर बिहान, दिवा र रात्रि सेवाहरू सञ्चालन गरेसँगै २४ सै घण्टा सेवाग्राहीलाई सेवा प्रदान गर्न सक्ने बनायो । यसले यात्रुहरूको चापलाई व्यवस्थित गर्दै सेवा निरन्तरता कायम राख्न सहयोग गर्यो ।
मानव संसाधन विकासका लागि नियमित तालिम कार्यक्रमहरू सञ्चालन गरिए । नयाँ खटाइने कर्मचारीहरूका लागि अध्यागमनसम्बन्धी अभिमुखीकरण तालिम दिइयो । यसका साथै, पुनर्ताजगी तालिमहरू र वैदेशिक नियोगहरूसँगको सहकार्यमा एक–दिने तालिम कार्यक्रमहरूको पनि आयोजना गरियो । यसले कर्मचारीहरूको दक्षता वृद्धि गर्दै सेवा प्रवाहको गुणस्तरलाई सुधार गर्न मद्दत गर्यो ।
कर्मचारीहरूको क्षमता अभिवृद्धि र संस्थागत ज्ञानमा वृद्धि गर्न ‘सिनर्जी रुम’ स्थापना गरियो । यस रुमको प्रयोग तालीम, बैठक र अन्य क्षमता विकास कार्यक्रमहरूको लागि गरियो । कार्यालयलाई तालिम केन्द्रको रूपमा विकास गर्ने उद्देश्यले तालिम कार्यक्रमको वार्षिक योजना पनि तर्जुमा गरियो ।
३. सेवा प्रवाह व्यवस्थापनगत सुधार
पन्थीले सेवाग्राहीको सन्तुष्टिलाई प्राथमिकता दिँदै सेवा प्रवाहलाई सुधार गर्न विभिन्न कदम उठाए । आगमन र प्रस्थान कक्षहरूमा सुविधा सम्पन्न २२/२२ डेस्कहरू सञ्चालन गरिए । प्रस्थान कक्षतर्फ थप ८ वटा नयाँ डेस्क थपेर कार्यसम्पादनलाई थप सहज बनाइयो, जसले यात्रुहरूको लामो लाइनको समस्या समाधान गर्दै तिनीहरूलाई छिटो सेवा प्रदान गर्न सहयोग गर्यो।
कार्यालयमा दैनिक सम्पादित कार्यहरूको प्रतिवेदन प्रणाली लागू गरियो, जसले प्रत्येक दिनका कार्यहरूको मूल्याङ्कन र सेवा प्रवाहको गुणस्तर मापन गर्न मद्दत गर्यो । साथै, दैनिक निरीक्षण प्रणाली लागू गरियो, जसले कर्मचारीहरूको व्यक्तिगत विवरण, हाजिरी, पोशाक र दैनिक कार्यसम्पादनलाई सूचीकृत गर्दै मूल्याङ्कन गर्यो । यस प्रणालीले कर्मचारीहरूको कार्य सम्पादनलाई मूल्याङ्कन गरी तिनीहरूको अर्धवार्षिक र वार्षिक मूल्याङ्कन गर्न सहयोग गर्यो ।
आगमन र प्रस्थान कक्षमा अनलाइन भिसा आवेदनका लागि सहजीकरण गर्न ‘किओस्क मेशिन’ र ‘सहजकर्ता कर्मचारी’ को व्यवस्था गरियो । यसले यात्रुहरूको प्रक्रिया सहज बनाउँदै समय बचत गर्न मद्दत गर्यो । कार्यालयको पूर्वाधार संरचनामा सुधार गरेर ‘साइन र साइनाज’ परिवर्तन गरियो, जसले सेवाग्राहीलाई थप सहजता प्रदान गर्यो।
४. समन्वय र सहजीकरणमा भएका सुधार
पन्थीको कार्यकालमा आन्तरिक र बाह्य समन्वयलाई प्रभावकारी बनाउन विशेष ध्यान दिइयो । आन्तरिक सूचना आदानप्रदानलाई सहज बनाउन ‘ह््वाट्सएप ग्रुप’ मार्फत शीघ्र सूचना र प्रतिवेदनको व्यवस्था गरियो । यसले कार्यालयका कर्मचारीहरूबिच सूचनाको शीघ्र प्रसारणमा मद्दत पु¥यायो ।
आगमन कक्षतर्फ सेवाग्राहीका लागि सहायता कक्ष सञ्चालनमा ल्याइयो, जसले यात्रुहरूको समस्या समाधान गर्न तत्काल सेवा प्रदान गर्यो । त्यस्तै, प्रस्थान कक्षमा पनि सहायता कक्ष सञ्चालनको तयारी अन्तिम चरणमा थियो । कार्यालयले २४ सै घण्टा गुनासो सुन्ने ‘हटलाइन सेवा’ सञ्चालनमा ल्यायो, जसले सेवाग्राहीको गुनासोलाई छिटो समाधान गर्न सहयोग पुर्ययो ।
अध्यागमन कार्यालयको त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थल सुरक्षा कार्यालय, नागरिक उड्डयन कार्यालय, अन्य सुरक्षा निकायहरू र भन्सार कार्यालयसँगको समन्वयलाई प्रभावकारी बनाउन विशेष प्रयास गरियो । यो समन्वयले अन्तर्राष्ट्रिय विमानस्थलमा सुरक्षाका उपायहरूलाई थप सुदृढ बनायो ।
५. सुधारका भावी दिशा र चुनौतीहरू
पन्थीको कार्यकालमा सुधारका अन्य क्षेत्र र भावी योजनाहरूमासमेत विशेष ध्यान दिइएको बताइन्छ । अध्यागमन प्रक्रियालाई थप प्रविधिमैत्री बनाउन ‘एडभान्सड प्यासेन्जर इन्फर्मेसन सिस्टम’ र ‘इ–गेट’ प्रणाली लागू गर्न सम्भाव्यता अध्ययन र परामर्श कार्य थालिएको थियो ।
अध्यागमनसम्बन्धी विभिन्न मामिलाहरूको अध्ययन, विश्लेषण र प्रतिवेदन तयार पार्ने प्रणालीको थालनी गरियो । यसका लागि अध्यागमन अधिकृतहरूले अध्यागमन प्रक्रियाका विषयमा अध्ययन गरेर विश्लेषण प्रतिवेदन तयार गर्न थालिएको थियो । अध्यागमन सम्बन्धी प्रतिवेदनहरूलाई ‘नेपाल अध्यागमन जर्नल’ मा प्रकाशन गर्ने व्यवस्था गरियो ।
अध्यागमन सेवा प्रवाहलाई थप व्यवस्थित, शीघ्र र सहज बनाउन अध्यागमनसम्बन्धी कार्यविधिको संशोधन प्रस्ताव गरिएको थियो । यसका लागि अध्यागमन अनुसन्धान, विश्लेषण, र तालिम केन्द्र स्थापना गरी काम सुरु गरिएको थियो । यो केन्द्रले अध्यागमन प्रक्रियाका विभिन्न पक्षहरूको अध्ययन गर्दै भविष्यमा आवश्यक सुधारका लागि आधार तयार गर्ने उद्देश्य राखेको थियो ।
त्यति मात्रै होइन, सिष्टमलाई नै तोडमोड गर्ने केही ‘खराब’ कर्मचारीहरूको पहिचान गरी सख्त कारबाहीसमेत भयो । जसका कारण एक हदसम्म ‘बिचौलिया’को एक्सेसमा कमी आयो । समग्रमा पन्थीको नेतृत्वमा भएका सुधारहरूले भविष्यमा अध्यागमन कार्यालयको दीर्घकालीन सुधारको आधार तयार गरेका छन्, जसलाई अझ सुदृढ गर्दै अघि बढाउन आवश्यक छ ।