लाइसेन्स लिखित परीक्षा दिने सेवाग्राहीलाई सहजीकरणको लागि प्रश्न संग्रहको सूची तयार पारिएको हो । विभागले लिने लिखित परीक्षामा प्रकाशित प्रश्न संग्रहबाट प्रत्येक प्रश्नको ५ अंकका दरले २० प्रश्न सोधिने छ ।
काठमाडौँ । सरकारले सवारी चालक अनुमति पत्र (लाइसेन्स) को परीक्षाका लागि नयाँ नियम लागू गरेको छ । यातायात व्यवस्था विभागले लाइसेन्सका लागि अंकभारमा आधारित परीक्षा प्रणाली लागू गरेको हो । विभागले लाइसेन्सका लागि लिइने लिखित र प्रयोगात्मक परीक्षासम्बन्धी व्यवस्था परिवर्तन गर्दै केही सहज बनाइएको छ ।
यसअघि शतप्रतिशत अंक ल्याएर पास गर्नुपर्ने प्रयोगात्मक (ट्रायल) परीक्षामा अब ७० अंक ल्याए लाइसेन्स पाउन योग्य हुनेछ । सवारी चालक अनुमतिपत्र परीक्षा सञ्चालन कार्यविधि निर्देशिका २०७७ को लिखित र प्रयोगात्मक (ट्रायल) दुवै परीक्षाको मोडालिटी परिवर्तन गरिएको हो ।
नयाँ निर्देशिकामा ट्रायलका विभिन्न चरणलाई फरक फरक अंकभार दिइएको छ भने ७० अंक ल्याएमा लाइसेन्स लिन योग्य हुने छ । अर्थात् सामान्य गल्ती गरे पनि लाइसेन्स पाउनबाट वञ्चित हुनुपर्दैन ।
प्रश्न संग्रह
यातायात व्यवस्था विभागले सवारी चालक अनुमति पत्रको परीक्षाका लागि ५ सय वटा वस्तुगत प्रश्नको संग्रह सार्वजनिक गरेको छ । विभागले ‘क’ र ‘ट’ वर्गको मोटरसाइकल, स्कुटर र मोपेडसहित ‘ख’ वर्गको कार, जिप र डेलिभरी भ्यानको लाइसेन्सको लिखित परीक्षामा सोधिने प्रश्न पत्र सार्वजनिक गरिएको जानकारी दिएको छ ।
त्यही संग्रहभित्रबाट २० वटा वस्तुगत बहु उत्तर प्रश्न सोधिनेछन् भने ३० मिनेटको परीक्षामा उत्तीर्ण हुन न्यूनतम ७० अंक ल्याउनु पर्ने विभागले जनाएको छ । विभागका अनुसार लिखित परीक्षा पास भएका परीक्षार्थीले आफ्नै सवारी साधनबाट ट्रायल परीक्षा दिन सक्ने छन् ।
तर, त्यसका लागि मोटरसाइकल तथा स्कुटर कम्तीमा ९५ सीसीको इन्जिन भएको, कम्तीमा १२ सय मिलिमिटरको ह्विल बेस भएको, मोटरसाइकलमा म्यानुअल ट्रान्समिसन भएको, ‘हिल होल्ड र हिल असिस्ट’ समान प्रकृतिको भएको र सवारी दर्ता तथा तेस्रो पक्ष बीमा अद्यावधिक भएको हुनुपर्नेछ ।
यस्तो छ मोटरसाइकल तथा स्कुटरतर्फको प्रश्न संग्रह :
यस्तै कार जीपको हकमा कम्तिमा ७५० सीसी इन्जिन भएको, कम्तीमा २३ सय मिलिमिटर ह्विल बेस भएको, लम्बाइ चौडाइ र उचाइ क्रमशः ३३००, १४५० र १४५० मिलिमिटर भएको, समान प्रकृतिका ‘हिल होल्ड र हिल असिस्ट’ जोडिएको तथा सवारीको दर्ता र बीमा अद्यावधिक भएको हुनुपर्नेछ ।
यस्तो छ कार तथा जिपतर्फको प्रश्न संग्रह :
चालक अनुमतिपत्र बारे थप जानकारी
नयाँ सवारी चालक अनुमतिपत्र तथा वर्ग थपका लागि यातायात व्यवस्था कार्यालय÷यातायात व्यवस्था सेवा कार्यालयले विवरण रुजु एवम् निवेदकको बायोमेट्रिक लिने कार्यहरू सार्वजनिक बिदा बाहेक हप्ताको प्रत्येक आइतबार, सोमबार, मंगलबार र बुधबारका दिन गर्ने गर्छ ।
यसका लागि निवेदकले यस प्रणालीमा आफ्नो निवेदक खाता बनाई प्रत्येक दिनको १५ औँ दिन अर्थात् १६ दिनभित्र लाइसेन्सको वर्ग कोटा उपलब्ध भएको दिन सम्बन्धित कार्यालयमा अनलाइन आवेदन दर्ता गरी कार्यालय भिजिट डेट लिन सकिनेछ । तर प्रत्येक १६ औँ दिनका लागि नयाँ आवेदन फाराम बिहान ७ बजे (शनिबार/आइतबार/सोमबार/मंगलबार) मात्र खुल्ला हुन्छ र कोटा नसकिएसम्म सातै दिन २४ घण्टासम्म फाराम भर्न सकिन्छ । निवेदकले आफ्नो निवेदक खाता एकभन्दा बढी बनाउनु हुँदैन ।
१. अनलाइन आवेदन फाराम भर्दा निवेदकले आफ्नो मोबाइल नम्बर सहित अन्य विवरण सही प्रविष्ट गर्नु पर्दछ ।
२. पहिचान परिचयपत्र (नागरिकता, पासपोर्ट र लाइसेन्स) को मूल स्क्यान गरिएको प्रतिलिपि अपलोड गर्नुपर्छ ।
३. विवरण रुजु एवम् बायोमेट्रिकका लागि प्राप्त गरेको कार्यालय भिजिट डेटमा निवेदक उपस्थित हुन नसकेको अवस्थामा सो मितिबाट १५ दिन पछि मात्र पुनः अनलाइन आवेदन भर्न सक्नेछ ।
४. दर्ता गरिएको अनलाइन आवेदन फाराममा रहेको व्यक्तिगत विवरण जस्तै नाम, थर, नागरिकता विवरण, मोबाइल नं. र जन्म मिति मा कुनै त्रुटि भएमा उक्त फाराम रद्द हुनेछ । साथै वर्ग थपको लागि फाराम भर्दा प्राप्त गरिसकेको लाइसेन्सको वर्ग गलत प्रविष्ट भएमा पनि फाराम रद्द हुनेछ ।
५. सवारी चालक अनुमति पत्रका लागि निवेदकको उमेर दुई पाङ्ग्रे सवारी (वर्ग ए/के) को लागि १६ वर्ष, साना सवारी (वर्ग घ) को लागि १८ वर्ष र अन्य सवारीका लागि २१ वर्ष पूरा भएको हुनुपर्नेछ ।
६. यातायात व्यवस्था कार्यालय/यातायात व्यवस्था सेवा कार्यालयको दैनिक लाइसेन्स वर्ग कोटा सम्बन्धी विवरण कोटामा गएर हेर्न सकिन्छ ।
७. सवारी चालकको स्मार्ट-कार्ड सवारी चालक अनुमतिपत्र सम्बन्धी विवरण लाइसेन्स खोजमा क्लिक गरी हेर्न सकिन्छ ।
८. ट्रायल परीक्षामा असफल भएका परीक्षार्थीहरूले असफल भएको प्रथम मितिले ९० दिनाभित्र बढीमा ३ पटक सम्म रि-ट्रायल दिन सक्नेछन् ।
९. लाइसेन्स वर्ग पावरटिलर (डी) , ट्र्रयाक्टर (इ) , मिनिबस, ट्रक तथा बस (जी) प्राप्त गरेका सवारी चालकले कुनै पनि अर्को वर्ग थप गर्दा लिखित परीक्षा अनिवार्य दिनुपर्दछ ।
१०. बायोमेट्रिक दर्ता, लिखित तथा प्रयोगात्मक परीक्षाका लागि सम्बन्धित कार्यालयमा जाँदा अनिवार्य रूपमा सक्कल नागरिकता, सक्कल लाइसेन्स (वर्ग थपको हकमा) साथै लिएर मात्र जानुपर्छ ।
११. प्रयोगात्मक परीक्षाका दिन परीक्षार्थीले अनिवार्य रूपमा जुत्ता लगाई आउनुपर्छ । साथै लिखित तथा प्रयोगात्मक परीक्षा केन्द्रहरूमा मोबाइल फोन निषेध गरिएको छ ।
१२. आफ्नो स्मार्ट-कार्ड सवारी चालक अनुमतिपत्र छपाई भए/नभएको बारेमा जानकारीका लागि लाइसेन्स प्रिन्ट चेकमा गएर जानकारी प्राप्त गर्न सकिन्छ ।
१३. अनलाइन फारम भर्दा कुनै समस्या आएमा (कोटा बाहेक) “समस्या रिपोर्ट” मा गई आफ्नो समस्या पठाउनुपर्छ । साथमा समस्या बुझिने गरी स्कृनसट पनि राख्नु पर्नेछ ।
स्रोत: यातायात व्यवस्था विभाग