परम्पराको जरो जोगाउँदै, नयाँ पुस्तालाई संस्कृति हस्तान्तरण गर्ने मुगालीको प्रयासले ‘भैलो पर्व’लाई नयाँ जीवन दिने अपेक्षा ।
काठमाडौँ । हिमाली जिल्ला मुगु, जुम्ला, कालीकोट, हुम्ला, र डोल्पामा विशेष पर्वका रूपमा मनाइने ‘भैलो पर्व’ लोप हुने स्थितिमा पुगेको छ । नयाँ पुस्ता पश्चिमी वेशभूषा र रीतिरिवाजमा आकर्षित हुन थालेपछि यो परम्परागत पर्व संकटमा परेको हो । कर्णाली तथा सुदूरपश्चिम क्षेत्रको चर्चित भैलो खाने प्रचलन सँगै भैलो खेल्ने चलन जोडिएको छ ।

मुगुम कार्मारोङ गाउँपालिका-९ का चिमाथ, पापु, र छाईल बस्तीका हिन्दु धर्मावलम्बी स्थानीयहरू भैलो पर्वको संरक्षणमा जुटेका छन् । स्थानीय बली राज बुढाका अनुसार यो पर्वलाई जोगाउन विशेष पहल गरिँदै छ । यसका लागि स्थानीय सरकारसँग समन्वय गरिने बुढाले बताए । लोपोन्मुख ‘भैलो पर्व’को संरक्षणका लागि समूह बनाएर प्रचार/प्रसार गरी यस पर्वलाई निरन्तरता दिन पहल गरिने उनले जानकारी दिए ।
पालिका अध्यक्ष छिरिङ क्याप्ने लामाका अनुसार भैलो पर्व प्रत्येक वर्ष तीन फरक तिथिमा खेलिन्छ । पहिलो देउसी भैलो कार्तिक कृष्ण पक्ष अर्थात् गाई तिहारको दिन खेलिन्छ । दोस्रो भैलो मंसिर पूर्णिमाका दिन खेलिन्छ, जसलाई ‘सानो भैली’ भनिन्छ । तेस्रो भैलो पुस महिनाको औँसीदेखि पूर्णिमासम्म खेलिन्छ, जसलाई ‘पुसे भैलो’ वा ‘ठुली भैलो’ भनिन्छ ।

भैलो पुर्खाको चलन भए पनि एक दशक हराएको थियो । त्यसलाई यस वर्षदेखि फेरी उजागर गरिएको छ । यस वर्ष एक हप्तासम्म खेलिएको भैलो आगामी वर्ष पनि यसलाई निरन्तरता दिने स्थानीय शिक्षक बृष बढुवालले बताए । ‘संस्कृति र परम्परा पुस्तौँ पुस्तामा हस्तान्तरण हुनु पर्नेमा यसको लोप हुदैछ यसका लागि कला संस्कृति जगेर्ना गर्ने व्यक्ति चाहिन्छ । यसमा सबैको सहयोग चाहिन्छ’ उनले भने ।
वडा अध्यक्ष रतन बहादुर बुढाले पनि ‘भैलो’ को महत्त्व र सांस्कृतिक पक्ष पश्चिम नेपालका अन्य जिल्लाहरूको भन्दा विशिष्ट छ । उनले भने, ‘यो एक पुरानो संस्कृति हो । अहिले यो अन्त लोप हुँदै गइरहेको अवस्था छ । हामी यसलाई संरक्षण गर्न लागिपरेका छौँ ।’
भैलोको विशेषता र संरचना
भैलोमा १६ वर्षमुनिका बालबालिकाले ‘सानी भैली’ खेल्ने र बुढापाकाले ‘ठुली भैली’ अथवा ‘छाँट भैली’ खेल्ने परम्परा छ। महिलाहरूले फरिया, आँचला लगाएर लट्ठी समात्दै लामो लयमा ‘मागल’ गाउने गर्छन् भने पुरुषहरूले छोटो तरिकाले भैलो गाउने चलन छ।
पुसे भैलोको सामूहिकता
मंसिर पूर्णिमा र पुसे औँसीसम्म खेलिएको भैलोबाट जम्मा भएको चामल, पैसा, र खानेकुरा भेला पारेर सामूहिक भोज आयोजना गरिन्छ, जसलाई ‘पाठे भात’ भनिन्छ। पुसे भैलोका क्रममा विवाह गरेर गएकी छोरीलाई माइतीमा बोलाएर भेटघाट गर्ने, विशेष परिकार खाने र गाउँभरिका मानिस एक ठाउँमा जम्मा भएर नाचगान गर्ने चलन छ ।
मुगाली समुदायले यो पर्वलाई पुनर्जीवन दिने प्रयास गरेको छ, जसले न केवल परम्परागत सांस्कृतिक पहिचानलाई जोगाउने काम गर्दछ, तर नयाँ पुस्तालाई पनि आफ्ना मौलिक रीतिरिवाज हस्तान्तरण गर्न मद्दत पुर्याउने छ ।
कसरी सुरु भयो त भैलो परम्परा ?
स्थानीय जानकारहरूका अनुसार भैलो कहिलेदेखि खेलिएको हो भन्ने तथ्य यकिन छैन । तर सय वर्ष अघिदेखि नै यो परम्परा सुरु भएको हुनसक्ने जानकारहरू बताउँछन् ।
भैलोको विषयमा किंवदन्ती अनुसार एक भनाइमा खस राज्य सिञ्जामा हुँदा त्यहाँका राजा बलिराजले चलन चलाएको बताइएको छ । शास्त्र अनुसार भने कौरव र पाण्डवको लडाई पछि पाण्डवका भाईले आफ्नो विजय पछि पन्चदेवल, गुफा , ढुंगेधारा बनाउँदै भैलो चलन खुसीयालीमा खेल्न सुरु भएको हो ।
सारमा भन्नुपर्दा यी विभिन्न धार्मिक विश्वास र मान्यताका आधारमा आफ्नो भलो होस् भनेर गाउँका सबै मानिस रातमा जाग्राम बस्नु पर्ने र जाग्राम बस्दा रातभर केही नगरी बस्न नसकिने भएकाले जाग्राम बसेका भक्तजनहरूले अब जाग्राम बस्दा कुनै खेल खेलेर बसौँ भन्ने योजना बनाएर भैलो खेल्ने परम्पराको सुरुवात भएको पनि हुन सक्छ । भैलो शब्द अपभ्रंश हुँदै भैलोको रूपमा परिणत भएको पनि हुन सक्छ ।
भैल्याराहरु सभ्य रूपमा भैलो खेल्न र हेर्न उपस्थित हुने गर्छन् । यति भइसकेपछि दौरा सुरुवाल टोपी पगरी पहिरनमा ठाँटिएका भैल्याराहरु भैलो पुरुषले मात्रै खेल्ने चलन छ । गोलाकार रूपमा एकले अर्काको हात समातेर एकसरो र दोहोरो पाइतोमा खेल्ने गरिन्छ ।
भैलोको टुक्का
भोट, मानसरोवर, चेप्टु हाट, तामाखानि ,बार्ह करान, दाउरा गाउँ, लुम्स जगत, रोवा गाउँमा हुँदै भैलो डुल्दै गाउँमा पसेको भैलोलाई टुक्का बाटै स्वागत गरी आशीर्वाद पनि दिने गरिन्छ । यति मात्रै होइन, भैलाको बिदाइ र अर्को सालको निम्तो पनि दिइन्छ ।
भैलो खेल्दा भैलाका टुक्काहरू अर्थात् भट्ट्याउने ८/१० जना बुढापाका र जानकारहरूको टिम हुन्छ । भैलो भट्ट्याउने र खेल्नेहरूले नेपाली पोसाक दौरा सुरुवाल र टाउकोमा फुर्कोसहितको पगरी बाँध्नुपर्ने पुरानो चलन छ । यद्यपि यो चलन भने अहिले हराउँदै गएको छ ।