डोटी। कृषि ज्ञान केन्द्र डोटीले ओखरमा टप वर्किङ अभियान यस वर्ष केआई सिंह गाउँपालिका-६, बगरबाट सुरु गरेको छ। गत वर्ष सुरु गरिएको यो प्रविधिलाई यस वर्ष जिल्लाभर विस्तार गरिने कृषि ज्ञान केन्द्र डोटीका प्रमुख गंगादत्त अवस्थीले जानकारी दिए।
कृषकहरूले ‘बिजु दाँते ओखर’ भनेर रोपेका बोट फल लाग्ने बेलामा हाडे निस्किने समस्या बढेपछि टप वर्किङ प्रविधि प्रयोग गरी हाडे ओखरलाई दाँतेमा परिणत गर्न अभियान सञ्चालन गरिएको हो। स्थानीय तह तथा कृषकहरूको आग्रहअनुसार विज्ञ टोली खेटमै पुगेर टप वर्किङ गर्ने र किसानहरूलाई तालिम दिने कार्य भइरहेको छ।
टप वर्किङ प्रविधिमा हाडे ओखर भएका पुराना बोटहरूलाई दाँते ओखरका हाँगासँग ग्राफ्टिङ गरिन्छ। कम्तीमा ८ देखि १० वर्ष उमेरका बोटहरूमा यो प्रविधि प्रभावकारी हुने बताइएको छ। गत वर्ष आदर्श गाउँपालिका र दिपायल सिलगढी नगरपालिकामा परीक्षण गरिएको अभियान ढिलो सुरु भएकाले २५–३०% मात्र सफल भएको थियो। तर, यस वर्ष समयमै सुरु भएकाले पूर्ण सफलता अपेक्षा गरिएको प्रमुख अवस्थी बताउँछन्।
यस अभियानलाई प्रभावकारी बनाउन कृषि अनुसन्धान परिषद्, जुम्लाबाट दुई जना विज्ञ तथा सुक्खा फलफूल विकास केन्द्र, सतबाँझ बैतडीबाट एक जना विज्ञलाई डोटीमा बोलाइएको छ। कृषि प्राविधिकहरूका अनुसार टप वर्किङ कार्य बिरुवाको पालुवा पलाउनुअघि नै गरिनुपर्छ, जसले गर्दा नयाँ हाँगाबाट २–३ वर्षभित्र दाँते ओखर फल्न थाल्छ।
कृषि ज्ञान केन्द्रले आगामी वर्षहरूमा पनि यो अभियानलाई निरन्तरता दिने जनाएको छ।