काठमाडौँ । नेपाल जाइका अलमनाइ एशोसिएशन (जान) को ५१औँ वार्षिकोत्सवको अवसरमा आयोजित समारोहमा नेपाल सरकारका मुख्यसचिव एकनारायण अर्याललाई उपराष्ट्रपति रामसहाय प्रसाद यादवले सम्मान गरेका छन् । जानले शनिबार आयोजित ५१ औ वार्षिकोत्सव समारोहको अवसरमा मुख्य सचिव अर्याललाई प्रमुख अतिथि उपराष्ट्रपति रामसहाय प्रसाद यादवबाट सम्मानित गरेको हो ।
कार्यक्रममा उपराष्ट्रपतिले नेपाल-जापानबीचको सुमधुर सम्बन्धको चर्चा गर्दै जापान सरकारले नेपाललाई पुर्याएको सहयोगको उच्च मूल्याङ्कन गरेका छन् ।
समारोहको उद्घाटन गर्दै उपराष्ट्रपति यादवले जापानलाई एसियाली समृद्धिको उदाहरणीय देशका रूपमा उल्लेख गर्दै नेपालका लागि जापान एक महत्त्वपूर्ण मित्र रहेको बताए । उनले प्राविधिक जनशक्ति विकास, शिक्षा, सञ्चार, सडक, तथा कृषि क्षेत्रमा जापान सरकार, जापानी राजदूतावास, तथा जाइका नेपाल कार्यालयको महत्त्वपूर्ण सहयोग रहेको भन्दै आभार व्यक्त गर्नुभयो। साथै, भविष्यमा पनि यस्ता सहयोग निरन्तर रहने अपेक्षा व्यक्त गरे ।
कार्यक्रममा श्रम, रोजगार तथा सामाजिक सुरक्षा मन्त्री शरत सिंह भण्डारीले नेपाल–जापान सम्बन्धलाई थप मजबुत बनाउन जानले खेलेको भूमिकाको प्रशंसा गरे । उनले नेपाल सरकारले राष्ट्रिय आप्रवासन नीति निर्माण गर्ने सन्दर्भमा वैदेशिक रोजगारीसँग सम्बन्धित अवसर र चुनौतीबारे जानको सकारात्मक भूमिकाको आवश्यकता रहेको बताए । जापानबाट सिकेका प्रविधि र ज्ञानलाई नेपालमा प्रयोग गरी उन्नत कार्य संस्कृति विकास गर्ने विषयमा जानले नेतृत्वदायी भूमिका खेल्नुपर्नेमा मन्त्री भण्डारीले जोड दिए ।
कार्यक्रममा नेपालका लागि जापानी राजदूत तोरु मायेदाले आगामी वर्ष जापान–नेपाल कूटनीतिक सम्बन्ध स्थापनाको ७०औँ वार्षिकोत्सव मनाइने सन्दर्भलाई उल्लेख गर्दै दुई देशबीचको सम्बन्धलाई अझ प्रगाढ बनाउन जानले खेलेको भूमिकाको प्रशंसा गरे । उनले जापानमा नेपालीहरूको बसोबास बढ्दै गएको र यसले व्यापार तथा लगानीका अवसरहरू सिर्जना गर्न सक्ने बताए । साथै, नेपाल अति कम विकसित देशको सूचीबाट स्तरोन्नति भएपछि आर्थिक तथा विकास योजनाहरू कसरी अघि बढाउन सकिन्छ भन्ने विषयमा सोच्नुपर्ने आवश्यकता रहेको धारणा व्यक्त गरे ।

नेपाल जाइका अलमनाइ एशोसिएशन (जान) द्वारा सम्मानित मुख्य सचिव एक नारायण अर्यालले नेपाल–जापान सम्बन्धलाई थप उचाइमा पुर्याउने दिशामा निरन्तर लागिरहने प्रतिबद्धता व्यक्त गरे । जानका योगदानको प्रशंसा गर्दै उनले ग्रामीण विकास तथा सामुदायिक परियोजनाहरू विस्तार गर्नुपर्ने आवश्यकता औँल्याए ।
कार्यक्रममा जाइका नेपाल प्रमुख मिजुकी मात्सुजाकीले जानले नेपाल(जापान सम्बन्धलाई मजबुत बनाउन पुर्याएको योगदानको प्रशंसा गरे । कार्यक्रममा उपराष्ट्रपतिले जानबाट प्रकाशित ‘मिलन’ पत्रिका सार्वजनिक गरेका थिए भने पत्रिकाका लेखकहरूलाई योगदानको कदर गर्दै कदर पत्र प्रदान गरिएको थियो।
कार्यक्रमको सञ्चालन जानका उपाध्यक्ष डा. किरण रुपाखेतीले गरेका थिए भने महासचिव शान्ति लक्ष्मी शाक्यले स्वागत मन्तव्य सहित जानका गतिविधिहरू बारेमा प्रकाश पारेकी थिइन् ।
जापान अन्तर्राष्ट्रिय सहयोग नियोग (जाइका) को सहयोगमा नेपालबाट जापान गई अध्ययन, तालिम तथा भ्रमण गरी फर्किएका नेपालीहरूलाई संगठित गरी जापान र नेपाल बीचको मित्रतालाई थप सुदृढ गर्ने उद्देश्यले वि.सं. २०२९ मा स्थापना भएको जानको ५१औँ वार्षिकोत्सव मनाउने सिलसिलामा यो कार्यक्रमको आयोजना भएको हो।
समारोहमा जानका सदस्यहरू, नेपाल सरकारका उच्च पदाधिकारी, जापानी राजदूतावासका प्रतिनिधि, जाइका नेपालका पदाधिकारी तथा अन्य विशिष्ट व्यक्तिहरूको उपस्थिति रहेको थियो।