काठमाडौँ । नेपाल प्रहरीको ३१औँ प्रहरी महानिरीक्षक (आईजीपी) मा थापा नियुक्त भएका छन् ।
प्रधानमन्त्री निवास बालुवाटारमा सोमबार(आज) बसेको मन्त्रिपरिषद् बैठकले नेपाल प्रहरीका एआईजी थापालाई आईजीपी नियुक्त गर्ने निर्णय गरेको एक मन्त्रीले प्रशासन सिंहदरवार विशेष ब्युरोलाई जानकारी दिए ।
आईजीपी नियुक्तिका लागि प्रतिस्पर्धामा रहेका तीन एआईजी दीपक थापा, सुदीप गिरी र टेकबहादुर तामाङमध्ये थापालाई प्रहरी संगठनको नेतृत्व सुम्पिएको हो ।
३० वर्षे सेवा अवधि कायमै रहे, आईजीपी थापाले अब केही महिना नेपाल प्रहरीको नेतृत्व सम्हाल्नेछन् । वर्तमान आईजीपी वसन्त बहादुर कुँवर मंगलवार(भोली)बाट नियमित अवकाशमा जाँदैछन् ।
को हुन् थापा ?
भक्तपुर सिपाडोलका स्थायीवासी थापा प्रहरी सेवामा प्रवेश गर्नुअघि शिक्षण पेशामा संलग्न थिए। आईए पास गरेपछि उनले निजी विद्यालयमा अध्यापन सुरु गरे र २०४८ सालमा शिक्षा सेवा आयोगको परीक्षा उत्तीर्ण गरी निमावि शिक्षक बने।
भक्तपुर क्याम्पसमा बीए अन्तिम वर्ष अध्ययन गर्दै गर्दा उनले कन्या मावि, भक्तपुरमा पढाउन थाले। २०५० सालमा प्रहरी निरीक्षकका लागि आवेदन खुलेपछि उनले दर्खास्त दिए। आईए र बीए दुवै तहमा भक्तपुर क्याम्पस टप गरेका थापा सहित हालका आईजीपी वसन्त कुँवरले पनि सोही विज्ञापनमा आवेदन दिएका थिए।
सर्टलिस्टमा परेका ६० जनामध्ये ५२ जनाले तत्काल नियुक्ति पाए, तर थापा सहित बाँकी ८ जनाले ६ महिनापछि १९ भदौ २०५२ मा नियुक्ति पाए। प्रहरी सेवामा प्रवेश गरेपछि उनले विभिन्न जिल्लामा प्रहरी कमाण्ड सम्हाले, जसमा महाराजगञ्ज वृत्त, उपत्यका अपराध अनुसन्धान कार्यालय, बागमती प्रदेश प्रहरी र प्रशासन विभागको नेतृत्व समेटिएको छ।
थापाले अख्तियार दुरुपयोग अनुसन्धान आयोगको सुर्खेत र बुटवल कार्यालयको प्रमुख भएर पनि काम गरे।
नेपाल प्रहरीको ३१औँ महानिरीक्षकमा नियुक्त भएका दीपक थापाले ५ महिना १३ दिनसम्म नेपाल प्रहरीको नेतृत्व गर्ने भएका छन्। प्रहरीको ३० वर्षे सेवा अवधिका कारण उनी आगामी भदौ १८ गते अवकाश पाउनेछन्। तर संसदमा प्रहरी ऐनको विधेयक पारित भए थप ६ महिना थपिने सम्भावना छ ।
सम्बन्धित समाचार: कसलाई बनाउने नयाँ आइजीपी ?