काठमाडौँ । नेपाल ललितकला प्रज्ञा-प्रतिष्ठानको आयोजनामा आजदेखि अग्रज कलाकारहरूको सहभागितामा ‘अक्षरको यात्रा’ कला प्रदर्शनी सुरु भएको छ ।
नक्सालमा प्रदर्शनीको उद्घाटन गर्दै काठमाडौँ महानगरपालिका उपप्रमुख सुनिता डंगोलले नेपालका लिपिहरू हराइएकोमा चिन्ता प्रकट गर्दै त्यसको संरक्षण जरुरी रहेको बताइन् ।
सो क्रममा उनले भनिन्, “नेपालका विभिन्न लिपिहरू छन्, ती लिपिहरूलाई प्रदर्शनमा ल्याउन यस्ता प्रदर्शनीहरू एकदमै महत्त्वपूर्ण हुन्छन् । नेपालका धेरैभन्दा धेरै लिपि जुन हराइएका छन्, हराउने क्रममा छन्, ती लिपिहरूलाई अझै संवर्द्धन, प्रवर्द्धन गर्न यस प्रदर्शनीले भूमिका खेलोस् ।”
प्रदर्शनीमा राखिएका कलाकृतिमा क्रान्ति, स्नेह, भविष्य, इतिहास, वर्तमानका कुरा रहेको आभास आफूले पाएको बताउँदै उहाँले आर्ट गर्ने, इतिहास, लिपिसँग चासो राख्नेलाई समेट्दै जानुपर्नेमा जोड दिइन् ।
प्रतिष्ठानका कुलपति नारदमणि हार्तम्छालीले अक्षर आफैँमा एक अक्षर मात्र नभएको र यसले भाव व्यक्त गर्ने तथा कलाको सौन्दर्यलाई प्रकट गर्ने बताए । उनले अक्षरलाई रङ, रेखा र आकारसँग जोडेर विम्बिकरण गरी सूचना सम्प्रेषण गर्न सकिने र लालित्यको दृष्टिले पनि अक्षरलाई सम्बोधन गर्न सकिने बताउँदै यस कार्यक्रम सुरूआती भएको र आगामी दिनमा अझ परिष्कृत रूपमा बढ्ने बताए ।
प्रतिष्ठानका सदस्य सचिव देवेन्द्रकुमार काफ्ले ‘थुम्केली’ ले करिब ४ हजार वर्षअघि मेसोपोटामियामा विकास भएको ध्वनि प्रतीक चिह्न नै आजको लिपिको प्रारम्भिक रूप भएको बताए । उनले नेपालका अन्य लिपिलाई समेत समेट्दै कार्यक्रमको अर्को संस्करण बृहत् बनाउने धारणा राखे ।
बहुआयामिक तथा अन्य सिर्जनात्मक कला विभाग प्रमुख सौरगंगा दर्शनधारीले आजको युगमा अक्षरबिनाको केहीको कल्पना नै गर्न नसकिने बताए । उनले भने, “आ-आफ्नो भाषासँग आ-आफ्नो लिपि हुन्छ । त्यही लिपिलाई कलाकारले आफ्नो भावना समेट्दै कलाकृति सिर्जना गर्नुभएको हो ।”
चैत २५ गतेसम्म चल्ने प्रदर्शनीमा नारदमणि हार्तम्छाली, किरण मानन्धर, केके कर्माचार्य, वत्सगोपाल वैद्य, मदन चित्रकार, राधेश्याम मुल्मी, लालकाजी लामा, पाल्सांमो लामा, सौरगंगा दर्शनधारी, दिनेश्वर महतो, सञ्जय बान्तवा, अरूणा हिङमाङलगायतले सहभागिता जनाएका छन् ।