७ बैशाख २०८२, आईतवार

प्रशासन एक्सक्लुसिभ

crisis_alert चार निर्माण कम्पनी कालोसूचीमा (सूचीसहित)    crisis_alert यसरी घट्न थाल्यो बालविवाह : अभियान सँगसँगै स्थानीय सरकार पनि लागि परे     crisis_alert गाँजामाथिको प्रतिबन्ध हटाउने प्रतिवेदन तयार, कस्तो छ गाँजाबाटै समृद्धि भित्र्याउने सरकारी खाका ?   crisis_alert मन्दीले ताल्चा लाग्न थालेको बजार : खोल्ने कसले हो, कसरी हो ?   crisis_alert किन काम गरिरहेका छैनन् अर्थतन्त्र सुधारका प्रयासले ?   crisis_alert अर्थतन्त्रको सङ्कटबाट साना व्यवसाय नियाल्दा: त्यति विधि निराशा छैन, आशा बाँकी छ   crisis_alert गरिबलाई बाँच्नसमेत नदिइरहेको आर्थिक सङ्कट   crisis_alert सङ्कटको डिलमा पुग्दै आन्तरिक अर्थतन्त्र   crisis_alert गृह मन्त्रालयले थाहै नपाई कैदीहरूले गरिदिए जेलरको सरुवा   crisis_alert बाँसबारी जग्गा प्रकरणको केन्द्रमा छन् विनोद चौधरी    crisis_alert काँग्रेस सांसदको पाँचतारे होटेलका लागि एकै दिनमा फेरियो कानुन    crisis_alert ‘भिजिट भिसा’ले अन्तर्राष्ट्रिय विमानस्थलमा टकराब, किन भइरहेछ प्रहरी-अध्यागमन मनमुटाब ?    crisis_alert विधिको शासनकै मजाक बनाइएको ललिता निवास प्रकरण  

प्रशासन एक्सक्लुसिभ

crisis_alert चार निर्माण कम्पनी कालोसूचीमा (सूचीसहित)    crisis_alert यसरी घट्न थाल्यो बालविवाह : अभियान सँगसँगै स्थानीय सरकार पनि लागि परे     crisis_alert गाँजामाथिको प्रतिबन्ध हटाउने प्रतिवेदन तयार, कस्तो छ गाँजाबाटै समृद्धि भित्र्याउने सरकारी खाका ?   crisis_alert मन्दीले ताल्चा लाग्न थालेको बजार : खोल्ने कसले हो, कसरी हो ?   crisis_alert किन काम गरिरहेका छैनन् अर्थतन्त्र सुधारका प्रयासले ?   crisis_alert अर्थतन्त्रको सङ्कटबाट साना व्यवसाय नियाल्दा: त्यति विधि निराशा छैन, आशा बाँकी छ   crisis_alert गरिबलाई बाँच्नसमेत नदिइरहेको आर्थिक सङ्कट   crisis_alert सङ्कटको डिलमा पुग्दै आन्तरिक अर्थतन्त्र   crisis_alert गृह मन्त्रालयले थाहै नपाई कैदीहरूले गरिदिए जेलरको सरुवा   crisis_alert बाँसबारी जग्गा प्रकरणको केन्द्रमा छन् विनोद चौधरी    crisis_alert काँग्रेस सांसदको पाँचतारे होटेलका लागि एकै दिनमा फेरियो कानुन    crisis_alert ‘भिजिट भिसा’ले अन्तर्राष्ट्रिय विमानस्थलमा टकराब, किन भइरहेछ प्रहरी-अध्यागमन मनमुटाब ?    crisis_alert विधिको शासनकै मजाक बनाइएको ललिता निवास प्रकरण  

यस्तो छ थाइल्यान्डमा ओलीले एशियन इन्स्टिच्युट अफ टेक्नोलोजीको कार्यक्रममा गरेको सम्बोधन (पुर्णपाठ)

अ+ अ-

काठमाडौँ । प्रधानमन्त्री केपी शर्मा ओलीले मानवजातिबाट विनास र भयानक क्षति हुन नपाओस् भनेर चिन्ता गर्नुपर्ने अवस्था भएको बताएका छन् ।

थाइल्यान्डमा आयोजित एशियन इन्स्टिच्युट अफ टेक्नोलोजीको एक कार्यक्रमलाई सम्बोधन गर्ने क्रममा उनले यस्तो बताएका हुन् । साथै, पृथ्वीमा मानिसहरू आफैँबाट त्रसित हुनुपर्ने अवस्था रहेको उनले बताए ।

जलवायु परिवर्तन, बिग्रँदो ईको सिस्टम, मानव जातिको विनास, कमजोर राष्ट्रहरूको अस्तित्वमा उठेका गम्भीर प्रश्न लगायतका विषयमा गम्भीर हुनुपर्ने भनाइ प्रधानमन्त्री ओलीले सो सम्बोधनको क्रममा राखेका छन् ।

आफू नेपालको प्रधानमन्त्रीको हैसियतमा मात्रै नभई पृथ्वीको एक नागरिकको रूपमा बोलेको सुनाउँदै उनले जलवायु संकट, असमानता, गरिबी र तीनका प्रभावहरू सिमानामा नरोकिने उनले बताए ।

उनले यी सबै विषयको एकमुष्ट निष्कर्ष निकाल्दै भनेका छन्, ‘त्यसैले हामी-’समृद्ध नेपाल, सुखी नेपाली‘ को यात्रामा हिँडेका छौँ, तर यस यात्राको अन्तिम गन्तव्य- ‘समृद्ध विश्व, सुखी मानवजाति’ हो ।’

उनले आफू देशबाहिर हुँदा कूटनीतिक भेटघाटमा मात्रै सीमित नरहने सम्बोधनको क्रममा बताएका छन् ।

पुर्णपाठ :

सम्माननीय प्रधानमन्त्री श्री केपी शर्मा ओलीको
एशियन इन्स्टीच्यूट अफ टेक्नोलोजीको संबोधन
उपस्थित सम्पूर्ण महानुभावहरु,
म जब देशबाहिर निस्कन्छु, म केवल कूटनीतिक भेटघाटमा सीमित रहन चाहन्नँ, जहाँ सकिन्छ मौका मिलाएर विश्वविद्यालयहरूमा पुग्छु । मेरो विचारमा विश्वविद्यालयहरू केवल शैक्षिक संस्था मात्र होइनन्, यी नयाँ सोचको बिरुवा उम्रार्ने माटो हुन् । अध्ययन र अनुसन्धान गरेर नयाँ नयाँ विचार उमार्ने थलो पनि हुन् । त्यसैले म जहाँ जान्छु, यस्ता ठाउँहरूमा पुगेर विद्यार्थीहरूसँग, अध्यापक र विद्धानहरूसँग संवाद गर्न खोज्छु । बिमस्टेक सम्मेलनमा भाग लिन थाइल्याण्ड आएपछि यो संस्थामा नआई मनले मान्दै मानेन् । यही सिलसिलामा आज म तपाइहरु सामु आईपुगेको छु ।
तपाईंहरूलाई धन्यवाद,
मलाई यो अवसर प्रदान गर्नुभएकोमा –
एशियन इन्स्टिच्युट अफ टेक्नोलोजी (AIT) जस्तो प्रतिष्ठित प्राज्ञिक संस्थामा बोल्न पाउनु मेरो लागि अत्यन्त गर्वको विषय हो।
किनभने, सन् १९५९ मै AIT जस्तो संस्था स्थापना गरिएको थियो – कस्तो महान र दूरदर्शी निर्णय!
त्यो समय कम्प्युटर साइन्स र कम्प्युटिङको प्रारम्भिक चरण पनि सुरु भएको थिएन।
५० को दशक त कम्प्युटरको मात्र शुरुवाती युग हो। त्यसअगावै, आगामी दिनहरूको तीव्र गतिको वैज्ञानिक र प्रविधि–केन्द्रित रूपान्तरणलाई देख्ने आँखा हुनु, र त्यो परिवर्तनलाई सम्भव बनाउन आवश्यक ज्ञानका क्षेत्रहरूमा केन्द्रित एक अन्तर्राष्ट्रिय संस्था स्थापना गर्नु, जसरी मैले अघि भनेँ, त्यो एक साँच्चै महान र दूरदर्शी कार्य हो।
AIT ले विज्ञान र प्रविधिको तीव्र विकासलाई मात्र होइन, त्यस प्रविधिबाट उत्पन्न सामाजिक परिवर्तनलाई पनि बुझ्ने आधार दिएको छ।
र, आज सिंगो मानवजातिको सामाजिक अवस्थाको उन्नतिमा यस संस्थाले दिएको योगदान -गौरवको कुरा मात्र होइन, प्रेरणाको स्रोत पनि हो।
मलाई यो संस्था बहुराष्ट्रिय सोच, प्राविधिक उत्कृष्टता, र सामाजिक प्रतिबद्धताको त्रिवेणी जस्तो लाग्छ । संस्थाले विज्ञान र प्रविधिको विकासमा मात्र नभई, एशियाली सहकार्य, नवप्रवर्तन, र दिगो विकासमा महत्वपूर्ण योगदान पुर्‍याउँदै आएको छ।
नेपाल पनि यस संस्थाको संस्थापक सदस्य राष्ट्रहरु मध्ये एक हो । नेपालजस्ता विकासशील चरणमा बल्ल प्रवेश गर्न खोज्दै गरेको राष्ट्रलाई यो संस्थाले लगानीको आधारमा होइन, सहभागिता र सहकार्यको लागि सदस्यता दिएको हो । त्यसैले आज पनि यो संस्थामा हामीले Board of Trustee का रुपमा नेपालको प्रतिनिधित्व गरिरहेका छौं। मलाई लाग्छ, हाम्रो सम्बन्ध औपचारिक मात्र होइन, भावनात्मक पनि छ । सन् २०१२ मा, AIT को नयाँ चार्टरलाई अनुमोदन गर्ने प्रारम्भिक राष्ट्रहरूमध्ये नेपाल पनि एक थियो ।
यस संस्थावाट शिक्षा हासिल गरेका थुप्रै नेपालीहरू-पूर्वाधारदेखि जलस्रोतसम्म, सूचना प्रविधिदेखि नीति निर्माणसम्म—नेपालको विकासमा भूमिका खेलिरहेका छन्। हामीले यस संस्थासँगको सहकार्यलाई सधैं सम्मान र सम्भावनाको दृष्टिले हेर्दै आएका छौं।
आदरणिय महानुभावहरु,
हाम्रा पूर्वजहरूले भनेका छन् –
सर्वे भवन्तु सुखिनः। सर्वे सन्तु निरामयाः।
सर्वे भद्राणि पश्यन्तु। मा कश्चिद् दुःखभाग् भवेत ।
अर्थात् -सबै जना सुखी होऊन्। सबै निरोगी रहून्। सबैले शुभ कुरा हेर्न पाऊन्। र, कुनै पनि व्यक्ति कहिल्यै दुःखको भागी नबनोस्।
यो केवल प्रार्थना होइन, यो हाम्रा पूर्खाहरुको हजारौं वर्षको अनुभवबाट जन्मिएको जीवन–दर्शन हो।
कम चेतना भएका प्राणीहरू पनि सुखकै इच्छा राख्छन् – व्यक्त गर्न सक्दैन, त्यो बेग्लै कुरा भयो । तर मान्छे ? सबै मान्छे सुख खोज्छन् । मानिसले आफ्ना सारा प्रयास, सारा चेष्टा, अन्ततः सुखकै लागि गर्छ ।
खासमा सुख खोज्नु, हाम्रो सार्वभौम मानवीय अधिकार हो।
त्यही भएर, नेपालमा हामीले “समृद्ध नेपाल, सुखी नेपाली” को राष्ट्रिय आकांक्षा बोकेका छौं । मैले त्यसको प्राप्तीलाई आफ्नो गन्तब्य बनाएको छु । त्यसैले आज म यहाँहरु समक्ष ‘समृद्धि र सुख’ का वारे मेरा केही कुरा राख्न चाहान्छु ।
आज मलाई अलिकति समस्या परिरहेको छ । किनकी म यहाँ अंग्रेजी भाषामा वोलिरहेको छु ।
नेपाली भाषामा कतिपय शव्दहरु यस्ता छन् जसलाई अंग्रेजीमा अनुवाद गर्दा त्यसले ठ्याक्कै भाव बोक्न सक्दैन् । नेपाली भाषामा दुईवटा शव्द छन्– ‘खुशी’ र ‘सुखी’ । यी दुबै शव्दलाई जनाउने अंग्रेजी भाषामा एउटै शब्द छ, जसलाई हामी ‘ह्याप्पी’ भन्छौं ।
जवकी एउटाको भाव क्षणिक, आवधिक र विषयगत हुन्छ । अर्कोको दिर्घकालिन, दिगो, स्थायी र समग्र हुन्छ।
म तपाईंहरू समक्ष यसलाई अलिकति विस्तारमा व्याख्या गर्ने अनुमति चाहन्छु ।
नेपालीमा खुशी भन्नाले हाँसो, रमाइलो, सफलता, मिठो खाना, घुमघाम आदिबाट प्राप्त हुने क्षणिक वा आवधिक कुरालाई जनाउछ ।
जवकी ‘सुखी’ले भोलिको चिन्ता नगरी आज मस्त निदाउन सक्ने निर्भयपूर्ण वातावरण भन्ने बुझाउँछ ।
हेर्नुस् त, शव्दको भाव मात्र होईन गहिराई नै कति फरक छ !
यहाँ म, तपाईहरु समक्ष सुख र समृद्धिको वारेमा चर्चा गर्दैछु । जो दिर्घकालिन, दिगो, स्थायी र समग्र हुन्छ । जो वर्तमान पुस्तालाई मात्र होइन पुस्तौ पुस्ताका लागि पनि उपलब्ध हुन्छ ।
त्यसैले हामीले देशको राष्ट्रिय आकाङ्क्षा र गन्तव्य वनाउँदा Prosperous Nepal, Happy Nepali (समृद्ध नेपाल, सुखी नेपाली) भनेका हौं ।
‘समृद्ध नेपाल, खुसी नेपाली’ होइन ।
उपस्थित महानुभावहरु,
लोकतन्त्रका लागि मैले १४ वर्ष जेल/नेल भोगेको छु । कयौं दशक संघर्ष गरेको छु । याताना भोगेको छु । कष्टसाध्य जीवन विताएको छु । अहिले नेपालको प्रधानमन्त्रीको रुपमा देशको सेवा गरिरहेको छु ।
म कहिलेकाँही आफैंलाई प्रश्न गर्छु–
-मेरो उद्देश्य के हो ?
-मेरो सरकारको उद्देश्य के हो ?
-मेरो पार्टीको उद्देश्य के हो ?
-म आफैं संलग्न राजनीतिक आन्दोलनको उद्देश्य के हो ?
विगतलाई सम्झदाँ, वर्तमानलाई हेर्दा, र भविष्यको कल्पना गर्दा, म चारवटै प्रश्नको उत्तर एउटै पाउँछु– सम्पूर्ण मानव जाति आज सुरक्षित होस् र सुखी होस् । भविष्यको सन्तति झन् बढी सुरक्षित र सुखी होस् ।
हरेक जीवको पहिलो जैविक प्रवृत्ति हो-सुरक्षित हुनु ।
म नेपालको एउटा साधारण गाउँमा हुर्किएको मान्छे हुँ । हामी सानो छँदा, बिहान खाना पकाएपछि थोरै भाग कागको लागि छुट्याएर घर वाहिर पातमा राख्ने चलन थियो। खाना राखिसकेपछि काग तुरुन्त आएर झम्टिन्थ्यो भन्ने होइन। शुरु शुरुमा ऊ परबाट हेर्थ्यो-हेरिरहन्थ्यो। भोक त लागेको हुन्थ्यो होला नि- तर ऊ खाँदैनथ्यो। हुन त उसका लागि न भान्सा थियो, न कतै खाना पाकेको थियो, न त कसैले काग आउछ र खान्छ भनेर भाग नै छुट्याएर राखेको हुन्थ्यो ।
कागले कहिलेकाहीँ कहिंकतै केही खान पाएको हुन्थ्यो होला तर उसको दिन प्रायः प्राण धान्ने संघर्षमै बित्थ्यो।
भोको स्थितिमा नजिकै खाना राखिदिँदा पनि त्यो काग खादैनथ्यो, शायद उसले सोचेको हुन्थ्यो– यहाँ कतै मेराविरुद्ध जालझेल त छैन ? कुनै षड्यन्त्र त छैन ? म खाना नजिक जाँदाखेरि कहीं मेरो ज्यान तलवितल त पर्दैन ? मेरो सुरक्षामा कुनै किसिमको खतरा त पैदा हुँदैन ?
जबसम्म उसलाई ‘म मर्दिनँ’ भन्ने अनुभूति हुँदैन, त्यसले खाँदैन। बरु भोकै बस्छ।
एक मामुली काग पनि पातमा राखिएको अन्न हेरिरहन्छ, खाँदैन -जबसम्म उसले सुरक्षा अनुभूति गर्दैन।
त्यसले पनि जान्दछ-भोलि केही भेटिन्छ। तर आज म मरेँ भने -भोलि नै हुँदैन।
त्यसैले ऊ खानाभन्दा पहिला जीवन रोज्छ।
मानवजातिमा यो प्रवृत्ति झनै गहिरो हुन्छ ।
र, त्यसैले मलाई लाग्छ -एक नागरिकलाई ‘म बाँच्छु, म सुरक्षित छु’ भन्ने अनुभूति र प्रत्यभूति दिलाउनु, राज्यको सबैभन्दा पहिलो दायित्व हो।
त्यसैले हरेक राज्यको मूल प्रयत्न यसैमा हुनुपर्छ । ताकी हामी यस्तो वातावरण बनाउन सकौं -जहाँ मान्छेले डर होइन, ढुक्क अनभुव गरोस्।
-जहाँ बोल्न, हाँस्न, सपना देख्न स्वतन्त्र होस्।
-आफ्नो घरमा ढुक्कले बस्न सकोस् ।
-कार्यस्थलमा ढुक्कले काम गर्न सकोस् ।
-मन लागेको ठाउँमा मस्त घुम्न सकोस् ।
-अनि दिनभरी काम गरेर थाकेको ज्यान लिएर बिछ्यौनामा जाँदा ढुक्कले निदाउन सकोस् ।
आदरणिय उपस्थित महानुभावहरु,
मानिस -अरू कुनै जीवजस्तो मात्र होइन।
मानिस-स्मरणशक्ति हो, अनुभूति हो, अनि अनुभव पनि ।
मानिस, विगत सम्झन्छ । अनुभव बोक्छ । अनि त्यसबाट योजना बनाउँछ।
त्यसैले, उसले सबैभन्दा पहिले खोज्ने कुरा हो -सुरक्षा ।
उसले खान्छ, काम गर्छ, योजना बनाउँछ-सबै बाँच्नको लागि, र सुरक्षित महसुस गर्नको लागि।
र, जब सुरक्षित हुन्छ- त्यहीँ रोकिदैन, बिस्तारै सुविधा खोज्न थाल्छ। अझ राम्रो जीवनशैली, शिक्षा, स्वास्थ्य, आराम… त्यसपछि उ अवसर खोज्न थाल्छ।
र, अवसर भेटेपछि -प्रतिस्पर्धा गर्न तयार हुन्छ।
तर प्रतिस्पर्धा पनि मानिसको लागि केवल जित्ने माध्यम होइन – स्वीकारिने माध्यम हो। सम्मान कमाउने बाटो हो।
त्यही भएर ऊ चाहन्छ-उसको योग्यता, उसका प्रयास, उसका मूल्य मान्यताले स्थान पाओस् ।
मिहेनत गर्छ। कहिले व्यक्तिगत संघर्षमार्फत, कहिले जनविश्वास जितेर । ऊ आफूलाई सिद्ध गर्न खोज्छ।
तर मानिस यस्तो प्रतिस्पर्धा चाहन्छ, जहाँ पहिलो बन्न पाइयोस्, तर अरूलाई लडाउन नपरोस्।
त्यो नै सभ्यताको सार हो । त्यो नै सुख र समृद्धिको आधार हो ।
मैले अघि पनि भने मानिसको लागि अनभुव र अनूभुति ठूलो कुरा हो ।
एउटा उदाहरण हेरौं-गाईभैंसीलाई तपाई गाली दिनुस्, तथानाम भन्नुस्, कुट्नुस् वा प्रशंसा नै गर्नुस् । तर यदि त्यही बेला घाँस दिनुभयो भने, गाईभैंसीले घाँस खाने तरिकामा तपाईं खासै फरक पाउनुहुन्न।
तर मानिस त्यस्तो होइन।
मानिस-सिर्फ शरीर होइन, उसले आफ्नो आत्मालाई पनि खुवाउँछ।
उसलाई थालमा खाना राख्नुस् -तर त्योसँगै अपमानको शब्द राख्नुभयो भने, ऊ त्यो खाना होइन, त्यो व्यवहार याद गर्छ।
भोक लागे पनि ऊ थाल फर्काउँछ। उसको खाली पेटले पनि -आत्मसम्मान माग गर्छ।
मानिसलाई खाने कुरा मात्रै होइन -खाने योग्य व्यवहार पनि चाहिन्छ।
त्यही कारण हो-उसले केवल पेटभरि होइन, सम्मानका साथ पेट भरिने वातावरण खोज्छ।
मलाई लाग्छ, जहाँ आत्मसम्मानको मूल्य छैन, त्यहाँ न सम्बन्ध टिक्छ, न निष्ठा ।
सम्मान नदिने समाजमा विकास पनि टिक्दैन।
सम्मान नपाउने नागरिक -राज्यप्रति निष्ठावान पनि हुन्न। न त ऊ कानुनको पालना गर्छ, न त त्यो समाजप्रति गर्व गर्छ।
त्यसैले, समाजको रूप कस्तो होस् भन्ने कुरा -केवल कानुनले होइन, व्यवहारले निर्धारण गर्छ।
त्यसैले,
-हामीले कल्पना गरेको समाज – कानुनको डरले होइन, कर्तव्यको बोधले चलेको होस्।
-जहाँ नीति केवल कागजमा होइन, नागरिकको बानीमा होस्।
-जहाँ समाजलाई दण्डले होइन, नैतिकताले निर्देशित गरियोस्।
-समाज यस्तो होस्, जसले आफैंले सिर्जना गरेका मूल्यहरूलाई आफ्नो कम्पास बनाओस्।
-जहाँ हरेक नागरिकले अधिकार प्रयोग गर्दा, त्यो ‘अधिकार’ले अरूको जीवनमा चोट नपारोस् भन्ने चिन्ता पनि साथै लिएर गरोस्।
हामीले परिकल्पना गरेको उन्नत समाज यस्तो हो –
-जहाँ मानिस आफ्नो सम्मान खोज्छ, तर अरुको सम्मानमा ठेस नपु¥याएर।
-जहाँ ऊ आफ्नो सम्पत्ति जोगाउँछ, तर अरुको चीज नोक्सान नगरीकन।
-जहाँ स्वतन्त्रता खोजिन्छ, तर त्यो स्वतन्त्रता अरुको स्वतन्त्रताको सीमाभित्र रहोस् भन्ने चेतना पनि साथमा लिएर ।
हामीलाई थाहा छ-
जसरी मलाई एउटा रुचि छ, त्यसैगरी अरूलाई पनि हुन्छ।
र यदि म चाहन्छु, मेरो रुचिलाई मान दिइयोस् -त्यो मान, म अरुको रुचिलाई पनि दिन तयार हुनुपर्छ।
हामीले बनाउन खोजेको समाज यही हो –
-जहाँ स्वतन्त्रता व्यक्तिगत होस्, तर संवेदनशील पनि होस्।
-जहाँ सम्मान व्यक्तिगत होस्, तर पारस्परिक पनि होस्।
यी सबै कुरा मानिसका जैविक र मानविय आवश्यकता हुन् । यसको न्यायोचित र सहज परिपूर्ति मानवीय आकाङ्क्षा हो । यही आकांक्षाको परिपूर्ति ‘समृद्ध नेपाल, सुखी नेपाली’को आधार हो ।
आदरणिय उपस्थित महानुभावहरु,
आजको अवस्था हेर्दा जसकसैलाई पनि लाग्न सक्छ-के समृद्ध नेपाल, सुखी नेपाली संभव होला र ?
मैले अघि पनि भनेँ -हामी त्यो भविष्य कल्पना गरिरहेका छौं।
-जहाँ नागरिकको जीवन आधारभूत आवश्यकताले मात्र होइन, सम्मान, सुरक्षाबोध र सम्भावनाले भरिएको होस्।
-तर त्यो सम्भावना केवल भावनाको विषय होइन-त्यो संरचनागत सोच, रणनीति र लगानीको विषय पनि हो।
हाम्रो लागि त्यसको पहिलो आधार कृषि हो ।
कृषि -हाम्रो वर्तमान र भविष्य दुवैको मेरुदण्ड हो ।
हामी कृषि प्रणालीलाई केवल जीविकाको माध्यम होइन, आधुनिक समृद्धिको इञ्जिन बनाउन चाहन्छौं। किनकी कृषि जीवनको आधार हो ।
यदि हामीले कृषि उत्पादनमा उत्पादकत्व बढाउन सक्यौं, भण्डारण, आपूर्ति, मूल्य स्थायित्वमा सुधार गर्न सक्यौं भने हामी केवल आत्मनिर्भर बन्ने होइन, निर्यातमा प्रतिस्पर्धी बन्न सक्छौं। यसले केवल कृषकको आय मात्र बढाउँदैन, देशको व्यापार सन्तुलनमा समेत योगदान गर्छ।
तर कुरा कृषिको मात्रै होइन। सेवा क्षेत्र, पर्यटन, खानी, जडीबुटी, वनपैदावर यी सबै क्षेत्रलाई हामीले आर्थिक गतिशीलताको इकोसिस्टमको रूपमा हेर्नुपर्छ।
यी क्षेत्रहरू सँगसँगै चले भने हामीले रोजगारी सिर्जना गर्छौं, मूल्य श्रृंखला विस्तार गर्छौं, र आर्थिक समावेशिता सुनिश्चित गर्छौं। तर यसका लागि हामी ढुंगा जोगाउछौं, माटो बचाउछौं, पानीको स्रोत स्याहार्छौं ।
यसवाट हामी चाहन्छौं, कुनै पनि नेपाली नागरिकमा भोलिको जीविकाको चिन्ता नहोस्।
-खाना होस्, लुगा होस्, बस्न घर होस्।
-गुणस्तरीय शिक्षा उपलब्ध होस्।
-स्वास्थ्यको पहुँच सहज होस्।
-राजनितीक, आर्थिक, सामजिक र साँस्कृतिक अधिकार प्राप्त होस् ।
-जीवन, सुरक्षाका साथ बाँचिएको छ भन्ने अनुभूति होस्।
-र, मानिसले सम्मानित जीवन बाँच्न पाओस् ।
त्यही बाटो समृद्धिको हो। र, सुख यसबाटै आउँछ ।
आज हामी २१औं शताब्दीमा छौं। र, हामीलाई राम्रोगरी थाहा छ, यो समय तीव्र विकास र परिवर्तनको समय हो। यसको अर्थ, आज विज्ञान र प्रविधिले प्रत्येक पल विकास गरिरहेको छ, र अनौठा उपलब्धिहरू हासिल गर्दैछ। हामीले चाहेको विकास पनि विज्ञान र प्रविधिको जति बढी उपयोग गर्न सक्छौं, त्यति नै छिटो अघि बढ्न सक्छौं।
त्यसैले म भन्छु –
-अब विकासको पुरानो ‘क्रमिक सिद्धान्त’ मात्र पर्याप्त छैन। आज एकपछि अर्को गुणात्मक फड्को मार्न सकिन्छ।
समाजले उन्नत अवस्थामा पुग्न पहिलेका जस्तो शताब्दीहरू कुर्नु पर्दैन। हामी हाम्रो विकासको गति आश्चर्यजनक बनाउन सक्छौं। हिजो भोकमरीले हामीलाई पिल्साइरहेको थियो, भोलिका केही वर्षमै हामी त्यो अवस्थाबाट मुक्त हुन सक्छौं। हामीले विकासका आकांक्षाहरू छिटो साकार पार्न सक्छौं। र, मैले गन्तव्य बनाएको ‘समृद्ध नेपाल, सुखी नेपाली’को राष्ट्रिय आकाङ्क्षा केही थोरै दशकमै वास्तविकता बन्न सक्छ।
उपस्थित महानुभावहरु,
तर विषयको अर्को पाटो पनि छ । आज मानिसको सुरक्षित भविष्यका लागि केही चिन्ताका विषयहरु छन् । जलवायु परिवर्तनका प्रश्नहरु छन् । बिग्रदो ईको सिस्सटका प्रश्नहरु छन् ।
आज बिडम्वना मानवजातीको विनास वा भयानक क्षति मानवजातीबाटै हुन नपाओस् भनेर चिन्ता गर्नुपर्ने अवस्था छ । मानव जातीबाटै मानवजाती त्रसित छ ।
साना र कमजोर राष्ट्रहरु आफ्नो अस्तित्वकै प्रश्नमा गम्भिर छन् । मानवजातीको रक्षाका निम्ति होइन मानव माथि प्रहार गर्नकै लागि विभिन्न प्रकारका आम विनासका हतियारहरु निर्माण भइरहेका छन् ।
यसले मानवजातीको अस्तित्व, वातावरण र मानवजाती र पृथ्वीको भविष्य माथि खतरा उत्पन्न गरिरहेको अवस्था छ ।
यस त्रासदीपूर्ण अवस्थाबाट मानवजाती मुक्ति चाहन्छ । तर बाटो सुझिरहेको छैन् ।
मानविय आकाङ्क्षा र मानविय आवाज बाहेक अर्को कुनै उपाय पनि देखिदैन् । न त यीनको समाधान एकल प्रयासबाट संभव छ । त्यसका लागि सामूहिक चेतना र साझा प्रतिवद्धता चाहिन्छ ।
आज म केवल नेपालको प्रधानमन्त्रीको हैसियतले बोलिरहेको छैन, म पृथ्वीको एक नागरिकको रूपमा पनि बोलिरहेको छुः
-किनभने जलवायु संकट, असमानता, गरिबी र तिनका प्रभावहरु सिमानामा रोकिन्नन् भन्ने कुरा मलाई जानकारी छ ।
त्यसैले हामी– “समृद्ध नेपाल, सुखी नेपाली” को यात्रामा हिडेका छौं, तर यस यात्राको अन्तिम गन्तव्य — ‘समृद्ध विश्व, सुखी मानवजाति’ हो।
अन्त्यमा,
यहाँ आउँदा मलाई महसुस भईरहेको छ, हामी पृथक पृष्ठभूमिका भएपनि साझा भविष्य बोकेका सहयात्री हौं।
यस संस्थाका विद्यार्थी, अध्यापक, र समस्त परिवारप्रति म कृतज्ञता प्रकट गर्दछु —जुन विचार, आत्मीयता र जिम्मेवारीको भाव तपाईंहरूबाट मैले महसुस गरेँ, त्यो मेरा लागि अविस्मरणिय छ ।
धन्यवाद ।

प्रतिक्रिया दिनुहोस