डिजिटल बोर्डहरू, जुन प्रेम प्रस्तावदेखि प्रधानमन्त्रीलाई गाली गर्न ह्याक भइरहेका छन्, यसबारे हालसम्म अनुसन्धान भएको छैन । यसको बढ्दो प्रवृत्तिले आम नागरिकमा नकारात्मक असर पारिरहेको छ ।
काठमाडौँ । नेपालमा डिजिटल बोर्ड ह्याक गर्ने प्रवृत्ति मौलाउँदै गएको छ । राजनीतिक, आर्थिक र सामाजिक रूपमा ग्रस्त हुँदै गएको नेपालमा पछिल्लो समय ह्याकरहरू सार्वजनिक संस्थाहरूका डिजिटल बोर्ड ह्याक गरी नकारात्मक सन्देश फैलाउन सक्रिय देखिएका छन् । यसले गर्दा आम नागरिक गलत सूचनाको सिकार भइरहेका छन् । सार्वजनिक संस्थाहरू अझ भनौँ आम नागरिकले सहजै सेवा पाउने संस्थाहरूमा यस्ता किसिमका गलत सूचना प्रवाह भइरहे आम नागरिकले के बुझ्ने ? के हाम्रा सरकारी निकायले बलियो प्रविधि अपनाउन नसकेकै हुन त? यो छलफलको विषय एकातिर छ ।
तर हामी यो स्टोरीमा सार्वजनिक निकायका डिजिटल बोर्ड किन ह्याक भइरहेका छन् त? यसबाट बच्न के उपाय अपनाउने ? लगायतका विषयमा चर्चा गर्ने कोसिस गर्ने छौँ । आम नागरिकलाई भ्रामक सूचना दिने र राजनीति हस्तक्षेपका कारण गलत सूचना प्रवाह गर्नको लागि सरकारी निकायलाई प्रयोग गरेको विज्ञहरू बताउने गर्छन् । आम नागरिकहरू पनि सत्तामा रहेका व्यक्तिका बारेमा नकारात्मक भ्रम फैलाउनको लागि पनि डिजिटल बोर्ड ह्याक गरी नकारात्मक सूचना प्रदान गरेको बताउँछन् ।
पछिल्लो समय सार्वजनिक निकायको प्रयोग गरी सत्तामा रहेका प्रमुख लगायत सुरक्षा निकायका कार्यालय र स्थानीय तहहरूका डिजिटल बोर्डहरूमा विभिन्न नकारात्मक सन्देश फैलाइरहेको पाइएको छ । यी बोर्डहरूमा प्रेम प्रस्ताव राख्नेदेखि प्रधानमन्त्रीलाई गाली गर्नेसम्मका कुराहरू राखेको पाइएको छ । तर विडम्बना ! यसबारे हालसम्म पनि अनुसन्धान गरेर दोषीलाई कारबाही गर्न सम्बन्धित निकायले नसकेको अवस्था छ ।
ह्याक भएका डिजिटल बोर्डका पछिल्ला केही घटनाहरू
केही समय अघि रुकुम पश्चिमको आठबीसकोट नगरपालिकास्थित नापी कार्यालयको साइनबोर्ड ह्याक भयो । कार्यालयको डिजिटल बोर्ड ह्याक गरेर ‘आई लभ यु प्रमीला’ लेखिएको थियो ।
डिजिटल बोर्डबाट ह्याकरले नापी कार्यालयको नाम हटाएर अर्कै डिस्प्ले गरेको नगरपालिकाका सूचना अधिकारी इन्द्रबहादुर विष्टले जानकारी दिए । उनका अनुसार, नापी कार्यालयका प्रमुख मन आग्री बाहिर रहेको बेला बोर्ड ह्याक भएको हो । सार्वजनिक निकायमा नै यसरी ह्याकरले सजिलै बोर्डमा विभिन्न किसिमका नकारात्मक सन्देश प्रवाह गर्नु जनतालाई सरकारी सेवा प्रवाह गर्दा असहजता प्रदान गर्नु हो । नजिकै व्यक्तिले नै यस्तो कार्य गरेको विष्ट बताउँछन् । सरकारी कार्यालयको बोर्ड ह्याक गरेर प्रेम प्रस्ताव राखिएको यो पहिलो घटना थिएन ।
यो घटना हुनुभन्दा केही समय अघि मात्र कपिलवस्तु नगरपालिकाको नयाँ टोल चोकमा राखिएको डिजिटल बोर्डमा अनधिकृत पहुँच पुर्याएर प्रेम प्रस्ताव राखिएको थियो । त्यहाँ कसैले आई लभ यु ममता लेखेर राखिदिएको थियो । ‘यसबारे प्रहरीमा उजुरी पनि गर्यौँ । अहिलेसम्म कोही पक्राउ परेको खबर आएको छैन’ कपिलवस्तु नगरपालिकाका सूचना प्रविधि अधिकृत प्रभाकर सिंह चौधरीले भने ।
सुरक्षा कार्यालयकै बोर्ड ह्याक
माथिका घटनाहरूको अनुसन्धान हुन नपाउँदै केही समय अघि मात्रै प्रहरी कार्यालय धनगढीको डिजिटल बोर्डमा ‘आइ लभ यु चित्रा’ लेखिएको तस्बिर र भिडिओ सामाजिक सञ्जालमा ‘भाइरल’ भयो । उक्त तस्बिरलाई सामाजिक सञ्जालका प्रयोगकर्ताले ‘ट्रोल’ बनाइरहे । तर यो कसरी भयो र किन प्रहरी कार्यालयकै बोर्ड ह्याक भयो भन्नेबारे कसैको ध्यान गएन । बरु उल्टै यसको मजाक बनाइयो । सार्वजनिक पद धारण गरेका व्यक्तिले समेत यसको बारेमा कुरा उठाएनन् । बरु आम नागरिकले भनेको यस्तो घटनाको खेत प्रकट गरे ।
सुदूरपश्चिम प्रदेश प्रहरी कार्यालय धनगढीको गेटमा राखिएको ‘डिजिटल बोर्ड’मा उक्त दृश्य कैद भएको हो । ह्याकरले उक्त बोर्डलाई ‘ह्याक’ गरेका गरेका कारण ‘आइ लभ यु चित्रा’ लेखिएको दृश्य देखिएको प्रदेश प्रहरी कार्यालयले जनाएको छ । प्रदेश प्रहरी कार्यालयका अनुसार, अहिले भने उक्त बोर्डलाई ह्याकरबाट छुटाएर आफ्नो नियन्त्रणमा फर्काइसकिएको छ । यी घटना घटेको समय करिब एक महिनाभित्र कम्तीमा थप चार वटा सरकारी बोर्ड ह्याक गरेर प्रेम प्रस्तावका लागि दुरुपयोग भएको सरकारी तथ्याङ्कले देखाउँछ ।
प्रधानमन्त्री ओलीविरुद्धको नारा डिस्प्ले
नेपाल विद्युत् प्राधिकरण भरतपुर वितरण केन्द्रको डिजिटल बोर्डमा प्रधानमन्त्री केपी शर्मा ओलीविरुद्ध लेखिएको एक वाक्य डिस्प्ले भयो । नेपाल विद्युत् प्राधिकरणका कार्यकारी निर्देशक कुलमान घिसिङलाई पदबाट हटाउने निर्णय भएकै दिन प्रधानमन्त्री ओलीविरुद्धको नारा डिस्प्ले भएको हो । यस विषयमा भने अनुसन्धान गरिरहेको नेपाल विद्युत् प्राधिकरण भरतपुर वितरण केन्द्रका प्रमुख रामु श्रेष्ठले बताए । उनले भने, ‘यस्तो कसरी भयो भनेर सूचना प्रविधि विज्ञहरूसँग समेत सम्पर्क गरेर हामी अनुसन्धान गरिरहेका छौँ ।’ डिजिटल बोर्डमा के राख्ने/नराख्ने भन्ने पहुँच कार्यालय प्रमुखसँग हुन्छ । भरतपुर वितरण केन्द्रका प्रमुख श्रेष्ठले भने आफ्नो कार्यालयमा आफू र अर्का एक जना इन्जिनियर कर्मचारीसँग यसको पहुँच भएको बताए । तर प्रधानमन्त्रीविरुद्धको नारा कसले राख्यो भन्ने पत्ता नलागेको उनी बताउँछन् ।
‘त्यहाँ पासवर्ड डिफल्ट थियो, कसैले त्यसको मिसयुज गर्यो कि, ह्याक भयो कि के भयो पत्ता लागेको छैन, हामी अनुसन्धानकै क्रममा छौँ’ श्रेष्ठले भने । सेवाग्राही र कार्यालयका कर्मचारीहरूले त्यो नारा देखेर हटाउन भनेपछि कार्यालय प्रमुख श्रेष्ठले हटाएका थिए ।
कार्यालय प्रमुख श्रेष्ठले आफूले सो सूचना नराखेको र कसैले ह्याक गरेको हुन सक्ने बताए । ‘मैले त्यस्तो गर्ने कुरा नै आएन, कतैबाट त्यस्तो सूचना गएको जस्तो देखिन्छ, त्यो राम्रो हैन,’ श्रेष्ठले भने ।
यस्तै भरतपुर वितरण केन्द्रले डिजिटल बोर्डमा प्रधानमन्त्रीविरुद्ध आपत्तिजनक शब्दहरू डिस्प्ले भएको विषयमा छानबिन गर्ने बताएको छ । यस्तो कार्यालयमा संलग्न जोसकैलाई कानुनको दायरामा ल्याउन पत्राचारसमेत गरिएको प्राधिकरणले जनाएको छ । एक विज्ञप्ति निकाल्दै प्राधिकरणको भरतपुर वितरण केन्द्रले घटनालाई लिएर पहिलो औपचारिक प्रतिक्रिया दिएको हो । डिजिटल बोर्ड ह्याक गरिएको दाबी प्राधिकरणको छ ।
दैनिक रूपमा ग्राहकको कार्य सहजीकरणको लागि यस कार्यालयको डिजिटल सूचना बोर्डमा एक्कासि सूचना ह्याक गरी देशको सम्माननीय प्रधानमन्त्रीलाई अवैध किसिमको गालीगलौज /अपशब्द अपलोड गरिएको हुँदा यो राज्यको संविधान तथा प्रचलित कानुनको बर्खिलाप हो । यस्तो गैर कानुनी कार्यप्रति नेपाल विद्युत् प्राधिकरण भरतपुर वितरण केन्द्र परिवार घोर भर्त्सना गर्दछ । यसैबीच प्रधानमन्त्री ओलीविरुद्धको नारा डिस्प्ले भएकै दिन प्राधिकरण कार्यालयमै आएर एमालेका केही युवाहरूले तोडफोड गर्नुका साथै कार्यालय प्रमुखमाथि हातपातसमेत गरेका थिए ।
डिजिटल बोर्ड ह्याक हुनको कारण के हो ?
पछिल्लो समय सार्वजनिक निकायका डिजिटल बोर्डहरू ह्याक हुने क्रम बढिरहेको छ । यसले आम नागरिकलाई प्रत्यक्ष असर पारेको छ र सार्वजनिक निकायप्रति हेर्ने दृष्टिकोणमा समेत नकारात्मक सन्देश प्रवाह भइरहेको छ । डिजिटल बोर्ड ह्याक कसरी हुन्छन् त ? यसबाट कसरी बच्ने ? यसबारे साइबर ब्युरोका प्रवक्ता प्र.उ. एसपी दिपक राज अवस्थी भने डिजिटल बोर्ड राखिएका सरकारी निकाय तथा अन्य निकायहरूमा यसको युजर नेम र पासवर्ड डिफल्ट छोडिदिएका कारण यस्तो समस्या आएको बताउँछन् । पासवर्ड डिफल्ट छोडिदिएपछि जसले पनि जति बेला ह्याक गरेर आफ्ना कुराहरू लेख्न सक्ने उनले बताए ।
उनका अनुसार, विभिन्न स्थानमा राखिएका स्मार्ट बोर्ड मोबाइल एपबाटै कन्ट्रोल गर्न सकिन्छ । त्यसमा चाहेका शब्द राख्न, पहिले भएका शब्द हटाउन सोही एपबाट मिल्छ । सबैभन्दा पहिले स्मार्ट बोर्ड जडान गरेर त्यसमा पावर दिनुपर्ने हुन्छ । डिजिटल बोर्ड अन भइसकेपछि उक्त बोर्डको नाम वाई–फाईका रूपमा देखिन्छ ।
त्यसका लागि यता मोबाइलमा बोर्ड कन्ट्रोल गर्ने एप डाउनलोड गर्नुपर्ने हुन्छ । त्यसपछि वाई–फाईमा गएर उक्त डिजिटल बोर्डको नाममा कनेक्ट गर्नुपर्ने हुन्छ । डिफल्ट रूपमा यो सेटिङ उपलब्ध हुन्छ । अर्थात् पहिलो पटक डिजिटल बोर्ड कनेक्ट गर्नका लागि कुनै पासवर्ड राख्नु पर्दैन ।
यसरी डिजिटल बोर्ड मोबाइल एपमा कनेक्ट भइसकेपछि त्यसमा राख्न चाहेका शब्द मोबाइल एपमै लेख्न सकिन्छ । यसरी एपमा लेखिएको शब्द नै डिजिटल बोर्डमा देखिन्छ । मोबाइल एपमा लेखिएको शब्द डिजिटल बोर्डमा देखाइरहन उक्त मोबाइल सधैँ सोही वाई–फाईमा कनेक्ट भइरहनु पर्छ भन्ने हुँदैन । एक पटक सेट गरिसकेपछि मोबाइल र डिजिटल बोर्ड कनेक्ट नभए पनि त्यहाँ राखिएको शब्द डिस्प्लेमा देखिरहेको हुन्छ ।
यस्तोमा डिजिटल बोर्ड र पहिले सेट गरेको मोबाइल कनेक्ट भएको छैन भने अर्को डिभाइस त्यसरी नै कनेक्ट गर्न सकिन्छ । र, मोबाइल एपबाट चाहेको शब्द लेखि स्मार्ट बोर्डमा उक्त शब्द डिस्प्ले गर्न सकिन्छ ।
बच्न के गर्ने ?
जुन बोर्ड ह्याक भइरहेका छन्, त्यसलाई व्यवस्थापन गर्ने कार्यालयको कमजोरीका कारण ह्याकरले पहुँच पाएको प्रवक्ता अवस्थी बताउँछन् । कि त उक्त डिजिटल बोर्डको पासवर्ड नै राखिएको छैन, कि डिफल्ट पासवर्ड नै राखिएको छ । यही कमजोरीबाट जोकोहीले डिजिटल बोर्डमा एक्सेस पाएर अनावश्यक शब्द राखिरहेको उनले बताए ।
डिजिटल बोर्डमा जोकोहीले पहुँच नपाओस् भन्नका लागि सम्बन्धित कार्यालयले उक्त मोबाइल एपबाट स्मार्ट बोर्डका लागि बलियो पासवर्ड राख्नुपर्ने हुन्छ । यति मात्रै गरियो भने पनि डिजिटल बोर्डलाई अनधिकृत व्यक्तिको पहुँचबाट रोक्न सकिने प्रवक्ता अवस्थी बताउँछन् ।
“डिजिटल बोर्डको एक्सेस लिने र त्यसमा आवश्यक शब्द राख्ने घटना बढ्नुमा सम्बन्धित कार्यालयकै कमजोरी जस्तो लाग्छ,” अवस्थी भन्छन्, “जोकोहीले एक्सेस नपाओस् भन्नका लागि त्यसमा कडा पासवर्ड राख्नुपर्ने हुन्छ ।”
निष्कर्ष
नेपालमा पछिल्लो समय सार्वजनिक स्थानमा राखिएका डिजिटल बोर्ड ह्याक हुने क्रम बढ्दो छ। सरकारी कार्यालय र विभिन्न संस्थाले सूचना प्रवाहका लागि राखेका यस्ता बोर्ड ह्याकरको निशानामा परिरहेका छन् ।
सेवाग्राहीका लागि उपयोगी सूचना दिन स्थापना गरिएका यी बोर्डमा केही व्यक्तिले चर्चा कमाउन वा सम्बन्धित संस्थालाई बदनाम गर्ने उद्देश्यले अनधिकृत पहुँच बनाएर मनपरी सन्देश राख्ने प्रवृत्ति देखिएको छ । डिजिटल बोर्ड ह्याक गर्नुलाई ठूलो उपलब्धिका रूपमा लिइए पनि प्रहरीको अनुमानमा कार्यालयको सामान्य लापरबाही नै यसको प्रमुख कारण हो ।
चर्चा पाउन वा बदनाम गर्ने नियतले यस्ता बोर्डमा अनधिकृत पहुँच बनाउँदा कानुनी कारबाहीको जोखिम रहन्छ । प्रहरीका अनुसार, यस्तो कार्य विद्युतीय कारोबार ऐन, २०६३ को दफा ४५ अन्तर्गत दण्डनीय अपराध हो, जसमा कम्प्युटर सामग्रीमा अनधिकृत पहुँचको सजायबारे स्पष्ट व्यवस्था छ । यस्ता घटना रोक्न बलियो प्राविधिक सुरक्षा र सचेतना अपरिहार्य छ ।