१० बैशाख २०८२, बुधबार

प्रशासन एक्सक्लुसिभ

crisis_alert चार निर्माण कम्पनी कालोसूचीमा (सूचीसहित)    crisis_alert यसरी घट्न थाल्यो बालविवाह : अभियान सँगसँगै स्थानीय सरकार पनि लागि परे     crisis_alert गाँजामाथिको प्रतिबन्ध हटाउने प्रतिवेदन तयार, कस्तो छ गाँजाबाटै समृद्धि भित्र्याउने सरकारी खाका ?   crisis_alert मन्दीले ताल्चा लाग्न थालेको बजार : खोल्ने कसले हो, कसरी हो ?   crisis_alert किन काम गरिरहेका छैनन् अर्थतन्त्र सुधारका प्रयासले ?   crisis_alert अर्थतन्त्रको सङ्कटबाट साना व्यवसाय नियाल्दा: त्यति विधि निराशा छैन, आशा बाँकी छ   crisis_alert गरिबलाई बाँच्नसमेत नदिइरहेको आर्थिक सङ्कट   crisis_alert सङ्कटको डिलमा पुग्दै आन्तरिक अर्थतन्त्र   crisis_alert गृह मन्त्रालयले थाहै नपाई कैदीहरूले गरिदिए जेलरको सरुवा   crisis_alert बाँसबारी जग्गा प्रकरणको केन्द्रमा छन् विनोद चौधरी    crisis_alert काँग्रेस सांसदको पाँचतारे होटेलका लागि एकै दिनमा फेरियो कानुन    crisis_alert ‘भिजिट भिसा’ले अन्तर्राष्ट्रिय विमानस्थलमा टकराब, किन भइरहेछ प्रहरी-अध्यागमन मनमुटाब ?    crisis_alert विधिको शासनकै मजाक बनाइएको ललिता निवास प्रकरण  

प्रशासन एक्सक्लुसिभ

crisis_alert चार निर्माण कम्पनी कालोसूचीमा (सूचीसहित)    crisis_alert यसरी घट्न थाल्यो बालविवाह : अभियान सँगसँगै स्थानीय सरकार पनि लागि परे     crisis_alert गाँजामाथिको प्रतिबन्ध हटाउने प्रतिवेदन तयार, कस्तो छ गाँजाबाटै समृद्धि भित्र्याउने सरकारी खाका ?   crisis_alert मन्दीले ताल्चा लाग्न थालेको बजार : खोल्ने कसले हो, कसरी हो ?   crisis_alert किन काम गरिरहेका छैनन् अर्थतन्त्र सुधारका प्रयासले ?   crisis_alert अर्थतन्त्रको सङ्कटबाट साना व्यवसाय नियाल्दा: त्यति विधि निराशा छैन, आशा बाँकी छ   crisis_alert गरिबलाई बाँच्नसमेत नदिइरहेको आर्थिक सङ्कट   crisis_alert सङ्कटको डिलमा पुग्दै आन्तरिक अर्थतन्त्र   crisis_alert गृह मन्त्रालयले थाहै नपाई कैदीहरूले गरिदिए जेलरको सरुवा   crisis_alert बाँसबारी जग्गा प्रकरणको केन्द्रमा छन् विनोद चौधरी    crisis_alert काँग्रेस सांसदको पाँचतारे होटेलका लागि एकै दिनमा फेरियो कानुन    crisis_alert ‘भिजिट भिसा’ले अन्तर्राष्ट्रिय विमानस्थलमा टकराब, किन भइरहेछ प्रहरी-अध्यागमन मनमुटाब ?    crisis_alert विधिको शासनकै मजाक बनाइएको ललिता निवास प्रकरण  

सहारा केही नदेखेको जीवनमा भरोसा बनेको सामाजिक सुरक्षा 

अ+ अ-

कतिपयलाई अहिले पनि सामाजिक सुरक्षा कोष केही होइन भन्ने लाग्छ । तर यही कोष नै हो जसले कैयौँको जीवन बर्बाद हुनबाट जोगाएको छ । भरपर्दो उपचार सेवामार्फत मृत्युको मुखबाट बचाउँदै परिवार पनि भताभुङ्ग हुनबाट जोगाइरहेको छ ।

काठमाडौँ । काभ्रेको बनेपा देशको संघीय राजधानी काठमाडौँबाट उति टाढा होइन । सार्वजनिक यातायात चढेरै पनि एक डेढ घण्टामा त्यहाँ पुग्न सकिन्छ । तर सुनिता थापाका लागि आफू बस्ने ठाउँ अर्थात् बनेपा अनकन्टार झैँ थियो । अनि काठमाडौँ चाहिँ कतै क्षितिजपारिको ठाउँ जस्तो बनेको थियो । भौतिक दूरीले होइन, बरु कठिन जीवन गुजारा र भोलि के होला भन्ने अनिश्चयले उनको मनमा उब्जाउने हुन्डरीको नतिजा थियो त्यो ।

हुन पनि अतीतमा फर्कँदा सुनितालाई अहिले पनि आफ्नै जीवन सम्झेर कहाली लाग्छ । “हिजोको हाम्रो अवस्था सम्झँदा मलाई अझै पनि अहिले जस्तो जीवन छ, यो सबै सपना जस्तो लाग्छ,” सुनिताले सुनाइन् ।

केही वर्ष अघिको मात्र कुरा हो । उनी गुजाराका लागि ब्यहोरिरहेको आर्थिक अभाव र समस्या अनि कतै आशा नदेखिने अनिश्चित भविष्यसँग संघर्षरत थिइन् । आर्थिक अवस्था असाध्यै कमजोर थियो । परिवारमा आशा गर्ने अरु कुनै त्यस्तो आम्दानीको ठाउँ पनि थिएन । त्यसमाथि गरिखाने उमेरमा गम्भीर प्रकारको मुटु रोग लाग्यो । उनका लागि संसार खसे झैँ भयो । उनले आफ्ना स–साना सन्तान सम्झिइन् । आफूलाई केही तलबितल भइहाले उनीहरूको अवस्था के होला भन्ने कल्पना मात्रले पनि कहाली लाग्थ्यो ।

“तर अँध्यारै अँध्यारोबीच पनि जीवनमा केही उज्यालो भन्ने चीज आउँदो रहेछ,” हालसालै प्रफुल्ल मुद्रामा भेटिएकी उनले सुनाइन्, “त्यो उज्यालो भनेको सामाजिक सुरक्षा कोष थियो । कोषले मेरो जीवनका यस्ता धेरै अँध्याराहरू चिरिदियो र जीवन धेरै सहज बनाइदियो ।”

संघर्षको पहाड
काभ्रेको ज्यामिरकोटमा जन्मिएकी हुन् सुनिता । निम्न मध्यम वर्गीय परिवारमा जन्मेकी उनलाई खान लाउनकै संकट त भएन । कान्छी छोरी भएकाले माया पनि अरु भन्दा धेरै पाइन् । तर खासमा जीवन भने सजिलो थिएन । मन खुलेर पढ्ने, मन लागेका काम गर्न सक्ने घरको आर्थिक अवस्था थिएन । यही अवस्थासँग पौठेजोरी खेल्दै उनले २०५८ सालमा प्रवेशिका परीक्षा (एसएलसी) उत्तीर्ण गरिन् । 

एसएलसी उत्तीर्ण गरेपछि उच्च शिक्षा अध्ययन गर्ने सबैको धोको हुन्छ । सुनिताको पनि थियो । तर परिस्थितिले उनलाई त्यो अवसर दिएन । लगत्तै बिहे गर्नुपर्ने भयो । सुनितासामु अर्को छनोट थिएन, उनले बिहे गरिन् ।

जुन घरमा उनी बुहारी बनेर भित्रिइन्, त्यो परिवार पनि निम्न मध्यम वर्गीय नै थियो । वैवाहिक जीवन अघि बढ्दै गयो । उमेर बढ्दै गएपछि जिम्मेवारी पनि बढ्ने नै भयो । सुनिताले आफ्नो संघर्षले त्यसलाई अगाडि बढाउँदै गइन् । 

बालबच्चा जन्मिए । त्यसपछि जिम्मेवारी मात्र बढेन, खाने मुख पनि बढे । उनीहरूलाई हुर्काउने र पढाउने थप आर्थिक जिम्मेवारी आइलाग्यो । 

कमजोर आर्थिक अवस्थाले झन् पिरोल्न थाल्यो । के गर्ने के नगर्ने भन्ने अन्योल थपियो । सुनिता भन्छिन्, “घरपरिवारले पनि राम्रोसँग नहेर्ने भएकाले आफ्नो गुजारा र बालबच्चाको देखभाल गर्न झन् धेरै समस्या हुन थाल्यो ।”

जीवन यसैगरी संघर्षसँग पौठेजोरी खेलिरहेको थियो । त्यही बीचमा उनले गुजाराको एउटा उपाय भेट्टाइन् । २०६६ फागुन १५ गतेदेखि उनले गैरसरकारी संस्था, कर्णाली एकीकृत ग्रामीण विकास तथा अनुसन्धान केन्द्र (किर्डाक नेपाल) काठमाडौँमा काम शुरु गरिन् । 

एनजिओमा काम गर्न थालेपछि जीवन केही सहज भयो । उनले जागिरबाट कमाएको कमाई परिवार चलाउनै ठिक्क हुन्थ्यो । सुनिताले त्यसबाट जसोतसो घर धानिरहेकी थिइन् । तर अनायासै आउने समस्या र भई परि आइलाग्ने विपत्तिमा भने उपाय थिएन । घर परिवारका अरु सदस्यले कमाएको पैसाले पनि ती समस्या टार्न पुग्दैनथ्यो । तै पनि मान्छेको जीवन न हो, जस्तै समस्या आइपरे पनि पन्छाउनुको विकल्प थिएन । 

जीवन यसैगरी चलिरहेकै थियो । त्यहीबीचमा उनको जीवनमा कहालीलाग्दो क्षण आइपुग्यो । भर्खर ३५ वर्ष पुगेकी सुनितालाई गम्भीर प्रकारको मुटु रोग देखियो। एक्कासि उनी रोगले थलिइन् । के गर्ने के नगर्ने भन्ने भेउ पाउनै सकिनन् । 

जसोतसो उपचार गर्दै गइन्, काम पनि गर्दै परिवारको रेखदेख र हेरचाह पनि गरिरहिन् । तर रोग निको भएन । महँगो उपचार गर्ने क्षमता थिएन । संयोग कस्तो भने उनी काम गरिरहेको एनजिओ, किर्डाक नेपाल त्यही बेला सामाजिक सुरक्षा कोषमा जोडियो । 

सामाजिक सुरक्षा कोष अर्थात् श्रमिकको योगदानमा आधारित सामाजिक सुरक्षा प्रदान गर्ने सरकारको कार्यक्रम । औपचारिक र अनौपचारिक दुवै क्षेत्रमा कार्यरत सामाजिक सुरक्षा योजनामा आबद्ध गराई उनीहरूको आर्थिक तथा सामाजिक जोखिम न्यूनीकरण गर्ने यो कार्यक्रम अलि पहिले नै शुरु भए पनि उनले काम गरिरहेको संस्था किर्डाक नेपाल भने २०७८ सालमा मात्र कोषमा जोडिएको थियो । आफू काम गरिरहेको संस्था जोडिएसँगै सुनिता पनि सामाजिक सुरक्षा कोषमा आबद्ध भइन् । 

अनि पो थाहा भयो उनले भोगिरहेको गम्भीर प्रकारको मुटु रोग उपचारमा कोष त वरदान जस्तै रहेछ ।

सामाजिक सुरक्षा कोषले आफूसँग आबद्ध श्रमिकहरूको स्वास्थ्य उपचारका लागि विभिन्न अस्पतालहरूसँग सम्झौता गरेको छ । ती अस्पतालमा कुनै पनि रोगको उपचार गर्दा अवस्था हेरेर ८० प्रतिशतसम्म उपचार खर्च कोषले बेहोरिदिन्छ । कुल उपचार खर्चको २० प्रतिशत मात्र कोषमा योगदान गरिरहेका बिरामीले ब्यहोरे पुग्छ । 

यस क्रममा उनको मुटु रोगको उपचार धेरैजसो चिकित्सा शास्त्र अध्ययन संस्था अन्तर्गतको मनमोहन कार्डियोथोरासिक तथा भास्कुलर ट्रान्सप्लान्ट सेन्टरमा भयो । समस्या चाहिँ के भयो भने मनमोहन सेन्टरमा उपचार गराइरहेकी सुनितालाई शुरुमा अस्पतालले सामाजिक सुरक्षा कोषबाट रकम दिन नमिल्ने बतायो । कोषसँग अस्पतालको सहकार्य नभएकाले उपचारमा छुट दिन नमिल्ने जानकारी गरायो । तर त्यो अवस्था लामो समय रहेन किनभने सामाजिक सुरक्षा कोषले उक्त अस्पतालसँग सम्झौता गर्‍यो जसको कारणले गर्दा उहाँले उक्त अस्पतालबाट औषधी उपचार सम्बन्धी सेवा लिन थाल्नुभयो । 

त्यसपछि उनको उपचारमा कुनै खालको बाधा व्यवधान नै आएन । अहिले धेरै हदसम्म स्वस्थ बनेकी सुनिता भन्छिन्, “उपचार गर्ने क्षमता थिएन, अब जीवनभर यही रोग बोकेर बाँचिन्छ कि, अथवा चाँडै मरिने हो कि झैँ लाग्थ्यो । सामाजिक सुरक्षा कोषका कारण मैले नसोचेको सहजता पाएँ । मान्छेका लागि स्वास्थ्य भन्दा ठूलो केही होइन । त्यसका लागि मलाई कोषले ठूलो गुन लगायो ।”

आफू जस्ता निम्न मध्यम वर्गीय परिवारका लागि त औषधि उपचार खर्च ब्यहोरिदिने सामाजिक सुरक्षा कोष वरदान जस्तै रहेको सुनिता बताउँछिन् । यो जसले शुरु गरेको भए पनि असाध्यै भिजन भएको मान्छेले शुरु गरेको हुनुपर्ने उल्लेख गर्दै उनले यसबाट आफू जस्ता धेरैको जीवन बरबादीबाट जोगिने ठानेकी छन् । 

सुनिताले एसएलसी लगत्तै बिहे गरेकाले धेरै पढ्न पाइनन् । धेरै नपढेकाले सरकारी जागिर खाने धोको अधुरै रह्यो । शैक्षिक योग्यता नहुँदा अरु आकर्षक जागिरमा पनि उनको योग्यता पुगेन । धन्न एउटा एनजिओमा काम पाइन् तर त्यसबाट आएको तलबले मात्र खान, बस्न र आधारभूत आवश्यकता पूरा गर्नै सकस हुन्थ्यो । बालबच्चा हुर्काउनु र पढाउनु पर्थ्यो । यति गर्दासम्म बिरामी भइहाले उपचार गर्ने जोहो गर्न भने असम्भव जस्तै थियो । “सामाजिक सुरक्षा कोषमा जोडिएपछि अब जीवन नै सुरक्षित भए झैँ लागेको छ । रोग लाग्यो भने उपचार खर्च कहाँबाट ल्याउने भन्ने समस्या रहेन,” कोषले अरु धेरै खाले स्कीम पनि ल्याइरहेको सुनेकी सुनिता भन्छिन्, “अब बालबच्चाको पढाई खर्च कसरी जुटाउने भन्ने पनि समस्या हुँदैन भन्ने सुनेकी छु । हाम्रा लागि धेरै समस्या सामाजिक सुरक्षा कोषले नै हल गरिदिँदो रहेछ ।” 

सामाजिक सुरक्षाले जगाएको आशा
सरकारले २०६७ सालमा सामाजिक सुरक्षाको अवधारणा लागू गरेको हो । त्यही बेलादेखि नै सामाजिक सुरक्षा कोष स्थापना भए पनि २०७४ सालमा यस सम्बन्धी ऐन बनेपछि मात्र यो अवधारणाले आकार लिएको हो । अहिले सामाजिक सुरक्षा सम्बन्धी सबै गतिविधि कोषले नै सञ्चालन गर्छ । 

कोषले योगदानमा आधारित सामाजिक सुरक्षा प्रणालीमा आबद्ध गराउन रोजगारदाता तथा श्रमिकको सूचीकरण गर्छ । सूचीकरण गरिसकेपछि योगदान रकम संकलन गर्छ । यो योगदान रकम संस्था वा त्यहाँका श्रमिक आफैले पनि जम्मा गर्न सक्छन् । त्यसरी कोषमा जम्मा भएको रकम परिचालन गर्ने, सुविधा योजनाहरूको दाबी र भुक्तानी सम्बन्धी व्यवस्थापन गर्ने, कोषमा आबद्ध स्वास्थ्य संस्थाहरूको सञ्जाल विस्तार गरी गुणस्तरीय र प्रभावकारी स्वास्थ्य उपचार पद्धतिमा पहुँच स्थापित गर्ने जस्ता कार्यहरू कोषले गर्दै आएको छ । 

कोष पछिल्लो समय अधिकतम प्रविधिमैत्री समेत बनेको छ । यसले गर्ने कार्य सम्पादन र प्रदान गर्ने सेवाहरूलाई धेरैजसो प्रविधिमा आधारित बनाइसकिएको छ । अब यसका लाभग्राहीले कोषमा नपुगी अनलाइनबाटै धेरै सेवा लिन सक्छन् । अस्पतालमा गरिने उपचार र त्यसको भुक्तानीका लागि पनि सबै काम अनलाइनबाटै हुन्छ । 

कोषले प्रदान गर्न थालेका विभिन्न सेवाबाट सुनिता जस्तै निजी तथा गैरसरकारी संस्थामा काम गर्ने लाखौँ श्रमिक लाभान्वित भइरहेका छन् । “पहिला पहिला महिना मरेपछि पाउने तलब हात पर्दा खर्च चलाउनै ठिक्क हुन्थ्यो, अरु केही पनि गर्न सकिँदैनथ्यो । अहिले कोषमा आबद्ध भएपछि धेरै सहज भएको छ,” सुनिताले भनिन्, “कोषबाट पाउने सेवा र सुविधाबाट मेरो औषधि उपचार चलेको छ । भोलि बेरोजगार हुँदा पनि घर खर्च र छोराको पढाइ खर्च मिल्छ रे । जीवन धेरै सहज हुने भयो ।”

उनले कोषमा आबद्ध भएकै कारण आफूले बिल्कुल नयाँ जीवन पाएको बताइन् । 

सुनिता जस्तै कथा बाँकेकी संगिता पाण्डेको पनि छ । संगिताको आर्थिक अवस्था असाध्यै कमजोर थियो । त्यही बेला उनलाई क्यान्सर देखियो । कोलोन (ठूलो आन्द्राको) क्यान्सर, यसै त कमजोर आर्थिक अवस्था, त्यसमाथि क्यान्सर जस्तो असाध्यै खर्च हुने रोग लागेपछि संगितामाथि ठूलो बज्रपात भयो । उनी आत्तिइन् । त्यति धेरै खर्च हुने क्यान्सरको उपचार गर्ने क्षमता थिएन । तर सम्हालिनुको विकल्प थिएन । क्यान्सर लाग्यो, अब मरिने भयो भन्ने भइरहेका बेला सामाजिक सुरक्षा कोष उनका सामु वरदान बनेर आयो । 

उनी निजी विद्यालयमा काम गर्दागर्दै सामाजिक सुरक्षा कोषमा जोडिन पुगिन् । विद्यालयका शिक्षकहरूले सामाजिक सुरक्षा कोषमा जोडिन् मद्दत गरेको उनी बताउँछिन् । सामाजिक सुरक्षा कोषमा आबद्ध भएका कारण उनको उपचार रोकिएन, बरु धेरै नै राहत मिल्यो । अहिले उनको उपचार चलिरहेको छ । प्रत्येक महिना हुने उपचार र औषधिको खर्च धान्न उनलाई कोषले नै सघाइरहेको छ । “सामाजिक सुरक्षा कोष हुँदैनथ्यो भने सायद म क्यान्सर लागेर मर्थेँ होला, बाँचेकै भए पनि घिटीघिटी भइसक्थेँ होला, यति धेरै औषधि उपचार गर्ने पैसा थिएन,” संगिताले भनिन्, “कोषले गर्दा मलाई उपचार र प्रत्येक महिना औषधि किन्न सहज भएको छ । मुख्य कुरा, म बाँच्न सकेकी छु, घरपरिवारमा पनि कुनै आर्थिक बोझ थपिएको छैन ।”

लाभग्राहीको जीवन बदल्दै, आफै पनि फैलिँदै कोष 
सामाजिक सुरक्षा कोषले उपलब्ध गराउने उपचार खर्च, सुविधा र अन्य भत्ताले सुनिता र संगिताले नयाँ जीवन मात्र पाएका छैनन्, उनीहरूको परिवारमा आर्थिक स्थिरता समेत ल्याएको छ । अनुमान गरौँ, उनीहरू सामाजिक सुरक्षा कोषमा आबद्ध नभएको भए स्वास्थ्य उपचारका लागि कति ठूलो समस्या पर्थ्यो होला । सायद भएको घर खेत समेत बेचिसकेका हुन्थे । कोषकै कारण उनीहरूले त्यस्तो केही गर्नु परेन । अहिले आफ्नो रोगलाई औषधिले नियन्त्रण गरिरहेकी सुनिता जागिर र दैनिक काममा उत्तिकै सक्रिय छिन् । संगिता भने अहिले पनि उपचारमै छिन् । 

आफूलाई रोग लागेपछि परिवारको भविष्य के होला भनेर पिरोलिएकी सुनिता अहिले खुसी र धेरै हदसम्म ढुक्क पनि देखिन्छिन् । लामो समय रोगले ग्रसित उनी अहिले हरेक कुरामा आफू अब्बल बनेको बताउँछिन् । “मेरो जीवनमा आएको यो परिवर्तन मुख्यतः सामाजिक सुरक्षा कोषका कारण हो,” उनले भनिन्, “मलाई यो भन्दा अलिकति पनि अप्ठेरो लाग्दैन कि कोषले नै मलाई नयाँ जिन्दगी जिउन सिकायो ।”

सामाजिक सुरक्षाको दायरा अहिले निरन्तर बिस्तार भइरहेको छ । अहिले देशभर रहेका हजारौँ निजी कम्पनीमा काम गरिरहेका श्रमिकहरू कोषमा आबद्ध भएका छन् । त्यसमध्ये पनि जटिल रोग लागेका दीर्घ रोगी, अपांगता भएका व्यक्ति, एकल महिला र सीमान्तकृत समुदाय सामाजिक सुरक्षा कोषबाट धेरै नै लाभान्वित भएका छन्, भइरहेका छन् । कतिपयलाई कोषले दिने सेवा सुविधा र उपलब्ध गराउने रकम सामान्य लाग्न सक्छ । तर गरिबीको दुष्चक्र र आर्थिक समस्यामा पिल्सिइरहेका व्यक्तिका लागि यो स्रोत नै जीवन बदल्ने स्रोत बनेको छ । कोषमा आबद्ध श्रमिक र तिनका परिवारका सदस्यलाई गुणस्तरीय स्वास्थ्य सेवामा पहुँच स्थापित गर्ने मुख्य उद्देश्य रहेको कोषका कार्यकारी निर्देशक कविराज अधिकारीले बताउनु भयो । 

कोषबाट आएको रकमले कैयौँ परिवारभित्र पारेको सकारात्मक प्रभावको त कुनै लेखाजोखा नै भइसकेको छैन । विशेष गरी निजी कम्पनीमा काम गर्नेहरूलाई उपचार लगायतका कुरामा आर्थिक बोझ कम हुने मात्र होइन, वृद्ध वृद्धाहरूलाई बुढेसकालमा कोषबाट प्राप्त हुने निवृत्तिभरणको रकमबाट आत्मनिर्भर बन्न पनि सघाइरहेको छ । 

पछिल्लो समय सामाजिक सुरक्षा कोषमा आबद्ध भएका धेरैजसो मानिसहरूको जीवनशैलीमा परिवर्तन आएको आफूले प्रत्यक्ष देखेको कोषमा स्थापनाकालदेखि आबद्ध भएका ललितपुरका अनुभव शर्मा अधिकारी बताउँछन् । कोषले पछिल्लो समय धेरैजसो सेवा सुविधा दिइरहेको, आफूले पनि कोषबाट विभिन्न सेवाहरू उपयोग गरिरहेको उनले बताए । कोषमा आबद्ध भएका कारण नै जीवनमा धेरै हिसाबले सुरक्षाको महसुस भएको उनको भनाई छ । 

उनले आफू व्यक्तिगत र संस्थागत दुवै रूपमा कोषमा आबद्ध भएको, आफ्ना नजिकका सबैलाई सुरक्षित जीवनको लागि कोषमा जोडिन पहल गरिरहेको पनि उनले सुनाए । 

पहिला उनी एक निजी कम्पनीमा काम गर्थे त्यस कम्पनीबाट उनी सामाजिक सुरक्षा कोषमा जोडिन पुगे । पछि यसमा भविष्य सुरक्षित देखेर आ आफ्नो कम्पनी मार्फत श्रीमती र परिवारका अन्य सदस्यलाई पनि यस कोषमा आबद्ध गराए ।

“मैले मेरो परिवारका सबैलाई कोषमा आबद्ध गराइसकेको छु । पछिल्लो समय कोषमा आबद्ध भएका व्यक्तिहरू आफ्नो जीवन सुरक्षाको लागि अन्य कोष भन्दा सामाजिक सुरक्षा कोष भरपर्दो भएको बताउँछन्,” अधिकारीले भने ।

मुख्यतः निजी संस्थामा काम गर्ने लाभग्राहीहरू सबैभन्दा धेरै लाभान्वित भएको सामाजिक सुरक्षा कोषका सह–प्रवक्ता केदारनाथ ज्ञवाली बताउँछन् । कोषले आफ्नो भविष्य सुरक्षित बनाउन नठानेर निजी संस्थाहरूमा आबद्ध भएकाहरूले शुरुमा विश्वास नगरे पनि अब भने ढुक्क भएर सामाजिक सुरक्षा कोषमा जोडिन थालेको र त्यस्तो वातावरण कोषले निर्माण गरेको ज्ञवालीले बताए । उनले भने, “आउँदो वैशाख महिनादेखि कोषले आफूले दिने सेवा व्यापक रूपमा बिस्तार गर्दै छ ।” 

सुनिता, संगिता र अनुभव केही उदाहरण मात्र हुन् । खासमा सामाजिक सुरक्षा कोषमार्फत सञ्चालित कार्यक्रमले अरु धेरैको जीवनमा अनुभूति हुने गरी परिवर्तन ल्याएका छन् । खासगरी निजी कम्पनीमा काम गर्नहरु, दीर्घ रोगीहरूलाई आत्मनिर्भर बनाउन कोष निकै प्रभावकारी भएको छ । निजी कम्पनीमा काम गरेर आफ्नो दैनिकी चलाइरहेका धेरैजसो मानिसका लागि कोष आपदविपदमा भरथेग गर्ने सहारा बनेको छ । मुख्य कुरा यसले धेरैलाई आफू सुरक्षित रहेको प्रत्याभूति दिलाएको छ ।

प्रतिक्रिया दिनुहोस