११ बैशाख २०८२, बिहीबार

प्रशासन एक्सक्लुसिभ

crisis_alert चार निर्माण कम्पनी कालोसूचीमा (सूचीसहित)    crisis_alert यसरी घट्न थाल्यो बालविवाह : अभियान सँगसँगै स्थानीय सरकार पनि लागि परे     crisis_alert गाँजामाथिको प्रतिबन्ध हटाउने प्रतिवेदन तयार, कस्तो छ गाँजाबाटै समृद्धि भित्र्याउने सरकारी खाका ?   crisis_alert मन्दीले ताल्चा लाग्न थालेको बजार : खोल्ने कसले हो, कसरी हो ?   crisis_alert किन काम गरिरहेका छैनन् अर्थतन्त्र सुधारका प्रयासले ?   crisis_alert अर्थतन्त्रको सङ्कटबाट साना व्यवसाय नियाल्दा: त्यति विधि निराशा छैन, आशा बाँकी छ   crisis_alert गरिबलाई बाँच्नसमेत नदिइरहेको आर्थिक सङ्कट   crisis_alert सङ्कटको डिलमा पुग्दै आन्तरिक अर्थतन्त्र   crisis_alert गृह मन्त्रालयले थाहै नपाई कैदीहरूले गरिदिए जेलरको सरुवा   crisis_alert बाँसबारी जग्गा प्रकरणको केन्द्रमा छन् विनोद चौधरी    crisis_alert काँग्रेस सांसदको पाँचतारे होटेलका लागि एकै दिनमा फेरियो कानुन    crisis_alert ‘भिजिट भिसा’ले अन्तर्राष्ट्रिय विमानस्थलमा टकराब, किन भइरहेछ प्रहरी-अध्यागमन मनमुटाब ?    crisis_alert विधिको शासनकै मजाक बनाइएको ललिता निवास प्रकरण  

प्रशासन एक्सक्लुसिभ

crisis_alert चार निर्माण कम्पनी कालोसूचीमा (सूचीसहित)    crisis_alert यसरी घट्न थाल्यो बालविवाह : अभियान सँगसँगै स्थानीय सरकार पनि लागि परे     crisis_alert गाँजामाथिको प्रतिबन्ध हटाउने प्रतिवेदन तयार, कस्तो छ गाँजाबाटै समृद्धि भित्र्याउने सरकारी खाका ?   crisis_alert मन्दीले ताल्चा लाग्न थालेको बजार : खोल्ने कसले हो, कसरी हो ?   crisis_alert किन काम गरिरहेका छैनन् अर्थतन्त्र सुधारका प्रयासले ?   crisis_alert अर्थतन्त्रको सङ्कटबाट साना व्यवसाय नियाल्दा: त्यति विधि निराशा छैन, आशा बाँकी छ   crisis_alert गरिबलाई बाँच्नसमेत नदिइरहेको आर्थिक सङ्कट   crisis_alert सङ्कटको डिलमा पुग्दै आन्तरिक अर्थतन्त्र   crisis_alert गृह मन्त्रालयले थाहै नपाई कैदीहरूले गरिदिए जेलरको सरुवा   crisis_alert बाँसबारी जग्गा प्रकरणको केन्द्रमा छन् विनोद चौधरी    crisis_alert काँग्रेस सांसदको पाँचतारे होटेलका लागि एकै दिनमा फेरियो कानुन    crisis_alert ‘भिजिट भिसा’ले अन्तर्राष्ट्रिय विमानस्थलमा टकराब, किन भइरहेछ प्रहरी-अध्यागमन मनमुटाब ?    crisis_alert विधिको शासनकै मजाक बनाइएको ललिता निवास प्रकरण  

संकटको सारथी: सामाजिक सुरक्षा कोष 

अ+ अ-

तपाईँको कमाइबाट चलिरहेको घर–परिवार अचानक तपाईँको जागिर गयो भने के होला? जसोतसो घर खर्च चलाउने आम्दानी मात्र भइरहेका बेला तपाईँलाई अचानक कुनै ठूलो रोग लाग्यो भने के होला ? यस्ता अनिश्चयमा सारथी मात्र होइन, बरु त्यो संकटबाट उद्धार गरिदिने माध्यमसमेत बनेको छ सामाजिक सुरक्षा कोष । 

काठमाडौँ । पलिस्था तुलाधर एउटा निजी कम्पनीमा काम गर्थिन् । त्यहीबेला कोभिड महामारी शुरु भयो । संसारकै लागि आपत् बनेको यो महामारीबाट नेपाल पनि बेस्सरी आक्रान्त भयो । महामारीसँग लड्न सरकारले लकडाउन लगायो । व्यापार व्यवसाय ठप्प भयो । कतिपयले त्यसबेला कर्मचारी कटौती गर्दै गए । कतिपयले त कम्पनी नै बन्द गरे । 

परिस्थाले काम गरिरहेको कम्पनी पनि कोरोना महामारीको घानमा परेर बन्द हुनेहरूको सूचीमा थियो । कम्पनी बन्द भएपछि उनको गरिखाने काम रोकियो, भइरहेको आयको स्रोत गुम्यो । घरमा वृद्ध बाबु र आमा थिए । आफ्नै पढाई अघि बढाउनुपर्ने जिम्मेवारी थियो । यसै कमजोर पारिवारिक आर्थिक अवस्था, त्यसैमाथि अचानक जागिर गुमेपछि रोकिएको आम्दानीको बाटो ।

काठमाडौँको जोरपाटीस्थित नारायणटारमा बस्ने पलिस्थाको परिवार निम्न मध्यम वर्गीय थियो । काम गरेर नियमित कमाई भएन भने घरको गर्जो नै टर्दैनथ्यो । परिवारमा बुबा, आमा र दिदीसहित चार जना थिए । बुबा र आमा वृद्धावस्थामा भएकाले रेखदेख, हेरचाह सबै उनी र दिदीकै जिम्मामा थियो । दिदी एउटा सहकारीमा काम गर्थिन् । पलिस्था भने पठाओ नेपालमा काम गर्थिन् । 

काम गरिरहेको कम्पनी नै कोरोना महामारीका कारण बन्द भएपछि पलिस्थालाई के गर्ने, कसो गर्ने भन्ने आपत् आइलाग्यो । संयोग कस्तो भने उनले काम गरिरहेको कम्पनी सामाजिक सुरक्षा कोषमा आबद्ध भएको थियो । महामारीकै बीचमा कामबाट वञ्चित भए पनि कोषमा आबद्ध भई योगदान गर्नेहरूको हकमा कोषमा जम्मा गर्नुपर्ने ६ महिनाको सम्पूर्ण योगदान रकम नेपाल सरकारबाट कोषमा जम्मा हुँदा सामाजिक सुरक्षा योजना निरन्तर हुन गई   उनको परिवारको गुजाराका लागि ठूलो सहारा बन्यो । कोभिडको कारण धेरैले ज्यान गुमाउनुपर्‍यो । सरकारबाटै कोषमा योगदान बापतको सम्पूर्ण रकम जम्मा गरिदिँदा योगदान नियमित हुन गई कतिपय आश्रित परिवारले पेन्सन समेत प्राप्त गरिरहनुभएको छ ।

“काम नभएर घरमै बस्नुपरेको थियो, तर सामाजिक सुरक्षा कोषले राहत स्वरूपको रकम उपलब्ध गराएपछि मेरो धेरै चिन्ता हट्यो, आर्थिक बोझ पनि कम भयो,” पलिस्था भन्छिन्, “कोषमा आबद्ध हुँदा मैले यो महत्त्व बुझेकी थिइनँ । यो त आपतविपतका लागि निकै ठूलो सारथी पो रहेछ ।”

कोरोना महामारीका बेला र महामारीपछि पनि कैयौँ उद्योगधन्दा, व्यापार र व्यवसाय बन्द भए । त्यसबाट हजारौँ श्रमिकको रोजगारी र जीविका संकटमा परेको थियो । दैनिक ज्यालादारीमा काम गर्नेहरूदेखि स्थायी कर्मचारीसम्म यसबाट अनिश्चित भविष्यतर्फ धकेलिए । 

यस्तो कठिन घडीमा पनि सामाजिक सुरक्षा कोष धेरै श्रमिकहरूको लागि जीवन धानिदिने सहारा बन्यो । महामारीका कारण रोजगारी गुमाएका श्रमिकहरूको सामाजिक सुरक्षा बापतको रकम सम्बन्धित योगदानकर्ताको खातामा जम्मा भएपश्चात् योजनाहरू निरन्तर हुन गई धेरैले स्वास्थ्य उपचार सुविधा लगायतका कोषले प्रदान गर्ने अन्य सुविधाहरू  समेत प्राप्त गरे ।

नेपालमा गरिखाने वर्ग अर्थात् श्रमिकहरूको हकहित संरक्षण गर्न भन्दै २०७५ सालमा औपचारिक रूपमा स्थापना भएको सामाजिक सुरक्षा कोषले संकटका समयमा राहत प्रदान गर्दै श्रमिकहरूको जीवन सुरक्षित राख्न महत्त्वपूर्ण भूमिका खेलेको छ । यो कोष श्रमिक, रोजगारदाता र सरकारको संयुक्त सहभागितामा सञ्चालित प्रणाली हो जसमा श्रमिकहरूले मासिक पारिश्रमिकको ११ प्रतिशत र रोजगारदाताले २० प्रतिशत योगदान गर्छन् । 

जीवन जोगाइरहेको स्वास्थ्योपचार योजना 
कोरोना महामारीका बेला हठात् बेरोजगार बनेकी पलिस्थाले आपत्का बेला राहत मात्र पाइनन् । उनी पाठेघरको क्यान्सरसँग जुधिरहेकी बिरामी समेत हुन् । महामारीको समयमा बेरोजगार बनेकी उनलाई जटिल रोगको उपचार गर्न अर्को आपत् आइलाग्यो । तर त्यहीबेला उनले सामाजिक सुरक्षा कोषले स्वास्थ्य उपचार सुविधा पनि दिन्छ भन्ने थाहा पाइन् । 

कोषले केही अस्पतालसँग सम्झौता गरेर कोषका लाभग्राहीको उपचारमा छुट दिने व्यवस्था गर्दै आएको छ । त्यहीअनुसार परिस्थाले जुन अस्पतालमा उपचार गरिन्, त्यो अस्पताल सामाजिक सुरक्षा कोषसँग जोडिएकाले उनलाई उपचार गराउन धेरै सहज भयो । “पहिला चेकअप गर्न जाँदा ट्युमर भएको भनिए पनि पछि पाठेघरको क्यान्सर भएको थाहा भयो । रोग पत्ता लाग्दासम्म नै मेरो धेरै पैसा खर्च भइसकेको थियो,” उनले भनिन्, “रोग पत्ता लागेपछि यसको उपचारमा लाग्ने खर्च झन् धेरै हुने थाहा भयो । अब उपचार नै गर्न सक्दिनँ कि भन्ने लाग्यो । अब मरिने पो हो कि भन्ने डर बढ्दै गयो । सामान्य परिवारमा जन्म लिएकाले ठूला रोग लाग्दा उपचार कसरी गर्ने भन्ने चिन्ता धेरै नै हुँदो रहेछ ।” 

यस्तो बोझ आइलागे पनि सामाजिक सुरक्षा कोषको योगदानले गर्दा उपचार गर्न निकै सहयोग पुगेको पलिस्था बताउँछिन् । “हामी जस्ता न्यून आए भएका मानिसलाई सामाजिक सुरक्षा कोषले धेरै ठुलो योगदान गरेको छ । म जस्ता निजी कम्पनीमा काम गर्ने धेरैलाई कोष भगवान् जस्तै बनेको छ,” उनले भनिन्, “अहिले धेरै ठिक भइसकेकी छु । नियमित जाँचका लागि तीन–तीन महिनामा अस्पताल जानुपर्छ । अस्पतालका बिलहरू पेस गरेपछि कोषले रकम उपलब्ध गराउँछ । मलाई धेरै नै सजिलो भएको छ ।”

सामाजिक सुरक्षा कोषले श्रमिकहरूलाई संकटको समयमा बचाउने काम गरेको छ । पलिस्थाको कथा कोषले श्रमिकहरूको सुरक्षाका लागि कसरी सघाइरहेको छ भनेर देखाउने उदाहरण हो । 

कोषमा आबद्ध श्रमिकहरूका लागि कोषले नि:शुल्क वा सहुलियत दरमा स्वास्थ्य उपचारको व्यवस्था गरेको छ । ललितपुरको इमाडोलमा बस्ने विदुर खड्का अर्को उदाहरण हुन् जसलाई कोषले ठूलो गुन लगाएको छ । विदुर निजी कम्पनीमा काम गर्ने श्रमिक हुन् । निजी कम्पनीमा काम गर्ने भएकाले उनले आइपर्ने हरेक समस्यालाई समाधान गर्दै मुस्किलले जीवन चलाइरहेका थिए । कमाइबाट बचत गरेर भविष्यका लागि राख्ने सम्भावना थिएन । त्यसमाथि कोरोना महामारी, महँगी लगायतका संकटलाई सामना गर्नु अर्को चुनौती बन्यो । निजी कम्पनीमा काम गरेर हुने सानोतिनो कमाइबाट जसोतसो जीवन र परिवार चलाइरहेका विदुर त्यहीबेला एउटा गम्भीर सवारी दुर्घटनामा परे । 

दुर्घटनामा परेपछि उनको अगाडि अँध्यारो छाए झैँ भयो । तर उनी काम गरिरहेको कम्पनी सामाजिक सुरक्षा कोषमा आबद्ध थियो । यही नै उनका लागि सहारा बनिदियो । दुर्घटनामा परेपछि उनी कोषले उपलब्ध गराउने स्वास्थ्योपचार योजनाबाट लाभान्वित भए । कोषले उपलब्ध गराउने रकमबाट उनले अहिले पनि सहज रूपमा उपचार गराइरहेका छन् । 

“सामाजिक सुरक्षा कोषमा आबद्ध नरहेको र उसले उपलब्ध गराउने स्वास्थ्योपचार योजनाबाट योजना नपाएको भए उपचारका लागि ठूलो रकम ऋण लिनुपर्ने हुन्थ्यो,” उनले भने, “कोषकै कारण म जस्ता निजी कम्पनीमा काम गर्ने कामदारहरूलाई धेरै सहज भएको छ । अहिले लाग्छ, कोषमा जोडिएर धेरै ठिक काम गरिएछ । म कोषबाट असाध्यै खुसी छु ।” कोषमा आबद्ध भएका कारण उपचार गर्दा आउने आर्थिक संकटबाट आफू पूर्णतः मुक्त भएको उनी बताउँछन् । देशको आर्थिक अवस्था संकटमा परिरहेको बेला कोषले यसरी निजी कम्पनीमा काम गर्ने व्यक्तिहरूलाई ठूलो गुन लगाएको खड्का बताउँछन् । “धेरै जसो युवा आर्थिक अवस्था नाजुक भएकै कारण बिदेसिनु परेको छ । हामी विदेश नगएर यहीँ केही गरिरहेकालाई बचाउने त कोष नै पो रहेछ,” उनले भने । 

मोरङका दीपेन्द्र खुलाल अर्का उदाहरण हुन् । खुलाल त्यहाँका विद्यालय सञ्चालक हुन्, अनि सामाजिक काममा पनि उत्तिकै सक्रिय छन् । शिक्षा क्षेत्रसँगै सामाजिक काममा समेत योगदान दिँदै आएका खुलालको जीवनमा केही समय अघि एकाएक एउटा भुईँचालो आयो । उनी अचानक गम्भीर स्वास्थ्य समस्यामा देखिए । विद्यालय व्यवस्थापनमा व्यस्त रहेका खुलाल गम्भीर रोगबाट पीडित भएपछि उपचारका लागि ठूलो रकम आवश्यक पर्ने भयो । निजी अस्पतालमा गएर गुणस्तरीय स्वास्थ्य सेवा लिने अवस्था थिएन । 

खुलाल सामाजिक सुरक्षा कोषमा आबद्ध थिए । यही कोष उनका लागि ठूलो सहारा बनिदियो । कोषमा आबद्ध रहेका खुलालका लागि उपचार गर्न धेरै सहज भयो । “पहिले हामी जस्ता व्यवसायीलाई आकस्मिक स्वास्थ्य समस्याका कारण ठूलो आर्थिक संकट आउँथ्यो, अहिले सामाजिक सुरक्षा कोषले हामीलाई ठूलो राहत दिएको छ,” उनले भने।

कोषले आफ्ना लाभग्राहीलाई उपलब्ध गराउने स्वास्थ्य उपचार सेवा अन्तर्गत उनले आवश्यक उपचार पाए । यही कारण पनि उनी छिट्टै विद्यालयको व्यवस्थापनमा फर्किन सफल भए । आफू विद्यालय सञ्चालक भए पनि आफ्नो सुरक्षाको लागि सामाजिक सुरक्षा कोषमा आबद्ध भएको, त्यही कारण स्वास्थ्यमा केही समस्या आइपर्दा आर्थिक भारको चिन्ता नहुने ढुक्कको अवस्था बनेको उनले सुनाए । अहिले बेला–बेला आइपर्ने स्वास्थ्य समस्याको खर्च धेरैजसो कोषले नै बेहोर्ने गरेको उनी बताउँछन् । “अहिले म कोष मार्फत पाएका सुविधाबारे अरूलाई पनि भनिरहेको छु । कोषमा आबद्ध हुनुस् भनेर धेरैलाई झकझक्याइरहेको छु,” उनले भने, “हाम्रै लागि शुरु भएको यो कार्यक्रमको लाभ लिन हामी कोही छुट्नु हुन्न ।” 

सामाजिक सुरक्षा कोषमा आबद्ध भएपछि मात्रै यसको वास्तविक महत्त्व थाहा हुने महसुस खुलाललाई भएको छ । यो योजनाले श्रमिकलाई मात्र होइन, आफू जस्ता विद्यालय सञ्चालक र व्यवसायीलाई पनि आपत्कालीन अवस्थामा ठूलो सहयोग पुर्‍याइरहेको उनले राम्रोसँग अनुभव गरेका छन् । खुलाल थप्छन्, “व्यवसायमा रहेका वा व्यवसाय गर्ने मनसाय बनाएका हरेक व्यक्तिले पनि यसबाट सुविधा लिन सक्नुहुन्छ । यसले जीवनको सुरक्षासँगै आर्थिक भार पनि कम गर्छ ।”

खुलालको अनुभवले सामाजिक सुरक्षा कोषमा सहभागी हुँदा श्रमिक, साना वा जस्तोसुकै खालका व्यवसायमा आबद्ध व्यक्तिहरूले पनि आपत्का बेला कोषबाट स्वास्थ्य उपचार सहयोग र आर्थिक राहत प्राप्त गर्न सक्ने देखाउँछ । यसले उनी जस्तै अन्य व्यवसायी र शिक्षकलाई पनि सामाजिक सुरक्षा योजनामा सहभागी हुन प्रेरित गरिरहेको छ । देशको अर्थतन्त्र मन्दीमा हुँदा त्यसको मार हरेक व्यवसाय र व्यक्तिमा परेको छ । आम्दानी घटेको छ । यो अवस्थामा कोषले धेरै नै राहत प्रदान गरेको खुलालको बुझाई छ । “देशमा आइपर्ने अनेक संकट, महामारी र अरु समस्याबाट बच्नको लागि सामाजिक सुरक्षा कोषमा आबद्ध हुनु प्रमुख उपाय हो भन्ने लाग्छ,” उनले भने, “कोषमा जोडिएपछि जीवन सहज र सरल हुँदो रहेछ । आत्मविश्वास थपिँदो रहेछ ।” 

राहत प्याकेजदेखि सहायतासम्म: क्रमशः फैलिइरहेको सेवा
सरकारले सामाजिक सुरक्षा कार्यक्रम लागू गर्ने निर्णय गरेपछि त्यसको व्यवस्थापनका लागि खुलेको सामाजिक सुरक्षा कोष कार्यालयका अनुसार कोषमा आबद्ध श्रमिकहरूले कुनै कारणबाट अचानक बिरामी वा अशक्त भई रोजगारी गुमाएमा निश्चित अवधिसम्म कोषले नै बिदा वा सहायताबापतको रकम उपलब्ध गराउँछ । जस्तो, कोरोना महामारीको समयमा वा महामारीपछि बन्द भएका वा श्रमिक कटौती गरेका धेरैजसो उद्योगमा पुनः श्रमिक फर्किने अवस्था नरहेका बेला यस्तो भत्ता श्रमिकहरूका लागि ठूलो राहत साबित भयो । कोषका कार्यकारी निर्देशक कविराज अधिकारी कोरोना महामारी लगायतका अकल्पनीय संकट मात्र होइन, अरु समस्या आउँदा पनि रोजगारदाता र श्रमिककै हितका लागि कोष प्रयत्नशील रहेको बताउँछन् ।  बिदेसिन बाध्य हुने थुप्रै युवालाई बिदेसिनबाट जोगाउन कोषले योगदान गरेको उनको बुझाई छ ।

अधिकारीका अनुसार अहिलेसम्म कोषले थुप्रै श्रमिकलाई बिरामी वा अशक्तताका साथै पेन्सन बापतका सुविधाहरू उपलब्ध गराइसकेको छ । कोष स्थापना भएदेखि नै यसमा आबद्ध श्रमिकलाई यस्ता थुप्रै सुविधाहरू प्रदान गर्न थालिएको उल्लेख गर्दै उनले भने, “निजी कम्पनीमा काम गर्ने धेरैजसो व्यक्तिहरू भविष्यको चिन्ताले गर्दा बिदेसिने, नेपालमा बसेर केही हुँदैन भन्ने सोचमा देखिन्थे । उनीहरूलाई भविष्यका लागि आशावादी बनाउने काममा कोषले पनि केही योगदान गरेको छ । यो ठूलो कुरा हो ।”

सामाजिक सुरक्षा कोष संकटको समयमा प्रभावकारी साबित हुँदै आए पनि यो साँच्चिकै प्रभावकारी छ त ? कतिपयले अहिले यस्तो प्रश्न उठाइरहेका छन् । अवश्य पनि कोषलाई प्रभावकारी बनाउन अझ पनि धेरै काम गर्नुपर्ने छ । जस्तो, सबै श्रमिकहरू कोषमा आबद्ध भई नसकेकाले उनीहरूलाई कोषमा आबद्ध गराउन अझ धेरै प्रचारप्रसार आवश्यक रहेको विज्ञहरू नै बताउँछन् । विशेष गरी असङ्गठित र अनौपचारिक श्रम क्षेत्रका श्रमिकहरू कोषमा आबद्ध हुन बाँकी नै छ । त्यस्तै, कोषमा आबद्ध भएकाहरूले त्यहाँबाट पाउने सेवा प्रवाहको प्रक्रियामा ढिलाइ हुने गरेको गुनासो पनि उठ्दै आएको छ । निजी क्षेत्रका कतिपय रोजगारदाताले कोषमा नियमित रूपमा रकम जम्मा नगर्ने समस्या पनि देखिएको छ ।

कोषका कार्यकारी निर्देशक अधिकारी यस्ता समस्या समाधान गर्दै कोषको दायरा थप फराकिलो पार्न जुटिरहेको बताउँछन् । अबको ध्यान सबै श्रमिकलाई अनिवार्य रूपमा कोषमा आबद्ध गराउने, डिजिटल प्रणाली लागू गर्ने र राहत तथा अन्य सेवा वितरण प्रवाहलाई छिटो छरितो बनाउनेमा केन्द्रित हुने उनले बताए। “कोषलाई अझै प्रभावकारी कसरी बनाउन सकिन्छ भन्नेबारे अध्ययन गरिरहेका छौँ,” उनले भने, “समयानुसार यसको क्षेत्र अझै बिस्तार गरेर लैजाने तयारी अघि बढाएका छौँ ।” 

पछिल्लो समय सामाजिक सुरक्षा कोषका उपादेयता व्यवहारतः महसुस गर्न थालिएको, यसबाट धेरै मानिस लाभान्वित बन्दै पनि गएकाले यसलाई प्रभावकारी बनाउन सरकारले पनि पहल गरिरहेको छ । सरकारले सामाजिक सुरक्षा कोषलाई अझ प्रभावकारी बनाउन विभिन्न सुधारका कार्यक्रम पनि अघि बढाएको छ । जस्तो, सरकारको यही पहल अन्तर्गत सबै श्रमिकलाई अनिवार्य रूपमा कोषमा आबद्ध गराउने कानुनी व्यवस्था, राहत र अन्य सुविधा पाउने प्रक्रियालाई सहज बनाउने डिजिटल प्रणाली र विदेशमा कार्यरत नेपाली श्रमिकहरूलाई पनि कोषमा समावेश गर्ने योजना सामाजिक सुरक्षा कोषले अघि बढाएको छ ।  

औपचारिक शुभारम्भदेखि नै प्रविधिमैत्री सेवा प्रवाहलाई अङ्गीकार गरेको कोषले छोटो समयमा नै लाखौँ श्रमिकलाई सामाजिक सुरक्षाको दायरामा ल्याउन सफल भएको सामाजिक सुरक्षा कोषलाई अझ पारदर्शी, समावेशी र प्रभावकारी बनाउन सकियो भने संकटको समयमा मात्र होइन, सामान्य अवस्थामा पनि श्रमिकहरूको आर्थिक समस्या समाधान गर्न, स्वास्थ्य उपचारमा सघाउन र अन्ततः जीवन सुरक्षा गर्न कोष नै महत्त्वपूर्ण माध्यम बन्नेमा कुनै आशङ्का नरहेको विज्ञहरू बताउँछन् ।

प्रतिक्रिया दिनुहोस