१. आवाजहरू
ती महलहरूको
अब कुनै ऐश्वर्य रहेन
भित्तामा रगतका कथाहरू कोरिए पछि
हाम्रा आफन्तहरू
एकत्रित हुन सक्यौं
एउटा मिलन बिन्दुमा आइपुग्यौ हामीहरू ।
हाम्रा आवाजहरू
दमित भएका थिए
आरोपित शब्दहरू पुकारेर
सत्तो सराप गर्थ्यौं तिमी
ताण्डब नृत्य देखाएर
उदण्डताको सीमा पार गर्दै
जाइ लाग्थ्यौ तिमी
तिम्रा अभिशप्त भनाइहरू
शिरोधार्य गर्न सक्तैनौ हामी ?
तिम्रो अत्याचारले थिचिएको हाम्रो हृदय
नमिठो गरी दुखेकै छ
तिम्रो उदण्डतालाई टुलुटुलु हेर्ने किन ?
तिमी सँग हिसाब किताब मागी
फरफारक गर्न बाँकी नै छ ।
हामीलाई क्रसमा टाँग
तिम्रै पटाङगिनिमा
हामी त पौठेजोरी खेल्दै
तिमीसँग हामी युद्ध लड्ने तयारीमा छौ
तिमी खेलाचि नठान
तिम्रा आयु सकिएको छ
हामी सँग ठट्टा मजाक नगर
हामी आगो हौ
हाम्रा आवाजहरू
मुखरित वष्फोटित हुन पाउनै पर्छ ।
२. गाउँ र गाउँलेहरू
वर्षौँ पछि तिमीले सोधी पठायौ
गाउँको के हाल छ ?
म अमिलो पसिना बगाउँदै छु
गाउँलेहरू नबुझेरै विधाताकै आशीर्वाद थाप्न विवश छन ।
गाउँ अर्ध निन्द्रामै छ
तिम्रो सहरले विजयको बिगुल फुक्दा
गाउँ निस्पट्ट अँध्यारोले ढाकेको हुन्छ
सहरमा चम्किलो बिहानी छिर्दा
गाउँमा सन्नाटाकै कोकोहोलो हुन्छ ।
रनतबहादुर
गाउँमा उज्यालो हुनु अगाडि
तारा खसाउनै बाँकी छ
निन्द्रा खुल्नु अगाडि
भाले बास्नै बाँकी छ
सिन्केधुलो खेली बस्ने केटाकेटीहरूलाई
ढुङ्गेखरीले सिलोट कोर्ने अल्लारेहरूलाई
जीवनको जिजीविषा सोध्नै बाँकी छ ।
विश्वासका पहाडहरू उक्लनु पर्ने
विजयका बिगुलहरू फुक्नु पर्ने
रतनबहादुर
मस्त निन्द्रामा छन गाउँलेहरू
निन्द्राबाट ब्यूँझाउन अन्तिम युद्ध लड्नु पर्ने ।
३. प्रियजनहरू
प्रियजनहरू
मलाई नसोधे
मेरो यात्राको गन्तव्य
मलाई जान देऊ
नाङ्गै लडेको सडक कुल्चँदै
पसिनाका भेलहरू बगाउन ।
तपाई दृष्टिविहीन होइन
मेरो परिचय खोज्नु हुन्छ किन ?
म अपरिचित भएकै सदर
मेरो कुनै ऐतिहासिक दस्ताबेज छैन ।
प्रियजनहरू
म सँग धन छैन
एउटा उद्वेलित मन छ
कहिले रोइदिन्छ
कहिले हाँसी दिन्छ
भित्र भित्रै फत्किएर
कहिले कहीँ पोल्ने गर्छ
साँच्चि
जीवन कथा अनौठो हुँदो रहेछ
तपाईँहरू
आलिशान महलको कुरा गर्नु हुँदो रहेछ
म झोपडीको कथा लेख्दो रहेछु
तपाईँहरू
सहरको गीत गाउनु हुँदो रहेछ
म गाउँको कविता लेख्दो रहेछु ।
प्रियजनहरू
जीवन यात्रा त फरक पर्ने नै रहेछ
तपाईँहरू
आँखा भएर अँध्यारो पाल्नु हुन्छ
म दृष्टिविहीन भएर उज्यालो खोज्छु
तपाईँहरूको अलकापुरीको
सेतो हात्ती छाम्न लाई ।
सुन्दरहरैंचा–६, दुलारी, मोरङ