चितवन । पछिल्लो समय निरन्तर घटेको अण्डाको मूल्य बिस्तारै उकालो लाग्न थालेको छ । लागत मूल्यसमेत पाउन नसक्दा चिन्तित बनेका किसानले अण्डाको मूल्य बढ्न थालेपछि केही राहत महसुस गरेका छन् ।
गत वर्ष प्रतिक्रेट (३० गोटा)को रु. पाँच सय २५ सम्म पुगेको अण्डाको मूल्य घटेर रु तीन सय ५० मा पुगेको थियो । अहिले मूल्यमा वृद्धि भएर रु. चार सय ५० पुगेको छ । नेपाल लेयर्स कुखुरा पालक संघका अध्यक्ष विनोद पोखरेलका अनुसार आजबाट लागू हुने गरी ठूलो अण्डाको समर्थन फार्म मूल्य प्रतिक्रेट (३० वटाको) रु. चार सय ३०, मध्यमको रु. तीन सय ८० र ‘एक्सएल’को रु. चार सय ५० कायम गरिएको छ । यसअघि ठूलो अण्डाको मूल्य रु. तीन सय ५० मा झरेको थियो । संघको शनिबार सम्पन्न छलफलले अण्डाको मूल्य बढाउने निर्णय गरेको उनले जानकारी दिए ।
एक्सएल अण्डा फार्म मूल्य प्रतिपेटी (सात क्रेट) रु. तीन हजार १४०, ठूलो अण्डा रु. तीन हजार र मझौलाको रु. दुई हजार ६५० कायम गरिएको छ । योसँगै किसानलाई केही राहत मिल्ने उनले बताए। नेपालमा अण्डाको लागत मूल्य प्रतिगोटा रु. १६ दशमलव ५६ पर्न आउँछ । अण्डाको मूल्य उच्च हुँदा ठूलो अण्डा प्रतिपेटी रु. तीन हजार छ सय ७५ सम्म पुगेको थियो ।
सो समयमा किसानले उत्पादन मूल्य पाएको भए पनि पछिल्ला दिनमा अण्डाको मूल्य घट्दा किसानले लागत मूल्यसमेत पाउन गाह्रो हुने गरेको पोख्रेलको भनाइ छ । उनले भने, “गर्मीका कारण अण्डा उत्पादन कम हुनु र बजारमा माग बढ्नुले अण्डाको मूल्य बढेको हो ।” उच्च गर्मीका कारण कुखुरामा विभिन्न खालका रोग देखिँदा उत्पादन निकै घटेको छ ।
संघका सचिव मदन पोखरेलका अनुसार अण्डा उत्पादन गर्ने कुखुरा घटेको र माग बढेको छ । अहिलेको अवस्थालाई हेर्दा अण्डाको मूल्य क्रमशः बढ्ने देखिन्छ”, उनले भने, “अण्डाको मूल्य बढेपछि किसान उत्साहित बनेका छन् । अहिले दैनिक ३० लाख गोटा हाराहारी अण्डा उत्पादन हुँदै आएको छ ।” नेपालमा कुखुरा पालक किसानले लागत मूल्य नपाएपछि धेरै विस्थापित भएका छन् ।